आकर्षणको केन्द्रबिन्दु बन्यो उड्ने ट्याक्सी, नेपालमा यस कारण उडाइएन
काठमाडौं । यतिबेला काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा एउटा अनौठो सवारीले सबैको ध्यान खिचिरहेको छ । जमिनमा राखिएको तर पंखाहरू भएको यो सवारीको वरिपरि अवलोकनकर्ताको ठूलो भीड देखिन्छ । धेरैले यसलाई ‘उड्ने कार’ को संज्ञा दिए पनि यो वास्तवमा भविष्यको सहरी यातायातको माध्यम ‘फ्लाइङ ट्याक्सी’ हो । दीपल विद्युतीय गाडी ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि ग्रुपले नेपालमा पहिलोपटक उड्ने कारलाई प्रदर्शनीमा राखेको हो । नाडा अटो शोको मुख्य आकर्षणका रूपमा रहेको यो ‘फ्लाइङ ट्याक्सी’ ले ग्राहक र अवलोकनकर्ताको ध्यान तानिरहेको छ । नाडा अटो शोमा अहिले अन्य सवारी साधनहरूभन्दा पनि ‘फ्लाइङ ट्याक्सी’ हेर्न आउनेको घुइँचो छ । यो ‘फ्लाइङ ट्याक्सी’ हेर्न भीआईपीदेखि सर्वसाधारणको घुइँचो लाग्ने गरेको पाइन्छ । यतिबेला सरकारदेखि सर्वसाधारणको ध्यान नै भृकुटीमण्डपतिर छ । यो ‘फ्लाइङ ट्याक्सी’ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने यसको अवलोकनका लागि हालसम्म नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, प्रतिनिधि सभाका सभामुख देव घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल भृकुटीमण्डप पुगिसकेका छन्। हालसम्म अटो शोको अवलोकनकर्ताको संख्या ७८ हजार ५ सय १३ पुगेको नाडाले जनाएको छ । एमएडब्लूले भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक ‘फ्लाइङ ट्याक्सी’ प्रदर्शनीमा राखिएको कम्पनीको भनाइ छ । नाडा अटो शोमा दिपल ब्राण्डका विद्युतीय गाडीहरू लिएर सहभागी भएको ह्याम्स ट्रेडिङका सेल्स रबिन कँडेलले जानकारी दिए । उनका अनुसार यो फ्लाइङ ट्याक्सी अवलोकनकर्ताका लागि मुख्य आकर्षण बढाउन र भविष्यको प्रविधिबारे जानकारी दिन नेपाल ल्याइएको हो । ‘धेरैले यसलाई उड्ने कार भन्नुभएको छ, तर म सच्याउन चाहन्छु, यो ‘फ्लाइङ ट्याक्सी’ हो,’ कँडेलले भने, ‘कारमा पाङ्ग्राहरू हुन्छन्, तर यसमा छैन । यसको उद्देश्य व्यक्तिगत सवारीभन्दा पनि सहरी यातायातलाई सहज बनाउने हो ।’ यो फ्लाइङ ट्याक्सी चिनियाँ कम्पनी ‘चांगान’ र ‘इहाङ’ को सहकार्यमा विकास गरिएको उत्पादन हो । चांगान दिपल ब्राण्डको प्यारेन्ट कम्पनी पनि हो, जसको १ सय ६८ वर्ष लामो अटोमोबाइल उत्पादनको इतिहास छ । यस्ता छन् विशेषता यो स्वचालित (अटोमेटेड) र कृत्रिम बौद्धिकतामा आधारित यातायात प्रणाली हो, जसले सहरभित्रको ट्राफिक जामलाई पूर्ण रूपमा छल्न सक्छ । यसमा ड्रोन प्रविधि रहेको छ । जुन ड्रोनकै अवधारणाले काम गर्छ । यस्तै, रडार र कोलाइजन सेन्सरजस्ता अत्याधुनिक सुरक्षा फिचरहरू जडान गरिएका छन्, जसले ठोक्किनबाट बचाउँछ । यसका साथै उड्ने ट्याक्सी ईएच २१६-एस मोडल हो । यो साधन करिब ६०० किलोग्रामसम्म भार बोकेर अधिकतम १३५ किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्छ । एक पटकको फुल चार्जमा यसलाई अधिकतम ३० किलोमिटर दूरी वा करिब २५ मिनेटसम्म लगातार उडान मिल्छ । उक्त ट्याक्सीमा अत्याधुनिक सुरक्षा प्रणालीहरू समावेश गरिएका छन् । अधिकतम टेकअफ वजन ६०० किलोग्रामसम्म रहेको यो मोडलले करिब तीन किलोमिटरको उचाइमा उडेर ३० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । यसमा यात्रुले पिकअप र ड्रप पोइन्ट तय गरेपछि यो आफैं स्वचालित रूपमा उड्ने र अवतरण गर्ने गर्दछ । विमानस्थलको एयर ट्राफिक कन्ट्रोल जस्तै यसलाई पनि विशेष ‘कमान्ड सेन्टर’ बाट निगरानी र नियन्त्रण गरिन्छ, जसले उडानलाई सुरक्षित र व्यवस्थित बनाउँछ । कम्पनीका अनुसार यसमा हलुका र बलियो कार्बन-फाइबर कम्पोजिट संरचनाबाट बनेको पारदर्शी क्याबिन छ । जसले यात्रुहरूलाई आकाशको प्यानोरामिक दृश्यको अनुभव प्रदान गर्छ । नेपालमा किन उडाइएन ? अवलोकनकर्ताको मनमा उठेको सबैभन्दा ठूलो प्रश्न हो । ’यो साँच्चै उड्छ भने यहाँ किन उडाएर देखाइएन ? ’ यसको जवाफमा कँडेल भन्छन्, ‘नेपालमा यस्ता सवारी उडाउनका लागि आवश्यक नीति, नियम र कानुनी पूर्वाधार बनिसकेको छैन । यसका लागि हवाई उड्डयन र सडक यातायात दुवैका नियमहरू मिलाएर नयाँ निर्देशिका बनाउनुपर्ने हुन्छ । सरकारी अनुमति र स्पष्ट नियम नभएकाले हामीले यसलाई यहाँ उडाउन सकेनौं । ’ त्यसकारण केवल नाडा अटो शोमा हामीले देखाउन मात्रै सकेको उनको भनाइ छ । यता नेपालको यातायात व्यवस्था विभागले उड्ने कार जस्ता सवारी साधनका लागि हालसम्म कुनै कानुनी व्यवस्था नभएको जनाएको छ । विभागको प्राविधिक शाखाका प्रमुख श्रीकान्त यादवका अनुसार नेपालको विद्यमान यातायात ऐनले सडकमा गुड्ने सवारी मात्रलाई मान्यता दिएको छ । यी उड्ने कारको परिकल्पना समेत नगरिएको उनको भनाइ छ । ‘हाम्रो यातायात ऐनले उड्ने कारका लागि कुनै नीति वा नियम बनाएको छैन,’ यादवले भने, ‘हालको कानुनले सडकमा गुड्ने सवारीलाई मात्र ‘सवारी’ मानेको छ । त्यस बाहेकका सवारी साधनको सम्भावना नै विचार गरिएको छैन ।’ कम्पनीका अनुसार बजारमा यसको मूल्य ६ देखि ८ करोड रुपैयाँसम्म पर्ने हल्ला चले पनि कम्पनीले नेपालका लागि कुनै आधिकारिक मूल्य सार्वजनिक गरेको छैन । ‘अन्तर्राष्ट्रिय बजार र विभिन्न देशका कर प्रणालीअनुसार मूल्य फरक पर्ने भएकाले अहिले नै यकिन भन्न सकिँदैन,’ कँडेलले भने । यो फ्लाइङ ट्याक्सी नाडा अटो शो सकिएपछि फिर्ता चीन नै पठाइनेछ । तर भविष्यमा नेपाल सरकारले आवश्यक नीति नियम बनाएमा यसलाई नेपाल भित्र्याउने पहिलो कम्पनी आफूहरू हुनेमा उनी विश्वस्त छन् । चीनमा यो ट्याक्सी हाल प्रारम्भिक परीक्षण चरणमा छ र सन् २०२६ सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ । दुबईजस्ता सहरहरूमा भने यस्तै प्रविधिको सफल परीक्षण भई प्रयोगमा समेत आउन थालिसकेको छ । विश्वमा उड्ने कार प्रविधिको स्थिति संसारभर हाल अमेरिका, चीन, दुबई, दक्षिण कोरिया, र युरोपेली देशहरू (फ्रान्स, जर्मनी, बेलायत) ले उड्ने कार तथा विद्युतीय ऊर्ध्वगामी अवतरण र उडान सक्षम यान (इभीटीओएल) प्रविधिको विकासमा उल्लेखनीय प्रगति गरिसकेका छन् । त्यहाँ सरकारी अनुमति, परीक्षण उडान र पूर्वाधार निर्माण सुरु भइसकेको छ । तर, नेपालले पहिलो पटक उड्ने कारको प्रदर्शनीमार्फत क्षेत्रीय अग्रता देखाएको छ । भारतमा केही निजी कम्पनीहरूले यस्ता प्रोटोटाइप विकास गरिरहेका छन्, तर परीक्षण अनुमति पाएका छैनन् । बंगलादेश, पाकिस्तान, र श्रीलंकामा भने कुनै ठोस नीति वा लगानी सार्वजनिक भएको छैन । यो कारको सन् १९१७ मा ग्लेन कार्टिसले ‘एल्युमिनियम अटोप्लेन’ डिजाइन गरेका थिए । नाडामा प्रदर्शन गरिएको यो फ्लाइङ ट्याक्सीले नेपाली बजारमा भने भविष्यको यातायातबारे एउटा नयाँ बहस सिर्जना गरेको छ । सरकार नै ‘फ्लाइङ ट्याक्सी’ को अवलोकनमा आउन थालेपछि अब नेपालमा यो सम्बन्धी कानुन बन्ला त भन्ने सबै चासोको विषय बन्न थालेको छ ।
८ वर्षपछि अप्टिकल फाइबर परियोजना फेरि सुरु, कनेक्टिभिटी बलियो बनाउन पौने २ अर्ब अनुदान
