विकासन्युज

लाभांश सिजन सुरु, ८ दिनमै सिद्धार्थ व्यवस्थित लगानी योजनाको घोषणा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै पुँजी बजारमा लाभांश सिजन पनि सुरु भएको छ । आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण बन्द भएसँगै सूचीकृत कम्पनी तथा म्युचुअल फण्डहरूले लाभांश तथा प्रतिफल घोषणा गर्न थालेका छन् । यससँगै लगानीकर्ताको चासो अब कुन कम्पनी वा योजनाले कति प्रतिफल वितरण गर्छ भन्नेमा केन्द्रित हुन थालेको छ । यसैक्रममा, आर्थिक वर्ष समाप्त भएको आठ दिनमै सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना सिद्धार्थ व्यवस्थित लगानी योजनाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई करसहित ३ प्रतिशत नगद प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिफल वितरण प्रयोजनका लागि साउन ८ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्तामात्र प्रतिफल प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ । सिद्धार्थ व्यवस्थित लगानी योजना खुलामुखी योजना भएकाले लाभांश पुनःलगानी योजनामा सहभागी भएका इकाईधनीको हकमा कर तथा निर्धारित डिपी शुल्क कटाएर बाँकी रकम बराबरको नयाँ इकाई समायोजित खुद सम्पत्ति मूल्यका आधारमा खरिद गरी सम्बन्धित हितग्राही खातामा जम्मा गरिनेछ । यस्तै, पुनःलगानी योजनामा सहभागी नभएका इकाईधनीको हकमा प्रतिफल रकम हितग्राही खातामा उल्लेख भएको बैंक खातामै सिधै जम्मा गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा

काठमाडौं । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरिएको जनाएको छ । कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका ७, सर्लाही र रौतहटका ३ तथा धनुषाका एक उद्योगी-व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ । उनका अनुसार सप्तरी र सिरहाका तीन तथा धनुषाका दुई गरी थप पाँच उद्योगी-व्यवसायी विरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ । अनुगमनका क्रममा सङ्कलित नमुनाको परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख दाहालले बताए ।  आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लाबाट कानुनबमोजिम ५७८, उत्पादकको आग्रहमा १ हजार २२८, सरकारी निकायबाट प्राप्त २० सहित कुल ४ हजार ५५९ खाद्य नमुना सङ्कलन गरिएको थियो । तीमध्ये ३५ नमुनामा प्रतिकूल नतिजा देखिएको र १० नमुनामा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । सोही अवधिमा ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी परीक्षण र ३१० वटा स्वच्छता सर्भिलेन्स गरिएको प्रमुख दाहालले जानकारी दिए ।  खाद्य स्वच्छता प्रवर्द्धनका लागि कार्यालयले धनुषामा ६० पटक अनुगमन गरी २५० होटल तथा रेष्टुरेण्टको निरीक्षण गरेको जनाएको छ । यस अवधिमा १२१ उद्योगलाई अनुज्ञापत्र जारी, ३०७ उद्योगको नवीकरण तथा ३४७ उद्योगका लागि सिफारिस गरिएको छ । नमुना परीक्षण, अनुज्ञापत्र जारी, नवीकरण तथा उद्योग सिफारिसलगायतका सेवाबाट ३८ लाख ३६ हजार १७० रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख दाहालले बताए । गत असारमा मात्र अनुगमन टोलीले धनुषाका ४४ होटल तथा रेष्टुरेण्टमा गरेको अनुगमनमा १२ वटामा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ४ लाख २० हजार रूपैयाँ जरिवाना गरिएको उनको भनाइ छ । त्यसैगरी, सर्लाहीका २४ होटलमा गरिएको अनुगमनमा १७ वटामा कैफियत भेटिएपछि ६ लाख ६७ हजार रुपैयाँ जरिवाना गरिएको थियो । कार्यालयका अनुसार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेको तथा अन्य अखाद्य वस्तुहरू जफत गरी सम्बन्धित सरोकारवालाको रोहबरमा नष्ट गरिएको छ ।

आज हरिशयनी एकादशी तुलसी पूजा गरिदैं, ४ महिनाका लागि विष्णु शयनमा

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा. देवमणि भट्टराई बताउँछन् । भगवान विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।  कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।  एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

