रिलायन्स स्पिनिङ्गको आईपीओ बिक्री, कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोष, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरुलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
ग्रीसमा पर्यटनको जीडीपीमा ३० प्रतिशत योगदान, सन् २०२५ मा उच्च रेकर्ड
काठमाडौं । ग्रीसको अर्थतन्त्रको एक प्रमुख क्षेत्रमा श्रम अभाव जारी भए पनि सन् २०२५ मा पर्यटनका लागि ‘अर्को उच्च रेकर्ड’ कोर्ने बाटोमा रहेको बताएको छ । नोभेम्बरको अन्त्यमा प्रकाशित ‘बैंक अफ ग्रीस’को तथ्याङ्क अनुसार सन् २०२५ जनवरीदेखि सेप्टेम्बरको अन्त्यसम्ममा लामो समयदेखि घमाइलो टापु र सम्पन्न पुरातात्त्विक स्थलहरूको लागि पर्यटकहरूको प्रिय भू-मध्यसागरीय राष्ट्र (ग्रीस) मा सन् २०२५ मा ३ करोड १६ लाख आगन्तुकहरूलाई स्वागत गरेको छ । यो सन् २०२४ को सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो । ‘समग्रमा, सन् २०२५ मा हाम्रो देशमा पर्यटनको लागि अर्को रेकर्ड वर्ष हुनेछ,’ पर्यटन मन्त्री केफालोजियानीले ग्रीक समाचार एजेन्सी एएनएसँग भने । उनले सन् २०२६ अर्को उपहार लिएर आउने आशा पनि व्यक्त गरे । ‘सन् २०२६ का लागि सूचकहरु पहिले नै विशेष रूपमा उत्साहजनक छन् र हामीलाई आशावादी हुन अनुमति दिन्छ,’ उनले भने । कोभिड-१९ महामारीपछि ग्रीसले पर्यटन राजस्व र विदेशी पर्यटकको सङ्ख्यामा वार्षिक रेकर्ड तोड्दै आएको छ । सन् २०२४ मा ४ करोड ७० हजार मानिसहरूले ग्रीस भ्रमण गरेका थिए र यो सन् २०२३ को तुलनामा १२.८ प्रतिशतले बढी हो । यो वृद्धिले पर्यटनका लागि धेरै प्रसिद्ध स्थलहरूमा अनियन्त्रित निर्माणको चिन्ता जगाएको छ । एथेन्सका स्थानीयहरूले छोटो अवधिको विदा मनाउनका लागि सरकारले गरेको पर्यटनको प्रचारप्रसारले ग्रीसमा भाडा आकाशिएको छ । जलवायु परिवर्तनले निम्त्याएको उष्ण लहर र बढ्दो विनाशकारी जङ्गलको डढेलोले पनि यस क्षेत्रका लागि खतरा निम्त्याएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले वित्तीय सङ्कटपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयासमा सन् २०१९ मा पदभार ग्रहण गरेदेखि पर्यटनका लागि प्रचारप्रसारलाई व्यापकता दिए । इन्स्टिच्युट अफ द ग्रीक टुरिजम कन्फेडेरेसन (इनसेट) का अनुसार सन् २०२४ मा कुल गार्हस्थ उत्पादनमा पर्यटनले प्रत्यक्ष योगदान १३ प्रतिशत र अप्रत्यक्ष रूपमा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ३० प्रतिशतभन्दा बढी योगदान पुर्याएको थियो ।
बढी धुवाँ फाल्ने ४० सवारीका चालकलाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आइतबार थानकोटमा गरेको जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधनका चालकलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले ६० सवारीसाधन जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरिएको जानकारी दिए । मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न जाने भएकाले सवारीसाधनको अवस्था जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले सम्पूर्ण चालकलाई अनुरोध गरेको छ ।
२ रेष्टुरेण्टलाई ५० हजार जरिवाना, १४ फर्ममा निर्देशनात्मक कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा रेष्टुरेण्टलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्य सूची राख्नुपर्ने व्यवस्था छ । उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्री स्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एण्ड चाट हाउस काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज र आई क्याफे रेष्टुरेण्ट एण्ड बार टोखालाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो । त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुगमन गरी, निर्देशनात्मक कारबाही गरेको छ । विभागले पछिल्ला दिनमा बजार अनुगमनलाई तीव्र पारेको छ । बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशील भएको जनाएको छ ।
खैरो सूचीबाट नेपाललाई निकाल्न प्रधानमन्त्री कार्की सक्रिय, १ हजार ६०० रोपनी जग्गा रोक्का
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘खैरो सूची’बाट नेपाललाई बाहिर निकाल्न गरिएका तयारीबारे सम्बन्धित निकायहरूसँग जानकारी लिएकी छन् । आइतबार ९आज० प्रधानमन्त्री निवासमा अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान तथा नियमनकारी निकायबाट उच्चस्तरीय ब्रिफिङ लिएकी हुन् । ब्रिफिङका क्रममा सम्बन्धित निकायका प्रमुखहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समयमै अनुसन्धान गरी अभियोजन प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का तथा जफत गर्ने कार्यमा भएको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यस अवसरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं उपत्यकाभित्र मात्रै करिब १ हजार ६ सय रोपनी जग्गा रोक्का राखिएको विवरण प्रस्तुत गरेको छ। सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुनी तथा संस्थागत सुधारलाई तीव्र बनाउँदै खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्ने प्रतिबद्धता