अब नेपालमा पनि ४ करोड मूल्य पर्ने उड्ने कार : चालक नचाहिने, दुईजना यात्रु बोक्ने
काठमाडौं । सडकमा गुड्ने गाडी त हामीले देख्दै र चढ्दै आएका छौं । तर, अब हामीले आकाशमा उड्ने कार (फ्लाइङ कार) आफ्नै आँखाले हेर्न पाउने भएका छौं । आगामी भदौमा आयोजना हुने ‘नाडा अटो शो’ मा चिनियाँ ब्राण्ड चाङ्गानले उत्पादन गरेको ‘फ्लाइङ कार’ प्रदर्शनीमा राखिने भएको छ । चाङ्गानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले यो कार नेपाल ल्याउन लागेको हो । तर, आकर्षक र भविष्यको सवारी मानिएको यो कार तत्कालै किन्न वा नेपाली आकाशमा उडाउन भने पाइने छैन । कम्पनीले यसलाई बिक्रीका लागि नभई प्रदर्शनी र आफ्नो प्राविधिक क्षमता देखाउनका लागि मात्रै ल्याउन लागेको जानकारी दिएको छ । कस्तो छ फ्लाइङ कार ? आकाशमा उड्ने कार कस्तो हुन्छ भन्ने विषयमा अधिकांश अटोप्रेमीहरूको चासो बढेको छ । एमएडब्लू वृद्धि अटोकर्पका मार्केटिङ प्रमुख रमेश दनेखूले यो कार चांगान अन्तर्गतको ‘दीपल’ ब्राण्डको पूर्ण विद्युतीय कार भएको जानकारी दिए । यसमा दुई जना यात्रुले यात्रा गर्न सक्छन् । ‘यो चाङ्गानको इनोभेसन देखाउनका लागि हो,’ दनेखूले भने, ‘हामीले प्राविधिक रूपमा के–के गर्न सक्छौं भनेर देखाउन ल्याउन लागेका हौं ।’ धेरैको चासोको विषय यो कार किन्न पाइन्छ कि पाइँदैन र यसको मूल्य कति पर्छ भन्ने हुन्छ । कम्पनीका अनुसार यसको मूल्य चीनमा करिब २३ लाख ९० हजार चिनियाँ युवान पर्छ भने नेपालमा यसको मूल्य ४ करोड ५० लाख रुपैयाँ पर्नेछ । यो उड्ने गाडी चीनका प्रमुख अटो निर्माता कम्पनी चांगान अटोमोबाइल र ईहाङको सहकार्यमा निर्माण गरिएको हो । कम्पनीका अनुसार यो उड्ने सवारीसाधनको नाम ईएच २१६-एस हो । जुन पूर्ण रूपमा विद्युतीय र स्वचालित प्रणालीमा आधारित मोडेल हो । यो सिधै माथि उड्न र अवतरण गर्न सक्ने विशेषता भएको फ्लाइङ कारका रूपमा चीनमा परिचित छ । ‘फ्लाइङ कार’ चालकबिनै उड्न सक्ने स्वचालित क्षमता भएको गाडी हो । यसमा दुई यात्रु बोक्ने तथा अधिकतम २२५ किलोग्राम तौल बोक्न मिल्ने क्षमता छ । एक पटकको चार्जमा ३० किलोमिटर दूरी (२०-२१ मिनेटको उडान) तय गर्न सक्ने कम्पनीको भनाइ छ । यसका साथै अधिकतम गति १३० किलोमिटर प्रतिघण्टा, अधिकतम उचाइ ३ हजार मिटर रहेको छ । यो गाडीले चीनको नागरिक उड्डयन प्राधिकरणबाट प्रमाणित व्यावसायिक प्रयोगको अनुमति प्राप्त गरिसकेको छ । विश्वमा उड्ने कार प्रविधिको स्थिति अमेरिका, चीन, दुबई, दक्षिण कोरिया, र युरोपेली देशहरू (फ्रान्स, जर्मनी, बेलायत) ले उड्ने कार तथा विद्युतीय ऊध्र्वगामी अवतरण र उडान सक्षम यान (इभीटीओएल) प्रविधिको विकासमा उल्लेखनीय प्रगति गरिसकेका छन् । त्यहाँ सरकारी अनुमति, परीक्षण उडान र पूर्वाधार निर्माण सुरु भइसकेको छ । तर, नेपालले पहिलो पटक उड्ने कारको प्रदर्शनीमार्फत क्षेत्रीय अग्रता देखाएको छ । भारतमा केही निजी कम्पनीहरूले यस्ता प्रोटोटाइप विकास गरिरहेका छन्, तर परीक्षण अनुमति पाएका छैनन् । बंगलादेश, पाकिस्तान, र श्रीलंकामा भने कुनै ठोस नीति वा लगानी सार्वजनिक भएको छैन । नेपालमा उडाउन पाइँदैन : विभाग नेपालको सवारी नियमन गर्ने यातायात व्यवस्था विभागले यस्ता सवारीका लागि कुनै पनि कानुनी व्यवस्था नभएको बताएको छ । यातायात व्यवस्था विभाग प्राविधिक शाखाका प्रमुख श्रीकान्त यादव नेपालको यातायात व्यवस्था ऐनले सडकमा गुड्ने सवारीलाई मात्र चिन्ने र उड्ने कारको परिकल्पना नै नगरेको बताउँछन् । ‘हाम्रो यातायात ऐनले उड्ने कारको लागि कुनै नीति-नियम बनाएको छैन,’ उनले भने, ‘हाम्रो कानुनले सडकमा गुड्नेलाई मात्र सवारी मानेको छ । त्यो बाहेकको परिकल्पना नै गरिएको छैन ।’ उनले उड्ने कार ल्याउने विषयमा आफूहरूलाई आधिकारिक जानकारी नभएको बताए । चांगानले विकास गरेको इलेट्रिकल भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ फिचर रहेको यो फ्लाइङ कार लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी र चांगानको अटोमोबाइल भेहिकल उत्पादन क्षमताको भरपुर प्रयोग भएको कम्पनीले दाबी गरेको छ । चांगानले यो फ्लाइङ कार टेक्नोलोजीमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको बताइएको छ । ‘यो कार बिक्रीका लागि होइन । नेपालमा यस्ता गाडी सञ्चालनका लागि कुनै नियम कानुन नै बनेको छैन,’ दनेखूले भने, ‘यो कार विश्वव्यापी रूपमा नै व्यावसायिक बिक्री सुरु भइसकेको छैन, अझै अनुसन्धान र विकासकै चरणमा छ ।’ ‘यसको बारेमा हामीलाई पनि धेरै कुरा थाहा छैन, यो रिसर्च फेजमै छ । यसको अन्य विस्तृत विवरण अहिले नै दिन सकिँदैन,’ उनले थपे । यो कार चीनमा परीक्षण भइसकेको तर नेपालमा ल्याएर उडाउने वा परीक्षण गर्ने कुनै योजना नरहेको कम्पनीले जनाएको छ । ‘चीनमा यो कार उडिसकेको छ,’ दनेखूले भने, ‘तर यहाँ ल्याएर उडाउन मिल्दैन, यो नाडा अटो शोको स्टलमा प्रदर्शनीमा मात्र रहनेछ ।’ यो कारले नाडा अटो शोमा सबैको ध्यान खिच्ने निश्चित छ । नेपालमा बिक्री र सञ्चालन नहुने भएता पनि भविष्यको सवारीसाधन कस्तो हुनेछ भन्ने एउटा रोमाञ्चक झलक यसले दिनेछ ।
नेपालको पहिलो हेल्मेट उद्यमीको कथा : बाउ-छोराको दोस्ती, बिजनेसमा रेकर्ड
काठमाडौं । मोटरसाइकल चलाउने चालकको टाउकोमा विदेशी हेल्मेटहरूले अड्डा जमाइरहेका थिए । जसरी विदेशी आयातित वस्तुको भुक्तानीका लागि देशको खर्बौं रकम बाहिरिरहेको छ, यो रकममा हेल्मेटको हिस्सा पनि उल्लेख्य थियो । विदेशी ब्राण्डको हेल्मेटलाई मोटरसाइकल चालकले शिरमा राख्दै कुदिरहेका छन् । नेपाली बजारमा तिनै विदेशी ब्राण्डका हेल्मेटहरूको दबदबा थियो । यही नाजुकपन देखेर/भोगेर रुपन्देहीका उद्यमी रामप्रसाद बस्यालको मनमा एउटै प्रश्नले अड्डा जमान लाग्यो कि ‘नेपालमै हेल्मेट उत्पादन गर्न सकिँदैन र ?’ उनले त्यसैका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियविज्ञ व्यवसायीसँग छलफल गरे । उनी व्यवसायमा विसं २०४५ सालदेखि सक्रिय थिए । उनले विसं २०४५ सालदेखि कोहिनुर मेटल उद्योगबाट एअरकुलर उत्पादन गर्दै आएका थिए । विसं २०५८ सालबाट मोटरसाइकलको लेगगार्ड उत्पादन पनि सुरु गरेका थिए । यी दुवै उद्योग आफैमा नेपालको पहिलो उद्योग थिए । सो व्यवसायमा उनी सफल पनि बन्दै गएका थिए । नयाँ, पृथक र रचनात्मक व्यवसाय गर्नुपर्छ भन्ने मान्यतालाई रामप्रसाद पछ्याउँदै गए । आफू व्यवसायी । उनका छोरा सुमनले भने विदेश जाने सपना सुनाए । तर, उनले विदेश जानुभन्दा स्वदेशमै थुप्रै सम्भावना रहेकोले स्वदेशमै बस्न सुझाव दिए । बरु कसैले नगरेको व्यवसाय, जसको सम्भावना ठूलो होस् त्यस्तो व्यवसायको आइडिया लिएर आउन छोरा सुमनलाई उनले सुझाव दिए । बुबाले मोटरसाइलको लेगगार्ड उत्पादन गरिरहेको र अब हेल्मेट पनि बनाउन सके झन राम्रो बजार बनाउन सकिन्छ भन्ने आइडिया सुमनले बुबालाई सुनाए । रामप्रसादलाई पनि उनको आइडिया मन पर्यो । अब हेल्मेट उत्पादनमा बाबु छोरा जम्ने भए । तर, हेल्मेट उद्योगको नेतृत्व रामप्रसादले सुमनलाई नै गर्न आग्रह गरे । सुमनले स्वीकारे । अब रामप्रसाद र छोरा सुमनले नेपालमै गुणस्तरीय हेल्मेट उत्पादन गर्ने प्रतिज्ञा लिए । जतिबेला उनको परिवार मोटरसाइकलको लेगगार्ड बनाउने काम गर्थ्यो । ‘सधैं केही नौलो र रचनात्मक काम गरौं भन्ने सोच्छु, यस अघिका व्यवसाय पनि नेपालमै पहिलो थिए, हेल्मेट पनि पहिलो नेपाली उद्योग हो,’ रामप्रसादले सुनाए । बुबा-छोराको सहमतिमा २०७१ सालमा कोहिनुर प्लास्टिक इन्डस्ट्रिज स्थापना भयो । सोही उद्योगले उत्पादन गरेको हेल्मेट ‘कोहिनुर’ नेपाली बजारमा आयो । यसलाई ‘केपीआई’ ब्रान्ड नामले पनि चिनिन्छ । विस्तारै बजार बन्दै गयो । अहिले नेपालको पहिलो र सबैभन्दा ठूलो हेल्मेट उद्योग बन्न सफल भएको छ । केही व्यवसायीले विदेशी उत्पादन ल्याएर नेपालमा आफ्नो ट्याग राखेर पनि बिक्री गरिरहेका छन् । तर, बस्यालले नेपालमै पूर्णरूपमा उत्पादन गरेर विदेशी हेल्मेट विस्थापित हुने अवस्थासम्म पुर्याएका छन् । ‘हामीले लेगगार्डमा बजार बनाइसकेका थियौं,’ उनी भन्छन्, ‘त्यही बजार र नेटवर्कलाई उपयोग गर्दै हेल्मेट उत्पादनमा हात हाल्यौं, जसले गर्दा हामीलाई नयाँ बजार खोज्नु परेन ।’ भोगेका चुनौती हेल्मेट उद्योग सञ्चालन गर्दा चुनौतीको पहाडमा बुबाछोरा थिए । सुरुवाती दिनहरूमा प्रविधि सिक्न र उत्पादन प्रक्रिया मिलाउन निकै कठिन भएको अनुभव रामप्रसाद सुनाउँछन् । त्यससँगै सरकारी नीतिले पनि ठूलो असर गरेको उनी बताउँछन् । ‘हामीले नेपालमा ‘नेपाल गुणस्तर’ चिह्न लिन धेरै प्रयास गर्याैं । तर हेल्मेटको मापदण्ड नै नभएकाले सम्भव भएन,’ रामप्रसादले भने, ‘त्यसपछि हामीले भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (आईएसआई) र अमेरिकाको ‘डिओटी’बाट प्रमाणीकरण लियौं ।’ यसबाहेक कतिपय कम्पनीहरूले नेपालमा उद्योग दर्ता गर्ने तर भारतबाटै तयारी हेल्मेट ल्याएर आफ्नो छाप मात्र लगाइदिने गर्दा पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको उनको भनाइ छ । ‘तयारी हेल्मेट आयात गर्दा लाग्ने भन्सार शुल्क भन्दा हामीले ल्याउने कच्चा पदार्थमा लाग्ने भन्सार दर बढी छ,’ रामप्रसाद बस्यालले गुनासो गर्दै भने, ‘यसले गर्दा आयातित हेल्मेटसँग प्रतिस्पर्धा गर्न हामीलाई निकै गाह्रो परेको छ ।’ ७० करोड रुपैयाँभन्दा बढी लगानी भएको यो उद्योगको दैनिक उत्पादन क्षमता ५ हजार ५ सय थान हेल्मेट छ । तर, हाल दैनिक १५ सय थान मात्रै उत्पादन भइरहेको उनको गुनासो छ । यसको मुख्य कारण नै सरकारी नीति भएको उनी बताउँछन् । वार्षिक ४० करोड कारोबार ‘कोहिनुर’ नाम सुन्नेबित्तिकै धेरैले बेलायती महारानीको मुकुटमा जोडिएको हिरा सम्झन्छन् । तर, सुमन कोहिनुरको अर्थ फरक रूपमा व्याख्या गर्छन् । कोहिनुरको अर्थ चम्किलोपना हो । बिहान शीतको थोपामा सूर्यको किरण पर्दा जुन चमक आउँछ, त्यही चमकलाई उनी कोहिनुर भनेर व्याख्या गर्छन् । ‘सुरुमा हामीले उत्पादन गर्ने लेगगार्ड चम्किलो हुन्थ्यो, त्यसैसँग मेल खाने भएकाले यो नाम रोजेको हुँ,’ उनले