नियो स्टोरको सातौं तथा सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर लाजिम्पाटमा
काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स रिटेल चेन नियो स्टोरले काठमाडौंको लाजिम्पाटमा सातौं तथा देशकै सबैभन्दा ठूलो ‘फ्ल्यागशिप स्टोर’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो नयाँ शोरूम खोलिएको हो । नियो स्टोरका म्यानेजिङ डाइरेक्टर सञ्जय गोल्छाका अनुसार लाजिम्पाटमा सञ्चालनमा आएको यो स्टोर नेपालभरिकै सातौं शाखा हो। यसअघि काठमाडौं उपत्यकामा ६ र पोखरामा १ गरी ७ वटा स्टोर सञ्चालनमा थिए। ‘लाजिम्पाटको यो हाम्रो फ्ल्यागशिप स्टोर हो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो पनि छ,’ गोल्छाले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको उपभोक्तालाई उत्कृष्ट मूल्यमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउनु हो । ’ नयाँ शोरूममा ल्यापटप, मोबाइल फोन, सीसीटीभी क्यामेरा, गेमिङ कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्रीहरूको बृहत् संकलन रहेको छ । विद्यार्थी, व्यवसायीदेखि कार्यकारीहरूसम्म सबै वर्गका ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर उत्पादनहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ । नियो स्टोरले आफ्ना उत्पादनहरूलाई ‘बेस्ट भ्यालु’को रूपमा प्रस्तुत गरेको छ । डाइरेक्टर गोल्छा भन्छन्, ‘हामी केवल जेन्युइन र ब्रान्डेड ल्यापटप मात्र बिक्री गर्छौं । हरेक उत्पादनमा वारेन्टी, ग्यारेन्टीका साथै एक वर्षको बीमा सुविधा पनि उपलब्ध छ । ’ ग्राहकहरूको सुविधाका लागि कम्पनीले किस्ताबन्दी (ईएमआई) को व्यवस्था पनि गरेको छ । नागरिकताको आधारमा पनि ग्राहकले सहजै ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। ‘हामी केवल किन्ने बेलाको मूल्यमा मात्र होइन, उत्पादनको समग्र ‘कस्ट अफ ओनरशिप’मा ग्राहकलाई उत्कृष्ट भ्यालु प्रदान गर्न चाहन्छौं, उनले थपे । यो सातौं स्टोरसँगै नियोले भविष्यमा आवश्यकताअनुसार थप शाखाहरू विस्तार गर्ने र हाल सञ्चालनमा रहेका स्टोरहरूलाई समेत थप आधुनिक बनाउँदै लैजाने योजना बनाएको छ । ‘हाम्रो लक्ष्य नेपालमै ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव दिनु हो,’ गोल्छाले भने । ग्राहकहरूलाई कुनै पनि इलेक्ट्रोनिक उत्पादन खरिद गर्दा मूल्य मात्र नभएर त्यसको समग्र भ्यालु हेर्न उनले आग्रह गरे ।
घण्टीघरमा रविले भने– जेनजी विद्रोहले उठाएका माग पूरा गर्नु अपरिहार्य छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी विद्रोहले उठाएका मागहरू पूरा गर्नु अपरिहार्य भएको समेत उनको भनाइ छ । उनले मुलुकमा सुशासन कायम गर्ने, जेनजीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पारे । सभापति लामिछानेले जेनजी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताए । निर्वाचन बिथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यस्तो प्रयास सफल हुन नदिने चेतावनीसमेत उनले दिए । सभापति लामिछानेले भने, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेनजी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । निर्वाचन बिथोल्नका निमित्त भागेका केही शक्तिहरू लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’ उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरू आफ्नो रोटी सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने पनि बताए ।
रास्वपाका सभापति रवि लामिछानेलाई घण्टीघरमा स्वागत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गरिएको छ । पार्टी कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उपस्थितिमा उनलाई बाजागाजासहित स्वागत गरिएको हो । लामिछाने शुक्रबार भैरहवा कारागारबाट रिहा भई काठमाडौं आइपुगेका हुन् । कारागारबाट छुटेपछि पहिलो पटक पार्टी कार्यालयमा आएका हुन् । सहकारी ठगी प्रकरणमा भैरहवा हुँदै नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । स्वागत कार्यक्रममा थुप्रै कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘सुरक्षित यात्रा तपाईंकै रोजाइमा’ नारासहित इनड्राइभको नयाँ सुरक्षा अभियान सुरु, बीमा पनि समेटियो
