विकासन्युज

स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

चितवन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमा बन्द गर्ने निर्णय गर्‍यो । यसको प्रमुख कारण स्वास्थ्य बीमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो । त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा बढी छ । तर अस्वीकृत दुई प्रतिशत मात्रै छ । अस्पतालले स्वास्थ्य बीमाको दाबी भुक्तानी र व्यवस्थापनमा छुट्टै खालको व्यवस्थित संरचना बनाएर काम गरेको छ । यसका कारण स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका अस्पतालका बीमा हेर्ने कर्मचारी र प्रशासक यहाँ अध्ययनका लागिसमेत आउने गर्दछन् । कतिपय अस्पतालले कर्मचारी पठाएर काम सिकाउने गर्दछन् । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेस मल्लका अनुसार बोर्डमा रहेका अस्पतालहरूको सरदर अस्वीकृत दर २० प्रतिशत रहेको छ । त्रिविले ५० प्रतिशत रहेको भनेको जनाउँदै उनले सबै अस्पतालको छुट्याएर आफूले नहेरेको बताए । उनले भने, 'बीमा बोर्डको कार्यविधि र निर्देशिका अनुरूप काम नगरेकाले अस्वीकृत भएको हो ।' दाबी गर्न नमिल्ने भनी उल्लेख गरेका क्षेत्रमासमेत उपचार गरी दाबी गरिएको उनको भनाइ छ । जुन अस्पतालले बोर्डको कार्यविधि र निर्देशिका अनुसार काम गरेका छन्, उनीहरूको अस्वीकृत दर न्यून रहेको उनी बताउँछन् । निर्देशिका अनुसार काम गरेकै कारण भरतपुर अस्पतालको अस्वीकृत कम भएको हो । अस्पतालका बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार साउन, भदौ र असोज तीन महिनाको विस्तृत अध्ययन गर्दा अस्वीकृत दर दुई प्रतिशत हाराहारी हुन आएको हो । साउनमा १.५ प्रतिशत थियो, भदौमा २.८ र असोजमा ३.३ प्रतिशत अस्वीकृत दर रहेको छ । तीन महिनालाई सरदर मान्दा २.४ प्रतिशत अस्वीकृत दर हुन आउँछ । कार्यक्रम प्रमुख पौडेलले बोर्डको निर्देशिका र कार्यविधिलाई अक्षरम्स पालना गरी काम गरिएको बताए। सो क्रममा सेवाग्राहीलाई बुझाउन समय खर्चिनु परे पनि अस्वीकृत दर कम भएर अस्पतालको व्ययभार घटेको उनको भनाइ छ । उनले भने 'सेवाग्राही मैले यो सेवा किन नपाउने ? भनेर झगडा गर्न आउनुहुन्छ । हामी बोर्डको निर्देशिका देखाएर सम्झाएर पठाउँछौँ ।' अस्पतालको स्वास्थ्य बीमा शाखामा १८ जना कर्मचारीले २४ सैँ घण्टा आलोपालो काम गर्ने गरेको उनको भनाइ छ । बोर्डको दाबी भुक्तानीसम्बन्धी तोकिएको मापदण्डभित्र रहेर सेवा प्रवाह तथा सोही अनुरूपका कागजातबाट दाबी गर्ने गरिएको छ ।  बीमा विभागमार्फत चिकित्सक र स्वास्थ्यकर्मीलाई समय समयमा बोर्डका नयाँ निर्देशन जानकारी गराएर सोही अनुसार काम गर्न आग्रह गरिएकाले पनि न्यून अस्वीकृत भएको पौडेल बताउछन् ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार बिमामा दक्षजनशक्तिको समूह परिचालन भएको र प्रविधिको उच्चतम प्रयोग गरिरहेका कारण अस्वीकृत दर कम भएको हो । उनका अनुसार अहिले पनि बोर्डबाट रु ६० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी छ । आर्थिक वर्ष २०७४/७५ बाट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । गत आर्थिक वर्षको अन्त्यसम्म अस्पतालले १४ लाख ७६ हजार ९०३ पटक सेवा प्रवाह गरेको छ । जस बापत रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९ अस्पतालले प्राप्त गरिसकेको छ । उनका अस्पतालमा खर्च हुने भएकाले अस्वीकृत दर घटाउने र समयमा भुक्तानी दिने कुरामा बोर्ड सकारात्मक हुनुपर्ने बताउँछन् । भरतपुर अस्पताल स्वास्थ्य बिमा कार्यक्रमका हिसाबले नेपालका अस्पतालमा नमूना रहेको भन्दै उनले अझ व्यवस्थित बनाउने कुरामा आफूहरू लागिरहेको बताउँछन् । नेपालका ५१० अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । दैनिक रु १० करोडभन्दा बढीको दाबी बीमा बोर्डमा ती अस्पतालले गर्ने गरेका छन् । बोर्डको तथ्यांक अनुसार एक करोड नागरिक बिमामा जोडिएको भए पनि ६८ लाख मात्रै सक्रिय छन् । बोर्डले रु १०.५ अर्ब रकम अस्पताललाई भुक्तानी गर्न बाँकी छ । जसका कारण अस्पतालहरूले बीमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको गुनासो गर्दै आएका छन् । रासस

