शीतभण्डार निर्माणमा भ्रष्टाचार : पूर्वसचिव अधिकारीसहित १६ जनाविरुद्ध ७२ लाखको बिगो दाबी
काठमाडौं । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको छ । शीतभण्डारको झुट्टा कार्यसम्पादन प्रतिवेदन बनाएर झण्डै ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । शीतभण्डारका लागि नौवटा सहकारी संस्थाहरूले लगानी गर्ने निर्णय भएको थियो । अनुदान सम्झौताअनुसार ५०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण सम्पन्न गर्ने भनिएको थियो । उक्त कार्यको परामर्श तथा नापजाँच, डीपीआर, मूल्यांकनलगायत काममा अस्वाभाविक लागत अनुमान भएको ठहरसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । खुला प्रतिस्पर्धाबिना डीपीआरलगायत कागजात स्वीकृत गरी सोझै खरिद गरिएको दाबी अख्तियारको छ । कानुन अनुरुप चेकजाँच र परीक्षणबिना बद्नियतपूर्वक ७१ लाख ९७ हजार ९८० रुपैयाँ ६ पैसा गैरकानुनी भुक्तानी भएको दाबी अख्तियारको छ। अनुसन्धानका क्रममा शीतभण्डार जीर्ण र प्रयोगविहीन अवस्थामा भेटिएको छ । शीतभण्डार निर्माण अनुदान कार्यक्रममा भ्रष्टाचार भएको दाबी अख्तियारको छ । भ्रष्टाचारमा मन्त्रालयका तत्कालीन सचिव अधिकारीसहित तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, तत्कालीन कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, तत्कालीन लेखा अधिकृत लक्ष्मण पौडेल, तत्कालीन सह–लेखापाल अजय मिश्र, भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक अशोक कुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम गडेरिया र कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष अशोक कुमार त्रिपाठी मुछिएका छन् । यस्तै, नवदुर्गा स्वावलम्बन बहुउद्देश्य सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष दुर्गाप्रसाद कुर्मी, तत्कालीन व्यवस्थापक जितेन्द्र यादव, वैष्णो माता स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन व्यवस्थापक कृष्णकुमार सिंह, जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष फुलमन भर, गौतम वुद्ध स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष ओमप्रकाश गुप्ता, मर्चवारी स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष स्वर्गीय श्याम सुन्दर यादवको हकवाला श्रीमती इनरावती यादव, जन उत्थान स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष स्वर्गीय कतबारू गोसाईको हकवाला श्रीमती राजपति गोसाई तथा फर्म सञ्चालक सुगम कोइरालामाथि पनि भ्रष्टाचार अभियोग छ । सबै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो असुल, जरिबाना र कैद सजायको माग छ ।
साढे १३ हजारको पासपोर्ट रोक्का
काठमाडौं । अध्यागन विभागले १३ हजार ४१२ जनाको पासपोर्ट रोक्का गरेको छ । नेपाली र विदेशी नागरिकसहित विभिन्न मुलुकका व्यक्तिका राहदानी रोक्का गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका अनुसार नेपाल प्रहरीले गरेको सिफारिसमा २ हजार ६१७ जनाको राहदानी रोक्का भएको छ । कारागार व्यवस्थापन विभागले ६ हजार १९० जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको हो । वैदेशिक रोजगार विभागले ४८९ जनाको पासपोर्ट रोक्का गर्न अनुरोध गरेको विमानस्थल अध्यागन प्रमुख नरहरि घिमिरे जानकारी दिए । उनका अनुसार चोरी र हराएको राहदानी ३९० रहेका छन् । सहकारी विभागले ६९ जनाको पासपोर्ट रोक्न अनुरोध गरेर विमानस्थलको अध्यागमनमा रिपोर्ट आइपुगेको घिमिरेले जानकारी दिए । अदालतले ११७ जनाको पासपोर्ट रोक्न अनुरोध गरेको उनले बताए । विभिन्न निकाय तथा एजेन्जसीले अध्यागमनलाई ३ हजार ५४० जनाको राहदानी रोक्का गर्न निर्देशन दिएको घिमिरेले जानकारी दिए ।
