विकासन्युज

व्यवसायी कर्मा तेञ्जिङले ठमेलको होटल वैशाली किने, साढे २ अर्ब लगानी गरेर पाँचतारे होटल बनाउँदै

काठमाडौं । पर्यटन व्यवसायीका रूपमा परिचित कर्मा तेञ्जिङ एकपछि अर्को ठूलो होटल परियोजनामा प्रवेश गरेका छन् । यसअघि काठमाडौंको महाराजगञ्जमा पाँचतारे होटल मेरिडियन र अपार्टमेन्ट बनाउने घोषणा गरेका उनले ठमेलमा थप नयाँ परियोजना निर्माणको काम अगाडि बढाएका हुन् ।  तञ्जिङको स्वामित्व रहेको मनाङ हस्पिटालिटी प्रालिले ‘फोर प्वाइन्ट्स बाई शेराटन’  ब्रान्डअन्तर्गत पाँचतारे होटल पुन:निर्माण गर्न लागेको हो । कम्पनीले ठमेलकै पुरानो होटल वैशालीको जग्गा र भवन खरिद गरेर पुन:निर्माण गरी पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।  कम्पनीले म्यारियट इन्टरनेशनललाई होटलको व्यवस्थापन दिने उल्लेख गरेको छ । कम्पनीले कुल २ अर्ब ६७ करोड ७० लाख लागतमा होटल पुन:निर्माण गर्न लागेको हो । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ ।  निर्माण हुन लागेको यो होटलमा सबैभन्दा धेरै शेयर मनाङ हस्पिटालिटीका अध्यक्ष तेन्जिङको रहेको छ । उनको यो होटलमा ६३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कर्मा तेन्जिङ कर्मा ग्रुपका अध्यक्षसमेत हुन् । उनको घरजग्गा, शिक्षा र हस्पिटालिटी लगायत क्षेत्रमा लगानी रहेको छ । तेन्जिङ अर्थशास्त्रमा विद्यावारिधि गरेका एक अनुभवी व्यवसायी हुन् । कम्पनीले होटलको पुन: निर्माण गरे सन् २०२७ मा आंशिक र २०२८ मा पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।  कम्पनीले बैंकबाट दीर्घकालिन २ अर्ब र अल्पकालीन अवधिको लागि ३ करोड गरी कुल २ अर्ब ३ करोड रुपैयाँको कर्जाका लागि रेटिङ पनि गराएको छ । जसका लागि दीर्घकालीन ऋणका लागि बी प्लस र अल्पकालीन ऋणका लागि ए फोर रेटिङ प्राप्त गरेको छ ।  हाल यो योजना पुन:निर्माणको प्रारम्भिक चरणमा रहेको छ । होटल वैशालीका कार्यकारी निर्देशक विशाल कुमार कैथले भने होटलको जग्गा खरिद गर्ने विषयमा अहिले मनाङ हस्पिटालिटीसँग फण्डको विषयमा कुरा भइरहेको र एक महिनाभित्र सम्झाैता फाइनल हुने जानकारी दिए । कर्माले काठमाडौंको महाराजगञ्जमा पनि ४ अर्ब २ करोड रुपैयाँ लागतमा मेरिडियन होटलको निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् । मेरिडियन पनि पाँचतारे होटल हो ।  लक्जरी होटेल म्यानेजमेन्ट (बीभीआई)ले व्यवस्थापन गर्ने सो पाँचतारे होटलमा १७० कोठा हुने बताइएको छ । कम्पनीले होटल निर्माणका लागि कुल लागतको ७३ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको थियो । २७ प्रतिशत स्वपूँजीमा होटल निर्माण हुने उल्लेख छ । कर्मा हस्पिटालिटीको कुल चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको रेटिङमा उल्लेख छ । होटलसँगै तेञ्जिङले अपार्टमेन्ट पनि बनाउँदैछन् । होटल र अपार्टमेन्टको कुल लागत भने ६ अर्ब हुने बताइएको छ । कर्मा र उनको टीमले महाराजगञ्जमा १६२ युनिटको कर्मा रेसिडेन्सी अपार्टमेन्ट बनाउने तयारी थालेका हो । कर्माको पुर्ख्यौली थलो मनाङ हो । यसअघि अमेरिकामा रहेका उनी नेपालमै फर्किएर व्यवसायमा जमिरहेका छन् । उनी हिमाल आरोहीका रूपमा पनि परिचित छन् ।  सम्बन्धित सामग्री :  कर्मा तेञ्जिङले महाराजगञ्जमा ४ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै, ३ अर्ब ऋण

राष्ट्रपतिले गरे मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको  राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य, को हुन् उनी ?

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव रुद्रप्रसाद बन्जराका अनुसार बैंकका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ । नवनियुक्त सीईओ आचार्यले आगामी माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने उनले बताए । बैंक सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको उनले बताए । उनले बैंकको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ क्षेत्रमा २१ वर्ष लामो अनुभव संगालेका छन् । हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ । आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआइटी, जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए ।   उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।   

केईको नगरकोट यात्रा सम्पन्न, ५६ गाडी र दुई सय सहभागीको सहभागिता

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी (केई नेपालका आधिकारिक आयातकर्ता) ले केई ग्राहक भेट र्याली आयोजना गरेको छ । थापाथलीबाट सुरु भएको उक्त र्याली क्लब हिमालय, नगरकोटमा सम्पन्न भयो । र्यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू सहित) सहभागी थिए । कार्यक्रमको उद्देश्य केई प्रयोगकर्ताबीचको सम्बन्ध सुदृढ बनाउने र वातावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्ने रहेको थियो । सहभागीहरूले यात्रा क्रममा रमाइला खेल, समूहगत क्रियाकलाप र प्राकृतिक सौन्दर्यको आनन्द लिएका थिए । क्लब हिमालयमा सहभागीहरूका लागि स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू प्रदान गरियो । कार्यक्रमको मुख्य आकर्षण सीपीआर (कार्डियो पल्मोनरी रेससिटेसन) सम्बन्धी सचेतना तथा तालिम सत्र थियो, जहाँ स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने सिकाए । यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति सहभागीहरूको जागरूकता बढाएको आयोजकले जनाएको छ । कार्यक्रमको समापन मनोरञ्जनात्मक प्रस्तुति र समूहगत गतिविधिसँग गरिएको थियो । जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले ग्राहक सन्तुष्टि, सुरक्षा सचेतना र सामाजिक जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना बनाएको जनाएको छ ।

विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन, चार दिने टेस्ट ड्राइभ र एक्सचेञ्ज कार्यक्रम हुने

काठमाडौं । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृिद्धले चार दिने टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी शनिबारदेखि सुरु हुनेछ । उक्त कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र भविष्यमुखी  (फ्युचरिस्टिक) इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । यी ब्रान्डहरू नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभी ब्रान्डका रूपमा स्थापित हुँदै आएका छन् । कार्यक्रममा सहभागीहरूले नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्नका साथै रोबोटहरूसँग अन्तर्क्रिया गर्ने अवसर पनि पाउनेछन्, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । हालै सम्पन्न नाडा अटो शोमा चर्चित भएका दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ । एमएडब्लु वृिद्धले कार्यक्रममा विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ । यसअन्तर्गत पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहारहरू रहनेछन् । इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न इच्छुक वा भविष्यको यातायात अनुभव गर्न चाहनेका लागि बिर्तामोडस्थित नयाँ दिपाल र नामी सोरुममा हुने यो एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्प एक उपयुक्त अवसर हुने आयोजकले जनाएको छ ।

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको जनाएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु/गराउनु पर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । त्यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै ‘प्रिपेड कार्ड’, ‘डेबिट कार्ड’ र ‘क्रेडिट कार्ड’बाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार २० हजार बराबर मात्रै गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । यो व्यवस्थाअनुसार अब प्रतिदिन ५० हजार बराबरको मात्रै कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार हुँदै आएको थियो । यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार बराबर मात्रै गर्न सकिनेछ । प्रतिदिन २० हजार बराबर मात्रै कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पुरानै व्यवस्था कायम छ ।

सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ११ प्रतिशत बढेर १२ करोड ८० लाख २० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोजसम्म कम्पनीको खुद बीमा शुल्क १८.७४ प्रतिशत बढेर २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  असोजसम्ममा कम्पनीको दाबी भुक्तानी १४.८२ प्रतिशत बढेर ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले २ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १२.२८ प्रतिशत बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र कुल खर्च १२.१७ प्रतिशत बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । नाफासँगै इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ बढेर १०.२२ रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ ।

मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द गर्न स्थानीयले माग गरेका छन् । सामुदायिक वनका उपभोक्ताले इँटा उद्योगबाट निस्किएको धुँवाले स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेकाले बन्द गर्न माग गर्दै घरेलु तथा पर्यटन कार्यालयमा निवेदन पेस गरेका भद्रु सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चिनबहादुर भण्डारीले जानकारी दिए । उद्योगले कोइलामात्र प्रयोग गरेर इँटा उत्पादन गर्न पाउने प्रावधान भएकामा सञ्चालकले दाउरा प्रयोग गरी निस्केको धुँवाले स्थानीय उपभोक्ताको स्वास्थ्यमा असर पुगेको उनले बताए ।  'इँटा उद्योग सञ्चालन गर्न सरकारबाट निर्धारण गरिएको प्रावधानका विरुद्ध बढी धुँवा निस्कने गरी चलाइरहेकाले उपभोक्ताको बहुमतको निर्णयबाट बन्द गर्न मागसहित सम्बन्धित निकायमा पुगेका हौँ', उनले भने, 'इँटा उद्योग वरपर बसोबास गर्ने स्थानीयवासीको स्वास्थ्यमा बढी प्रभाव परेको छ । सञ्चालकलाई निर्धारण गरिएको प्रावधानविपरीत नजान आग्रह गर्दा पनि नमानेपछि यससँग सम्बन्धित निकायसमक्ष उद्योग बन्दको मागसहित अगाडि बढेका हौँ ।' यस क्षेत्रका स्थानीयमा आँखा पोल्ने, नाक पोल्ने, श्वास फेर्न मुस्किल हुने, घाँटी दुख्ने, बोटबिरुवा तथा वातावरण प्रदूषित बनेको अध्यक्ष भण्डारीले जानकारी दिए ।  सामुदायिक वनमा आबद्ध एक सय ८० उपभोक्तामध्ये एक सय ४० उपभोक्ताले मानव स्वास्थ्य, वनजङ्गल तथा वायु प्रदूषणमा प्रभाव पारेकाले उद्योग बन्द गरी स्वच्छ वातावरण बनाउन माग गरेका छन् । औद्योगिकीकरणभन्दा बढी मानव स्वास्थ्य तथा वायु प्रदूषण जोखिमयुक्त भएकाले तत्काल सञ्चालनमा रोक लगाउन आवश्यक रहेको सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कुलबहादुर दरैले बताए । 'विगतमा हामी मानव स्वास्थ्य, वायु तथा वातावरण प्रदूषणका विषयमा अनभिज्ञ थियौँ । अहिले बुझ्दै गएका छौँ । मानव स्वास्थ्यका लागि स्वच्छ वायु तथा वातावरण बनाउनुपर्छ । त्यसैले मावन स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने उद्योग बन्द हुनुपर्छ ।' उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका उपसचिव महाराज ढकालले उद्योगको अनुगमन गर्दै सामुदायिक वन उपभोक्ता तथा वातावरणमा असर गरेका विषयमा अझ बढी अध्ययन गर्नुपर्ने र हालका लागि उद्योग सञ्चालन स्थगन गर्नुपर्ने बताए । उनले भने, 'मानव स्वास्थ्यमा नै प्रत्यक्ष रूपमा प्रभाव पारेको गुनासो आइसकेको छ । उपभोक्ताको स्वास्थ्य तथा वातावरणको प्रभावले दीर्घकालसम्म अझ बढी प्रभाव पार्नुबाट जोगाउन उचित रहेको छ ।' गहन रूपमा अध्ययनका लागि हाललाई उद्योग सञ्चालनमा रोक लगाउन उचित रहेको बताए । सामुदायिक वन उपभोक्ताले उद्योगको कमीकमजोरीसहित निवेदन पेस गरिसकेकाले मानव स्वास्थ्य तथा वातावरणलाई सन्तुलित र स्वच्छ बनाउनेतर्फ प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । उद्योगले प्रभाव पार्ने स्थानका स्थानीयवासीमा मुटु, फोक्सोसम्बन्धी रोगबाट प्रभावित भएको पाइएको स्थानीयको भनाइ छ । सङ्घीयता कायम नहुँदै दर्ता भएको उद्योग वडा, नगरपालिकामा समेत नवीकरण नभएको पाइएको उपभोक्ता समूहको आरोप छ ।  उद्योग सञ्चालक रामदेव पन्थले यस उद्योगमा छ सय कामदार रहेकाले हालै सञ्चालनमा रोक नलगाउन अनुरोध गर्नुभएको छ । यस उद्योगका कामदारको रोजीरोटी खोसिने भन्दै उनले सञ्चालन बन्द गर्न नमिल्ने बताए । यस उद्योगबाट इँटा उत्पादन गर्दा कोइलाको प्रयोगमात्र गर्न पाउने प्रावधानविपरीत गएर दाउराको प्रयोग गरेको पाइएको उपभोक्ताको गुनासो छ । उद्योगबाट निस्कने विषाक्त धुँवाले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उनीहरूको भनाइ छ ।  विसं २०५० देखि सञ्चालित उक्त उद्योगले अवैधानिक रूपमा सामुदायिक वनको कार्यसमितिलाई जानकारी नदिइकन, ‘डिमार्केशन पिलर’ बाहिर आई सामुदायिक वनको क्षेत्रमा रुखबिरुवा कटानी गरेको र जेसिबी प्रयोग गरेको उत्खनन गरेको जनाइएको छ । रासस