विकासन्युज

सेवा प्रदायक स्वास्थ्य संस्थाले पाउने दाबीको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा

काठमाडौं । अब स्वास्थ्य बीमामा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीको २ प्रतिशत रकम कट्टा गरी स्वास्थ्य बीमा कोषमा जम्मा गरिने भएको छ । स्वास्थ्य बीमा बोर्डले सोमबार (आज) एक सूचना जारी गर्दै यसबारे निर्णय भएको सम्बन्धित सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई जानकारी गराएको हो ।  ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीबापत स्वीकृत रकमको २ प्रतिशत कट्टा गरी स्वास्थ्य बीमा कोषमा दाखिला गरिनेछ’, सूचनामा भनिएको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीको स्वीकृत रकमका २ प्रतिशत कोषमा जम्मा गर्ने निर्णय यसअघि चैत्र १८ गते बीमा बोर्डको बैठकले गरेको थियो । यो निर्णय अब कार्यान्वयनमा जाने भएको छ । 

एमालेको ‘घर फर्क अभियान’ सुरु, झाँक्रीसहितका नेतालाई एमालेमा स्वागत

काठमाडौं । नेकपा एमालको ‘घर फर्क अभियान’ सुरु भएको छ । सोमबार नेकपा एकीकृत समाजवादीका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई एमालेमा स्वागत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानको सुरुवात गरेका हुन् । ३ वर्ष पहिले २०७८ भदौ ३ गते एमालेको विभाजनसँगै केही नेताहरू पार्टीबाट बाहिरिएका थिए । अध्यादेशको भरमा २० प्रतिशत सांसद र केन्द्रीय सदस्यहरूले एमाले छोडेपछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो।  माधव नेपाल नेतृत्वमा गठन भएको उक्त दल र नेकपा माओवादी केन्द्र लगायतका दल एकीकरण प्रक्रियामा गएपछि असन्तुष्ट रहेका नेताहरू एमालेमै फर्किएका हुन् । झाँक्री नेकपा एकीकृत समाजवादीकी संस्थापक सचिव रहेकी थिइन् । यस्तै, श्रेष्ठ विघटित प्रतिनिधिसभाका सांसद रहेका थिए । नेकपा एकीकृत समाजवादी र माओवादी एकता विरुद्ध विद्रोह गर्नेहरूमा केन्द्रीय सदस्य गम्भीरलाल श्रेष्ठ, पिताम्वर तिम्सिना, राजाराम स्याङतान पनि एमाले प्रवेश गरेका छन् ।  यस्तै, केन्द्रीय सदस्य श्रीराम महत, केदारप्रसाद गौतम पनि एमालेमा प्रवेश गरेका छन् । सोमबारको कार्यक्रममा जेनजीबाट १३० जना र समाजवादीका १४२ जना केन्द्रीय सदस्यहरू एमाले प्रवेश गरेको एमालेका प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए ।

१३० जेनजी एमालेमा प्रवेश गरे

काठमाडौं । जेनजी आन्दोलनमा महत्त्वपूर्ण भूमिकामा रहेका प्रवेश धितालसहित १३० जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमालेमा प्रवेश गराइएको एमाले प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए ।  उनका अनुसार कार्यक्रममा राजकुमार विष्ट, उमा विष्ट, प्रमोद दाहाल लगायतका जेनजीहरू एमाले प्रवेश गरेका हुन् । एमालेले राष्ट्रिय सभागृहबाट घर फर्क राष्ट्रिय अभियानको समेत शुभारम्भ गरेको छ ।

गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता,  बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत संलग्न

काठमाडौं । जेनजी आन्दोलनलगत्तै गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका सचिव माहादेव पन्थले सोमबार सो पार्टी (दल) दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गरेका हुन् ।  बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न रहेका छन् । नागरिकहरू मिलेर देश बनाउने उद्देश्यका साथ सो दल दर्ता गरिएको सो पार्टीका अध्यक्ष प्रसार्ईंले बताए । आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि स्पष्ट पारे ।  अध्यक्ष प्रसाईंले भने, ‘हामी व्यापारिक व्यवसायिक मात्रै होइनौँ । म आफैले पनि त्रिभूवन विश्वविद्यालयमा राजनीतिक समाजशास्त्र पढाएको १५ वर्ष भईसक्यो । अहिलेसम्म राजनीतिमा रोजगारीलाई प्रमुख एजेण्डा बनाइएन भन्ने विषयबाट चिन्तित भएर कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने हिसावले चिन्तितभएर विषत दुइ वर्षदेखि हामीले घनिभूत छलफल गरेका छौं । त्यसमा पर्यटन, कृषि, आइटी, शिक्षा, स्वास्थ्यको बारेमा घनिभूत छलफल गरेर हामीले पार्टी दर्ता गरेका छौँ । सो पार्टीको दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितको नेताहरु पुगेका थिए ।  पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताए । 

पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन : सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन् । कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन् । उनले भनिन्, ‘संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ । यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो । पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन । दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन ।’ कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ।  प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।  

दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट

काठमाडौं । सानिमा बैंक र दराजबीच सहकार्य भएको छ । बैंकले दराजसँग दराज ११.११ योजनाका लागि ग्राहकलाई छुट प्रदान गर्ने भएको हो ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्ने ग्राहकले छुट पाउनेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरूले दराजमार्फत बैंक भाउचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने जनाएको छ । बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई नगदरहित कारोबारतर्फ प्रोत्साहित गर्दै आएको छ ।

इलामका बाढी-पहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी-पहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गरिरहेको जनाएको छ । बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियानअन्तर्गत न्यानो कपडा संकलन भइरहेको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बताइन् । अभियान अन्तर्गत यस डेभलपमेन्ट बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ ।  यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराइनुका साथै बैंकका कर्मचारी, ग्राहक र इच्छुक जो कोहीबाट न्यानो कपडा संकलन गरिने बज्राचार्यले जानकारी दि‍‍इन्। यसका लागि बैंकका तोकिएका शाखा कार्यालयमा मंसिर १५ गतेसम्म कपडा उपलब्ध गराउन सकिने पनि उनले बताइन् ।  यसका लागि सांग्रिला डेभलपमेन्ट बैंकका काठमाडौ क्लस्टर अन्तर्गत बालुवाटार, कुमारीपाटी, न्यूरोड शाखा तथा चितवन सब क्लस्टर अन्तर्गत नारायणगढ, हेटौँडा, रजैया, अमरापुरी, टाँडी बट्टार, हाकिम चोक, वीजयनगर र कावासोती शाखामा कपडा संकलन भइरहेको छ ।  यस्तै, नेपालगञ्ज क्लस्टर अन्तर्गतका नेपालगञ्ज, कोहलपुर त्रिभुवनचोक, राँझा, गुलरिया, खजुरा, सानोश्री, भुरीगाउँ, जयनगर, राजापुर र सिमकोट शाखा तथा सुर्खेत सब क्लस्टर अन्तर्गत सुर्खेत र यारी चोक शाखा कार्यालयमा न्यानो कपडा संकलन भइरहेको छ । यसैगरी, दाङ सब क्लस्टर अन्तर्गत लमही, घोराही, तुलसीपुर, नारायणपुर, गढवा, सुलिचौर, भालुवाङ्, बुटवल सब क्लस्टर अन्तर्गत बुटवल, वीरगञ्ज सब क्लस्टर अन्तर्गत वीरगञ्ज र बयलबास शाखामा पनि न्यानो कपडा संकलन भइरहेको छ । यसैगरी, धनगढी क्लस्टर अन्तर्गत, अत्तरिया, धनगढी र महेन्द्रनगर, पोखरा क्लस्टर अन्तर्गत, लेकसाइड, तालचोक, रामबजार, रानीपौवा, भरतपोखरी, हेम्जा, छेपेटार, पालुङ्टार, दमौली, विरौटा, भद्रकाली, जीरो किलो, नयाँ वसपार्क, कुश्मा, दुलेगौँडा, बागलुङ,  गोरखा र डुम्रे तथा इटहरी क्लस्टर अन्तर्गत इटहरी, बिराटनगर, धरान र दमक शाखामा कपडा संकलनको काम भइरहेको छ ।  यसरी संकलन भएका कपडा सामाजिक संस्था लिड फर नेपालमार्फत इलामका बाढीपहिरो प्रभावितलाई उपलब्ध गराइनेछ ।

५ अंकले घट्यो नेप्से, ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५६० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ९० कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२७ कम्पनीको ८६ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै युनियन हाइड्रोको २५ करोड, राधी विद्युतको १७ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रो, सागर डिस्टीलरी, बुंगल हाइड्रो र माबिलुङको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा होटल तथा पर्यटन समूह १.६४ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार ०.५५ र लगानी ०.१० प्रतिशतले बढेका छन् । यीबाहेक सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.४१ तथा अन्य ०.२९ प्रतिशतले घटेका छन् ।