नयाँ उद्देश्य, लक्ष्य र मूल्य मान्यताका साथ अघि बढ्दै नबिल बैंक
काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनःपरिभाषित गरेको छ । यी पुन:परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको बैंकले जनाएको छ । नबिल बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो एवं भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ उद्देश्य लिएको छ । ‘विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयका साथ, उद्देश्यबाट प्रेरित, विश्वास, अनुशासन र अनुपालनमा आधारित, नवीनताद्वारा सञ्चालित, सुशासन, वातावरणीय, सामाजिक र प्रशासनिक दायित्वले निर्देशित र भविष्यका लागि तयार नेतृत्वको सिर्जना गर्दै, सेवाग्राहीलाई प्राथमिकता दिँदै उत्कृष्टता प्रदान गर्न प्रतिबद्ध,’ बैंकको पुनःपरिभाषित लक्ष्य रहेको छ । बैंकिङ प्रणाली द्रुत गतिमा परिवर्तन भइरहेको समयमा दीर्घकालीन मार्गचित्रको आवश्यकता महसुस गर्दै बैंक रूपान्तरणको बाटोमा अग्रसर भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मनोजकुमार ज्ञवालीले बताए। ‘सेवाग्राहीकेन्द्रित विश्वस्तरको नेपाली बैंक बन्ने उद्देश्यका साथ हामीले बैंकको उद्देश्य, लक्ष्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेका छौं,’ ज्ञवालीले भने । रूपान्तरित मूल्यमान्यतामा सेवाको उत्कृष्टतालाई मानकका रूपमा लिएको बताउँदै उनले भने, ‘डिजिटल माध्यमलाई प्राथमिकता दिँदै, मानव स्रोत र नेतृत्व विकासमा निरन्तर लगानी गर्दै जवाफदेहिता र सहकार्यको बलियो संस्कृतिलाई बढावा दिनेछौं ।’ बैंकले आफ्ना मूल्यमान्यतालाई पाँच ‘टी’ का स्तम्भमार्फत अभिव्यक्त गरेको छ– विश्वास (ट्रस्ट), पारदर्शिता (ट्रान्सपारेन्सी), प्रतिभा (ट्यालेन्ट), प्रविधि (टेक्नोलोजी) र रूपान्तरण (ट्रान्सफरमेसन) । यी मूल्यमान्यता पञ्चतत्त्व दर्शनमा आधारित भएको उल्लेख गर्दै बैंकले धरतीले विश्वासलाई, पानीले पारदर्शितालाई, आगोले प्रतिभालाई, वायुले प्रविधिलाई र आकाशले रूपान्तरणलाई प्रतिनिधित्व गरेको बताएको छ । यी तत्त्व मिलेर बैंकको संस्कृति, निर्णय प्रक्रिया र दीर्घकालीन विकासलाई निर्देशित गर्ने सन्तुलित र एकीकृत संरचना प्रदान गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकको बदलिँदो अपेक्षा, डिजिटल प्रविधिको विकास, कृत्रिम बौद्धिकता (एआई)को बढ्दो भूमिका, दिगोपनालगायत आवश्यकताका आधारमा आफूलाई परिमार्जित गर्न लागेको बैंकको भनाइ छ । गुणस्तरीय बैंकिङ सेवामा सबै पुस्तालाई समेट्ने उद्देश्यका साथ बैंकले आफ्नो स्लोगनलाई ‘सधैं सँगै अघि’ बनाएको छ। उत्थानशीलता, प्रशासनिक अनुशासन र न्यायसंगत विकास आफ्नो प्रतिबद्धता रहेको जनाउँदै बैंकले आफ्ना सेवाग्राही, सरोकारवाला र बृहत्तर समुदायप्रतिको जिम्मेवारी रहेको पनि जनाएको छ। नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सधैं सँगै अघि बढ्ने विश्वास राखेको छ ।
आँखा स्वास्थ्य सेवा र अनुसन्धान विस्तारका लागि तिलगंगा र बीपीकेआइएचएसबीच सम्झौता
काठमाडौं । नेपालको आँखा उपचार क्षेत्रमा विशिष्ट पहिचान बनाएको तिलगंगा आँखा प्रतिष्ठान र पूर्वाञ्चलको प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । बुधबार आयोजित एक विशेष समारोहका बीच तिलगंगाका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र बीपीकेआइएचएसका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताले विशेषगरी पूर्वी नेपालको आँखा स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तिलगंगाका विशेषज्ञ प्राध्यापकहरूले बीपीकेआइएचएसमा नियमित रूपमा आँखाका विभिन्न उप(विशेषज्ञता सेवाअन्तर्गत ओपिडी तथा शल्यक्रिया सेवा