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा’ नामक बृहत् सुरक्षा अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममाझ कम्पनीकी ब्राण्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्काले उक्त अभियान सार्वजनिक गरिन् । अभियानको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई एपमा उपलब्ध सुरक्षा सुविधाहरूबारे विस्तृत जानकारी गराउँदै यात्रालाई थप सुरक्षित र विश्वसनीय बनाउनु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर खड्काले इनड्राइभबारे समाजमा रहेका केही भ्रमहरूलाई यो अभियानले चिर्ने विश्वास व्यक्त गरिन् । ‘कतिपयमा इनड्राइभमा यात्रा सुरक्षित छैन कि वा यसमा बीमाको सुविधा छैन कि भन्ने गलत बुझाइ छ,’ उनले भनिन्, ‘यो अभियानले एपमा भएका हरेक सुरक्षा सुविधाहरूलाई सरल तरिकाले यात्रुसम्म पुर्याउनेछ । तपाईंको रोजाइमा सुरक्षित यात्रा तय गर्ने स्वतन्त्रता इनड्राइभले दिएको छ । ’ उनले यो सकारात्मक सन्देश आम प्रयोगकर्तासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन् । इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार इनड्राइभले सुरक्षालाई आफ्नो प्रमुख उत्तरदायित्व मानेको छ । इनड्राइभले अभियानमार्फत सुरक्षा सुविधाहरूको बारेमा जानकारी गराएको छ । जसमा यात्रुले आफूलाई लिन आउने विभिन्न राइडरहरूको प्रोफाइल, रेटिङ र उनीहरूले पूरा गरेको राइड संख्या हेरेर आफूलाई सबैभन्दा सुरक्षित लाग्ने राइडर छनोट गर्न सक्छन् । यात्राको क्रममा यात्रुले आफ्नो लाइभ लोकेसन परिवार वा साथीभाइलाई सजिलै सेयर गर्न सक्छन्, जसले गर्दा उनीहरू कहाँ पुगे भनेर ट्र्याक गर्न सकिन्छ । कुनै असुरक्षित महसुस भएमा एपबाटै सिधै प्रहरी वा आफ्नो आपत्कालीन सम्पर्क व्यक्तिलाई कल गर्न सकिने सुविधा छ । यात्रा सकिएपछि यात्रुले राइडरलाई र राइडरले यात्रुलाई रेटिङ दिन सक्छन्। यसले दुवै पक्षलाई मर्यादित र जिम्मेवार बनाउन मद्दत गर्छ । इनड्राइभमार्फत हुने हरेक यात्रा बीमाद्वारा सुरक्षित गरिएको छ । जसले गर्दा यात्रु र राइडर दुवैले ढुक्क महसुस गर्न सक्छन् । ‘हिडन कल फिचर’ ले गर्दा यात्रु र चालकको व्यक्तिगत फोन नम्बर गोप्य रहन्छ । जसले गर्दा व्यक्तिगत विवरण सुरक्षित हुन्छ । इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले यी सुविधाहरू प्रयोग गर्न अल्छी नगरी हरेक यात्रामा उपयोग गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरिन् । ‘हामीले राइड सुरु हुनुअघि, यात्राको दौरान र यात्रापछि, तीनवटै चरणमा सुरक्षा सुनिश्चित गर्ने फिचरहरू राखेका छौं,’ उनले भनिन् । इनड्राइभले यात्रुको सुरक्षाका साथै आफ्ना राइडरहरूलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । हालै मात्र ‘प्ल्याटिनम गिभ अवे’ कार्यक्रमअन्तर्गत कार र बाइक प्रदान गरेको कम्पनीले क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै फेरि नयाँ उपहार योजना ल्याएको छ । यसअन्तर्गत उत्कृष्ट राइडरले कार, बाइक, स्मार्टफोन, स्मार्टवाच र फ्युल भौचर जित्ने मौका पाउनेछन् ।
सीएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’मोटरसाइकल लन्च हुँदै, नेपालमा परीक्षण सुरु
काठमाडौं । सीएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल परीक्षणका क्रममा देखा परेको छ । नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्नेगरी सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परीक्षण सुरु गरेको हो । सो नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई सहरी यात्रादेखि अफरोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको छ । नयाँ मोटरसाइकललाई सीएफमोटोले मजबुत अफरोड क्षमता र स्लीक अर्बन–रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ । नेपालका विविध सडक परिस्थिति र चुनौतीपूर्ण भूपरिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ । डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ विशेष डुअल–स्पोर्ट हेडलाइट जडान गरिएको छ । अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड उपलब्ध गराइएको छ । बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्याङ्कसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ । इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबार गरिएको छ भने प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको छ । टिकाउपन र ह्यान्डलिङलाई विभिन्न परिस्थितिमा (सहरको भीडभाडदेखि बिग्रिएको सडक र अफरोड ट्रेलसम्म) मूल्यांकन गरिरहेको अवस्थालाई मध्यनजर गर्दा सीएफमोटो नेपाली सडक सुहाउँदो दछ । एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउँने अपेक्षा गरिएको छ ।
गुल्मीमा सरकारी सेवा सामान्य तर चुनौती कायमै, के भन्छ राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्ट ?
काठमाडौं । गुल्मीका सरकारी कार्यालयहरूको सेवा प्रवाह सामान्यतया सन्तोषजनक भए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याका कारण चुनौती कायमै रहेको निष्कर्ष राष्ट्रिय सतर्कता केन्द्रले निकालेको छ । केन्द्रका सहसचिव दीपक घिमिरेले जिल्लाका २८ सरकारी कार्यालय र ६ विकास आयोजनाको अनुगमन र सेवाग्राही सर्वेक्षणपछि उक्त जानकारी दिएका हुन् । अनुगमन सूचीमा जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, डिभिजन वन, खानेपानी कार्यालय र केही स्थानीय तहका कार्यालयहरू समावेश रहेको उनले बताए । कुल ६२९ दरबन्दीमध्ये ४७९ मात्र पूर्ति भएको अनुगमन पछि थाहा भएको घिमिरेले जानकारी दिए । राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्टअनुसार १७३ पद रिक्त रहेका छन् । जिल्लामा २७ दशमलव पाँच प्रतिशत जनशक्ति अभाव देखिएको र यसले सेवा प्रवाहमा असर पुर्याएको राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्टमा उल्लेख गरिएको छ । विभिन्न कार्यालयमा सेवा लिन आएका ५७ सेवाग्राहीमा गरिएको सर्भेक्षणमा ८७ दशमलव सात प्रतिशतले तोकिएको समयमा सेवा पाएको राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्टमा जनाइएको छ । सेवा नपाउनेहरूले कर्मचारी अभाव, झन्झटिलो प्रक्रिया र कागजात नपुग्ने कारण उल्लेख गरेका छन् । सेवाग्राही सन्तुष्ट हुने मुख्य कारण समयमै सेवा उपलब्ध हुनु, कर्मचारीको सकारात्मक व्यवहार र सहज सेवा प्रक्रिया रहेको रिपोर्टमा उल्लेख छ । त्यस्तै, ३ दशमलव पाँच प्रतिशतले सेवा लिँदा अतिरिक्त रकम घुस दिनुपरेको अनुभव सुनाएको राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्टमा उल्लेख छ । अनुगमनका क्रममा कार्यालयहरूले जनशक्ति अभाव, सर्भर डाउन, न्यून बजेट, भौगोलिक विकटता र अन्तरनिकाय समन्वयको कमीलाई मुख्य चुनौतीका रूपमा औँल्याएका छन् । यद्यपि डिजिटल प्रणाली, नागरिक बडापत्र, गुनासो सुनुवाइ संयन्त्र र सूचना प्रविधिको प्रयोगमार्फत सेवा सुधारका प्रयास भइरहेका छन् । विकास आयोजनाको अनुगमनमा गुल्मीदरबार, छत्रकोट, धुर्कोट र इश्मा गाउँपालिकाका साथै रेसुङ्गा नगरपालिकामा सञ्चालन भइरहेका प्रशासनिक भवन, सडक स्तरोन्नति र कल्भर्ट निर्माणसमेत समावेश थिए । कतिपय आयोजनामा भौतिक प्रगति सन्तोषजनक भए पनि बजेट अभाव, भौगोलिक चुनौती र अनुगमनको निरन्तरताको कमीका कारण ढिलाइ देखिएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्टमा उल्लेख छ । सहसचिव घिमिरेले भने, ‘सेवा प्रवाहमा सुधारका प्रयास देखिन्छन् । तर रिक्त पद, प्रविधिक समस्या र बजेटको अभावले काममा ढिलाइ भइरहेको छ । यसलाई सुधार्न सम्बन्धित निकायले छिटो कदम चाल्नुपर्छ ।’ राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा सेवा गुणस्तर र विकास परियोजनामा निरन्तर अनुगमन गर्नुका साथै रिक्त पद पूर्ति, प्रविधि सुधार र आवश्यक बजेट सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सुझाब दिएको छ ।