काठमाडौं । लामो समयदेखि रोकिएको गण्डकी र लुम्बिनी प्रदेशको अप्टिकल फाइबर विस्तार परियोजना नेपाल टेलिकम (एनटीसी) लाई दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले ८ वर्षसम्म कानूनी प्रक्रियामा अल्झिएको यो परियोजना अगाडि बढाउन टेलिकमसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिसकेको छ । प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ) को प्रयोग गरी देशभर नेटवर्क विस्तारमा अर्बौंको लगानी गर्न लागिएको जानकारी दिए । उनका अनुसार २०७४ सालमा युनाइटेड टेलिकम लिमिटेड (युटीएल) लाई दिइएको गोर्खाको आरुघाटदेखि रुकुमको बुर्टीवाङसम्मको २ हजार ११७ किलोमिटर लामो यो परियोजना समयमा सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको थियो । तर, युटीएलले मुद्दा हालेपछि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण ८ वर्षसम्म काम रोकिएको थियो । ‘गत वर्ष सर्वोच्च अदालतले रिट खारेज गरेपछि यो परियोजना अगाडि बढाउने बाटो खुल्यो,’ अध्यक्ष भण्डारीले भने, ‘हामीले युटीएललाई दिएको अग्रिम भुक्तानी ग्यारेन्टी र कार्यसम्पादन ग्यारेन्टीबापतको ५० करोड २५ लाख रुपैयाँ जफत गरी असुल गरिसकेका छौं ।’ उनले नेपाल सरकारको निर्देशनअनुसार २०१ करोडको बजेट सीमाभित्र रहने गरी यो परियोजना अब एनटीसीलाई दिइएको जानकारी दिए । उनका अनुसार एमओयू भएको १२० दिनभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित अन्तिम सम्झौता गरी यही आर्थिक वर्षबाट काम सुरु गर्ने लक्ष्य राखिएको छ । विगत ८ वर्षमा एनटीसीले धेरै ठाउँमा आफ्नै नेटवर्क विस्तार गरिसकेकाले परियोजनाको संरचनामा परिमार्जन गरिएको छ । अब यो परियोजनाको लम्बाइ १ हजार ९१५ किलोमिटर हुनेछ र यसमा १९४ वटा पालिका केन्द्रलाई समेत जोडिनेछ । सुरुमा १७७ करोड (कर बाहेक) लागत अनुमान गरिएको यो परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । कोसी, मधेश र बागमती प्रदेशमा एनटीसीमार्फत सञ्चालित ४८८ करोडको यो परियोजनामा कोसी प्रदेशको काम सम्पन्न भइसकेको छ । मधेश प्रदेशमा १ हजार २८ किमिमध्ये ७७६ किमि सक्रिय छ भने सडक विस्तारले क्षति पुगेको २५० किमिमा नयाँ काम अगाडि बढाइएको छ । बागमती प्रदेशमा पनि काम भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा ३ अर्ब ८ लाख रुपैयाँको बजेट रहेकोमा एनटीसीले १५३ करोडको ठेक्का सम्झौता गरिसकेको छ । हालसम्म ५७८ किलोमिटर अप्टिकल फाइबर सञ्चालनमा आएको छ । तर, शुक्लाफाँट र बर्दिया निकुञ्ज क्षेत्रमा अनुमति नपाउँदा ११५ किलोमिटर खण्डको काम रोकिएको छ । प्राधिकरणले यसको सहजीकरणका लागि मन्त्रालयलाई आग्रह समेत गरेको छ । ४८७ नयाँ टावर थपिँदै पञ्जीकरण विभागसँगको समन्वयमा गरिएको सर्वेक्षणअनुसार देशभरका २२ वटा वडाहरूमा अझै पनि इन्टरनेट कनेक्टिभिटी नपुगेको पाइएको छ । डोल्पाका १५, ताप्लेजुङका ४ र मनाङका ३ वडामा कनेक्टिभिटी पु¥याउन प्राधिकरणले नयाँ परियोजना सुरु गर्ने भएको छ । यसका साथै व्यावसायिक रूपमा सम्भावना नभएका तर नेटवर्कको अति आवश्यक रहेका ग्रामीण तथा हिमाली क्षेत्रहरूमा आरटीडीएफ कोषमार्फत नयाँ टावर निर्माण गरिनेछ । ‘हामीले गरेको ग्याप एनालाइसिसमा देशभर ४८७ वटा नयाँ साइट आवश्यक रहेको पहिचान गरेका छौं,’ उनले भने ‘यसका लागि यो वर्ष ४ अर्ब बजेट विनियोजन गरिएको छ ।’ सबैभन्दा बढी आवश्यकता कर्णाली प्रदेशमा १२६ र सुदूरपश्चिम प्रदेशमा १४२ साइट रहेको देखिएको छ । चुनौतीमा दुरसञ्चार कम्पनी नेपाल दुरसञ्चारका ग्राहकको संख्या २ करोड ९७ लाख रहेको छ भने ब्रोडब्यान्ड पहुँचको संख्या १३९.५४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । यस्तै, एफटीटीएच पहुँच पुग्ने कुल घरधुरीको संख्या ४८.२४ प्रतिशत रहेको बताइएको छ । यस्तै, फोरजी प्रयोग गर्ने प्रयोगकर्ताको संख्या २ करोड ५६ लाख, टुजी प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ३१ लाख र थ्रीजी प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८ लाख ८३ हजार रहेको प्राधिकरणले जनाएको छ । देशभर ९ हजार १ सय ६३ टावर सञ्चालनमा छन् भने ९ सय ४३ नयाँ टावर स्वीकृत भएका छन् । बजारमा करिब ३ करोड ७० लाख ५जी चल्ने ह्यान्डसेट रहेको र छिट्टै स्पेक्ट्रम लिलामीको प्रक्रिया थालिने जनाइएको छ । अध्यक्ष भण्डारीले दूरसञ्चार क्षेत्रको आम्दानी घट्दै गएको, चर्को कर, लाइसेन्स शुल्क र महँगो स्पेक्ट्रमका कारण उद्योगलाई चुनौती थपिएको बताए । ‘विश्वका धेरै देशले अर्थतन्त्रमा यसको बृहत प्रभाव हेरेर स्पेक्ट्रमको मूल्य घटाउन थालेका छन् । हामीले पनि यसमा पुनर्विचार गर्न आवश्यक छ,’ उनले भने । यस्तै, नेपाल टेलिकमले गण्डकी प्रदेशका ११ र लुम्बिनी प्रदेशका १२ गरी कुल २३ जिल्लाका १९४ स्थानीय तहमा अप्टिकल फाइबर सञ्जाल विस्तार गरिने बताएको छ । यसका लागि प्राधिकरणले कोषमार्फत नेपाल टेलिकमलाई १ अर्ब ७७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानले यो सहमतिले कम्पनीलाई थप जिम्मेवारी बोध भएको बताइन् । उनले भनिन्, ‘देशको हरेक कुनाकाप्चामा सुलभ दूरसञ्चार सेवा पु¥याउने हाम्रो लक्ष्य हासिल गर्न यो सहमति एक कोसेढुङ्गा साबित हुनेछ । हामी यो कार्य समयमै सम्पन्न गर्न अधिकतम प्रयास गर्नेछौं ।’ उनका अनुसार टेलिकमको नयाँ परियोजना अन्तर्गत कुल जिल्ला २३ रहेका छन् जसमा गण्डकीका ११ लुम्बिनीका १२ छन् । यसमा १९४ स्थानीय तह समेटिनेछ । १ हजार ९ सय १५ किलोमिटरमा अप्टिकल फाइबर सञ्जाल जोडिनेछ । ६४ वटा अप्टिकल रुट बन्ने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार यसमा २६ वटा डीडब्लूडीएम इक्विपमेन्ट र ४० वटा १०० देखि ४०० जीबीपीएस क्षमताका राउटर प्राविधिक उपकरण रहनेछन् । यो विगत नौ वर्षको सहकार्य हो । प्राधिकरण र एनटीसीबीचको यो सहकार्य विगत नौ वर्षदेखि निरन्तर चलिरहेको छ । यसअघि २०७३ सालमा कोशी, मधेश र बागमती प्रदेश तथा २०७६ सालमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो परियोजना सुरु भएको थियो । विगतका परियोजनाहरूमार्फत हालसम्म करिब २१०० किलोमिटर नयाँ अप्टिकल फाइबर विस्तार भइसकेको छ भने करिब ५०० किलोमिटर थप सञ्जाल निर्माणको चरणमा छ । यी परियोजनाका कारण ताप्लेजुङ, सोलुखुम्बु, दार्चुला, बझाङ, बाजुरा, जाजरकोट, कालिकोट, मुगु र डोल्पा जस्ता दुर्गम जिल्लाहरू समेत १० देखि १०० जीबीपीएस क्षमताको उच्च गतिको ब्याकबोन नेटवर्कमा जोडिएका छन्, जसले टेलिकमको एफटीटीएच तथा फोरजी सेवा विस्तारमा ठूलो सहयोग पुगेको छ । निमित्त प्रबन्ध निर्देशक प्रधानले आरटीडीएफ अन्तर्गत बनेका नेटवर्कहरू अन्य सेवा प्रदायकले समेत साझेदारीमा प्रयोग गर्न सक्ने हुँदा समग्र दूरसञ्चार क्षेत्र लाभान्वित हुने बताइन् । उनले विगतका आयोजनाहरूमा सडक निर्माणको स्वरूप परिवर्तन र वातावरणीय स्वीकृतिका कारण चुनौतीहरू आएको स्वीकार गर्दै ती अनुभवबाट पाठ सिकेर अब गण्डकी र लुम्बिनी प्रदेशको काम थप चुस्त र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
नाडा अटो शोलाई इतिहासकै आकर्षक बनाउने रणनीति, यी ब्राण्डबीच हुँदैछ प्रतिस्पर्धा
काठमाडौं । नेपाली अटो क्षेत्रको महाकुम्भका रुपमा लिइने नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । आयोजक नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल निर्माण लगायतका कामहरू तीव्र गतिमा अगाडि बढाएर तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पहिलो पटक गत साउनमै नाइमा मोबिलिटी एक्स्पो सम्पन्न गरिसकेको छ । नाडाले पनि यस पटकको अटो शो विगतको भन्दा भव्य, फरक र आकर्षक हुने दाबी गरिरहेको छ । ‘हाम्रो तयारी सकिसकेको छ । बाहिरी संरचना तयार भइसकेको छ र भित्री स्टल निर्माणको काम रातभर चल्छ,’ नाडा अटो शोका संयोजक अनुप बरालले विकासन्युजसँग भने । नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । नाडा अटो शो आयोजना हुनुभन्दा एक साताअघि मात्रै नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोही ठाउँमा अटो शो आयोजना गरेको थियो । ‘हामीले नाइमाले आयोजना गरेको एक्स्पोलाई चुनौतीका रूपमा लिएका छैनौं । उहाँहरूले एउटा इभेन्ट गर्नुभयो, त्यो राम्रो हो,’ बरालले भने, ‘नाडा अटो शो हाम्रो वार्षिक क्यालेन्डरको इभेन्ट हो । हामी आफ्नो पूर्ण तयारीका साथ अघि बढेका छौं । उहाँहरूले गरेर हामीलाई चुनौती हुने भन्ने नै हुँदैन ।’ ‘नाडा भनेको एउटा ‘होल बडी’ जस्तै हो, जहाँ एउटा गाडीमा चाहिने स–साना पाट्र्स, लुब्रिकेन्ट्स, टायरदेखि लिएर ठूला गाडीसम्मका सबै व्यवसायीहरू समेटिएका छन्,’ उनले भने, ‘त्यसैले हाम्रो आयोजनाको आयतन र सहभागिता बृहत् छ ।’ नाडा र नाइमामा एउटै ब्राण्डको सहभागिता नाइमाले आयोजना गरेको शोमा सहभागी भएका कतिपय ब्राण्डहरू नाडा अटो शोमा पनि सहभागी हुने भएका छन् । रोयल इन्फिल्ड, बीवाईडी, यामाहा जस्ता ब्रान्डहरू दुवै प्रदर्शनीमा रहने नाडाले जनाएको छ । ‘नाइमामा प्रदर्शन गरिएका ब्रान्डहरू हाम्रोमा पनि छन् । हामी मिलेरै अगाडि बढेका छौं,’ संयोजक बरालले भने । सुजुकी र टाटाले भारतमा उत्पादन भएका विद्युतीय गाडी अटो शो प्रर्दशनमा राख्दैछन् भने बीवाइडी र एमएडब्लु वृद्धिले चीनमा उत्पादन भएका गाडीहरु अटो शोमा राख्ने जनाइएको छ । यी ४ ब्राण्डले अटो शोमा रोचक प्रतिस्पर्धा गर्ने बुझिएको छ । अटो शोमा सुजुकीको ई–भिटारा, टाटाको ह्यारीयर ईभी, एमएडब्लु वृद्धिको दीपल एस ०५ र नामी ०३ आउँदै छन् भने बीवाइडीको एट्टो–टु प्रदर्शनमा राखिनेछन् । ई-भिटारा सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई–भिटारालाई अटो शोमा राख्ने भएको छ । यो कम्पनीको पहिलो ईभी हो । फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्रीको साथ आउन लागेको यो गाडी दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसमा रहेको ४९ र ६१ किलोवाट आवरको ब्याट्रीले अधिकतम ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । जापानी निर्माताले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभीमा इको, नर्मल र स्पोट्स ड्राइभ मोडसँगै स्नो मोड र वान पेडल ड्राइभिङ मोड पनि दिएको छ । यसको मूल्य अटो शोमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । टाटा ह्यारियर अटो शोमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो ह्यारियर ईभीलाई अटो शोमा राख्ने जनाएको छ । कम्पनीले भारतमा यसमा ६५ र ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीसँगै १५ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिएको छ । टाटा ह्यारियरमा रियर माउण्टेड १७५ किलोवाट र अलह्वील ड्राइभ मोडलमा २९१ किलोवाटको मोटर रहेको छ । यसले ५०४ न्युटन मिटरसम्म टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ । दिपल एस ०५ र नामी ०६ एमएडब्लु वृद्धिले अटो शोमा दीपल एस–०५ र डोङफेङ नामीे–०६ मोडेलहरू राख्नेछ । दीपल एस–०५ मा सीएटीएलद्वारा निर्मित ब्याट्रीले एक पटकको फूल चार्जमा ५१० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । जुन नेपालमा उपलब्धमध्ये सबैभन्दा धेरै हो । यसमा रिमोट इन एन्ड आउट यसको अर्थ साँघुरो ठाउँमा पार्किङ गर्दा चाबीकै बटनले गाडीलाई अगाडि÷पछाडि सार्न सकिने सुविधा रहेको छ । जर्मनीमा ‘आइएफ डिजाइन अवार्ड २०२५’ जितेको यस एसयूभीमा एडीएएस २.५ सुइट अन्तर्गत १९ वटा उन्नत सुरक्षा सुविधा छन् । जबकि यस सेगमेन्टमा सामान्यतया ६ वटा मात्र हुन्छन् । कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको हो । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । यस्तै, नामीे–०६ पनि अटो शोमा राम्रो बिक्री गर्ने अपेक्षा कम्पनीको छ । एमएडब्ल्यू वृद्धिले सर्वाधिक बिक्री गरेको यो गाडीध्येको एक मोडल हो नामीे–०६ । यसको ब्याट्रीमा ९९ किलोवाट क्षमताको मोटर रहेको छ । कम्पनीका अनुसार यसको मूल्य ५७ लाखदेखि ६२ लाखसम्म रहेको छ । बीवाईडी बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नाडा अटो शोमा एट्टो–टु प्रदर्शनी राख्ने जनाएको छ । कम्पनीका अनुसार एट्टो–टु चिनियाँ बजारमा ३२ र ४५.१२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध भए पनि नेपालमा भने ५१.३ किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध हुनेछ । ब्याट्रीको आकार एट्टो–थ्री एड्भान्सको भन्दा ठूलो रहेको कम्पनीले जनाएको छ । यसले एक पटकको चार्जिङमा ३४० किलोमिटर रेन्ज दिनेछ । कम्पनीले गाडीको मूल्य नाडा अटो शोमै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एट्टो–वान ह्याचब्याक सार्वजनिक गरेको थियो । टिकटमा छुट नाडा अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारीसाधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुने संयोजक बरालले जानकारी दिए । उनका अनुसार अटो शोमा ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १ सय २५ भन्दा बढी प्रदर्शक सहभागी हुने छन् । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । नाडा अटो शो अवलोकनका लागि सर्वसाधारणलाई २०० रुपैयाँ र विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा १५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । साथै अनलाइनमार्फत टिकट खरिद गर्ने दर्शकले २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । नाडाले अटो शो भव्य र सफल हुनेमा विश्वस्त रहेको बताउँदै सम्पूर्ण अटोप्रेमीहरूलाई अवलोकनका लागि भ्रमण गर्न आग्रहसमेत गरेको छ ।
‘आवेदन दिएको २४ घण्टाभित्रै लाइसेन्स दिइरहेका छौं, करोडको गाडी चढ्नेले तीन हजार तिर्न सक्नुपर्छ’ (अन्तर्वार्ता)
सर्लाही घर भएका सहसचिव राजिव पोखरेललाई राष्ट्र सेवक कर्मचारीका रुपमा काम गरेको तीन दशक भयो । सात वर्षअघि मात्रै सहसचिवमा नियुक्त भएर काम गरिरहेका उनले संघीय सरकारका विभिन्न मन्त्रालयसँगै प्रदेश सरकार मातहतका मन्त्रालयमा पनि काम गरेको अनुभव छ । एक वर्षअघि मात्रै यातायात व्यवस्था विभागको महानिर्देशक भएर काम गरिरहेका उनीसँग विकासन्युजका लागि नरेन्द्र विष्टले सरकारले लागू गरेको इम्बोस्ड नम्बर प्लेट, सवारी लाइसेन्सको अवधि र समग्र यातायात क्षेत्रको विषयमा कुराकानी गरेका छन् । सरकारले लाइसेन्सको अवधि १० वर्ष कायम गर्ने निर्णय गरेको छ, यो निर्णय गर्ने अवस्था किन आयो ? १० वर्ष समयावधि गराउँदा लागत कम पर्छ । पाँच वर्षमा दिँदा दुई पटक प्रिन्ट गर्नुपर्छ । कार्डको गुणस्तर हेर्दा १० वर्ष आनन्दले टिक्ने भएकाले हामीले १० वर्षमा जानुपर्छ भनेका हौं । यसले सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउन पर्दैन । सोही बाध्यता हटोस् भनेर यो व्यवस्था गरिएको हो । विभिन्न देशमा पनि १० वर्ष वा सोभन्दा बढीको लाइसेन्स अवधि छ । सोही कारण हामीले पनि १० वर्षमा जानुपर्छ भनेर अहिले निर्णय गरेका हौं । लाइसेन्सको अवधि १० वर्ष कायम गर्दा त सरकारले पाउने राजस्व गुम्ने भयो नि ? अहिले प्रदेश सरकारले लाइसेन्स सम्बन्धी सबै काम हेर्ने गरेको छ । जुन राजस्व प्रदेश सरकारमा जाने गर्दछ । हाल तोकिएको पाँच वर्षको लागि हो । तर, अब १० वर्षको लागि यसैमा यही लिने वा योभन्दा बढी लिने भनेर विभिन्न प्रदेश सरकारहरूले निर्णय गर्नुहुन्छ । यस विषयमा संघ सरकारले सातैवटा प्रदेशका मन्त्रीहरूसहित भर्खरै एउटा बैठक सम्पन्न गरेको छ । त्यो बैठकबाट आगामी वर्षदेखि यसमा राजस्व वृद्धि गर्ने वा पूरानै व्यवस्थालाई लिनेबारे उहाँहरूले नै निर्णय गर्नुहुनेछ । तर यसमा एकरुपता हुनुपर्छ भनेर हामीले भनेका छौं । नयाँ लाइसेन्स तथा नवीकरणका लागि पनि सेवाग्राहीले लामो समय कुर्नु पर्ने बाध्यता छ, यो किसिमको सुुस्तता किन ? यसमा हाम्रो बुझाइको कमी हो कि जस्तो लाग्छ । अहिले कुनै व्यक्तिले मसँग रसिद छ, मलाई लाइसेन्स चाहियो भनेर निवेदन दिनुभयो भने हामीले २४ घण्टाभित्र उहाँलाई प्रिन्ट गरेर दिइरहेका छौं । अहिले जम्मा ५५ लाख लाइसेन्स वितरण भएकामध्ये हामीले छाप्न बाँकी २३ लाख छ । २२ लाखभन्दा बढी छापिसकेका छौं । पछिल्लो समयमा रसिद देखाउँदा पनि काम चलिरहेको छ । लाइसेन्स बनिसकेकाहरू पनि लाइसेन्स लिन आउनु भएको छैन । अहिले विभिन्न यातायात कार्यालयहरूमा २ लाखभन्दा बढी लाइसेन्स थन्किएर बसेका छन् । हिजो मात्रै एकजना साथी यहाँ लासेन्स लिन आउनुभयो । उहाँको लाइसेन्स छ महिना अगाडि नै प्रिन्ट भएर बुटवल पुगिसकेको छ । बाँकी रहेका २३ लाख लाइसेन्सलाई हामी डिजिटलाइज गर्दैछौं, जुन नागरिक एपमा देखिनेछ । यदि ट्राफिक नियम उल्लंघन भयो भने टीभीआरएस अन्तर्गत ट्राफिकले कारबाही गर्छ । कारवाही स्वरूप उक्त पैसा तिर्न पनि अनलाइनबाटै गर्न मिल्ने प्रणाली बनाएका छौं । जसले मलाई भर्चुअल नै चाहिन्छ, कार्ड नै चाहिन्छ भन्ने सेवाग्राहीको पनि संख्या कमी भएको