प्रदान गर्नेछन् । त्यस्तै, बीपीकेआइएचएसका रेसिडेन्ट डाक्टरहरूलाई तिलगंगाका उप–विशेषज्ञ क्लिनिकहरूमा क्लिनिकल पोस्टिङ्गको व्यवस्था गरिनेछ । साथै आरओपी स्क्रिनिङ्ग, लेजर र जटिल शल्यक्रियासम्बन्धी तालिम समेत प्रदान गरिनेछ । त्यस्तै, क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका क्षेत्रमा बीपीकेआइएचएसलाई सहकार्यत्मक अनुसन्धान केन्द्रका रूपमा विकास गरी संयुक्त अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गरिनेछ । दुवै संस्थाका प्राध्यापकहरूबीच ‘फ्याकल्टी डेभलपमेन्ट’ तालिम र शैक्षिक कार्यक्रमहरू आदानप्रदान हुनेछन् । पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूलाई समेत सहभागी गराई नियमित चिकित्सकीय शिक्षा कार्यक्रम र आँखा जाँच तथा शल्यक्रिया शिविरहरू आयोजना गरिनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै प्रा. डा. सन्दुक रुइतले यो सहकार्यले विशेषज्ञ सेवालाई राजधानी बाहिर विस्तार गर्न र अनुसन्धानको माध्यमबाट नयाँ तथ्यहरू उजागर गर्न मद्दत पुग्ने बताए । त्यस्तै, उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले देशकै दुई ठूला संस्थाहरूको मिलनले स्वास्थ्य शिक्षा र सेवा प्रवाहमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे । यो साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्यको उत्कृष्ट नमूना पेश गर्दै दीर्घकालीन रूपमा सर्वसाधारणलाई सुलभ र गुणस्तरीय आँखा उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
पोखरा विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन, लागतमा कामना सेवाको सहकार्य
काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म आवतजावत गर्ने हवाई यात्रुका लागि भरपर्दो, विश्वसनीय र सुलभ यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको सञ्चालन लागतमा कामना सेवा विकास बैंकले समेत सहकार्य गर्ने भएको छ । महानगरपालिकाले वडा नम्बर १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म दैनिक दुईवटा विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने बसले यात्रुलाई मुख्य सडकसम्म पुग्न सहज सेवा प्रदान गर्नेछ । हाल विमानस्थलदेखि मुख्य सडकसम्म पुग्न करिब दुई किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेकाले यात्रुले सास्ती भोग्दै आएका थिए । सो समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले आगामी २०८३ असार मसान्तसम्म सम्पूर्ण यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउने गरी योजना अघि बढाएको हो । बस सञ्चालनको लागत साझेदारीसम्बन्धी सम्झौतापत्रमा पोखरा महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख शिवकुमार ढकालले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख ढकालले स्थानीय सरकारले आमसर्वसाधारणका लागि सञ्चालन गर्ने यस्ता कार्यमा बैंकले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि महानगरपालिकासँग सहकार्य जारी रहने बताए । निःशुल्क सटल बस सेवामा सहयोग गरेकोमा महानगरपालिकाका कार्यकारी अधिकृत पोखरेलले बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सहकारीमा ठूला बचतकर्ताको ३८ अर्ब बढी बचत, साना प्राथमिकतामा