विराटनगर राजस्व कार्यालयले उठायो १० अर्ब राजस्व, ब्याज कर ३८ करोड

काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल १० अर्ब ३० करोड ५३ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरी ८५.१५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले १२ अर्ब १० करोड २८ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा १ अर्ब ७९ करोड ७५ लाख ४४ हजार रुपैयाँ राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।  सङ्कलित राजस्वमा आयकर ४ अर्ब ७ करोड २५ लाख ४१ हजार रुपैयाँ, बहाल आयकर ८ करोड ८ लाख ५५ हजार रुपैयाँ, ब्याज कर ३८ करोड १३ लाख १ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर २ अर्ब ५६ करोड ८६ लाख ७५ हजार रुपैयाँ, अन्तःशुल्क ३ अर्ब १५ करोड १० लाख ४९ हजार रुपैयाँ, शिक्षा कर ८४ हजार रुपैयाँ र अन्य कर ५ करोड ८ लाख ३२ हजार रुपैयाँ छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८ अर्ब ९३ करोड रुपैयाँ, आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ९ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा ८.७७ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा ७.६१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा ७.२८ प्रतिशत राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताए ।  कुल ६० हजार ६७५ करदाता आबद्ध रहेको यस कार्यालयले जेनजी आन्दोलन पछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको प्रमुख उप्रेतीले बताए । 

४२ हजारको निवेदन, ३४ परिवारले पाए लालपूर्जा

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-७ भालुवाङस्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान आयोगका अध्यक्ष बलभद्र बास्तोलाले लाभग्राहीलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् । लालपूर्जा वितरण कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले सबै पक्षबाट आवश्यक सहयोग प्राप्त भए वर्तमान कार्यकालभित्रै सबै भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसक्ने लक्ष्य रहेको बताए । उनले ५०० दिनभित्र लालपूर्जा वितरण सम्पन्न गर्ने योजना रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय तह, जिल्ला भूमि समस्या समाधान समिति तथा निवेदकहरूको सहकार्य आवश्यक पर्ने बताए। उनका अनुसार सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने चितवन दोस्रो जिल्ला बनेको छ । कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय तहसँग समन्वय गरेर प्रक्रिया पूरा भएका लाभग्राहीलाई तत्काल लालपूर्जा वितरण गरिने र अपुग प्रक्रिया भएकाको काम पनि छिट्टै पूरा गरिने जानकारी दिए। उनका अनुसार जिल्लाका सबै पालिकामा नाप-नक्सा, दर्ता र प्रमाणीकरणलगायतका कार्य भइरहेको छ । चितवनमा हालसम्म ४२ हजार जनाबाट लालपूर्जाका लागि निवेदन परेको उनले बताए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार शुक्रबार लालपूर्जा प्राप्त गर्ने ३४ परिवारमध्ये चार परिवार भूमिहीन दलित र ३० परिवार भूमिहीन सुकुम्बासी रहेका छन्। सोही बस्तीका थप ३८ परिवारको लालपूर्जा तयारी अवस्थामा रहे पनि जग्गाधनीहरू फोटो टाँस्ने क्रममा बाहिर रहेकाले उनीहरू फर्किएपछि वितरण गरिने उनले बताए। गाउँपालिकामा अझै ८० भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी तथा दुई हजार ९३० अव्यवस्थित बसोबासी परिवार रहेको गाउँपालिकाले जनाएको छ। लालपूर्जा वितरण कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका सातवटै वडाका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज दिउँसो हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस र कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । बागमती र गण्डकी प्रदेशको तराई भू-भागका केही स्थान,  कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेश तथा कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले वर्षा हुन क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी प्रतिवद्ध छ: महानिरीक्षक पौडेल

