विकासन्युज

ट्रेड युनियन महासंघले ४ रोपनी जग्गा नगर विकास समितिलाई गर्यो फिर्ता

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा शनिबार (आज) फिर्ता गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वीचोकमा रहेको सार्वजनिक जग्गामा महासङ्घले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो ।      पोखरा महानगरपालिका र उपत्यका नगर विकास समितिको सार्वजनिक जग्गा स्वीकृति लिएर वा नलिईकन बनाइएका संरचना खाली गर्नका लागि दिएको ३५ दिने सूचनाको म्याद सकिनु एक दिनअघि महासङ्घले आफूले निर्माण गरेका संरचना बुझाएको हो । ट्रेड युनियन महासङ्घले विसं २०६७ मा करिब एक करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण भएको १३ कोठे भवनको चाबी आज महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेका हुन् ।       भवनको साँचो बुझ्दै नगर प्रमुख आचार्यले सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेको जग्गा संरक्षणका सम्बन्धमा यसलाई सुखद सुरुआतका रूपमा उल्लेख गरे ।  उपत्यका नगर विकास समिति र महानगरपालिकाको अनुरोधलाई समन्वयात्मक ढङ्गले भवनको चाबी बुझाएको महासङ्घप्रति उनले आभार व्यक्त गरे । पोखरा महानगरपालिका सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेका जग्गाहरूको संरक्षण गर्दै विकास अभियान सञ्चालन गर्ने कार्यमा प्रतिबद्ध रहेको उनले बताए।  उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा यसरी नै बसोबास वा कार्यालय सञ्चालन गरिरहेका अन्य व्यक्ति वा सङ्घसंस्थाहरुलाई तत्काल खाली गर्न अनुरोध गरे ।  “पोखरा महानगर सार्वजनिक जमिनको संरक्षण अभियानमा रहेको छ । राज्यका अन्य निकायहरुले समेत सार्वजनिक सम्पत्तिको रक्षाका लागि पटक पटक ताकेता गर्दै आएका छन्,” प्रमुख आचार्यले भने । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गामा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले भोग चलन गर्दै आइरहेका छन् ।  पोखराको पृथ्वी चोकमा व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढेकाले सो क्षेत्रसहित महानगर क्षेत्रभित्रको सार्वजनिक जग्गा खाली गर्न महानगरपालिकाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद आज सकिँदैछ ।  महानगरले बसपार्कका संरचना खाली गर्नुअघि त्यहाँ बसोबास गरिरहेका भूमिहीन सुकुमवासीको विवरण सङ्कलन गरेको छ ।  महानगरका अनुसार शुक्रबारसम्मको विवरण सङ्कलनको समयसीमासम्ममा बसपार्कका ५७५ जनाले नाम दर्ता गराएका छन् ।   

मकालुमा पहिराले दुई सय भेडा पुरिए

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा  २०० बढी भेडा बेपत्ता भएका छन् ।  शनिबार (आज) बिहान आएको पहिराले मकालु-५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।  वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको हो । पहिराले स्थानीय दलबहादुरका २५० भेडामध्ये २१८ भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् ।  बाढीमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन् । घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।  घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र करिब १० घण्टा पैदल दुरीमा पर्दछ । घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी उघार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ गएका छन् ।  

ऋण नतिर्दा बैंकहरूको एनबीए ४६.१० अर्ब रुपैयाँ पुग्यो, ७ बैंकले घटाए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) ४६ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत अर्थात् ७ अर्ब ६९ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्म बैंकहरूमा ३८ अर्ब ४१ करोड १४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । तथ्याङ्कअनुसार बैंकहरूमा गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दै गएको देखिएको छ। ऋणीहरूले कर्जा चुक्ता गर्न नसकेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने अवस्था आएको छ। तर, लिलामीमा धितो बिक्री हुन नसकेपछि बैंकहरू आफैंले ती सम्पत्ति सकार्न बाध्य भएका हुन् । बैंकहरूका अनुसार गैरबैंकिङ सम्पत्ति वृद्धिमा कर्जा डिफल्टको प्रभाव स्पष्ट देखिएको छ । ऋण असुली हुन नसक्दा त्यस्ता कर्जालाई खराब कर्जा (एनपीएल) मा वर्गीकरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।  बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्नु सकारात्मक संकेत मानिँदैन । त्यसैले नेपाल राष्ट्र बैंकले निष्क्रिय तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । तर, उक्त कम्पनी सञ्चालनको मोडालिटी र कार्यप्रक्रियाबारे हालसम्म ठोस पहल अघि बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म हिमालयन बैंकमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति (एनबीए) रहेको छ । बैंकको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ८ करोड १२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.२३ प्रतिशत अर्थात् ९३ करोड ७७ लाख रुपैयाँले बढी हो। गत वर्ष चैतसम्म बैंकमा ५ अर्ब १४ करोड ३५ लाख रुपैयाँ बराबरको एनबीए रहेको थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै प्राइम बैंकको गैरबैंकिङ सम्पत्ति वृद्धि भएको देखिन्छ । बैंकको एनबीए १०९.३५ प्रतिशत अर्थात् २ अर्ब ६० करोड ९६ लाख रुपैयाँ ४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकमा २ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा १२ बैंकको गैरबैंकिङ सम्पत्ति वृद्धि हुँदा ७ बैंकको भने घटेको छ । चालु आवको चैत मसान्तसम्ममा एनएमबि बैंकको ७६.३९ प्रतिशत अर्थात् ८७ करोड ४५ लाख रुपैयाँ बढेर २ अर्ब १ करोड ९१ लाख रुपैयाँ, सिटिजन्स बैंकको ५२.३१ प्रतिशत अर्थात् ५३ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब ५७ करोड १२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ५२.१९ प्रतिशत अर्थात् ४६करोड ५९ लाख रुपैयाँ बढेर १ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ ।  यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ४८.५४ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड २८ लाख रुपैयाँ बढेर ४ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ, प्रभु बैंकको ४२.४० प्रतिशत अर्थात् ५६करोड ४२ लाख रुपैयाँ बढेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४१.४० प्रतिशत अर्थात् ७० करोड ८९ लाख रुपैयाँ बढेर २ अर्ब ४२ करोड १४ लाख रुपैयाँ, कृषि विकास बैंकको ३७.६१ प्रतिशत अर्थात् ३७ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब ३८ करोड ८८ लाख रुपैयाँको सम्पत्ति रहेको छ ।  यस्तै, सानिमा बैंकको २९.७० प्रतिशत अर्थात् २५ करोड ३५ लाख रुपैयाँ बढेर १ अर्ब १० करोड ७१ लाख रुपैयाँ, नेपाल बैंकको १४.४७ प्रतिशत अर्थात् २ करोड ९५ लाख रुपैयाँ बढेर २३ करोड ३६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७.४१ प्रतिशत अर्थात् ५ करोड ५८ लाख रुपैयाँ बढेर ८१ करोड १ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । तर, समीक्षा अवधिमा विभिन्न ८ वटा बैंकले भने आफ्नो गैरबैंकिङ सम्पत्ति घटाएका छन् । माछापुच्छ्रे बैंकको ३४.८३ प्रतिशत अर्थात् ३३ करोड ७१ लाख रुपैयाँ घटेर ६३ करोड ७ लाख रुपैयाँ, एभरेष्ट बैंकको १७.२८ प्रतिशत अर्थात् १० करोड ५ लाख रुपैयाँ घटेर ५० करोड ६८ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ९.१४ प्रतिशत अर्थात् ४१ करोड ९५ लाख रुपैयाँ घटेर ४ अर्ब १६ करोड ८० लाख रुपैयाँमा गैरबैंकिङ सम्पत्ति सीमित राखेका हुन् ।  यस्तै, नबिल बैंकको ६.६६ प्रतिशत अर्थात् २५ करोड ३१ लाख रुपैयाँ घटेर ३ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.८० प्रतिशत अर्थात् ८९ लाख रुपैयाँ घटेर ३१ करोड ९ लाख रुपैयाँ, कुमारी बैंकको १.३८ प्रतिशत अर्थात् ३ करोड ५१ लाख रुपैयाँ घटेर २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १.२६ प्रतिशत अर्थात् ७ करोड ६१ लाख रुपैयाँ घटाएर ५ अर्ब ९२ करोड १८ लाख रुपैयाँमा गैरबैंकिङ झारेका छन् । 

बागमतिमा परितोषभन्दा रामशरण अगाडि

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालकका लागि शनिबार भएको निर्वाचनमा बागमती प्रदेशमा रामशरण शर्मा घिमिरे अगाडि देखिएका छन् । शनिबार निर्वाचनपछि बागमतीको गणना गर्दा घिमिरेले ७५२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी परितोष पौड्यालले ५८५ मत पाएका छन् । निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा कुल ३ हजार ४९७ मतदाता रहे पनि १ हजार ३३७ मत मात्रै खसेको थियो । अन्य ६ प्रदेशको मतगणना आज साँझ हुने र अन्तिम परिणाम आइतबार सार्वजनिक गरिने जनाइएको छ । पौड्याल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त गठबन्धनका उम्मेदवार हुन् भने घिमिरे स्वतन्त्र अर्थात् बागी उम्मेदवार हुन् । राष्ट्रिय सहकारी बैंकको सञ्चालक चयनका लागि अन्य प्रदेशमा सर्वसम्मत चयन भए पनि बागमतीमा मात्रै प्रतिस्पर्धा भएको हो ।  बैंकमा देशभरका १६ हजारभन्दा बढी सहकारी संघसंस्था आबद्ध छन् । गत मंसिरमा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभामा ८ हजार ६८९ प्रतिनिधि सहभागी भएका थिए । तिनै प्रतिनिधिमार्फत प्रदेशगत सञ्चालक चयन प्रक्रिया अघि बढाइएको हो । प्रदेशगत प्रतिनिधि संख्याअनुसार बागमतीमा सबैभन्दा बढी ३ हजार ४९७ प्रतिनिधि रहेका छन् । त्यस्तै, कोशीमा १ हजार ३९४, मधेशमा १ हजार १७२, लुम्बिनीमा १ हजार ७८, गण्डकीमा ८४९, कर्णालीमा ४०२ र सुदूरपश्चिममा २९७ प्रतिनिधि रहेका छन् ।

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।       काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।      दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चौंरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो

जुम्ला । स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ । जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।      सक्रिय बीमा सङ्ख्या ४४ हजार ४७९ जना रहेका छन् । करिब ५६ हजारले बीमाको नवीकरण नगरेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीले बताए । जिल्लाका १४ हजार ८८५ घरपरिवार बीमामा आबद्ध भएका छन् । ज्येष्ठ नागरिक तीन हजार ९२३, अति अशक्त अपाङ्गगता ९८ र महिला स्वास्थ्य स्वंयसेविका ३०६ जनाको परिवार स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीको भनाइ छ ।      अति गरिब घरपरिवारका करिब १७ हजार ३१२ जनाले नवीकरण नगर्दा सङ्ख्या बढेको तथ्याङ्क देखाउन छ । अति गरिब घरपरिवारको निःशुल्क बीमा नवीकरण गर्ने व्यवस्था सरकारले बन्द गरेपछि जिल्लामा नवीकरण नगर्नेको सङ्ख्या बढेको स्वास्थ्य बीमा बोर्ड कार्यालयका दर्ता अधिकारी जोशीले जानकारी दिए ।  सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिकलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको हकमा शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।       बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सहभुक्तानीको व्यवस्थासमेत गरेको छ । बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमा नै पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियानमा रहेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।      नवीकरण घट्नुको मुख्य कारण सेवाको गुणस्तर तोकिएका अस्पतालमा औषधि सहज नपाइने र लामो लाइन बस्नुपर्ने बाध्यता, ढिलाइ र अस्पतालहरूले बीमित बिरामीको रकम भुक्तानी नपाएको गुनासो जस्ता कार्यले आम नागरिकलाई स्वास्थ्य बीमाप्रति जनविश्वास घटेको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लामा विसं २०७४ सालदेखि स्वास्थ्य बीमाको सेवा विस्तार भएको हो । रासस

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज–१३ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'काठमाडौं टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।'   पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए ।  

इबोला सङ्क्रमित  मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू  (ग्रीन कार्ड धारकहरू) लगायतका  अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेशमा  कडाइ हुने जनाएको छ ।  विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम  नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगहरूको  विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरू संशोधनसमेत गरेको छ ।  नयाँ नियम अन्तरगत, विगत २१ दिन भित्रको समयमा कङ्गो, युगान्डा, वा दक्षिण सुडानमा रहेका मानिसहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइने छ । एजेन्सीका अनुसार हाल यस हप्ताको सुरुमा घोषणा गरिएको इबोला प्रकोपसँग सम्बन्धित प्रवेश प्रतिबन्धहरूको दायरा विस्तार गरेको हो । सोमबार, सीडीसीले सार्वजनिक स्वास्थ्य संरक्षणार्थ ३०–दिनको प्रतिवन्द प्याकेजको अनावरण गरेको थियो जसमा यात्री स्क्रिनि र अनुगमनलाई सुदृढ पार्दै, केही गैर अमेरिकीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धहरू लगाएको थियो ।  नयाँ नियमले स्थायी रूपमा अमेरिका बसोबास गर्ने कार्ड भएकाहरुलाईसमेत  अमेरिका फर्कन पूर्ण रुपमा निषेध गरेको जनाइएको छ । सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र आपतकालीन प्रतिक्रिया स्रोतहरू व्यवस्थापन गर्न आवश्यक उल्लेख गर्दै अस्थायी रूपमा प्रवेश प्रतिबन्ध गर्ने अधिकार एजेन्सीलाई प्रदान गरेको जनाइएको छ । सीडीसीका अनुसार संयुक्त राज्य अमेरिकामा हाल सम्म इबोला प्रकोपसँग सम्बन्धित कुनै  घटनाहरू रिपोर्ट गरिएको छैन, भने आम जनताका लागि तत्काल जोखिम कम रहेको जनाइएको छ ।