भने। यही नामले हेल्मेट बजारमा पनि आफ्नो छुट्टै पहिचान बनाएको तर्क सुमनको छ । कोहिनुर हेल्मेटले गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको छ । उद्योग परिसरभित्रै अत्याधुनिक प्रयोगशाला (ल्याब) छ, जहाँ कच्चा पदार्थदेखि तयारी उत्पादनसम्मको परीक्षण हुन्छ । अहिले वार्षिक ४० करोड रुपैयाँ कारोबार हुने गरेको उनले बताए । यो उद्योगमा एक सय ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनी अझै पनि कारोबार बढ्नेमा आशावादी छन् । उद्योग पूर्ण क्षमतामा सञ्चालन भएको खण्डमा ३ सय जनाभन्दा बढीलाई रोजगारी दिन सकिने र कारोबार पनि बढ्ने उनी बताउँछन् । निर्यातको लक्ष्य कोहिनुर ब्राण्डको हेल्मेटले नेपाली बजार तताइसकेको छ । अब विदेशी हेल्मेट विस्थापित गर्ने रणनीतिका साथ उद्योगले काम गरिरहेको छ । त्यसका साथै हेल्मेट निर्यातको योजना पनि उद्योगले बनाएको छ । ‘भारतीय बजारलाई लक्षित गरेरै आईएसआई प्रमाणीकरण लिएका हौं, भारत र बंगलादेशका केही कम्पनीहरूसँग छलफल अगाडि बढे पनि विभिन्न प्रक्रियागत झन्झटले ठोस रूप लिन सकिएको छैन, एकदिन निर्यातको सुखद समाचार पनि सुनाउने छौं,’ खुसी हुँदै रामप्रसादले भने । नेपाली उत्पादन भन्नेबित्तिकै विदेशी खरिदकर्ताले सस्तो मूल्य खोज्छन् । तर, कोहिनुरको गुणस्तर कुनै पनि ब्रान्डभन्दा कम नभएको दाबी उनको छ । स्वदेशमै सिर्जनशील काम गर्न सुझाव जसरी अष्ट्रेलिया जानै लागेका आफ्नो छोरालाई रामप्रसादले स्वदेशमै केही गर्न सुझाव दिए । उनी त्यही सुझाव देशका लाखौं युवालाई पनि दिन्छन् । जसरी छोरालाई नयाँ आइडिया लिन उनले सुझाव दिएर हेल्मेट उद्योगमा नयाँ किसिमको ‘कोर्स क्रियट’ गरे । त्यसैगरी देशका नौजवानहरूलाई पनि उनी रचनात्मक बन्न सुझाव दिन्छन् । अहिले उनको हेल्मेट उद्योगको नेतृत्व उनकै छोरा सुमनले गरिरहेका छन् । सुमन पनि स्वदेशमै नयाँ व्यवसायको नेतृत्व गर्दा सन्तुष्ट छन् । ‘विदेशमा गएर नयाँ प्रविधि सिकेर आउनुपर्छ र नेपालमा नभएका नयाँ उद्योगमा लगानी गर्नुपर्छ,’ उनी भन्छन्, ‘अरूले गरिरहेको काममा प्रतिस्पर्धा गर्नुभन्दा नयाँ क्षेत्र रोज्दा सफल हुने सम्भावना बढी हुन्छ ।’ रामप्रसाद सफल उद्यमी मात्रै होइनन्, एक सक्रिय सामाजिक अभियन्ता पनि हुन् । उनी नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष र रोटरी क्लब अफ सेन्ट्रल बुटवलका पूर्वअध्यक्ष समेत हुन् । उनी ‘बस्याल वंश समाज’ का केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत छन् । व्यवसायसँगै समाजसेवामा उनको सक्रियताले उनको व्यक्तित्वलाई अझ फराकिलो बनाएको छ । व्यवसायमा बुबा–छोराको दोस्तीले एकपछि अर्को सफलता दिलाइरहेको छ ।
प्राधिकरणमा २० वर्ष काम गरेकालाई रित्तै घर पठाउने खेल, हितेन्द्रले लत्याए पूर्वसहमति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेश कार्यालय परिसरमा केही कर्मचारी शान्तिपूर्ण धर्नामा छन् । उनीहरूको अनुहारमा वर्षौंदेखिको थकान, अन्यायको पीडा र भविष्यको अनिश्चितता प्रस्टै देखिन्छ । जसले देशलाई उज्यालो बनाउन आफ्नो जीवनको ऊर्जाशील समय खर्चिए । तर आज उनीहरू आफ्नै भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिन बाध्य छन् । विगत २० वर्षदेखि प्राधिकरणमा ज्यालादारी कर्मचारीको रूपमा कार्यरत दीपा अधिकारी आफ्नो पीडा पोख्दै भन्छिन्, ‘जागिर खाएको २० वर्ष भयो । तर अहिलेसम्म मासिक नियुक्ति पाएका छैनौं । ३० दिन काम गर्दा २५ दिनको तलब आउँछ । शनिबार बोलाए पनि त्यसको पैसा पाइँदैन । हाम्रो पनि परिवार छ । बालबच्चा छन् । यो महँगीमा कसरी बाँच्ने ?’ दीपाको कथा यो आन्दोलनमा सहभागी २ हजार ८ सयभन्दा बढी ज्यालादारी कर्मचारीको साझा पीडा हो । उनीहरूको मुख्य माग प्राधिकरण सञ्चालक समितिले २०७९ सालमा गरेको निर्णयको कार्यान्वयन हो । जसमा उनीहरूलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा रूपान्तरण गर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भनिएको थियो । तर वर्षौं बित्दा पनि त्यो निर्णय केवल कागजमा सीमित रह्यो । ‘हुन्छ-हुन्छ भन्दाभन्दै २० वर्ष बित्यो,’ दीपा भन्छिन्, ‘अब त घर जाने बेला हुन लाग्यो । म ५८ वर्ष पुग्न लागें । अहिले जागिरबाट निकालिदियो भने रित्तो हात जानुपर्छ । यतिका वर्षको हाम्रो योगदानको केही मूल्य छैन ?’ उनलाई दशैंमा बालबालिकालाई पेस्की आउँछ भनेर पटक-पटक ढाँटेको यथार्थ सुनाउँदा उनको घाँटीमा खाना अड्किएजस्तै हुन्छ । उनी आफ्नो त्यो दुःखलाई भन्नै सक्दिनन् । यी कर्मचारीहरूको जिम्मेवारी सानो छैन । कोही कार्यालय सहयोगी छन्, कोही कम्प्युटर अपरेटर । कोही मिटर रिडिङ गर्छन् त कोही ज्यान जोखिममा राखेर बिजुलीको पोलमा चढ्छन् । कतिपय ठाउँमा त ज्यालादारी कर्मचारीले नै पूरै शाखा चलाएका छन् । तर, उनीहरूको परिचय र अधिकार भने सधैं अस्थायी रह्यो । प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संर्घष समितिका केन्द्रीय अध्यक्ष नरेन्द्र यादव भन्छन्, ‘उज्यालो नेपालको सपना साकार पार्न हाम्रा कयौं साथीहरूले दुर्घटनामा परेर अंगभंग भए, कतिले ज्यानै गुमाए । ‘पोलको टुप्पोबाट चरा खसे जसरी साथीहरू खसिरहेका छन्, तर हाम्रो कुनै मूल्यांकन भएन, ’उनले थपे । उनीहरूले आफूहरूलाई स्थायी गर्न नभई केवल मासिक नियुक्तिपत्र र सामाजिक सुरक्षा कोषको ग्यारेन्टी मात्र मागेको बताउँछन् । आन्दोलन गर्नुअघि व्यवस्थापनसँग पटक-पटक वार्ता र संवाद भए पनि हुन्छ, गर्छौं भन्ने आश्वासनबाहेक केही नपाएको उनीहरूको गुनासो छ । ‘विगतमा भएका सम्झौता र निर्णय कार्यान्वयन नभएपछि हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भयौं, ’ यादवले भने, ‘यदि प्राधिकरणलाई हामी आवश्यक छैन भने बिदा गरोस् । आवश्यक छ भने हाम्रो रोजगारको ग्यारेन्टी गरोस् ।’ यस्तै, नेपाल विद्युत प्राधिकरण दैनिक संघर्ष समिति बागमती प्रदेश समितिका अध्यक्ष रमेश पराजुलीले पनि आफूहरूको पीडा प्राधिकरणले नसुनेको गुनासो गरे । उनका अनुसार प्राधिकरणले ८ घण्टा काम गर्नैपर्छ भनेर तोकेको छ । उनी भन्छन्, ‘हामीले तोकेको भन्दा बढी समय काम गर्नुपर्छ । यदि बत्ती गयो वा कतै विद्युतको पोल ढल्यो भने ८ घण्टा काम गरेर आएपनि रातदिन जेसुकै होस् कुद्नुपर्छ । यो पीडा कसले बुझिदिन्छ खै ?’ उनका अनुसार उनीहरूले पोलमा चढ्ने, मिटर रिडिङ गर्ने, राजस्व संकलन गर्ने, कार्यालय सहयोगी र कम्प्युटर अपरेटरदेखि कतिपय स्थानमा पूरै शाखा चलाउनेसम्मको जिम्मेवारी सम्हालिरहेका छन् । तर, उनीहरूले जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला मात्र पाउने गरेका छन् । काठमाडौंमा ९ सय पाउने गरेकोमा र कैलाली कन्चनपुर जस्ता जिल्लामा ६ सय ८५ रुपैयाँ मात्र पाउने गरेको कर्मचारीहरू बताउँछन् । दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिका उपमहासचिव गणेश खतिवडाले आफूहरूलाई व्यवस्थापनले भन्दा ग्राहकले बढी बुझेको मार्मिक अनुभव सुनाउँछन् । उनले भने, ‘एक ग्राहकले फोन गरेर भने- सर, बत्ती छैन । हामी त एकछिन बत्तीबिना बस्न सक्दैनौं । रातदिन हामीलाई उज्यालो दिने तपाईंहरू यस्तो अन्यायमा हुनुहुँदो रहेछ । यदि व्यवस्थापनले सुन्दैन भने भन्नुहोस्, म ५ हजार ग्राहक लिएर तपाईंहरूको आन्दोलनमा समर्थन जनाउन आउँछु ।’ यो घटनाले कर्मचारीहरूलाई भावुक बनाएको छ । ‘हामीले प्राधिकरणको मात्र होइन, ग्राहकको काम गरेका रहेछौं भन्ने महसुस भयो,’ खतिवडा भन्छन्, ‘ग्राहकलाई हाम्रो यति धेरै माया रहेछ, तर हामीलाई जन्माउने संस्थाले नै हाम्रो पीडा बुझेन । ’ यस्तै, मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश संघर्ष समितिका अध्यक्ष शम्भु मिश्रले बताए । उनका अनुसार केन्द्रीय संघर्ष समितिको निर्देशनअनुसार मधेस प्रदेशमा कार्यरत कर्मचारीहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । अहिले उनीहरूले इकाईस्तरको आन्दोलन सकेर प्रदेशस्तरको धर्ना कार्यक्रम गरिरहेका छन् । प्राधिकरणको व्यवस्थापनसँग वार्ताको प्रयास भए पनि ठोस निकास ननिस्किएको उनीहरूको भनाइ छ । यदि अब यहाँबाट पनि माग सम्बोधन नभए मेची-महाकालीका सबै ज्यालादारी कर्मचारीलाई काठमाडौं उतारेर केन्द्रीय कार्यालय घेराउ गर्ने र ‘ ऐतिहासिक युद्ध’ लड्ने उनीहरूको चेतावनी छ । जसले जोखिम मोलेर लाइन मर्मत गर्छन् । उसले महसुल उठाउन जाँदा उपभोक्ताको आक्रोश सामना गर्छन् । जसले देशको हरेक कुनालाई उज्यालो बनाउन आफ्नो पसिना बगाउँछन्, तिनै कर्मचारीहरू आज आफ्नो जीवनको उत्तरार्द्धमा एउटा नियुक्तिपत्र र सामाजिक सुरक्षाको सामान्य अधिकारका लागि संघर्ष गरिरहेका छन् ।
नाइमा मोबिलिटी एक्स्पोमा पेट्रोल र विद्युतीय बाइकले प्रतिस्पर्धा गर्दै, यी हुन् प्रदर्शन हुने मोडेल
काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह र रौनक थप्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को आयोजना गर्दैछ । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यो महामेलामा दुई पाङ्ग्रे सवारीसाधनका १७ भन्दा बढी ब्राण्डहरूले सहभागिता जनाउनेछन् । विशेषगरी दुई पाङ्ग्रे सवारीको व्यापार तुलनात्मक रूपमा बढिरहेको समयमा हुन लागेको यो एक्स्पो कम्पनीहरूका लागि आफ्नो व्यापार विस्तार गर्ने र ग्राहकहरूका लागि नयाँ प्रविधि र मोडलहरू एकै छानामुनि हेर्ने अवसर बनेको छ । यस पटकको एक्स्पोको मुख्य आकर्षण पेट्रोल इन्जिन र विद्युतीय सवारी (ईभी) बीचको प्रतिस्पर्धा र सहयात्रा हुने देखिन्छ । केही कम्पनीहरूले पेट्रोल सेगमेन्टमा नयाँ मोडल ल्याउँदैछन् भने अधिकांशको ध्यान विद्युतीय सवारीमा केन्द्रित छ । पहिलो पटक हुन लागेको एक्स्पोमा १० वटा ब्राण्डका करिब २४ वटा मोडेलका विद्युतीय स्कुटर र मोटरसाइकलले प्रदर्शनीमा राखिनेछ । केही बहुप्रतिक्षित नयाँ मोडलहरू यही एक्स्पोमार्फत पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछन् । मेलामा सहभागी प्रमुख कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने योजना बनाएका छन् । वैद्य इनर्जी प्रालिले भारतमा सर्वाधिक बिक्री भएको र अत्यधिक चर्चामा रहेको ‘एथर रिज्ता’ ईभी स्कुटरलाई यही एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । १५९ किलोमिटरसम्मको रेन्ज, ४.