दोहोर्याएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिष्ट)मा राखेको छ । यसअघि उसले दिएका सुझाव कार्यान्वयनमा अटेर गरेपछि नेपाल खैरो सूचीमा परेको हो । खैरो सूचीबाट बाहिर निस्कन एफएटीएफले थप सात सुझाव दिँदै कार्यान्वयन नगरे दुई वर्षमा कालोसूचीमा राख्ने चेतावनीसमेत नेपाललाई दिएको छ । खासगरी सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल कमजोर भएको भन्दै नेपाललाई खैरो सूचीमा राखिएको हो । एफएटीएफका अनुसार ११ मापदण्डमध्ये कम्तीमा ३ वटामा ‘हाइली कम्प्लायन्स’ वा ‘सब्स्टान्सियल कम्प्लायन्स’ हुनु आवश्यक छ । तर नेपालले ४ मापदण्डमा ‘मध्यम’ र ७ मापदण्डमा ‘न्यून’ मूल्यांकन पाउँदा खैरो सूचीमा झर्नु परेको हो । खैरो सूची सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने एफएटीएफको नकारात्मक सूची हो । खैरो सूचीमा सम्पत्ति शुद्धीकरण अर्थात मनी लाउन्डरिङ र आतंकवादी क्रियाकलापमा वित्तीय सहायता रोकथाम गर्न आवश्यक मापदण्ड पूरा गर्न नसक्ने मुलुकहरूलाई राख्ने गरिन्छ ।
एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट
काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने भएको छ । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आईपीओ निष्कासनका लागि सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ । सम्झौतामा एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणि खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धि निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको हो । अस्पतालको थप सेवा विस्तारको लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणि खनालले जानकारी गराए । एनपीआई नारायणी सामुदायिक हस्पिटलको स्थापना विसं २०६३ मा भएको र हाल यसको वार्षिक कारोबार १.१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ । हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् ।
मधेसको सभामुखमा रामआशीष यादव निर्वाचित
काठमाडौं । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामआशीष यादव निर्वाचित भएका छन् । यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन् । उनको पक्षमा प्रदेशसभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरूमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो । नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले उनको विपक्षमा मतदान गरेको थियो । प्रदेशसभा सदस्य रामआशीष यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् प्रस्तावको पक्षमा प्रदेश सभामा उपस्थित प्रदेशसभा सदस्य संख्याको बहुमत रहेकाले अर्का सभामुख पदका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुपरेको थिएन ।
नियो स्टोरको सातौं तथा सबैभन्दा ठूलो फ्ल्यागशिप स्टोर लाजिम्पाटमा
काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स रिटेल चेन नियो स्टोरले काठमाडौंको लाजिम्पाटमा सातौं तथा देशकै सबैभन्दा ठूलो ‘फ्ल्यागशिप स्टोर’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो नयाँ शोरूम खोलिएको हो । नियो स्टोरका म्यानेजिङ डाइरेक्टर सञ्जय गोल्छाका अनुसार लाजिम्पाटमा सञ्चालनमा आएको यो स्टोर नेपालभरिकै सातौं शाखा हो। यसअघि काठमाडौं उपत्यकामा ६ र पोखरामा १ गरी ७ वटा स्टोर सञ्चालनमा थिए। ‘लाजिम्पाटको यो हाम्रो फ्ल्यागशिप स्टोर हो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो पनि छ,’ गोल्छाले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको उपभोक्तालाई उत्कृष्ट मूल्यमा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउनु हो । ’ नयाँ शोरूममा ल्यापटप, मोबाइल फोन, सीसीटीभी क्यामेरा, गेमिङ कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्रीहरूको बृहत् संकलन रहेको छ । विद्यार्थी, व्यवसायीदेखि कार्यकारीहरूसम्म सबै वर्गका ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर उत्पादनहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ । नियो स्टोरले आफ्ना उत्पादनहरूलाई ‘बेस्ट भ्यालु’को रूपमा प्रस्तुत गरेको छ । डाइरेक्टर गोल्छा भन्छन्, ‘हामी केवल जेन्युइन र ब्रान्डेड ल्यापटप मात्र बिक्री गर्छौं । हरेक उत्पादनमा वारेन्टी, ग्यारेन्टीका साथै एक वर्षको बीमा सुविधा पनि उपलब्ध छ । ’ ग्राहकहरूको सुविधाका लागि कम्पनीले किस्ताबन्दी (ईएमआई) को व्यवस्था पनि गरेको छ । नागरिकताको आधारमा पनि ग्राहकले सहजै ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। ‘हामी केवल किन्ने बेलाको मूल्यमा मात्र होइन, उत्पादनको समग्र ‘कस्ट अफ ओनरशिप’मा ग्राहकलाई उत्कृष्ट भ्यालु प्रदान गर्न चाहन्छौं, उनले थपे । यो सातौं स्टोरसँगै नियोले भविष्यमा आवश्यकताअनुसार थप शाखाहरू विस्तार गर्ने र हाल सञ्चालनमा रहेका स्टोरहरूलाई समेत थप आधुनिक बनाउँदै लैजाने योजना बनाएको छ । ‘हाम्रो लक्ष्य नेपालमै ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको खरिद अनुभव दिनु हो,’ गोल्छाले भने । ग्राहकहरूलाई कुनै पनि इलेक्ट्रोनिक उत्पादन खरिद गर्दा मूल्य मात्र नभएर त्यसको समग्र भ्यालु हेर्न उनले आग्रह गरे ।