हो कि जस्तो लाग्छ । यदि कसैलाई मलाई आवश्यक छ, म बोक्छु भन्नुहुन्छ भने पनि हामीले प्रिन्ट गरेर दिइरहेका छौं । बेलाबखत लाइसेन्स प्रिन्ट गर्ने मेसिन बिग्रिन्छ, यसले सेवाग्राहीले प्रत्यक्ष असर गर्छ ? यो समस्या अहिलेसम्म समाधान किन हुन सकेन ? सातवटै प्रदेशमा ३६ वटा कार्यालयहरू छन् । ती कार्यालयहरूबाट नागरिकहरूले लाइसेन्स सम्बन्धी सेवा पाइरहेका छन् । लाइसेन्स छाप्ने जम्मा एउटा मात्रै सेन्टरमा पुरानो मेसिन छ । कहिले सफ्टवेयरका समस्याहरू आउँछन् त कहिले मेसिनका समस्याहरू आउँछन् । तर हामीले समाधान गरेर अहिले निरन्तर सञ्चालनमा ल्याएका छौं । अहिले पाँच वर्ष अवधि भएका सवारीधनीले पनि १० वर्षको लाइसेन्स पाउँछन् कि नयाँले मात्रै पाउँछन् ? १४ गतेपछि तपाईं लाइसेन्स लिन जानुभयो भने तपाईंले १० वर्षको पाउनुहुन्छ । अब नयाँ लाइसेन्स लिँदा वा रिन्यु गर्न जानुभयो भने १० वर्षको पाइन्छ । यो सिस्टम बनिसकेको छ । यदि कसैले पाँच वर्षको लाइसेन्स बोकिरहेको छ भने अवधि नसकिउन्जेलसम्म यो पाँच वर्षकै हुन्छ । सेवाग्राहीहरूले हाल लाइसेन्स लिन अथवा नवीकरण गर्न जाँदा पूरानै प्रक्रियामा रहँदा हुन्छ । नयाँ केही नियम थपेका छैनौं । आगामी असोजदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय भइसकेको छ, यो नियम लागू गर्नुपर्ने आवश्यकता किन आयो ? अहिले पनि अधिकांश सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा छ । बजारमा अहिले १ लाखभन्दा बढी गाडीहरूमा इम्बोस्ड नम्बर प्लेट जोडिएको छ । अब २५ लाख गाडीमा इम्बोस्ट नम्बर प्लेट जोड्ने सरकारको उद्देश्य छ । त्यसमाथि ६ लाख प्लेट नम्बरहरू अरू थप अहिले प्रिन्ट भइरहेको छ । ती प्लेट नम्बरहरु सबै प्रदेशका कार्यालयहरूमा पठाइसकेका छौं । अब करिब १२ लाख नम्बर प्लेट जोडिसक्ने अवस्थामा छौैं । बाँकी १३ लाख छपाइ गर्ने तयारीमा छौं । डेढ करोडको गाडीमा चढ्नेले ३ हजार रुपैयाँको प्लेट हाल्न सरकारबाट अनुदान नै हुनुपर्छ जस्तो लाग्दैन । यसअघि पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनिएको थियो तर कार्यान्वयन हुन सकेको थिएन, किन ? यो विसं २०७५/७६ देखि नै लागू भएको हो । बीचमा सर्वोच्च अदालतमा नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट कायम हुनुपर्छ भनेर उजुरी पर्यो । सर्वोच्च अदालतले यस विषयमा लामो बहस र छलफलहरू गर्यो । अन्तर्राष्ट्रियस्तरमा पनि चिनिने खालको प्लेट हुनुपर्छ भनेर हामीले भनेका थियौं । नेपालदेखि भारत, बंगलादेश र भुटानमा गाडीहरू आवतजावत गर्छन् । ती देशहरूमा चिनिने खालको नम्बर प्लेट हुनुपर्छ भनेर विशेष गरी इम्बोस्ड नम्बर प्लेटको अवधारणा आएको हो । त्यसकारण सबै गाडीहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य लगाउनुपर्छ भनिएको हो । यसमा एकरूपता होस् र विदेश जाँदा पनि हाम्रा गाडीहरू चिनिउन् भन्ने उद्देश्यले यो नम्बर प्लेट ल्याइएको हो । असोजदेखि यसलाई व्यापक रूपमा अनिवार्य गर्दै जाने निर्णय भएको छ । यो इम्बोस्ड नम्बर प्लेट मेसिनले बनाएको हुन्छ । हामीसँग अहिले परम्परागत हातले लेख्ने पद्धतिको नम्बर प्लेट छ, त्यो चोरी भएर फेरिने भए । गैरकानूनी काममा प्रयोग हुने भए । यस्ता खालका उजुरीहरू पनि आइरहेका छन् । इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुँदा यस्ता खालका गतिविधि रोकिन्छन् । इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी गेट भन्ने सिस्टम हुन्छ, जुन हामीले नाका–नाकामा राखेका हुन्छौं । कुन नाकाबाट हाम्रो गाडी बाहिर निस्क्यो वा भित्र छि¥यो भन्ने कुराको जानकारी हुन्छ । यसैगरी, पुरिएको र हराएको गाडी पनि सजिलै भेटिन्छ । सबैभन्दा ठूलो समस्या डाटा म्यानेजमेन्ट भएको छैन । जस्तै आजको दिनमा काठमाडौंमा कति गाडी छिरे, काठमाडौंबाट कति गाडी निस्के ? कुन-कुन गाडी छिरे, कुन–कुन गाडी निस्के भन्ने तथ्यांक छैन । उक्त डेटाको लागि पनि हामीले आरएफआईडी गेट बनाउँछौं । त्यो तथ्यांक व्यवस्थापन गर्न सक्छौं भन्ने हिसाबले पनि यो इम्बोस्ड नम्बर प्लेटलाई सरकारले प्राथमिकतामा राखेको हो । पुरानो नम्बर प्लेटहरूलाई परिवर्तन गर्दा सवारीको विवरणहरूमा कुनै असर पर्छ कि पर्दैन ? पर्दैन । यदि मसँग पुरानो गाडी छ भने पुरानो गाडीको नम्बर प्लेट हुन्छ । नयाँ नम्बर प्लेट यो राखेको हुँ भन्ने कुरा प्रणालीबाट देखिन्छ । यसले कुनै अप्ठ्यारो पर्ने कुरा हुँदैन । यो त झन् सुरक्षित प्रणाली हो । इम्बोस्ड नम्बर प्लेट लिनका लागि सवारी धनीहरूले के-के प्रक्रियाहरू गर्नुपर्छ ? हामीले नयाँ गाडी किनेर नयाँ दर्ता गर्ने वा एक व्यक्तिको नामबाट अर्को व्यक्तिको नाममा नामसारी तथा पास गर्न वा बेच्नका लागि पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनेका छौं । इम्बोस्ड नम्बर प्लेटको मूल्य फोर–ह्वीलर अर्थात् चार पांग्रेका लागि ३ हजार २ सय रुपैयाँ र दुई पांग्रेका लागि १ हजार ८ सयदेखि २ हजार रुपैयाँसम्म तोकेका छौं । सवारी साधनधनीले यति गरेपछि तपाईंको नम्बर यति हो भनेर यातायात कार्यालयले दिन्छ । त्यो नम्बर वा कागज लगेर दिएपछि मात्र सवारीसाधनमा नम्बर प्लेट जोडिन्छ । शुल्क धेरै नै महँगो भएन र ? तुलनात्मक रूपमा अध्ययन गर्दा अरू देशभन्दा महँगो होइन । हामीले परम्परागत रुपमा बनाउँदा त सस्तो नै पर्ने भयो । तर, इम्बोस्ड नम्बर प्लेटमा सतप्रतिशत आल्मुनियम छ । आल्मुनियम महँगो धातु हो । यसको मूल्य नै बढी पर्छ । यसमा मेसिनले लेखेको हुन्छ । जसको गुणस्तर नै फरक हुन्छ । त्यसैले यो महँगो पर्न गएको हो । व्यक्तिको सुरक्षा, गाडीको सुरक्षाको हिसाबले भने यो महँगो होइन । यो व्यवस्था लागू हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? यो व्यवस्था राम्रो हो । यसबाट धेरै फाइदा छन् । यसलाई सबै आम नागरिक मिलेर कार्यान्वयन गर्नुपर्छ । यो सबैको दायित्व हो । यसमा तथ्यांक व्यवस्थापन, गाडी ट्र्याकिङ तथा हराउने अवस्थामा नागरिकको सुरक्षाका लागि यो इम्बोस्ड नम्बर प्लेट अनिवार्य छ । विगतमा नेपाली भाषा कि अंग्रेजी भाषा भनेर लामो समय रोकिएको थियो । तर नेपाली भाषामा राख्ने हो भने त पुरानै अर्डिनरी प्लेट छँदै थियो, त्यसैले काम गरिरहेको थियो । इम्बोस्ड नम्बर प्लेट त जुनसुकै ठाउँमा पनि ट्र्र्याकिङ गर्न सकिन्छ, पढ्न सकिन्छ भनेर राख्न लागिएको हो । नम्बर प्लेट अंग्रेजी भाषामै हुनुपर्छ भनेर अदालतबाट पनि फैसला भयो । अख्तियारमा पनि केही मुद्दाहरू परे । अख्तियारबाट पनि यो ठीक छ, अगाडि बढाउनु भन्ने कुरा आयो, त्यसपछि अब बल्ल यसलाई अगाडि बढाउँदैछौं । अब कुनै चुनौती होला जस्तो लाग्दैन । सेवाग्राहीलाई यो प्रणालीमा आकर्षित गर्नको लागि कुनै सहुलियतको व्यवस्था गर्नुभएको छ कि छैन ? यसमा तत्काल अनुदान र सहुलियतको कुराहरू केही पनि छैन । डेढ करोडको गाडीमा चढ्नेले ३ हजार रुपैयाँको प्लेट हाल्न सरकारबाट अनुदान नै हुनुपर्छ जस्तो लाग्दैन । इम्बोस्ड नम्बर प्लेट भएका गाडीको निगरानी कसरी हुन्छ ? इम्बोस्ड नम्बर प्लेट राखेपछि कति गाडी गए, कति गाडी आए भन्ने कुरा हाम्रो सर्भरमा आउँछ । हामीसँग ठूलो बोर्डहरू छन् । त्यसमा सबै तथ्यांक देख्न सकिन्छ । उक्त बोर्ड अहिले यातायात व्यवस्था विभागसँग छ । अब यसलाई नेपाल प्रहरी अर्थात् ट्राफिक प्रहरीलाई पनि दिन्छौं ताकि गाडी र नागरिकको सुरक्षा गर्न सकियोस् । इम्बोष्ड नम्बर प्लेट प्रणालीमा जान सेवाग्राही कत्तिको उत्साहित छन्, उनीहरुको प्रतिक्रिया कस्तो छ ? यसको जसले फाइदा बुझ्नुभएको छ । उहाँहरू आफैले मेरो सवारी साधनमा राखिदिनुप¥यो भनी आइरहनुभएको छ । जसले यसको महत्व बुझिसक्नु भएको छैन, उहाँहरूले होइन, यो चाहिँ मलाई झन्झट भयो, मलाई आवश्यक छैन । राज्यले गलत ग¥यो भनेर सोच्नुभएको छ । तर हामीले उहाँहरूलाई यस विषयमा सम्झाइरहेका पनि छौं । सवारी धनीहरूले तोकिएको समयमै इम्बोस्ड प्लेट जडान नगरेमा जरिवाना हुन्छ कि हुँदैन ? अहिले हामीले