३ किलोवाटको शक्तिशाली मोटर र ३४ लिटरको ठूलो स्टोरेज क्षमता भएको यो स्कुटरले बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीको छ । वैद्य इनर्जी प्रालिका मार्केटिङ प्रमुख सलमान खानका अनुसार यो स्कुटर भारतमा निकै सफल भएको र पारिवारिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो । नेपालमा सार्वजनिक हुनुअघि नै यसको ३० देखि ४० प्रतिशत युनिट बुक भइसकेको उनले जानकारी दिए । यसका साथै कम्पनीले आफ्ना पुराना र सफल मोडेलहरू ४५० एक्स र ४५० एस पनि प्रदर्शनीमा राख्नेछ । वैद्य इनर्जीले हालसम्म नेपालमा १ हजार ५ सय भन्दा बढी एथर स्कुटर बिक्री गरिसकेको पनि खानले बताए । यसैगरी नवीनतम् प्रविधिका लागि चिनिएको गोगोरो नेपालले एक्स्पोमा आफ्ना उत्पादनभन्दा पनि प्रविधिलाई मुख्य आकर्षण बनाउने जनाएको छ । कम्पनीका मार्केटिङ प्रमुख चिरञ्जिवी साहका अनुसार अवलोकनकर्ताले गोगोरोको ‘ब्याट्री स्वापिङ टेक्नोलोजी’ को प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । उनीहरूले आफैले ब्याट्री स्वाप गरेर यसको सहजता र उपयोगिता बुझ्न सक्ने गोगोरोले जनाएको छ । यसका साथै, गोगोरोले जेगो, क्रसोभर र पल्स गरी तीन भेरियन्टमा ल्याउने जनाएको छ । यी मोडेलका अपग्रेटेड भर्सन र देशभर रहेका ४५ वटा ब्याट्री स्टेसनबारे विस्तृत जानकारी पनि प्रदान गर्नेछ भने बजाजले यस पटक आफ्नो एकमात्र नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ लाई मुख्य आकर्षण बनाउने छ । बजाजले पनि आफ्नो एकमात्र नयाँ मोडलको रूपमा ’चेतक’ स्कुटर प्रदर्शन गर्नेछ । कम्पनीका मार्केटिङ प्रमुख अमित चालिसेका अनुसार यो ३५०१ मोडलको नयाँ चेतक हुनेछ र यो पूर्ण रूपमा नयाँ हुनेछ । कम्पनीले यसपटक एउटा मात्र नयाँ मोडेलमा ध्यान केन्द्रित गरेको छ । यो मोडेल भारतमा निकै लोकप्रिय छ । यस्तै, सुजुकीले भने यस पटक कुनै नयाँ मोडल सार्वजनिक नगर्ने भएको छ । सुजुकीका मार्केटिङ प्रमुख समित सिंहका अनुसार एक्स्पोमा कम्पनीले आफ्ना स्थापित र लोकप्रिय मोडलहरू ‘भी–स्ट्रम एसएक्स २५०’, ‘जिक्सर १५०’ र ‘एभिनिस’ स्कुटर प्रदर्शनीमा राख्नेछ । नयाँ ‘एक्सेस’ स्कुटर आउने चर्चा चले पनि त्यो हाललाई निश्चित नभएको उनले स्पष्ट पारे । टीभीएसल ‘कस्टम मोडल’, ‘रेसिङ मोडल’ र हाल चलिरहेका स्कुटरहरूको ‘नयाँ कलर भेरियन्ट’ ल्याउने सम्भावना रहेको बताएको छ । तर, चर्चित इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भने प्रदर्शनीमा नहुने निश्चित भएको छ । कम्पनीले एक-दुई दिनमा आफ्नो अन्तिम योजनाबारे जानकारी दिने बताएको छ । यस्तै, कुजु नेपालले नाइमा एक्स्पोमा आफ्नो पहिलो ईभी मोटरसाइकल ‘याडिया कीनीस’ सार्वजनिक गर्दैछ । १०० किमी/घण्टाको उच्च गति र १५० किलोमिटरको रेन्ज भएको यो बाइकसँगै कम्पनीले ई८एस प्रो, एम६ र भेलक्स स्कुटर पनि प्रदर्शनमा राख्नेछ । हुलास अटोक्राफ्टले बजाजको लोकप्रिय ‘चेतक’ स्कुटरलाई विद्युतीय अवतारमा प्रस्तुत गर्नेछ । १५३ किलोमिटरको रेन्ज र ३५ लिटरको स्टोरेज भएको ‘चेतक ३५०१’ ले क्लासिक डिजाइनका