विकासन्युज

वातावरणीय उत्तरदायित्वमा अग्रसर माछापुच्छ्रे बैंक, पीसीएएफसँग जोडियो

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) सँग सहकार्य गरेको छ । पीसीएएफ विश्वव्यापी साझेदारीको रुपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरितगृह ग्यास (जीएचजी) उत्सर्जनको मूल्याङ्कन र सो को विवरण प्रकाशन गर्न एक सामंजस्यपूर्ण दृष्टिकोण विकास र कार्यान्वयन गर्न मुख्य भूमिका खेलिरहेको छ ।  पीसीएएफले विश्वव्यापी मान्यताप्राप्त मापदण्डमार्फत बैंक तथा वित्तिय संस्थाहरूलाई आफ्ना वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन हरितगृह ग्यासको पहिचान गरी भरपर्दो जलवायु रणनीति अपनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।  विश्वमा बढ्दै गईरहेको हरितगृह ग्यास र यसबाट भविष्यमा उत्पन्न हुनसक्ने जटिल समस्याका बारेमा सचेत रहेको माछापुच्छ्रे बैंकले पनि पीसीएएफमा सहभागी भएर आफ्नो व्यवसायिक कार्यप्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता गरेको छ ।  यो कदमले बैंकको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै, वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न, जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउनतथा नेपालले लिएको  कम कार्बन उत्सर्जनको नीति तथा जलवायु–लचकदार अर्थतन्त्रतर्फको यात्रालाई सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ । 

हिरक जयन्तीका अवसरमा होटल एक्स्पो– २०२६ आयोजना हुने

काठमाडौं । होटल संघ नेपाल स्थापनाको ६०औं वर्ष पुगेको अवसरमा आगामी २०८२ माघ २ गते शुक्रबार काठमाडौंमा संघले हिरक जयन्ती मनाउने भएको छ ।  उक्त अवसरमा विगतदेखि हालसम्म पर्यटन तथा होटल क्षेत्रमा भए गरिएका सफलता, सम्भावना र चुनौतीहरूका बारेमा चर्चा हुनेछ । संघको स्थापना दिवसका अवसरमा विगत २ वर्षदेखि मनाइँदै आएको सत्कार दिवस समेत मनाइनेछ । सो अवसरमा माघ २ र ३ गते दुई दिने होटल एक्स्पो–२०२६ को आयोजना हुनेछन् । उक्त एक्स्पोमा होटलहरूमा आवश्यक पर्ने ५० भन्दा बढी विभिन्न सर सामानहरूको स्टलहरू रहनेछन् भने विभिन्न कम्पनीहरूले उक्त कार्यक्रमलाई प्रायोजनको समेत भूमिका निर्वाह गर्ने होटल संघ नेपालले जनाएको छ । ‘टेक पावरर्ड हस्पिटालिटी’ थिममा आयोजित हिरक जयन्तीका अवसरमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले आतिथ्य उद्योगमा भए गरेका असल अभ्यासहरुको जानकारी रहनेछ भने होटलहरूमा प्रयोग भइरहेका अटोमेसन, प्रविधिमैत्री व्यवसाय सञ्चालन तथा एआई सहितको सेवा प्रवाह लगायतका विषयलाई कार्यान्वयनमा ल्याउन प्रोत्साहित गरिने जनाएको छ । यसैगरी, नेपाल होटल इएर बुक–२०२६ का साथै सातै प्रदेशका विभिन्न ६० थरिका मौलिक रैथाने खानाहरूको संग्रह फुड बुक सार्वजनिक गरिनेछ भने उक्त अवसरमा आमन्त्रित स्वदेशी तथा विदेशी पाहुनाहरूलाई उक्त मौलिक परिकारबाट सत्कार गरिने पनि होटल संघ नेपालले जनाएको छ । कार्यक्रममा मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने होटल तथा पर्यटन उद्योगले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदान, यसबाट सृजित रोजगारी चर्चा गरिनेछ । पर्यटनको व्यापक सम्भावना बोकेको हाम्रो मुलुकमा पछिल्लो समयमा देशैभरि द्रुत गतिमा नयाँ ठूला होटलहरू खुल्ने क्रमले यसलाई व्यापकता दिएको छ । अन्तर्राष्ट्रिय चेन ब्राण्डका होटलहरुको आकर्षणले अझ यसलाई उजागर गरेको छ । मुलुकका केही गन्तव्यहरू मात्र नभएर सातै प्रदेशमा पर्यटन चलायमान बनाउन पनि यस कार्यक्रमले मद्दत गर्नेछ । कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरिने पनि संघले विज्ञप्तिमार्फत जनाएको छ । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघसंस्थाहरूलाई संघले अपिल गरिसकेको छ ।

चार नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ ।  थपिएका चार जना नयाँ मन्त्रीहरूले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिए ।  नयाँ मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका यी मन्त्रीहरू (जेनजी) प्रतिनिधित्व गर्नेहरू हुन् ।   

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष

काठमाडौं । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् । नेतृत्वमा उनको चयनलाई गोल्याण ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण गरिएको छ । ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्‌नो वार्षिक उत्सवको अवसरमा यस्तो घोषणा गरिएको जनाएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए । ‘अक्षय गोल्याण अब ग्रुपको अध्यक्ष र प्रवन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्याण ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको इसेड यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययन पश्चात ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक रहेका उनले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।  गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । ६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन् । ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । नेपालको आर्थिक आत्मनिर्भरतामा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आएको ग्रुपको शीर्ष नेतृत्वमा युवा पुग्नुले मुुलुकको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ । ‘यो केबल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रुपान्तरण गर्ने जिम्मेवारी पनि हो,’ जिम्मेवारी ग्रहणपश्चात अध्यक्ष गोल्याणले भनेका छन्, ‘गोल्याण ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न प्रतिवद्ध छौं । हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ । गोल्याण ग्रुपका सञ्चालक समितिका पदाधिकारीहरु सञ्चालक समितिले ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्याणलाई ‘सम्मानित अध्यक्ष’ र प्रमुख संरक्षकको सम्मान दिएको छ । नेपालको अर्थतन्त्र र ग्रुपको विकासमा पुर्‍याएको अतुलनीय योगदानको कदर सञ्चालक समितिले उक्त सम्मन दिएको जनाएको छ । नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले संस्थापक अध्यक्षबाट प्राप्त हुने मार्गदर्शनले ग्रुपको मूलमर्ममा अडिग रहँदै आधुनिक रणनीतिहरू निर्माण र कार्यान्वयन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘पवन गोल्याणज्यू ‘अध्यक्ष एमरिटस’ को भूमिकामा रहनु आफैमा उत्कृष्टताको निरन्तरता हो, ग्रुपले उहाँको रणनीतिक सुझाव र अनुभवको लाभ लिइरहनेछ,’ उनले भनेका छन्, ‘यसले ऊर्जा, कृषि, उत्पादन र निर्यात लगायतका क्षेत्रमा गु्रपको विस्तारलाई थप मजबुत बनाउनेछ । निरन्तर नवप्रवर्तन विस्तार र नेपालको आर्थिक समृद्धिका लागि काम गरिरहनेछौं ।’

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो ।  केन्द्रिय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ ।  वाणिज्य बैंकमा ५ अर्ब २८ करोड , विकास बैंकमा ९९ करोड र वित्त कम्पनीमा ३३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ । १८ डिसेम्बर २०२५ देखि १८ डिसेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।  निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने शर्त राष्ट्र बैंकको छ ।  त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि शर्त छ ।  त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक ४ भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ । 

पूर्व-पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता

काठमाडौं । पूर्वपश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् ।  मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।  मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।  मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे । पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।  निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।  चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती-हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख (कर सहित) मा ठेक्का समझौता भएको थियो ।  सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ । 

HP लुब्रिकेन्ट्स: नेपालमा 'मेड इन नेपाल' को शक्ति—स्वचालित प्लान्टले बदल्यो इन्जिनको भविष्य!