असोजसम्ममा नम्बर प्लेट लिनुस् । अनि त्यसको एक महिनामा त्यसलाई आफ्नो फुर्सदअनुसार लगेर जोड्नुस् भनेर अनुरोध गरेका छौं । यदि कसैले अटेरी गर्यो र अब जोड्न मानेन भने हामी थप कारबाहीको बाटोमा जान्छौं । यससम्बन्धी सरकार र विभागले जनचेतनाका लागि के कस्ता कार्यक्रमहरू राखेको छ ? हामीले जनचेतना जोगाउन विभिन्न भिडियो क्लिपहरू बनाएका छौं । कतिपय ठाउँहरुमा प्रचार-प्रसार गरेका छौं । तर, केही कमी राज्यको तर्फबाट भएको हो । जसले गर्दा अझै पनि नकारात्मक कुराहरू बाहिर आइरहेका छन् । त्यसलाई चिर्नको लागि थप प्रचार–प्रसार गर्नुपर्छ भन्ने उद्देश्यका साथ काम विभागले गरिरहेका छ । अन्तिममा के भन्न चाहनुहुन्छ ? अब लाइसेन्सलाई हामीले सहजीकरण गर्नुपर्छ । कसैलाई पनि मलाई लाइसेन्स चाहिएको छ, मैले पाइनँ भन्ने अवस्था नहोस् । अहिले जो कसैलाई लाइसेन्स चाहिएको छ, उहाँ विभागमा आएर रसिद दिएर निवेदन दिनुभयो भने २४ घण्टाभित्र लाइसेन्स प्रिन्ट गर्ने प्रावधान छ । बागमती बाहेक अन्य प्रदेशहरूको लाइसेन्स छापेर पनि पठाइसकेका छौं । लाइसेन्सहरू समयमै लिइदिनुहोला । किनभने २ लाखभन्दा बढी लाइसेन्सहरू सेवाग्राहीहरू लिन नगएको कारणले थन्किएर बसेका छन् । पछिल्लो समय हामीले डिजिटलाइज गरेका छौं । डिजिटलाइज गरे हामीलाई कार्डको आवश्यकता पर्दैन । हामीले मोबाइलबाटै हाम्रो लाइसेन्स देखाउन सक्छौं । बाँकी २३ लाख लाइसेन्स अहिले छाप्ने भनेर सम्झौता गरिसकेका छौं । जुन छ महिनाभित्र छापेर दिँदैछौं । इम्बोस्डका धेरै फाइदाहरू छन् । समयमै इम्बोस्ड नम्बर प्लेट जोडेर एकरुपता कायम गर्न म सबैलाई आग्रह गर्दछु ।
नाइमा मोबिलिटी एक्स्पो : २ हजार बढी गाडी बुकिङ, ९२ हजारले गरे अवलोकन
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोको पाँचौं दिन गाईजात्राको सार्वजनिक बिदा । ८६ वर्षीया बिनासरी आचार्य लौरो टेक्दै विस्तारै भीड छिचोल्दै थिइन् । प्यूठान घर भई हाल बागबजारमा छोरा–बुहारी र नातिनातिनासँग बस्ने उनी गाडी किन्न होइन, केवल रमाइलो हेर्न र मेलाको माहोलमा रमाउन आएकी थिइन् । ‘न गाडी किन्न सक्छु, न हिँड्न सक्छु,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘यहाँको माहोल राम्रो लाग्यो, सबै कुरा राम्रो छ, रमाइलो हेर्न आएको ।’ बिनासरी जस्ता आगन्तुकले एक्स्पोलाई केवल व्यापारिक मेला मात्र नभएर एउटा सामाजिक उत्सवको रूप लिएका थिए । यस पटकको एक्स्पोलाई ‘ईभीमय’ भन्दा फरक पर्दैन । खासगरी बीवाईडीको स्टलमा मानिसहरूको भीड थामिनसक्नु थियो । कम्पनीले भर्खरै सार्वजनिक गरेको बजेट कार ’एट्टो वान’ हेर्न र बुकिङ गर्न मानिसहरू झुम्मिएका थिए । ‘साढे दुई/तीन वर्षदेखि उपभोक्ताहरूले सानो र गुणस्तरीय बजेट कारको माग गरिरहनुभएको थियो,’ बीवाईडीकीकी प्रबन्ध निर्देशक तथा नाईमाकी बोर्ड सदस्य यमुना श्रेष्ठ भन्छिन्, ‘त्यही माग पूरा भएकाले यति धेरै माया पाएका छौं । पहिला ईभीबारे बुझाउनु पथ्र्यो, आज ग्राहक आफै आएर एट्टो वान नै किन्छु भन्दै दुई मिनेटमै फारम भरेर बुकिङ गर्नुहुन्छ । यो विश्वास हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’ एक्स्पोको पाँच दिनमा करिब ६ सय बिवाइडी गाडी बुकिङ हुनुले नै यसको क्रेज प्रस्ट पार्छ । त्यस्तै, एमजी र ओमोडा एन्ड जेकोको स्टलमा पनि उत्तिकै आकर्षण थियो । विशेषगरी जेको जे-फाइभको आकर्षक लुक्स, ग्राउन्ड क्लियरेन्स र पावरले धेरैलाई तानेको थियो । एक्स्पो ईभीमय भए पनि अन्य प्रविधिले पनि आफ्नो दरिलो उपस्थिति देखाएका थिए । टोयोटाले आफ्नो हाइब्रिड प्रविधिको यारिस क्रस र नयाँ लुक्सको ल्यान्ड क्रुजर प्राडो प्रदर्शनमा राखेको थियो । ‘हाइब्रिड टेक्नोलोजीबारे मान्छेमा ठूलो चासो छ । नसोचेको तरिकाले बुकिङ भइरहेको छ,’ टोयोटाका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठ भन्छन् । उनले एक्स्पो अवधिभर १६/१७ वटा गाडी बुकिङ भएको जानकारी दिए । यसैबीच एउटा फरक र विशेष स्टलले सबैको ध्यान तानेको थियो, एमजीपीएल ग्रुप । विराटनगरमा फ्याक्ट्री रहेको यो कम्पनीले नेपालमै एसेम्बल गरिएका विद्युतीय रिक्सा, पानी ट्याङ्कर, फोहोर उठाउने गाडी र फुड ट्रक जस्ता व्यावसायिक सवारी प्रदर्शनमा राखेको छ । एक्स्पोमा मेगाटेक समूहले प्रदर्शनमा ल्याएका स्वदेशमै बनेका ‘सामुराइ ब्रान्ड’ का ई-रिक्साहरू दर्शकहरूको आकर्षणको केन्द्र बनेका छन् । विभिन्न प्रयोजनका लागि निर्माण गरिएका यी इ-रिक्साहरूले सस्तो, वातावरणमैत्री र बहुउपयोगी सवारीको रूपमा नयाँ सम्भावना देखाएका छन् । मोरङको बुढीगंगास्थित कारखानामा डिजाइनदेखि उत्पादनसम्मको सम्पूर्ण प्रक्रिया नेपालमै हुने यी रिक्साहरू साना व्यवसायी, किसान तथा स्थानीय तहका लागि लक्षित छन् । सामान ढुवानी, तरकारी र मासु बिक्री, फोहोर संकलन, पानी हाल्ने, र यात्रु सेवा जस्ता विविध प्रयोजनका लागि निर्माण गरिएका मोडलहरू एक्स्पोमा प्रदर्शित छन् । १३ मोडलका सामुराइ रिक्साहरू एक्स्पोमा सामुराइ लोड-किङ, भेजी क्लोज, फुडीज, चिकन कार्ट, सुपर प्लस, प्लस, प्लस (बेस), इवा, एक्सट्रीम, पावर प्लस, र भेजी ओपन जस्ता विभिन्न मोडलहरू सार्वजनिक गरिएका छन् । यी इ-रिक्साहरूमा ४ देखि ५ वटा लेड-एसिड ब्याट्री, १०००-१२०० वाट मोटर, तथा ८०० देखि १३८० किलोग्रामसम्मको लोड क्षमता रहेको मेगाटेकले जनाएको छ । कम्पनीका अनुसार पानी ट्यांकर मोडलको मूल्य ९ लाख रुपैयाँ, गार्बेज कार्ट ६ लाख ५० हजार, चिकन कार्ट ५ लाख ५० हजार, स्कूल भ्यान ६ लाख, र भेजी क्लोज ४ लाख ५० हजार तोकिएको छ । ३०० जनालाई रोजगारी दिइरहेको मेगाटेकले हालसम्म ९ सयदेखि १ हजार युनिट रिक्साहरू उत्पादन गरिसकेको र दैनिक १०-१५ युनिट उत्पादन क्षमता रहेको जनाएको छ । ‘हाम्रो उत्पादन तराईमा निकै सफल छ, तर काठमाडौं उपत्यकामा चलाउन अनुमति पाएका छैनौं,’ कम्पनीका सिनियर सेल्स अफिसर शशी रेग्मीले भने, ‘हामी यही एक्स्पोमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं । यदि निश्चित समय र रुटमा अनुमति पाए, यी साधन शहरी व्यवस्थापनका लागि निकै उपयोगी हुनेछन् ।’ विगतका नाडा अटो शोभन्दा फरक यसपटकको नाइमा मोबिलिटी एक्स्पो व्यवस्थापन र आगन्तुकको गुणस्तरका हिसाबले अब्बल देखिएको अवलोकनकर्ताहरू बताउँछन् । विद्यार्थी वा रमितेभन्दा पनि वास्तविक खरिदकर्ताको उपस्थिति बाक्लो रहेको आयोजकको दाबी छ । ‘एक्स्पो सुरु हुनुअघि डर जस्तो थियो तर आज पाँचौं दिनमा आइपुग्दा म ढुक्क छु, सबैले राम्रो व्यापार गरेका छन्,’ नाइमाका आयोजक समिति सदस्य गौरव शारडा भन्छन् । ‘आगन्तुकको चाप र व्यवसायीको आग्रहमा हामीले एक्स्पो एक दिन थप्यौं । यसले नै देखाउँछ कि यो नेपालकै आजसम्मको सबैभन्दा ठूलो र सफल अटोमोबाइल एक्स्पो हो,’ उनले थपे । उनका अनुसार एक्स्पो अवधिभर एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान छ, जसले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सोमबारसम्म चल्ने नाइमा एक्स्पोमा पाँचौं दिनसम्म आइपुग्दा २ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् भने ९२ हजार जनाले एक्स्पो अवलोकन गरिसकेका छन् । नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार, चौथो दिन साढे २१ हजार र आइतबार २२ हजार जनाले एक्स्पोमा सहभागिता जनाएका थिए । आइतबार परेको गाईजात्राको विदाका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी नआएको नाइमाको भनाइ छ । अवलोकनकर्ताहरूले एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको नाइमाले बताएको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत गाईजात्राको सार्वजनिक बिदाको भरपूर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए । सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन् । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको यो एक्स्पोले अवलोकनकर्ताहरूलाई एकै छानामुनि विभिन्न सवारीसाधन तुलना गर्ने र छान्ने अवसर प्रदान गरेको छ ।