लोकल गोलभेँडा किलोको ५० रुपैयाँ, यस्तो छ तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, काउली तराई प्रतिकिलो ७० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ६५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो १४० रुपैयाँ, लौका प्रतिकिलो ७५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ७० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ । यस्तै, समितिले रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।  बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, कुरीलो प्रतिकिलो १७५० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, जिरीको साग प्रतिकिलो ११० रुपैयाँ, सेलरी प्रतिकिलो २०० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो ७० रुपैयाँ, पुदिना प्रतिकिलो ३०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैँया, सुन्तला (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ११० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

पर्सामा एक सय ६७ मतदानस्थल कायम

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लाभरि भने एक सय ६७ वटा मतदानस्थल छन् । क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउँदै आइरहेको दाबी गरे। 'निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गले अघि बढाउनको लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउँदै आइरहेका छौँ,' उनले भने, ‘निर्वाचनको तयारीस्वरुप विभिन्न मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण र आवश्यक समन्वयको काम पनि भइरहेको छ ।’ पर्सामा एक सय ६७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, ८५ वटा संवेदनशील र २० वटा कम संवेदनशीलको सूचीमा राखिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले गत माघ २ गते जिल्लामा चार वटै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना भइसकेको छ । अहिले चार वटै निर्वाचन अधिकृतको कार्यालय पनि सुरक्षाकर्मी खटाएर सुरक्षा प्रबन्धको व्यवस्था मिलाइएको छ । जिल्लामा चार सय ४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् । यहाँ चार वटा निर्वाचन क्षेत्र रहेका छन् यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ एक सय १४ निर्वाचन क्षेत्र छन् । पर्सा जिल्लामा कूल मतदाता सङ्ख्या तीन लाख ७६ हजार पाँच सय १३ छन् । तीमध्ये एक लाख ६४ हजार चार सय २१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।

सूर्यज्योति लाइफका ४ संस्थापक सेयरधनी बाहिरिँदै, ११.२५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट एकैपटक चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका विभिन्न चार जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख २० हजार २१४ कित्ता, गौरव सारडाले २ लाख ७२ हजार ८४४ कित्ता र दिनेशप्रसाद श्रेष्ठले ७ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र सेयर मूल्य तोकी आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुकले सेयर रजिष्ट्रारको कार्यालय, थापाथली, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, सीआईबीमा श्रेष्ठ

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न विभाग तथा प्रदेश प्रहरी कार्यालयमा डीआईजीहरूको सरुवा गरेको हो । सरुवा हुनेमा अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दीपक रेग्मी रहेका छन् । यसैगरी दीपेन्द्र घर्ती क्षेत्री, भूपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पौडेललाई कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा गरिएको छ । त्यसैगरी घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा, श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाजिम्पाटमा र भट्टलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको हो ।  

कुमारी बैंकको साढे १४ लाख कित्ता सेयर बिक्रीमा, क-कसले खरिद गर्न पाउँछन् ?

काठमाडौं । कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव गरेका हुन् । बैंकका अनुसार १४ लाख ६२ हजार ९३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकी आवेदन दिनुपर्नेछ । यदि तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ । इच्छुकले क्यापिटलको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

नियम उल्लङ्घन गर्ने २० निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नियम उल्लङ्घन गरेका २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त निकायले विभिन्न सार्वजनिक संस्थाबाट प्राप्त सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको छ। कार्यालयको निर्णयअनुसार अधिकांश निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । केही कम्पनीलाई भने तीन वर्षसम्म सार्वजनिक खरिद प्रक्रियाबाट वञ्चित गरिएको छ ।  कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सरकारी वा सार्वजनिक निकायको खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

पूर्वी नाकाबाट उत्साहजनक निर्यात, मुसुरो दाल ४८१ प्रतिशत बढ्यो, ७.१९ अर्बको अलैंची

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्ध वार्षिक अवधिमा अलैंची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा ७ अर्ब १९ करोड ९५ लाख ४ हजार रुपैयाँ बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा अलैंचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाँइले बताए ।  गत आवको साउनदेखि पुससम्ममा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ बराबरको अलैंची पूर्वी नाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६.०२ प्रतिशतले वृद्धि भएको छ । चालु आवको ६ महिनामा ७६ करोड ५ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख ३४ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ । भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ । चालु आव २०८२/८३ को ६ महिनामा ५३ करोड ४ लाख ९६ हजार रुपैयाँको भेनियर सिट र ९ करोड १२ लाख ८७ हजार रुपैयाँको मुसुरो दाल निर्यात भएको छ । गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अर्ध वार्षिक अवधिमा चियाको निर्यातमा २६.०४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४.०५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ । चालु आवको ६ महिनामा २ अर्ब १७ करोड ८७ लाख ५ हजार रुपैयाँ बराबरको चिया र १ अर्ब ९ करोड ७४ लाख ३ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया र १ अर्ब ९७ करोड ७६ लाख ४६ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको थियो । यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अर्ध वार्षिक अवधिमा ३३ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको अम्लिसो, ५० करोड १७ लाख ३२ हजार रुपैयाँ बराबरको अदुवा र सुठो, ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ बराबरको काउली, बन्दाकोबी र ब्रोकाउली र ५ करोड ७४ लाख २७ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाँइले जानकारी दिए ।