तेस्रो क्यान 'बीटुबी समिट २०२५’ सुरु, राजनीतिक सहमति भए ई-भोटिङ सम्भव छ : सञ्चारमन्त्री
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यका साथ ललितपुरमा ‘तेस्रो क्यान बीटुबी समिट २०२५’ शनिबार (पुस ५)देखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित दुई दिने सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरे। सम्मेलनको उद्घाटन गर्दै मन्त्री खरेलले प्रविधिको उच्चतम प्रयोगमार्फत निर्वाचन प्रणालीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए । उनले यदि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेमा आगामी निर्वाचनमा कम लागतमै ‘इ-भोटिङ को व्यवस्था गर्न सकिने बताए । 'सूचना प्रविधिको यो युगमा पनि अर्बौँ रुपैयाँ खर्च गरेर कागजको मतपत्र छाप्ने र सुरक्षाका साथ दुई दिन लगाएर बोक्नुपर्ने बाध्यता दुखद छ,' मन्त्री खरेलले भने, 'डिजिटल नेपालको लक्ष्य पूरा गर्न सरकार प्रविधिमैत्री बन्नुको विकल्प छैन । अब डिजिटल मार्गको माग बढ्दो छ र मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारमा तीव्रता दिइरहेको छ ।' उनले सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको र जेन-जी आन्दोलनको भावना अनुरूप सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका अतिथिले सरकारले लगानीको सुरक्षा प्रत्याभूति गर्ने वातावरण बनाउन र स्पष्ट लगानी संरक्षण नीति ल्याउन आग्रह गर्दै सूचना प्रविधिको क्षेत्रमा रोजगारीका हजारौँ अवसर सिर्जना गर्न सकिनेमा जोड दिए। क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रविधि र व्यवसायबीचको दुरी कम गर्दै नेपाली आईसीटी उद्योगलाई भविष्यमुखी बनाउन यो सम्मेलनले पुलको काम गर्ने विश्वास व्यक्त गरिन् । त्यस्तै, महासचिव चन्द्र विलास भुर्तेलले देशभरबाट व्यवसायी, डिलर र आयातकर्तालाई एउटै थलोमा ल्याएर व्यापार विस्तार गर्नु समिटको मुख्य उपलब्धि रहेको बताए । क्यान महासंघकी उपाध्यक्ष सिर्जना श्रेष्ठले कार्यक्रममा सञ्चालन हुने विभिन्न सत्रहरुबारे जानकारी दिइन् । यसअन्तर्गत सम्मेलनको पहिलो दिन शनिबार 'आईटी व्यवसायको डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स' विषयमा केन्द्रित रहेर विशेष छलफलहरू भए । जसमा हाई-टेक, टेक वर्ल्ड डिस्ट्रिब्युसनलगायतका प्रमुख कम्पनीहरूले आ-आफ्नो नवीन प्रविधिको प्रस्तुति दिएका थिए । कार्यक्रमको पहिलो दिनको अन्त्यमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले धन्यवाद ज्ञापन गर्दै सम्मेलनको उद्देश्यमाथि थप प्रष्ट पारे। अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताए । दोस्रो दिन आइतबार साझा सम्म चल्ने कार्यक्रम विशेषगरी 'साइबर सुरक्षा र एआई' मा केन्द्रित हुनेछ । भोलिको सत्रमा वर्तमान समयमा बढ्दो साइबर चुनौती र ती समस्या समाधानमा एआईकोभूमिकाबारे विज्ञहरूसँग प्यानल छलफल हुनेछ । दुई दिने यस समिटमा १०० भन्दा बढी प्राविधिक प्रतिनिधि र व्यवसायीहरूको सहभागिता रहेको छ ।
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । यसका लागि बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्नो सदस्यहरुलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ । यसबाट व्यवसायी तथा कृषकहरुको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरुको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । बैंक र एसोसिएशन बीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
यस्तो छ सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २४ पैसा र बिक्रीदर ११० रुपैयाँ ७० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ०३ पैसा र बिक्रीदर नौ रुपैयाँ ०७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ र बिक्रीदर ३९ रुपैयाँ १६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५४ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८९ पैसा , बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ७० पैसा , ओमनी रियाल एकको खरिददर ३७० रुपैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
विदेशमा रहेका नेपालीले आजसम्म भुजुङ्ग हाइड्रोको आईपीओ खरिद गर्न पाउने
काठमाडौं । भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ । पुस ३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको छ । साथै सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।
सपोर्ट लघुवित्तको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव बिष्णु कान्त चौधरीले जानकारी दिए । लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार रुपैयाँको ९.५ प्रतिशतका दरले १ करोड १६ लाख ३२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले ६ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् १ करोड २२ लाख ४४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको कम्पनी सचिव चौधरीले बताए । उनका अनुसार उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नबिल बैंक मर्जरमा जाने कि विदेशी साझेदार भित्र्याउने, सेयरधनीहरूलाई ३.३८ अर्ब रुपैयाँ
काठमाडौं । नबिल बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा विदेशी रणनीतिक साझेदार भित्र्याउने निर्णय गरेको हो । सञ्चालक समितिको मर्जर सम्बन्धी निर्णय अनुमोदन गर्न बैंकले पुस २८ गते भित्रुभव आर्मी क्लब भद्रकाली काठमाडौंमा बिहान ११:१५ बजे ४१औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गाभ्ने/गाभिन तथा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा चलअचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्याङ्कनका लागि मूल्याङ्कनकर्ता नियुक्त गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्ने लगायत आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँको करसहित १२.५ प्रतिशतका दरले ३ अर्ब ३८ करोड २१ लाख २४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको गत वर्षको वित्तीय विवरण, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न बीआरएस न्यौपानेलाई पुर्ननियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, स्वतन्त्र सञ्चालक सरिता भट्ट अधिकारीको नियुक्ति अनुमोदन गर्ने र संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ । गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने, नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बुक क्लोजको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिद्धबाबा सुरुङको ६५ प्रतिशत प्रगति, तोकिएकै समयमा सम्पन्न गर्न कुलमानको निर्देशन
काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । १ हजार १२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको हो । १५१, १६१ र १३० मिटर लम्बाइ भएका ३ वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङ वाल लगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङ मार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तीब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजना स्थल पुगेका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिए । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताए । उनले भने, ‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएको लगायतका काबु बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनु हुँदैन ।’ इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख (करसहित) मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १ हजार ८२५ दिन सुरुङ सञ्चालन एवं मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो । सिद्धबाबा क्षेत्रमा वर्षा याम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुक्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।
नेप्सेको ८५ प्रतिशत लाभांश घोषणा, पुस २९ गते डाक्यो सेयरधनी भेला
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्से सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब रुपैयाँको करसहित ८५ प्रतिशतका दरले ८५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न नेप्सेले पुस २९ गते ४४औँ वार्षिक साधारण सभा नेप्से युएनआई शान्तिमार्ग, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । नेप्सेको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्विटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लागि महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त हुने लेखापरीक्षकलाई नेप्सेको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक र सेवा, शर्त तोक्नेछ । नेप्सेले आर्थिक वर्ष २०८०/८१ मा ७५ प्रतिशतका दरले ७५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ६४ प्रतिशतका दरले ६४ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ सय प्रतिशतका दरले १ अर्ब रुपैयाँ लाभांश वितरण गरेको थियो ।