नाइमा एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको व्यवसायीको दाबी, बुकिङ र अवलोकनकर्ताको ‘रेस्पोन्स’ ले मक्ख
काठमाडौं । शनिबारको मुसलधारे पानीले राजधानीको सडक अस्तव्यस्त बनाइरहँदा भृकुटीमण्डपभित्र भने अर्कै रौनक थियो । विगतका वर्षहरुमा पानी पर्नेबित्तिकै बिथोलिने प्रदर्शनी यस पटकको नाइमा मोबिलिटी एक्स्पोमा भने कुनै असर परेन । स्थापनाको पहिलो वर्षमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२५ ले अपेक्षाभन्दा निकै माथिको सफलता पाएको अवलोकनकर्ताहरु बताउँछन् । अवलोकनकर्ताको उर्लंदो भीड र सहभागी व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै आयोजक नाइमाले एक्स्पोको अवधि एक दिन थपेर ६ दिनको कायम गरेको छ । विगतका अटो शोहरूमा पानी पर्नासाथ हिलो र अव्यवस्थाको सामना गर्नुपर्ने अनुभव संगालेका अवलोकनकर्ताहरूका लागि यो पटकको नाइमा एक्स्पो नितान्त फरक रहेको अनुभव सुनाउँछन् । नाइमा मोबिलिटीमा अवलोकन गर्न पुगेका प्रवेश कुवंरका विगतका नाडा अटो शोहरुमा पानी पर्दा पुरै खुट्टा हिलै हिलोले पुरिन्थ्यो । तर यसपटक त्यस्तो अवस्था नभएको उनी सुनाउँछन् । उनले भने, ‘यसपटको अटो शो धेरै व्यवस्थित छ । पानी परेर पनि हामी भिजेनौं । स्टलभित्र छिर्ने बाटोहरुमा जताततै कार्पेट ओछ्याएको छ । माथि पालको छानो छ । ठाउँठाउँमा पंखाहरु छन् । भित्रछिर्ने बाटोका दुई लेन छन् । खाजा खानेदेखि प्रत्येक स्टलहरुमा पानीको व्यवस्था छ । यसपटको अटो शो विगतका भन्दा व्यवस्थित छ ।’ फराकिलो र आकर्षक स्टल, हलहरू जोड्ने र ढाकिएका बाटा र हिलोमुक्त परिसरले आगन्तुकलाई सहजता प्रदान गरिरहेको नाइमाले दाबी गरेको छ । नाइमाकी अध्यक्ष तथा वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्री एण्ड ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यका अनुसार यसपटक स्टलहरू ठूला छन् र व्यवस्थापन उत्कृष्ट छ । ‘यो प्रदर्शनी ह्वीलचेयरमैत्री पनि छ । अशक्तता भएका व्यक्तिहरू पनि सहजै घुम्न सक्नुहुन्छ । एकै छानामुनि ५० वटा ब्रान्ड भएको यस्तो प्रदर्शनी अहिलेसम्म भएको थिएन,’ उनले भनिन् । एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको उनको भनाइ छ । उनले ग्राहकको रेस्पोन्सले आफूहरु खुसी भएको सुनाइन् । उनले एक्स्पोमा सवारी साधन बुकिङको आधिकारिक तथ्यांक आइनसकेको भएपनि एक हजार बढी सवारी साधन बुकिङ भएको अनुमान रहेको सुनाइन् । जी अटोमोबाइल्सका सञ्चालक आकाश गोल्छाले स–सानो कुराले गर्दा एक्स्पो फरक र उत्कृष्ट बनेको बताए । यसपटकको एक्स्पोमा घुम्न र रमाइलो गर्न आउनेभन्दा पनि गाडी किन्ने वा बुझ्ने मनसाय बोकेका गुणस्तरीय ग्राहकको उपस्थिति बाक्लो देखिएको लक्ष्मी ई–मोबिलिटीका प्रबन्ध निर्देशक दीपक थपलियाले बताए । ‘यसपटकका ग्राहकहरू पहिलादेखि नै गाडीबारे अध्ययन गरेर, बुझेर आएका छन् । धेरै कुरा इन्टरनेटमा हेरेर थाहा पाइसकेका हुन्छन् । त्यसैले उहाँहरूसँग कुरा गर्न पनि सहज भएको छ,’ थपलियाले थपे । नाडाका पूर्व अध्यक्ष धु्रव थापा पनि विगतको तुलनामा यस पटक उत्कृष्ट भएको बताउँछन् । ‘पहिले विद्यार्थीहरूको भीड बढी हुन्थ्यो, तर अहिले साँच्चिकै सवारीसाधनमा रुचि राख्ने र खरिद गर्न चाहनेहरूको उपस्थिति बढेको छ । यसले बुकिङमा समेत सकारात्मक प्रभाव पारेको छ,’ उनले भने । विशेषगरी विद्युतीय सवारी (इभी) प्रति मानिसहरूको आकर्षण बढेको उनको अनुभव छ । यस्तै, यार्डियाका सेल्स एन्ड मार्केटिङ प्रमुख भिजन कोइरालाले पनि शनिबार ‘पोटेन्सियल बायर’ हरूको फ्लो निकै राम्रो रहेको र १०/१५ वटा स्कुटर नगदमै बुकिङ भएको बताए । एक्स्पोको उद्देश्य तत्काल गाडी बेच्नु मात्र नभएर ब्रान्डिङ गर्ने, सही जानकारी दिने र ग्राहकसँग सम्बन्ध स्थापित गर्नु पनि हो । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले भने, ‘यो सेलिङ स्पट मात्र होइन । यो मानिसहरूलाई सबै उत्पादन एकै ठाउँमा हेर्ने, तुलना गर्ने, अध्ययन गर्ने र भविष्यका लागि निर्णय लिने प्लेटफर्म हो । ’ यो एक्स्पोले दशैंको माहोललाई समेत अगाडि नै भित्र्याएको छ । ‘हाम्रो ट्यागलाइन नै दशैंको सुरुवात नाइमाबाट भन्ने थियो । शिथिल अर्थतन्त्रमा यसले एउटा सकारात्मक भाइब्रेन्सी ल्याएको छ,’ नाइमा आयोजक समितिका सदस्य तथा एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने । नाइमाका मार्केटिङ तथा मिडिया कन्सल्टेन्ट प्रतिक अर्यालले भने, ‘हाम्रो होडबाजी यति बेच्यौँ वा यति बुकिङ भयो भन्नेमा हुँदै होइन । हाम्रो मुख्य लक्ष्य उपभोक्ताले यहाँ आएर दुःख होइन, रमाइलो अनुभव गरेर फर्कनुहोस् भन्ने हो । हामीले टिकटको लाइन, पार्किङ, पानीको समस्या जस्ता विगतका पीडालाई समाधान गर्न खोजेका हौं ।’ एक्स्पो भव्य रूपमा सफल भए पनि यसले काठमाडौंको कमजोर प्रदर्शनी पूर्वाधारलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । अधिकांश सहभागी र आयोजकहरू भृकुटीमण्डपको पुरानो संरचना अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीका लागि अपर्याप्त भएको स्वीकार्छन् । ‘सबैभन्दा ठूलो चुनौती नै प्रदर्शनी स्थल हो, यहाँ न राम्रो पार्किङ छ, न त वातानुकूलित हल नै । हामीले जसोतसो टालटुल गरेर व्यवस्थापन गरेका हौं, ’ उनले सरकारलाई आग्रह गर्दै हात जोडेर बिन्ती छ, नेपाली ग्राहकलाई सुहाउँदो पूर्वाधार सरकारले उपलब्ध गराइदिए अझै राम्रो हुन्थ्यो,’ निर्देशक शारडाले भने । यद्यपि, अर्थमन्त्री विष्णु पौडेलले बजेट छुट्याएर तीन वर्षभित्र नयाँ हल बनाउने घोषणा गरेकाले व्यवसायीहरू आशावादी छन् । पहिलो प्रयासमै नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटोमोबाइल क्षेत्रमा एउटा नयाँ मानक स्थापना गरेको व्यवसायीको दाबी छ ।
नाइमा एक्स्पोमा दुई पांग्रेतिर पनि उस्तै आकर्षण र अफरै-अफर
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ ले नेपाली अटो बजारमा नयाँ तरंग सिर्जना गरेको छ । सवारी खरिदबिक्रीका लागि यो एक्स्पो केवल एक मेला मात्र नभई बजारको भविष्य प्रतिस्पर्धाको स्तर र उपभोक्ताको बदलिँदो रोजाइको ऐना बनेको छ । नाडाबाट छुट्टिएर नाइमाले आयोजना गरेको यो पहिलो एक्स्पो व्यवस्थापकीय हिसाबले उत्कृष्ट देखिनुका साथै उपभोक्ताका लागि नयाँ मोडल र भारी छुटको वर्षा लिएर आएको छ । जहाँ गाडी भित्र्याउने कम्पनीहरूले ५ लाखदेखि २० लाखसम्मको नगद छुट दिइरहेका छन् । एक्स्पोमा दुई पांग्रे र चार पांग्रे सबैमा अवलोकनकर्ताहरूको भीड देख्न सकिन्छ । आज एक्स्पोको तेस्रो दिन प्रत्येक ब्राण्डका स्टलहरू सूरु भएको देखि नै भरिभराउ छन् । एक्स्पोमा ५० ब्राण्डका ४८ वटा स्टल रहेका छन् । एक्स्पो सुरु भएको दिन १५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् भने दोस्रो दिन १३ हजारले अवलोकन गरेको नाइमाले जनाएको छ । दुई पांग्रेका दर्जनौं मोडल सार्वजनिक पहिलो पटक नाइमाले आयोजना गरेको एक्स्पोको मुख्य आकर्षण दुई पांग्रे सवारी साधन बनेको छ । विभिन्न आठ ब्रान्डले दुई दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक गरेका छन् । याडिया, सेगवे, केटीएमदेखि सीएफमोटो र नयाँ ब्रान्ड मोर्बिडेलीसम्मले आफ्ना बाइक तथा स्कुटर सार्वजनिक गरेका छन् । वैद्य इनर्जीले फ्यामिली स्कुटरको रूपमा परिचित एथर रिज्ता एक्स्पोमा राखेको छ । भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी एथर इनर्जीले पारिवारिक स्कुटर एथर रिस्ता नाइमा पहिलोपटक ल्याएको हो । ईभी बजारमा सबैभन्दा ठूलो चासोको विषय बन्ने गरेको ब्याट्रीको आयुमा एथरले पहिलो पटक ८ वर्ष वा ८० हजार किलोमिटरको वारेन्टी घोषणा गरेको छ । एथर इनर्जी भारतका इन्जिनियरिङ डेभलपमेन्ट हेड गौरव रेग्मीका अनुसार कम्पनीले ग्राहकको आवश्यकता र प्रतिक्रियालाई गहिरोसँग अध्ययन गरेर ‘रिस्ता’ को निर्माण गरेको हो । ‘हाम्रो पहिलेको ४५० एक्स मोडल पर्फर्मेन्समा केन्द्रित थियो, तर बजारमा एउटा यस्तो स्कुटरको माग थियो पूरै परिवारका लागि उपयुक्त होस्,’ उनले भने, ‘त्यही मागलाई सम्बोधन गर्न हामीले ठूलो सिट, पर्याप्त स्पेस र प्रिमियम बिल्ड क्वालिटीसहित ‘रिस्ता’ ल्याएका हौं ।’ भारतमा यो स्कुटरले पाएको सफलतालाई पनि उनले उल्लेख गरे । सार्वजनिक भएको १० महिनाभन्दा कम समयमा १ लाखभन्दा बढी युनिट बिक्री भएर रिस्ता भारतमा सबैभन्दा छिटो यो आँकडा छुने स्कुटर बनेको छ । साथै, यसले विभिन्न प्रतिष्ठित अवार्ड शोहरुमा २२ भन्दा बढी अवार्ड जितिसकेको छ । एथर रिस्तामा ३.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसलाई एथरले आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छ । यसको सर्टिफाइड रेन्ज १५३ किलोमिटर भए पनि कम्पनीले नेपाली सडकमा १२५ देखि १३० किलोमिटरको रेन्ज दिने दाबी कम्पनीको छ । यो स्कुटरले १५ डिग्रीसम्मको उकालो सजिलै तान्न सक्ने र काठमाडौंको ह्वाइट गुम्बा जस्तो ठाडो उकालोमा पनि दुई जनालाई लिएर सहजै चढेको परीक्षणबाट देखिएको उनले बताए । नाइमा एक्स्पोलाई लक्षित गर्दै वैद्य इनर्जीले विशेष अफरहरू ल्याएको छ । कम्पनीका ब्रान्ड मार्केटिङ सलमान खानका अनुसार स्कुटरमा सिधै नगद छुट नभए पनि ग्राहकले आकर्षक फाइदा लिन सक्छन् । एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले निःशुल्क ८७० वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा एक्सचेन्जमा विशेष भ्यालु एडिसन जस्ता अफरहरू पाउनेछन् । यसका साथै अवलोकनकर्ताहरूले एउटा एथर रिस्ता स्कुटर नै जित्ने मौका पनि पाउनेछन् । यसका लागि एथरको स्टलमा आएर स्कुटरसँग फोटो खिची आफ्नो सामाजिक सञ्जालमा साथीहरूलाई ट्याग गर्नुपर्नेछ । यसको मूल्य ३ लाख ८३ हजार रुपैयाँ तोकिएको छ । यस्तै, विद्युतीय स्कुटरमा आफ्नो बलियो उपस्थिति देखाउँदै कुजु नेपालले याडियाको भेलक्स सिरिजका तीन मोडल (भेलक्स फास्ट चार्जिङ, भेलक्स यू र भेलक्स एच) सार्वजनिक गरेको छ । यसमा भेलक्स फास्ट चार्जिङमको मूल्य ३ लाख ६० हजार, भेलक्स यूको मूल्य ४ लाख ५० हजार र भेलक्स एच मोडलको मूल्य २ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । सबैभन्दा आकर्षक मोडल मानिएको भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा ७६ भोल्ट, ३० एएच क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ११० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । कम्पनीले यसको ब्याट्रीमा ३ वर्ष अर्थात् ३० हजार किलोमिटर वारेन्टी दिएको छ । यस्तै, भेलक्स यु मा ४.९ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ। यसमा ७४ भोल्ट, २० एएचको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेन्ज दिनेछ । कम्पनीले यसमा २ वर्ष २० हजार किलोमटिर वारेन्टी दिएको छ । तेस्रो मोडल भेलक्स एचमा ३.२ किलोवाट क्षमताको मोटर छ। यसमा ७२ भोल्ट, ३० एएच एलएफपी ब्याट्री जडान गरिएको छ । यो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। तीन वटै मोडलमा एलएफपी ब्याट्री प्रयोग गरिएकाले सुरक्षित, टिकाउ र भरपर्दो पर्फर्मेन्स दिने विश्वास कम्पनीको छ। कम्पनीले यसमा ३ वर्ष ३० हजार किलोमिटर वारेन्टी दिएको छ । यसैगरी आइहब प्रालिले सेगवेका चार नयाँ मोडल सार्वजनिक गर्दै सहरी यात्रामा नयाँ विकल्प दिएको छ । स्कुटर ‘ई-१५० एमके २’ (मूल्य ५ लाख) र ‘ई-१२५ एमके २’ (मूल्य ३ लाख ५० हजार) का साथै अत्याधुनिक ई-बाइक ‘साइबर’ (मूल्य ५ लाख ५० हजार) र ई-साइकल ‘सफारी’ (मूल्य ३ लाख ५० हजार) ले सबैको ध्यान तानेको छ । हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२५ भर्सनका ६ नयाँ मोडल (२०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ३९० इन्ड्युरो आर) एकैपटक सार्वजनिक गरेर बजारमा तहल्का मच्चाएको छ । ५ लाख ९९ हजारदेखि १० लाख ७४ हजार रुपैयाँसम्मका यी बाइकहरू उत्कृष्ट डिजाइन र दमदार पर्फमेन्सका लागि परिचित छन् । अग्नि मोटोइन्कले नयाँ विद्युतीय ब्रान्ड ‘बिजी’ का आरयूभी ३५० र सी १२ इलेक्ट्रिक स्कुटरका विभिन्न भेरियन्टहरू २ लाख २८ हजारदेखि ३ लाख २५ हजार रुपैयाँसम्मको मूल्यमा ल्याएको छ । ऋषि ट्रेड सेन्टरले नेकेड स्पोर्टस् ‘३०० एनके’ (मूल्य ६ लाख ५४ हजार) र स्पोर्टस् मोडल ‘४५० एसआरएस’ (मूल्य १३ लाख ४९ हजार) सार्वजनिक गरेको छ । पावरफुल इन्जिन र प्रिमियम फिचरले भरिपूर्ण यी बाइकहरूले पर्फमेन्स खोज्ने राइडरलाई आकर्षित गरेका छन् । केटीएम इन्टरनेसनल ट्रेडिङले इटालियन ब्रान्ड ‘मोर्बिडेली’ लाई नेपाल भित्र्याएको छ । यसको ‘टी ३५२ एक्स’ मोडल ९ लाख ९७ हजार रुपैयाँमा सार्वजनिक भएको छ । नयाँ मोडल सार्वजनिक मात्र होइन । कम्पनीहरूले मूल्य घटाउन र आकर्षक अफर दिन पनि प्रतिस्पर्धा गरिरहेका छन् । सीएफमोटोले ‘अफरको वर्षा’ योजना अन्तर्गत आफ्ना बाइक र स्कुटरमा ५० हजार रुपैयाँसम्म नगद छुट दिएको छ । ४५० एमटीको खरिदमा २५ हजार बराबरको एसेसरिज र प्रिमियम हेल्मेट निःशुल्क पाइनेछ । यसैगरी, बेनेली र मोर्बिडेलीले पनि भारी छुट गरेका छन् । नयाँ मोर्बिडेली टी ३५२ एक्समा ३४ हजारको छुट दिइएको छ भने बेनेलीका अन्य मोडलमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ । यसैगरी, गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाईब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता देखाएको कम्पनीको दाबी छ । नाइमा एक्स्पोमार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम २०८२ साउन २१ गतेदेखि अर्थात् नाइमा एक्स्पोबाट आधिकारिक रूपमा लागू भएको छ र यसअन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर्स किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुन पहिले पुग्छ) अवधिभित्र १ लाखको बाई ब्याक भ्यालु ग्यारेन्टी दिएको छ । विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ताभनेको ब्याट्री बिग्रँदै जानु हो, जसले रिसेल भ्यालु घटाउँछ। तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेसनमा स्वाप (साट्ने) गर्ने )चार्ज सकिएको ब्याट्री राखेर फुलचार्ज भएको ब्याट्री लिने) हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको कम्पनीले उल्लेख गरेको छ । गोगोरो नेपालको यातायातको भविष्य भएको नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले बताए । बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा मोबिलिटी एक्स्पोमा केही आकर्षक अफरहरू पनि ल्याएको छ । नाइमामा गोगोरोले दशैं विशेष स्किम पनि दिएको छ । जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू छन् । त्यस्तै आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गरिरहेका छन् । सिटी कारको आकर्षण दुई पांग्रेमा जस्तै चार पांग्रेतर्फ पनि उपभोक्ताको रोजाइमा परिवर्तन देखिएको छ । विशेषगरी ३० लाख रुपैयाँसम्मका इन्ट्री–लेभल सिटी कारहरूमा मानिसहरूको भीड लागेको छ । सस्तो मूल्य, साँघुरो सडकमा चलाउन सहज र पार्किङमा सजिलो हुने भएकाले मध्यम आय भएका परिवारको कार चढ्ने सपना यिनै गाडीले पूरा गरिरहेका छन् । एक्स्पोको एउटा रोचक कथा हेनरी भोल्ट्सको नयाँ गाडीसँग जोडिएको छ । कम्पनीले अपग्रेडेड ‘मोडल सी–प्रो’ सार्वजनिक गर्ने भव्य तयारी गरे पनि चीनतर्फ बाढीका कारण गाडी समयमै काठमाडौं आइपुग्न सकेन । तर, गाडी नपुगे पनि यसको चर्चा भने बजारमा चुलिएको छ । हाल बजारमा उपलब्ध हेनरी भोल्ट्सको १९ लाख ९५ हजार पर्ने मोडलले २०० किमि रेन्ज दिन्छ र यसमा फास्ट चार्जिङ छैन । तर बाटोमै अड्किएको ‘सी–प्रो’ ले खेल नै परिवर्तन गर्ने क्षमता राख्छ । यसमा ३०० किलोमिटर रेन्ज उपलब्ध रहेको छ । ३० किलोवाटको डीसी फास्ट चार्जिङ ४० मिनेटमै ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ । यसमा ३५ किलोवाट मोटर र ११० एनएम टर्क पावर क्षमता रहेको छ । यसको मूल्य २२ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ । यो गाडी आज आइपुगेमा एक्स्पोमै सार्वजनिक गर्ने कम्पनीको योजना छ । यो गाडीको आगमनले नेपालको इन्ट्री–लेभल विद्युतीय कार बजारमा नयाँ प्रतिस्पर्धा सुरु गर्ने निश्चित छ । नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटो बजार अब केवल सवारी साधन बेच्ने ठाउँ मात्र नरहेर प्रविधि, मूल्य र उपभोक्ताको चाहनाबीचको रोमाञ्चक प्रतिस्पर्धाको मैदान बनेको देखाएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय गाडीको लहर, ५ लाखदेखि २० लाखसम्मको छुट