अमेरिकाले भेनेजुएलाको तट नजिकै अर्को तेल ट्याङ्कर नियन्त्रणमा लियो
काठमाडौं । भेनेजुएलाबाट हालै प्रस्थान गरेको तेल ट्याङ्करलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले जानकारी दिएको छ । यो यसै महिनामा दोस्रो पटक हो, जब अमेरिकाले भेनेजुएलाको तट नजिक तेल बोकेर गइरहेको जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलामा आउने–जाने प्रतिबन्धित तेल ट्याङ्करहरूविरुद्ध ‘नाकाबन्दी’ गर्ने आदेश दिएको बताएका थिए । भेनेजुएलाले अमेरिकाको यो पछिल्लो कदमको निन्दा गर्दै यसलाई ‘चोरी र अपहरण’ भनेको छ । यसअघि पनि भेनेजुएलाले आफ्ना स्रोतहरू चोर्न खोजेको आरोप अमेरिकामाथि लगाउँदै आएको छ । भेनेजुएला सरकारले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्र सुरक्षा परिषद् तथा ‘अन्य बहुपक्षीय निकाय र विश्वभरका सरकारहरू’ समक्ष उजुरी दर्ता गराउने योजना रहेको जनाएको छ ।
अनुहारले दिन्छ कलेजो बिग्रिएको चेतावनी, यी संकेत देखिए सतर्क हुनुहोस्
काठमाडौं । कलेजो हाम्रो शरीरको मुख्य अंग हो । जसले रगत शुद्धीकरण गर्ने र खानालाई ऊर्जामा रूपान्तरण गर्ने काम गर्छ । तर कलेजोमा समस्या हुँदा वा यसले राम्रोसँग काम नगर्दा हाम्रो शरीरले अनुहारमार्फत चेतावनीको संकेत दिने गर्छ । अनुहारमा परिवर्तन आउँदा हामीले समयमै ख्याल गर्यौं भने कलेजो जोगाउन सक्छौं । आउनूहोस आज कलेजो खराब हुँदा अनुहारमा कस्ता संकेतहरू आउँछन्, तिनको बारेमा संक्षिप्त रूपमा बुझौं । आँखा र छाला पहेँलो हुनु आँखा र छाला पहेँलो हुनु कलेजो बिग्रिएको सबैभन्दा मुख्य संकेत हो । जब कलेजोले रगतबाट बिलिरुबिन (पहेँलो पदार्थ) हटाउन सक्दैन तब आँखाको सेतो भाग र अनुहारको छाला पहेँलो हुन्छ । .यसलाई बेवास्ता गर्नु खतरनाक हुन सक्छ । अनुहार असामान्य तरिकाले सुन्निने यदि बिहान उठेपछि अनुहार विशेष गरी आँखा मुनिको भाग धेरै सुन्निएको देखिन्छ भने यो कलेजोको कार्यक्षमतामा कमी आएको संकेत हुन सक्छ । कलेजोमा समस्या हुँदा शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ जसले गर्दा सुन्निने गर्छ । अनुहारमा कालो दाग कलेजो बिग्रिएपछि शरीरमा हार्मोनल सन्तुलन बिग्रन्छ । यसका कारण अनुहारमा अचानक खैरो वा कालो दाग देखिन थाल्छल । यसलाई प्रायः छालाको समस्या भनेर गलत बुझिन्छ । तर यो आन्तरिक कलेजो क्षतिको संकेत हुन सक्छ । माकुराको जालोको नसा यदि तपाईंले आफ्नो अनुहारमा माकुराको जालोजस्तै देखिने मसिना र राता नसाहरू देख्नुभयो भने सावधान रहनुहोस् । किनभने यो गम्भीर कलेजो रोगको संकेत हो । जब कलेजोले राम्रोसँग काम गर्न सक्दैन तब बढेको हर्मोनले रक्तनलीहरूलाई फैलाउँछ । यसले छालाको सतह नजिकै माकुरा जस्तो ढाँचा सिर्जना गर्छ । यी साना रक्तनलीहरू कलेजोको क्षतिको संकेत हुन सक्छन्, विशेष गरी सिरोसिसको ।