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी बल पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार (आज) सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा स्थानीय जनताहरुसँग निरन्तर समन्वय र सहकार्य गरी अगाडी बढेको बताए । उनले खुल्ला सीमानाका कारण राष्ट्रिय सुरक्षामा थप चुनौती भएको हुँदा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको जनशक्ति, प्राप्त स्रोतसाधन, प्रचलित कानून, अन्य सुरक्षा निकायसँगको समन्वय र स्थानीय वासिन्दाहरुसँग सहकार्य गरी सीमा सुरक्षालाई थप मजबुद बनाउदै लैजाने बताए । महानिरीक्षक पौडेलले विशेष गरी क्रस बोर्डर तथा दशगजा क्षेत्रको रेखदेख, तेस्रो देशका नागरिकहरुको आगमन, अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध ओसार पसार लगायत अवैध वन्यजन्तु तथा काठ तस्करी नियन्त्रणमा समेत अन्य सुरक्षा निकायको समन्वय र सहकार्यमा नियन्त्रण गर्दै आईरहेको बताए । त्यस्तै, मानव वेचविखनका घटनारुमा समेत सशस्त्र प्रहरी बल नेपालले सम्बन्धित निकायहरुसँग समन्वय गरी नियन्त्रण गर्दै आईरहेको बताउनुकासाथै सीमा क्षेत्रमा हुने विपद् उद्धारका कार्यमा सहज होस भन्ने अभिप्रायकासाथ सशस्त्र प्रहरी बल नेपालले भारतीय  सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा विपद् रोकथामका कृत्रिम अभ्यासहरु समेत संचालन गर्दै आईरहेको बताए । उनले हाल नेपाल-भारत तथा नेपाल-चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले २ सय ६० वटा बोर्डर आउट पोष्टहरु स्थापना गरी सीमा क्षेत्रको निगरानी र सुरक्षा गर्दै आईरहेको र भविष्यमा समेत सो बोर्डर आउट पोष्टलाई थप गरी ४ सय २५ वटा बनाउने योजना रहेको बताए । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले करीव १ हजार ८ सय ८० किलोमिटर समिा क्षेत्र रहेको नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको २ सय ४९ बोर्डर आउट पोष्टले मात्र सीमा क्षेत्रको सुरक्षा गर्न कठिनाई परेको बताउँदै थप जनशक्ति र भौतिक स्रोतसाधन लागि नेपाल सरकार गृहमन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य भई रहेको बताए । उनले सीमामा रहेका स्थानीय वासिन्दाहरुसँग कसरी नजिक हुन सकिन्छ र उनीहरुसँग कसरी सहयोग लिन सकिन्छ भन्ने उद्देश्यकासाथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमामा बसोवास गर्ने स्थानीय वासिन्दाहरुसँग प्रत्यक्ष समन्वय र सहकार्य गरी विभिन्न कार्यक्रहरु संचालन गर्दै आईरहेको र यसबाट राजश्व चुहावट तथा अवैध चोरीनिकासीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमामा बसोवास गर्ने युवाहरुलाई रोजगार र दैनिक जीविका आर्जनमा समेत सहयोग होस भन्ने भावनाकासाथ सशस्त्र प्रहरी बल नेपालले विभिन्न सीप मूलक तालिम संचालन गर्नुकासाथै त्यस क्षेत्रका गरीव, जेहेन्दार छात्रछात्रा तथा बृद्धबृद्धाहरुलाई खाद्यान्य, लत्ताकपडा, शैक्षिक सामाग्री तथा निःशुल्क स्वास्थ्य जाँच गरी औषधीहरु समेत वितरण गर्दै आईरहेको बताए । उनले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापका साथै आपद् विपद्मा परेका नागरिकहरुको उद्धार र सहयोगमा प्रत्यक्ष सहयोग पुग्ने विश्वासकासाथ सशस्त्र प्रहरी बल नेपालले २४सै घण्टा पैदल गस्ती गरिरहेको र यसबाट क्षेत्रका स्थानिय वासिन्दाहरुसँग अन्तरक्रिया गरी सीमा अपराध र अवैध क्रियाकलाप रोकथाममा सहज पुग्ने बताए । महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारीमध्ये सीमा सुरक्षालाई प्रमुख दायित्वमा राखी संगठनमा रहेका आधाभन्दा बढी जनशक्ति सीमा क्षेत्रमा परिचालन गर्नुकासाथै नेपाल सरकार गृहमन्त्रालयबाट स्वीकृत लिई सीमा तथा दशगजना क्षेत्रमा रहेका सीमा चिन्हहरुको रंगरोगन तथा मर्मत सम्हार गर्दै आईरहेको बताए । उनले सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल नेपालको जनशक्ति कम भएको कारण खुल्ला सीमानालाई आगामी दिनमा डिजिटल बोर्डरको रुपमा अगाडी बढाउन सकियो भने खुल्ला सीमाना एउटा आफैमा सिष्टोमेटिक हुँदै जाने विश्वास व्यक्त गर्दै मजकुर गृहमन्त्रालयबाट प्राप्त सहयोगले अन्य डिवाईस उपकरण जोड्ने कार्यलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले भारतको पटना बस्ने २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको हो । निजहरूको मिलोमतोमा भारतीय नागरिकसमेतलाई विभिन्न प्रलोभन देखाई अनलाइनबाट ठगी गर्ने गरेको भन्ने सूचानका आधारमा हेटौंडा-१० स्थित बाँस्तोला होटलबाट चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरूले प्रयोग गर्ने मोबाइलमा ठगी प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएपलगायतएसहरूमार्फत ग्रुप तयार गरी रकमको कारोबारसमेत भएको देखिएको उल्लेख गर्दै प्रहरीले जिल्ला अदालत हेटौंडाबाट अनलाइन ठगीसम्बन्धी कसुर मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ ।