राष्ट्र बैंकले उपदान कोषको ३.७० अर्ब रुपैयाँ बैंकमा लगानी गर्ने, खुद एनपीएल ३ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ, राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात (एनपीएल ) ३ प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा-नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्ने लगायत सर्त पूरा गरेको हुनुपर्नेछ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ ।
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, ८ जनाको मृत्यु
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ७ जना सख्त घाइते भएका छन् । स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याई पुर्याउँदा ८ जनाको मृत्यु भइसकेको र अन्य ७ जनाको उपचार भइरहेको जानकारी दिए । दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।’ घटनास्थलमा पुगेका डीआइजी सिआरपिएफले तत्काल केही भन्न हतार हुने बताए । अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेसन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताए । ‘हामीले घटना लगत्तै प्रतिक्रिया दियौँ र ७ युनिटहरू घटनास्थलमा पठाइयो । विस्फोटपछि लागेको आगो साँझ ७:३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हाताहाती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्,’ उनले भने । प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् । एक स्थानीयले एएनआईलाई भने, ‘जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ । म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ ।’ अर्का प्रत्यक्षदर्शीले भने, ‘जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’ एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन् । उनले भने, ‘विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’ एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् । उनले भने, ‘१५ जनालाई लोक नायक अस्पतालमा ल्याइएको छ । तीमध्ये ८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । ३ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।’
एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा जनकपुर र काठमाडौं गोर्खाज भिड्ने
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ । प्रतियोगितामा विभिन्न ८ टोली सहभागी छन् । दिनमा २ वटा खेल हुँदा पहिलो खेल दिउँसो ११:४५ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका ३ खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने छन् ।
अशोक राई नेतृत्वको जसपा र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने
काठमाडौं । जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरूबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो । अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषदलाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिए । उनले दुवै पक्ष सैद्धान्तिक विषयमा सहमत भएपछि केही नेताहरु व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाइने र केही दिनभित्र एकताको घोषणा गरिने जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी वृहत् कम्युनिष्ट केन्द्र निर्माणको अभियान थालेको छ । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव अगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ । छिट्टै सातै प्रदेशमा एकता सभा गर्ने तयारी समेत गरेको पार्टीले नेकपा (एमाले) का पूर्व उपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक भीम रावलसँग पनि एकताको सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ ।
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की, को हुन् उनी ?
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् । कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनले इन्स्पेक्टर दर्जामा इलाका प्रहरी कार्यालय काकडभित्ता, झापा र तनहुँको आबुखैरेनीमा कार्यालय प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए ।
सरकारले यी १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राख्यो, कुन-कुन परे?
काठमाडौं । सरकारले विभिन्न १६ वटा आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखेको छ । मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखेको हो । नेपाल सरकारबाट र निजी प्रवर्द्धकबाट कार्यान्वयन हुने ऊर्जा विकास र जलविद्युत विकाससम्बन्धी उत्पादन, प्रसारण तथा वितरण आयोजनाहरू राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा राखिएको हो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाअन्तर्गत बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना (तेस्रो चरण), रानी जमरा कुलरिया सिँचाइ आयोजना (प्रणाली आधुनिकीकरण समेत) रहेका छन् । त्यसैगरी कालीगण्डकी(तिनाउँ बहुउद्देश्यीय आयोजना, बागमती सिँचाइ आयोजना, नवीनतम यान्त्रिक सिँचाइ आयोजना, प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजना, सुनसरी मोरङ सिँचाइ आयोजना (तेस्रो), सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, बृहद् दाङ उपत्यका सिँचाइ आयोजना, जलस्रोत संरक्षण आयोजना (रुपाताल र नागमती तथा धाप बाँध) र कर्णाली, पश्चिम राप्ती र नारायणी नदी व्यवस्थापन आयोजना पनि सूचीमा राखिएको छ।
शिवम् सिमन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता
काठमाडौं । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको छ । पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबार जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । शिवम्को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे शिवम्ले २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
जेनजीलाई पनि पार्टी बनाएर चुनावमा आउन प्रधानमन्त्री कार्कीको सुझाव
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार (आज) स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी छन् । उनले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् । संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो । आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरूको धारणा थियो । स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता पनि व्यक्त गरे । छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो । गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका निम्ति आग्रह गरे । स्थानीय सरकारले केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उनले आग्रह गरे । प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने बताइन् । निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले पनि समन्वय र सहकार्यबाटै अघि बढ्ने उनको भनाइ थियो । उनले भनिन्, ‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईंहरूसँग समन्वय र सहकार्य नगरी हुन्न । तपाईँहरुका चासो हामी सम्बोधन गर्छौं । गर्नैपर्छ । चिन्ता नगर्नुहोस् । आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस् । अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ ।’ दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उनले स्पष्ट पारिन् । ‘दलीय पद्धतिमा दल त हुन्छन् नै । दल नभई हुँदैन । माथि दलका कुरा हुन्छन् । तल स्थानीय तहमा विकासका कुरा हुन्छन् । यी कुराबीच सन्तुलन मिलाएर लैजानुपर्छ,’ उनले भनिन्, ‘आफ्नो काम गर्न छाड्नुहुँदैन । हामीले नै सुधार गर्दै लैजानुपर्छ । ५ वर्षमा २ चुनाव होला भनेर पनि कसैले कल्पना गरेको थिएन। यो हठात् हुन गयो । यो यथार्थ स्वीकार गरेर अघि बढ्नुपर्छ । मुलुक हाम्रै हो । हामीले नै सुधारेर जानुपर्छ ।’ प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिइन् । उनले भनिन्, ‘जेनजी छोराछोरी पनि हाम्रै हुन् । पुरानाले बढी ओगटिदिए । मनोमानी गरे । त्यसले विद्रोह जन्मियो । अब दलसँग रिसाएर हुँदैन । तपाईंहरू पनि दल बनाएर जानुहोस् भनेर जेनजीहरुलाई भनेको छु । आफ्नाआफ्ना एजेन्डा लिएर चुनावमा जाने र शान्तिपूर्ण तवरले आफ्ना सुधारका कार्यक्रम लागू गर्ने दिशामा हामी अघि बढ्नुपर्छ ।’