HP लुब्रिकेन्ट्स नेपाल, विश्वको विश्वसनीय कम्पनी एचपीसीएलको प्राविधिक मार्गनिर्देशनमा, गुणस्तर, दक्षता र दीर्घकालीन विश्वासको जगमा प्रगतिको नयाँ चरणमा प्रवेश गरेको छ। यो यात्राको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपालको पहिलो अत्याधुनिक स्वचालित लुब्रिकेन्ट प्लान्टको सफल स्थापना हो। यो स्वचालित प्रविधिले ब्लेन्डिङ, फिलिङ र प्याकेजिङ प्रक्रियामा उच्च सटीकता सुनिश्चित गर्छ, जसले गर्दा प्रत्येक ब्याचमा विश्वस्तरीय गुणस्तर कायम रहन्छ। स्थानीय उत्पादन सुरु भएसँगै, आयातमा निर्भरता घटेको छ, ग्राहकको मागमा छिटो प्रतिक्रिया दिन सकिने भएको छ, र देशको औद्योगिक विकासमा पनि ठूलो सहयोग पुगेको छ। नेपालमा यसको अधिकृत वितरक MAW PETRO PRODUCTS PVT.LTD. ले देशभर उत्पादनको पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्दै आएको छ। नेपालमै उत्पादन सुरु भएपछि बजारमा लुब्रिकेन्टको उपलब्धतामा उल्लेख्य सुधार आएको छ। ग्राहकहरूले अब छिटो सप्लाइ, कम प्रतीक्षा समय र माग धेरै भएको बेला पनि स्थिर स्टक को लाभ उठाइरहेका छन्। यो विश्वसनीयता विशेष गरी वर्कसप, यातायात व्यवसायी र औद्योगिक प्रयोगकर्ताहरूको लागि अत्यन्तै महत्त्वपूर्ण छ, जसलाई समयमै लुब्रिकेन्ट उपलब्ध हुनु अत्यावश्यक हुन्छ। स्थानीय उत्पादनका कारण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै गुणस्तर निरन्तर समान रहन्छ, जसले ग्राहकको विश्वासलाई अझ मजबुत बनाएको छ। स्थानीय उत्पादनको अर्को मुख्य फाइदा भनेको विविध प्याक-साइजहरू को उपलब्धता हो। HP लुब्रिकेन्ट्स नेपालले साना गाडीहरूका लागि साना प्याकदेखि औद्योगिक र व्यावसायिक प्रयोगका लागि ठूला प्याकसम्म सबै विकल्पहरू उपलब्ध गराएको छ। यो सुविधा विशेषगरी दुर्गम क्षेत्रका ग्राहकहरूका लागि वरदान साबित भएको छ, जहाँ साना, सजिलै बोक्न मिल्ने प्याकहरूको माग बढी हुन्छ। यसरी, HP लुब्रिकेन्ट्स नेपालले सबैका लागि, सबै ठाउँमा गुणस्तरीय लुब्रिकेन्ट पुर्‍याउन सफल भएको छ। HP लुब्रिकेन्ट्स NPL 2025 को आधिकारिक लुब्रिकेन्ट पार्टनर बनेर खेलकुदसँगको आफ्नो सम्बन्धलाई झनै बलियो बनाएको छ। यो साझेदारीले सहनशीलता, ऊर्जा र निरन्तरता मा ब्रान्डको विश्वास झल्काउँछ—जुन गुणहरू गाडीको इन्जिनको प्रदर्शन र खेल भावना दुवैमा आवश्यक हुन्छन्। “RUN होस् या KM, पर्फर्मेन्स ग्यारेन्टिड” भन्ने ट्यागलाइनमार्फत HP लुब्रिकेन्ट्सले खेल मैदानमा होस् वा गाडीको इन्जिनभित्र, दुवैमा उत्तिकै भरपर्दो प्रदर्शन दिने आफ्नो अटल वाचा स्पष्ट पारेको छ। HPCL को विशेषज्ञता र देशकै पहिलो स्वचालित प्लान्टको क्षमताका साथ, HP लुब्रिकेन्ट्स नेपाल आधुनिक र भरपर्दो लुब्रिकेन्टको बढ्दो माग पूरा गर्नका लागि पूर्ण रूपमा तयार छ । (एडभोटोरिएल कन्टेन्ट)

कहाँ एपले सार्वजनिक गर्‍यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ यस्ता छन् विशेषता

काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।  कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल, पारदर्शी र सहज बनाउनेछ ।  यसले देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ । पहिले नै कहाँ ट्यागमार्फत नेपालभरका घर, संस्था तथा व्यवसायहरूको डिजिटल ठेगाना व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गर्दै आएको कहाँ एपले विभिन्न सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै प्रविधिक सेवाको दायरा विस्तार गर्दै आएको छ ।  कम्पनीले ललितपुर महानगरपालिका, अन्य सरकारी तथा निजी निकायसँगका परियोजनासँगै नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन र लिस्टिङ समेत सम्पन्न गरिसकेको छ । प्रविधि क्षेत्रमा यसको अनुभवलाई आधार मानेर कहाँ एपले अब होस्टल सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो । परीक्षणकालमै आधा दर्जनभन्दा बढी होस्टलले यो फिचर प्रयोग गरिसकेका छन् । नयाँ फिचरका प्रमुख पक्षहरू विद्यार्थीको डिजिटल आवागमन ट्र्याकिङ विद्यार्थी कहिले होस्टल प्रवेश गर्छन् वा निस्कन्छन् भन्ने विवरण एपमा स्वचालित रूपमा अभिलेख हुने व्यवस्था गरिएको छ । यसले सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुका साथै व्यवस्थापन र अभिभावक दुवैलाई विश्वसनीय जानकारी प्रदान गर्छ । स्वचालित हाजिरी व्यवस्थापन दैनिक हाजिरी अब कागजी दर्ता हटाई पूर्ण रूपमा एपमै सुरक्षित रूपमा राखिनेछ । आवश्यक रिपोर्ट व्यवस्थापकले एक क्लिकमै पाउने हुँदा समय र स्रोत दुवै बचत हुने कम्पनीले जनाएको छ । सूचना तथा नोटिफिकेशन प्रणाली होस्टलका महत्वपूर्ण सूचना, नियम, शुल्क विवरण तथा आपतकालीन जानकारी विद्यार्थीले वास्तविक समयमा एपमार्फत प्राप्त गर्न सक्नेछन् । यसले सूचनाको पहुँच र पारदर्शिता दुवैलाई सुदृढ बनाउँछ । साथै सूचनाप्रणालीलाई निरन्तर सशक्त रूपमा सञ्चार हुने गरी विकास गरिएको छ । अटोमेटिक बिलिङ र हिसाबकिताब होस्टल शुल्क, खाने–बस्ने खर्च तथा अन्य सेवासम्बन्धी बिल स्वतः तयार भई एपमै उपलब्ध हुन्छ । विद्यार्थीले तिर्न बाँकी शुल्क तथा भुक्तानी विवरण तत्काल हेर्न सक्ने सुविधा समावेश गरिएको छ । भर्चुअल ३६० डिग्री टुर तथा बेड बुकिङ विद्यार्थीले होस्टलको कोठा तथा बेडको ३६० डिग्री दृश्य हेरेर उपलब्ध बेडको वास्तविक समय जानकारी प्राप्त गर्न सक्छन् । मनपर्ने कोठा वा बेड एपमै बुक गर्न सकिने भएकाले होस्टल खोज्ने प्रक्रिया झनै सहज हुने कम्पनीको दाबी छ । स्टुडेन्ट बुकिङ सिस्टम एपमा नजिकका तथा मनपर्ने होस्टलहरू खोज्न, विवरण हेर्न र अनलाइनकै माध्यमबाट बेड बुक गर्न सकिने सुविधा थप गरिएको छ । स्मार्ट डुअर बेल प्रणाली डिजिटल डुअर बेलमार्फत होस्टलमा प्रवेश गर्ने पाहुना वा विद्यार्थीको गतिविधि व्यवस्थापकको एपमा वास्तविक समयमा सूचित हुन्छ, जसले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँछ । कहाँ के हो ? मानिसहरूलाई हरेक स्थानको जानकारी दिन लोकेशन नेभिगेशनसहित विस्तृत विवरण दिन पृथक सोचेर सुरु गरीएको कहाँले विभिन्न स्थान, पर्यटन तथा सेवासम्बन्धी सम्पूर्ण जानकारी एउटै ठाउँमा उपलब्ध गराउने उद्देश्यसहित ‘कहाँ’ एप सार्वजनिक गरिएको थियो । एपले लोकेशन, नेभिगेसनदेखि विस्तृत विवरणसम्म सहज रूपमा प्रदान गर्ने भएकाले प्रयोगकर्ताले कुनै पनि स्थान वा सेवासम्बन्धी आवश्यक जानकारी तुरुन्तै पाउन सक्नेछन् । यस एपमा रहेको ‘च्याट एन्ड बुक’ सुविधामार्फत रेस्टुरेन्ट, होटल तथा होस्टलसँग प्रत्यक्ष रूपमा सम्पर्क गरी तत्काल बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, रेस्टुरेन्टहरूको मेनु लिस्टिङ र अनलाइन अर्डर प्रणालीले भोजन सेवाको पहुँचलाई थप आधुनिक बनाएको छ । प्रयोगकर्ताले कुनै स्थानमा जाने अघि नै भर्चुअल टुर र फोटो भ्यूमार्फत सम्पूर्ण दृश्यात्मक जानकारी प्राप्त गर्न सक्छन् । साथै, एपले नेपाली भाषामा विभिन्न हेरिटेज तथा सम्पदाका आधिकारिक विवरण उपलब्ध गराउँछ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई ठोस र विश्वसनीय सामग्री प्रदान गर्छ । स्क्यान प्रणाली  मार्फत कुनै स्थान वा सेवासम्बन्धी क्यूआर कोड स्क्यान गरेलगत्तै सम्बन्धित विवरण देखिनेछ भने जिओफेन्सिङ अलर्ट सुविधाले प्रयोगकर्ता निश्चित स्थानमा पुगेपछि स्वत: सूचना प्रदान गर्नेछ । कहाँ एपमा व्यवसाय, होटल, होस्टल, सम्पदा तथा सेवा प्रदायकहरूको डिजिटल प्रोफाइलिङ समेटिएको छ, जसले सम्पूर्ण सेवा क्षेत्रलाई एकीकृत डिजिटल प्लेटफर्ममा ल्याउने अपेक्षा गरिएको छ ।