विकासन्युज

भियतनामका व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायीबीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ ।  बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरूले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।   सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै उनले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा  ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’ उनले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताए । भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनको भनाइ थियो ।  नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरूमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले भियतनामी लगानीकर्तालाई आफूहरू स्वागत गर्न चाहेको बताए। उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिए। भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिए । त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरे । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

पुटिन-सुबियान्तो भेट : भारत, रूस र ग्लोबल साउथको शक्ति-समीकरणमा नयाँ संकेत

काठमाडौं । इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो हाल रूसको भ्रमणमा छन्, जहाँ उनले दुबै देशबीचको सैन्य सहकार्यदेखि लिएर व्यापारसम्मका विषयमा छलफल गरेका छन् ।  यस दौरान मस्कोमा उनको भेट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भयो । भेटवार्तामा सुबियान्तोले पुटिनलाई इन्डोनेशिया आउने निम्ता दिए र यस क्रममा भारतको पनि उल्लेख गरे । सुबियान्तोले भने, ‘म तपाईंलाई इन्डोनेशिया आउने निम्ता दिन चाहन्छु । तपाईंलाई जब समय मिल्छ, २०२६ वा २०२७ मा । तपाईं आउनुभयो भने हामीलाई धेरै खुसी हुनेछ । किनकि मात्र भारत नै त्यो देश हुनु हुँदैन जहाँ तपाईं जानुहुन्छ ।’ सुबियान्तोको यो कुरा सुनेर पुटिन पनि मुस्कुराए । पुटिन ४ र ५ डिसेम्बरमा भारतको दुईदिने औपचारिक भ्रमणमा थिए । यस क्रममा दुबै देशबीच धेरै सम्झौताहरू भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई गरेको स्वागत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा भयो । यो इन्डोनेशियाका राष्ट्रपतिको यस वर्षको रूस दोस्रो भ्रमण थियो । पुटिन केही समयदेखि ग्लोबल साउथका मुलुकहरूसँग सम्बन्ध सुधार्ने प्रयासमा छन्, ताकि युक्रेन युद्धपछि अमेरिका र पश्चिमी देशहरूले लगाएका प्रतिबन्धबीच रूसको अर्थतन्त्रलाई पुनः अघि बढाउन सकियोस् । पुटिनले भेटवार्तामा इन्डोनेशियासँग बढ्दै गएको सैन्य सम्बन्धबारे खुसी व्यक्त गर्दै भने कि रूस परमाणु ऊर्जा क्षेत्रमै पनि इन्डोनेशियालाई सहयोग गर्न तयार छ । यसभन्दा पहिला पुटिनले मंगलबार भारतको प्रशंसा गर्दै भनेका थिए कि भारत पनि रूसकै जस्तै ‘विविधतामा एकता’ भएको देश हो र यस ‘विशेषता’लाई जोगाएर राख्नु अत्यन्त महत्त्वपूर्ण छ । सिभिल सोसाइटी एन्ड ह्युमन राइट्स काउन्सिललाई सम्बोधन गर्दै पुटिनले भने, ‘म हालै भारत गएको थिएँ, जहाँ डेढ अर्ब मानिस बस्छन् । तर करिब एक तिहाइ अर्थात् झण्डै ५० करोडले मात्र हिन्दी बोल्छन् । बाँकी सबैले फरक–फरक भाषा बोल्छन् । कहिलेकाहीँ त उनीहरू एकअर्काको कुरा पनि बुझ्दैनन् । रूसमा पनि करिब २७० भाषा बोलिन्छन् । दुवै देशभित्र कति विविधता छ । भारत र रूसजस्ता देशहरूको यस बहुसांस्कृतिक पहिचानलाई हामीले बचाएर राख्नु छ ।’ पुटिनको भारत भ्रमण चर्चित बन्नुको कारण पुटिनको भारत भ्रमणका क्रममा दुबै देशबीच मिडिया, अन्तरिक्ष (स्पेस) र फर्मा क्षेत्रलगायत करिब एक दर्जन समझौतामा सहमति भएको थियो । यद्यपि कुनै ठूलो घोषणा नभए पनि विश्वभर अमेरिकी र युरोपेली प्रतिक्रिया तथा भारतको आतिथ्यका कारण यो भेटघाट निकै चर्चामा रह्यो । संयुक्त राज्य अमेरिकाले भारतले रूसी तेल किन्दै आएको भन्दै ५० प्रतिशत टैरिफ लगाएको छ । अमेरिका लगातार भारतलाई रूसबाट तेल खरिद बन्द गर्न दबाब दिइरहेको छ । धेरै युरोपेली देशहरूले पनि भारत–रूस व्यापारिक सम्बन्धप्रति आपत्ति जनाउँदै यसले ‘युक्रेन युद्धमा पुटिनलाई अप्रत्यक्ष सहयोग’ पुर्याइरहेको दाबी गरेका थिए । भारतले भने यो आरोपलाई सदैव अस्वीकार गर्दै आएको छ र आफ्नो नीति ‘घरेलु उपभोक्ताको हितअनुसार निर्णय लिनु’ रहेको बताउँदै आएको छ । यी सबै कारणहरूलाई लिएर नै पुटिनको भारत भ्रमणमा विश्वको ध्यान परेको थियो । चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जाकुनले नियमित प्रेस ब्रिफिङमा भने, ‘चीन, भारत र रूस द्रुत गतिमा बढिरहेका अर्थतन्त्र हुन् र ग्लोबल साउथको महत्त्वपूर्ण हिस्सा हुन् । तिनबीचको राम्रो सम्बन्ध केवल तिनकै लागि होइन, विश्व शान्तिका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।’ यसअघि रूसी मिडियाले पनि पुटिनको भारत भ्रमणलाई ट्रम्प र युरोपेली देशका लागि ‘असहज बनाउने घटना’ भनेर वर्णन गरेको थियो । ५ डिसेम्बर शुक्रबार रूसी सरकारी टिभीको करेन्ट अफेयर्स टक शोमा होस्टले पुटिनको भारत भ्रमणबारे युरोपेली मिडियामा आएका टिप्पणीकामाथि व्यङ्ग्य गरे । रसिया–१ च्यानलको ‘६० मिनेट्स’ कार्यक्रममा होस्ट ओल्गा स्काबेयेभाले भने कि प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई जुन तरिकाले स्वागत गरे त्यसले ‘रूसका विरोधीहरूलाई असहज बनाएको’ हुनुपर्छ । त्यसैगरी रूसी विश्लेषक भ्लादिमिर कोर्निलोभले पुटिनको भारत भ्रमणलाई ‘वास्तविक अर्थमा एउटा वैश्विक घटना’ भने । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का पूर्व अधिकारी माइकल रुबिनले एएनआईसँग कुरा गर्दै भने, ‘भारत र रूसलाई नजिक ल्याउन डोनाल्ड ट्रम्प नोबेल पुरस्कारका हकदार छन् ।’  ‘रूसको दृष्टिकोणले हेर्दा यो भ्रमण अत्यन्त सकारात्मक छ र भारतले पुटिनलाई जुन सम्मान दियो, त्यो उनलाई संसारका अन्य ठाउँमा पाउन कठिन छ । म त भन्छु, ट्रम्पलाई नोबेल पुरस्कार मिल्नै पर्छ किनकि भारत र रूस जसरी एकअर्कासँग नजिक आए, त्यो उनकै कारण सम्भव भएको हो,’ उनले भने । (बीबीसी हिन्दीबाट अनूदित तथा सम्पादित)