काठमाडौं । सरकारले सहकारीका बचतकर्ताको बचतफिर्ताको कामलाई तीव्रता दिएको छ । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएसँगै सरकारले साना बचतकर्ताको बचत फिर्तालाई प्राथमिकताका साथ काम गरिरहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन पटक संकलन गरेको माग दाबी अनुसार हालसम्म कुल ४७ अर्ब ६० करोड १२ लाख ८९ हजार रुपैयाँको दाबी परेको छ । जुन रकम समस्याग्रस्त २३ वटै सहकारीको हो । अहिले बचतकर्ताको बचत फिर्ताको काम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट नै भइरहेको छ । समितिका अनुसार तीन पटक बचत माग दाबीका लागि आव्हान गर्दा कुल ८० हजार ८७ जनाले साढे ४७ अर्ब रुपैयाँको बचत माग दाबी गरेका हुन् । सरकारले पहिलो प्राथमिकतामा साना अर्थात् एक लाख रुपैयाँसम्म बचत रहेका बचतकर्तालाई प्राथमिकतामा राखेको छ । ३६ हजार ५११ जना बचतकर्ताले कुल १ अर्ब २९ करोड ९ लाख १२ हजार ७६२ रुपैयाँको माग दाबी गरेका छन् । समितिकी सदस्य सचिव बिमला रोका श्रेष्ठका अनुसार सरकारले अहिले पहिलो प्राथमिकतामा एक लाख रुपैयाँभन्दा कम बचतकर्तालाई राखेअनुसार माग दाबी गर्ने र फिर्ता गर्ने तयारी भइरहेको छ । असारसम्म साना बचतकर्तालाई नै प्राथमिकतामा राख्ने उनले बताइन् । तयसपछि ५ लाखसम्म बचत रहेका बचतकर्ताको बचत फिर्ता हुनेछ । समितिले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म एक लाखभन्दा माथि पाँच लाख रुपैयाँसम्म बचत रहेका कुल २१ हजार ६६० जना बचकर्ताले ५ अर्ब ३० करोड ३४ लाख ४५ हजार ६१२ रुपैयाँबराबरको बचत फिर्ताका लागि मागदाबी गरेका छन् । समितिका अनुसार साना बचतकर्ताभन्दा ठूला बचतकर्ताले ठूलो परिमाणमा बचत फिर्ताका लागि माग दाबी गरेका छन् । पाँच लाखभन्दा बढी बचत रहेका कुल १७ हजार ८० जना बचकर्ताले कुल ३८ अर्ब २९ करोड ३३ लाख १६ हजार १०५ रुपैयाँको बचत फिर्ताको मागदाबी गरेका छन् ।
राष्ट्रिय जीवन बीमाको साधारण सभा सम्पन्न, दुई आर्थिक वर्षका वित्तीय विवरण पारित
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान) को दोस्रो वार्षिक साधारण सभा २०८२ साल चैत २७ गते सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ । साधारण सभामा कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तारका विषयमा विस्तृत छलफल भएको थियो । प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको कम्पनीले जनाएको छ । त्यस अवसरमा कम्पनीको आगामी कार्यदिशा र रणनीतिका विषयमा महत्वपूर्ण सुझावसमेत प्राप्त भएको बताइएको छ । कम्पनीले बीमा सेवाको पहुँच विस्तार, ग्राहक सेवा सुदृढीकरण तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । साधारण सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शेयरधनी, नियामक निकाय तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
खड्काको आरोप– विशेष महाधिवेशन अवैधानिक, स्पष्टीकरण सोध्नु अर्थहीन
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा नेता पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसबाट बनेको नेतृत्व र निर्णयलाई आफूले मान्यता नदिएको स्पष्ट पारेका छन् । खड्काले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च अदालत गएको उल्लेख गर्दै विशेष महाधिवेशन, त्यसबाट निर्वाचित पदाधिकारी तथा निर्वाचन आयोगको निर्णय संविधान, पार्टी विधान र स्थापित नजिरविपरीत रहेको दाबी गरेका छन् । खड्काका अनुसार उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय नआएसम्म त्यसलाई वैधानिक मान्न नसकिने अवस्था छ । ‘मैले अवैधानिक भनेर मुद्दा दायर गरेको समितिबाट मलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ छैन,’ खड्काले भने, ‘यो हास्यास्पद कुरा हो ।’ उनले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले बाँडेको टिकट लिएर प्रतिनिधिसभा निर्वाचनमा जानु राजनीतिक रूपमा अनैतिक हुने निष्कर्ष निकाल्दै आफू चुनाव नलडेको पनि स्पष्ट पारे । खड्काले सबै पक्षलाई सर्वोच्च अदालतको निर्णय कुर्न आग्रह गर्दै अन्तिम फैसला आएपछि मात्र त्यसअनुसार अघि बढ्नुपर्ने पनि बताए ।