विकासन्युज

शिवम् सिमन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता

काठमाडौं । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको छ ।  पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबार जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।  शिवम्को ६६ करोड ८९ लाख  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे शिवम्ले २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

जेनजीलाई पनि पार्टी बनाएर चुनावमा आउन प्रधानमन्त्री कार्कीको सुझाव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार (आज) स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी छन् । उनले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् । संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो । आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरूको धारणा थियो । स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता पनि व्यक्त गरे । छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो । गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका निम्ति आग्रह गरे । स्थानीय सरकारले केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उनले आग्रह गरे । प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने बताइन् । निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले पनि समन्वय र सहकार्यबाटै अघि बढ्ने उनको भनाइ थियो । उनले भनिन्, ‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईंहरूसँग समन्वय र सहकार्य नगरी हुन्न । तपाईँहरुका चासो हामी सम्बोधन गर्छौं । गर्नैपर्छ । चिन्ता नगर्नुहोस् । आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस् । अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ ।’ दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उनले स्पष्ट पारिन् । ‘दलीय पद्धतिमा दल त हुन्छन् नै । दल नभई हुँदैन । माथि दलका कुरा हुन्छन् । तल स्थानीय तहमा विकासका कुरा हुन्छन् । यी कुराबीच सन्तुलन मिलाएर लैजानुपर्छ,’ उनले भनिन्, ‘आफ्नो काम गर्न छाड्नुहुँदैन । हामीले नै सुधार गर्दै लैजानुपर्छ । ५ वर्षमा २ चुनाव होला भनेर पनि कसैले कल्पना गरेको थिएन। यो हठात् हुन गयो । यो यथार्थ स्वीकार गरेर अघि बढ्नुपर्छ । मुलुक हाम्रै हो । हामीले नै सुधारेर जानुपर्छ ।’ प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिइन् । उनले भनिन्, ‘जेनजी छोराछोरी पनि हाम्रै हुन् । पुरानाले बढी ओगटिदिए । मनोमानी गरे । त्यसले विद्रोह जन्मियो । अब दलसँग रिसाएर हुँदैन । तपाईंहरू पनि दल बनाएर जानुहोस् भनेर जेनजीहरुलाई भनेको छु । आफ्नाआफ्ना एजेन्डा लिएर चुनावमा जाने र शान्तिपूर्ण तवरले आफ्ना सुधारका कार्यक्रम लागू गर्ने दिशामा हामी अघि बढ्नुपर्छ ।’

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

काठमाडौं । एनसेलले आकर्षक ‘११ः११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ । क्यापेनअन्तर्गत मंगलबारको दिन एनसेल एपमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् । ११ः११ उत्सवको अवसरमा भोलि एक दिनका लागि सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११ः११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको छ ।  ‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरू हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय गर्न र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरु पठाउन पनि सक्छन् । एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचारहरु हेर्न सकिनेलगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाहरूको फाइदा लिन सक्छन् । ११ः११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक ट्रेन्ड हो । ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११ः११ को आकर्षण बढ्दो रहेको छ ।

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, ग्राहकलाई छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ई–कमर्स प्लेटफर्म दराजबीच अनलाइन खरिदका लागि भुक्तानी सेवा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट डिजिटल पेमेन्ट तथा फाइनान्स सेवा प्रोजेक्ट लिड रिशव थापाले हस्ताक्षर गरेका छन् । सम्झौता २०८२ साल कार्तिक २५ गते देखि मंसिर ६ गतेसम्म लागू हुनेछ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले दराजमा अनलाइन खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ रुपैयाँसम्म र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । नेपाल बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सुविधा सक्रिय गर्न तथा क्रेडिट कार्डका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नविनतम प्रविधि र डिजिटल संलग्नता विस्तार गर्ने रणनीतिअन्तर्गत दराजसहितका ई–कमर्स प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।

२० प्रतिशत भन्दा कम मत पाए सरकारमा जाँदैनौँ : वीरेन्द्रबहादुर बस्नेत

काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गरेका छन् । सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरेका हुन् ।  उनले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताए । राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उनको दाबी छ । आफूहरु दीर्घकालीन हिसाबले राजनीतिमा प्रवेश गरेको बताए । देशका सन्ततीहरुका लागि त्याग, निष्ठा, इमान्दारिता र सृजनशीलतका साथ अगाडि बढ्ने बताए ।  ‘हाम्रो लागि मात्र होइन हाम्रा सन्तति र त्यस पछिका सन्ततिहरुका लागि हामी त्यसमा पूरा त्याग हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हामीहरुको सृजनशिलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजाछौं र हामी दृघकालिन हिसाबले आउदैछौ किनभने हामीहरुको घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाई सरकारमा जादैनौ,’ उनले भने । उनले जेनजी पुस्ताको आन्दोलन पश्चात पार्टीको संगठनिक कार्य शुरु गरेको बताए । 

भावुक हुँदै घर फर्किइन् रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकतासँग असन्तुष्ट रहेकी एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्री भावुक हुँदै नेकपा एमाले प्रवेश गरेकी छन् ।  नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सञ्चालन भएको ‘घर फर्क अभियान’मा झाँक्रीसहित ३०० बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । घर फर्क अभियानलाई सम्बोधन गर्दा नेता झाँक्री भावुक देखिइन् । ‘मैले इहिासका धेरै कुरा सम्झिन चाहिनँ । विगतका कुरा गर्न चाहिनँ,’ उनले भनिन्, ‘यात्रामा मन मिल्नेहरू एउटै फलैंचामा बस्नुपर्छ । ताल मिल्नेहरू चाल मिलाएर यात्रामा सँगै हिँड्न सकिन्छ । मन नमिलिकन गरिएको यात्रा सहज नहुने रहेछ । यही बुझ्दै म एमाले फर्किएकी छु ।’ 

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौं । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको छ । बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गन देशभरीका सरकारी तथा सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न साढे तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि क्रमश दुई करोड र साढे एक करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सोही विभागबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन एक करोड रुपैयाँ विनियोजन गरिएको छ । विभागमार्फत आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका कार्यक्रममा सञ्चालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । बैठकले कोषमा संकलन भएको रकम एवम् भौतिक पूर्वाधार पुनर्निर्माण समितिको कामलाई सार्वजनिक र पारदर्शिता कायम गर्न छुट्टै www.rebuildnepal.gov.np नामक वेवसाइट सञ्चालन गर्ने निर्णय गरेको छ ।

दार्चुलामा भूकम्पको धक्का

खलङ्गा । दार्चुलामा सोमबार दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।  शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।