लाभांशसहित सीएसआरमा भएको खर्च अनुमोदन गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल एसबिआई बैंकले सीमा भन्दा बढी रकम संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)मा खर्च गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १६ लाख ७० हजार १०५ रुपैयाँ खर्च गरेको छ । जुन कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी हो ।  बैंक सञ्चालक समितिले उक्त प्रस्ताव पारित गर्न पुस १८ गते भद्रकाली, काठमाडौंमा बिहान ११ बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ ।  बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले ४३ करोड ५९ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ५ प्रतिशतका दरले ५४ करोड ४९ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ९ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने तथा गाभिने वा प्राप्ति सम्बन्धी कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ । साथै बैंकको सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।  गत आव २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ४ गतेको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागीता जनाई लाभँंश प्राप्त गर्न सक्नेछन् । 

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन बिहीबार (आज) १ हजार रुपैयाँले बढेको हो।  बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  बिहीवार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ ।  बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  

किसानलाई भिमाद नगरपालिकामा दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।  दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।   नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ ।  नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११० रुपैयाँ, थोक बिक्री मूल्य प्रतिलिटर १२० रुपैयाँ र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० तोकिएको छ ।  यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ ।   

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले १५ करोड १४ लाख ६६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव उमा जोशीले जानकारी दिए ।

१५ प्रतिशत लाभांश दिने डिप्रोक्स लघुवित्तको घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  उक्त लाभांश मध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।  

नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनी सचिव विनोदकुमार भुजेलका अनुसार यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गरिने छ ।