काठमाडौं । नेपाली अटोमोबाइल जगतको सबैभन्दा ठूलो मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ राजधानीको भृकुटीमण्डपमा उत्साहका साथ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको यो एक्स्पोले स्पष्ट संकेत गरेको छ कि अब नेपाली अटो बजार पूर्ण रूपमा विद्युतीय गाडी (ईभी) तर्फ केन्द्रित भएको छ । एक्स्पोको पहिलो दिनमै बुधबार दुई दर्जनभन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका छन् । एक्स्पोमा अधिकांश कम्पनीहरूले नयाँ विद्युतीय मोडलहरू सार्वजनिक गरेका छन् भने केहीले पेट्रोल र हाइब्रिड गाडीका नयाँ संस्करण पनि प्रदर्शन गरेका छन् । ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीहरूले भारी छुटलगायतका विभिन्न स्किमहरू ल्याएका छन् । कुन ब्राण्डको के छ अफरहरू ? प्रोटोन शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन ब्रान्ड प्रोटोनलाई नेपाली बजारमा भित्राएको छ । चिनियाँ अटोमोबाइल ‘जीली’ सँगको सहकार्यमा निर्मित ‘प्रोटोन ई मास ७’ दुई भेरिएन्टमा सार्वजनिक गरिएको हो । जसमा प्राइम भेरिएन्ट र प्रिमियम भेरिएन्ट रहेका छन् । प्राइम भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ४९.५२ किलोवाट ब्याट्री र ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । प्रिमियम भेरिएन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यसमा ६०.२२ किलोवाटको ठूलो ब्याट्री र ४१० किलोमिटर रेन्ज दिन्छ । यसमा विश्वकै सबैभन्दा उन्नत मानिएको ‘सर्ट ब्लेड ब्याट्री’ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । एक्स्पो अफरअन्तर्गत ४० प्रतिशत डाउन पेमेन्टमा ४ वर्षसम्म शून्य प्रतिशत ब्याजदरको आकर्षक योजना ल्याइएको छ । साथै ८ वर्षको असीमित किलोमिटर वारेन्टीले ग्राहकलाई थप विश्वस्त पारेको छ । हुन्डाई लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको स्टलमा हालै सार्वजनिक भएको ‘क्रेटा ईभी’ लाई मुख्य आकर्षण बनाएको छ । तर सबैभन्दा ठूलो घोषणा भने नेपालमै एसेम्बल गरिएका गाडीहरूमा केन्द्रित छ । नेपालमा निर्मित गाडीमा कम्पनीले नवलपरासीको रामग्राममा रहेको एसेम्ब्ली प्लान्टमा बनेका भेन्यू र क्रेटा मोडलहरूमा १० वर्षको निःशुल्क सर्भिसिङको अफर दिएको छ । एक्स्पो अवधिभर गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष नगद छुट, एक वर्षको निःशुल्क बीमा, सडक करको सुविधा र लक्की ड्रमार्फत एक जनालाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । जीकर र निशान पायोनियर मोटर कर्पले आफ्नो प्रिमियम ईभी ‘जीकर एक्स’ को मूल्यमा भारी कटौती गरेको छ । ८५ लाख रुपैयाँ पर्ने यो गाडी नाइमा मोबिलिटी एक्स्पो र दशैंको लागि मात्र ७० लाख रुपैयाँमा उपलब्ध गराइएको छ । यो १५ लाखको छुट हो । यसैगरी, एसपीजी अटोमोबाइल्सले जापानिज ब्रान्ड निशानको चर्चित ईभी ‘लिफ’ अहिलेसम्मकै ठूलो छुट दिएको छ । ६५ लाख रुपैयाँ पर्ने यो गाडी एक्स्पो अवधिभर ४५ लाख रुपैयाँमा उपलब्ध गराएको छ । जुन २० लाख रुपैयाँ छुट हो । बीवाइडी चिनियाँ विद्युतीय गाडी बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले मोबिलिटी एक्स्पोमा आफ्नो नयाँ र बहुप्रतीक्षित ह्याचब्याक ‘एटो वान’ (सिगल) सार्वजनिक गरेको छ । सानो र किफायती गाडी खोज्नेहरूका लागि यो उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीले दाबी गरेको छ । यसमा बस भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यसले २३० किमि रेन्ज दिने कम्पनीको दावी छ । यसैगरी, टप भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको रेन्ज ३०० किमि रहेको कम्पनीले जनाएको छ । फक्सवागन फक्सवागनले पावर र पर्फर्मेन्स रुचाउनेहरूका लागि १.५ लिटर टर्बो इन्जिनसहितको टाइगुन र भर्टुस जिटी सार्वजनिक गरेको छ । यसमा प्रयोग भएको ‘एसीटी टेक्नोलोजी’ ले कम स्पिडमा दुईवटा सिलिन्डर मात्र सक्रिय गराई इन्धन बचत गर्ने कम्पनीको दाबी छ । जसले १ हजार ५ सय सीसीको गाडीमा पनि १२–१३ किमि प्रतिलिटरको माइलेज दिन्छ । ग्रेट वाल मोटर्स जीएमडब्लुले आफ्नो प्रिमियम हाइब्रिड एसयूभी ‘ट्यांक ५००’ लाई मुख्य आकर्षण बनाएको छ । जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै विद्युतीय गाडी ‘ओरा ०३’ मा विशेष अफर अन्तर्गत ३९ लाख ९९ रुपैयाँमा उपलब्ध गराइएको छ । जसमा ७ किलोवाटको चार्जर र एक वर्षको बीमा निःशुल्क छ । म्याक्सस प्रिमियम र लग्जरी एमपीभी खोज्नेहरूका लागि म्याक्ससले ‘मिफा ७’ सार्वजनिक गरेको छ । यसको मूल्य १ करोड २५ लाख तोकिएको छ भने एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूलाई २० लाख रुपैयाँ र ई–टेरोन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू दिएको छ । सात सिट क्षमता भएको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो । एमजी एमजीले आफ्नो नयाँ गाडी ‘आईएम ६’ प्रदर्शनमा राखेको छ । जसको रेन्ज ४५० किलोमिटर छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै कमेट, एमजी ४ र जेडएस ईभीजस्ता मोडेलमा पनि आकर्षक अफरहरू छन् । चेरी (ओमोडा/जेको) चेरीले आफ्नो नयाँ मोडल जेको जे ५ लाई एक्स्पोमा ५६ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य दिएको छ । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको थियो । हेनरी बोल्ट्स एक्स्पोमा यो ब्रान्डले आफ्नो नयाँ मोडेल सी प्रो सार्वजनिक गरेको छ । जसमा १ लाख ५० हजार रुपैयाँ छुट छ भने पुरानो मोडेल एचमा २ लाख ५० हजार रुपैयाँको छुट दिइएको छ । फोर्थिङ लक्ष्मी इ-मोबिलिटीले नयाँ ब्रान्ड फोर्थिङको ‘फ्राइडे ईभी’ सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी आजै सार्वजनिक गरिएको हो । सनलङ ब्लू कर्पोरेशन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान एक्स्पोमा सार्वजनिक गरेको छ । सनलङले दुईवटा माइक्रो ईभी भ्यान यु वान ४७ लाख ४७ हजार रुपैयाँ र यु २ ५१ लाख ५१ हजार रुपैयाँमा विशेष स्किमहरू ल्याएको छ । कामा कामाले आफ्ना ईभी ट्रक र भ्यानमा १० हजारदेखि ५० हजारसम्मको नगद छुट, २ लाखको मूल्य कटौती र एक वर्षको बीमा तथा सडक करको सुविधा दिएको छ । यो गाडीको आधिकारिक वितरक त्रिवेणी ग्रुप हो । लिपमोटर यो ब्रान्डले सी १०, बी १० र टी ०३ जस्ता मोडलहरू प्रदर्शनमा राखेको छ । सी १० को मूल्य ६४ लाख ९९ हजार रुपैयाँ र टी ०३ को मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स हो । क्यारी लक्ष्मी ग्रुप अन्तर्गतको यो ब्रान्डले आफ्ना १५ र १६ सिटे ईभी भ्यानहरू केभिन १ र केभिन २ लाई क्रमशः ५८ लाख ५६ हजाररुपैयाँ र ६३ लाख ६ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको छ । टोयोटा टोयोटाले ‘यारिस क्रस हाइब्रिड’ र भर्खरै सार्वजनिक गरेको ‘प्राडो एलसी २५०’ लाई मुख्य आकर्षण बनाएको छ । हाइब्रिड गाडीमा ८ लाखसम्म र प्राडोमा ११ लाखसम्मको छुट प्रदान गरिएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ । मित्सुबिसी मित्सुबिसीले आफ्ना पजेरो स्पोर्ट, एक्लिप्स क्रस र आउटल्यान्डर जस्ता गाडीहरूमा भारी छुटको व्यवस्था गरेको छ । तर कुनमा कति अफर भनेर खुलाएको छैन । लियोन मोटर्स नेपालका लागि आधिकारिक वितरक हो। केइ यस्तै विद्युतीय गाडी केइले पनि नाइमा मोबिलिटी एक्स्पो अवधिभर ९ लाखसम्मको छुट दिएको छ ।