पारखीहरूलाई आकर्षित गर्नेछ । यसैगरी आइहब प्रालिले दुइटा नयाँ ईभी स्कुटर (ई १२५ एमके २ र ई १५० एमके २) र दुईवटा अफरोड ईभी बाइक (जाइबर र छफरी) प्रदर्शन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यी मोडेलहरूले एड्भेन्चर र सिटी राइड दुवैका लागि नयाँ विकल्प दिनेछन् । केडिया इन्टरनेशनलले उच्च प्रदर्शन भएको ‘अल्ट्राभोइलेट एफ७७ म्याच २’ मोटरसाइकल प्रदर्शन गर्नेछ । ३२३ किलोमिटरको विशाल रेन्ज र ३० किलोवाटको शक्तिशाली मोटर भएको यो प्रिमियम बाइकले सबैको ध्यान खिच्ने पक्का छ । यसका साथै, रिभोल्टले आरभी ४०० सिरिज, जीहोले एई ६ प्लस र एई ८ प्लस, तथा एनआईयूले गोभा, एनक्यूआई लगायतका चार मोडेलहरू प्रदर्शनीमा राख्नेछन् । यी सबै ब्राण्डहरूले विद्युतीय सवारीको बढ्दो बजारमा आफ्नो बलियो उपस्थिति देखाउनेछन् । एड्भेन्चर र स्पोर्टी बाइकमा विशेष आकर्षण विद्युतीय सवारीको चर्चा चुलिँदै गर्दा पेट्रोल इन्जिनका पारखीहरूलाई पनि नाइमा एक्स्पोले निराश बनाउने छैन । स्थापित ब्राण्डहरूले आफ्ना लोकप्रिय मोडलका नयाँ र अपग्रेटेड भर्सनहरू ल्याउँदैछन् । हंशराज हुलाशचन्द एण्ड कम्पनीले बाइक प्रेमीहरूको लागि ‘केटीएम एड्भेन्चर’ र ‘केटीएम ड्युक’ को नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको यी मोडेलहरूले नेपाली बजारमा पनि उत्साह थप्ने विश्वास कम्पनीको छ । एक्स्पोमा केटीएम ब्राण्डले आफ्ना ५ वटा नयाँ मोडल ल्याएर ठूलो ’सप्र्राइज’ दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्स्पोमा सार्वजनिक गरिने मोडलहरूमा ’नयाँ जेनेरेसन ड्युक’ र ’एड्भेन्चर’ सिरिजका बाइकहरू रहनेछन् । यद्यपि, ग्राहकहरूमाझ उत्साह कायम राख्न कुन–कुन मोडल आउँदैछन् भन्नेबारे कम्पनीले गोप्य राखेको छ । कम्पनीका अनुसार यी सबै मोडेलहरू पेट्रोल इन्जिनमा आधारित हुनेछन् । हालसम्म नेपालमा करिब २५ हजार वटा केटिएम बाइक बिक्री भइसकेको कम्पनीले जनाएको छ । भीजी अटोमोबाइल्सले नेपालको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक ‘सुजुकी एक्सेस’ को अपग्रेटेड भर्सन ल्याउनेछ । जसमा कम्पनीले ‘एक्सेस’ कै विद्युतीय (ईभी) भर्सन पनि ल्याउने तयारी गरिरहेको जनाएको छ, जसले पेट्रोल र ईभी दुवै बजारलाई जोड्ने प्रयास गर्नेछ । यसैगरी जगदम्बा मोटर्सले युवाहरूमाझ निकै लोकप्रिय ‘टीभीएस एन्टर्क’ स्कुटरको नयाँ मोडेल प्रस्तुत गर्ने तयारी गरिरहेकोे छ । यसबाहेक कम्पनीले रिसिङ मोडेल र न्यूकलर भेरियन्ट नाइमा एक्स्पोमा राखिने जनाएको छ । केटीएम इन्टरनेशनलले बनेलीको भगिनी ब्राण्ड ‘मोर्बिडेली’ का २५० सीसी र ३५२ सीसीका स्पोर्ट बाइकहरू प्रदर्शनीमा राख्नेछ । जसले रेसिङ बाइकका पारखीहरूलाई आकर्षित गर्नेछ । यी बाहेक होण्डा, रोयल इन्फिल्ड, महिन्द्रा जस्ता ब्राण्डहरूको उपस्थिति पनि एक्स्पोमा रहनेछ । जसले ग्राहकहरूलाई छनोटका लागि थप विकल्पहरू प्रदान गर्नेछन् । भृकुटी मण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ भविष्यको मोबिलिटीको स्पष्ट चित्र देखाउने एउटा मञ्च बन्दैछ । जहाँ एकातिर वातावरणमैत्री विद्युतीय सवारीको पार्किङ हुनेछ भने अर्कोतिर पेट्रोल इन्जिनका आकर्षक नयाँ मोडलहरूले प्रतिस्पर्धा गर्नेछन् । यो एक्स्पो सवारी खरिद गर्न चाहनेहरूका लागि मात्र नभई नेपाली अटोमोबाइल उद्योगको भविष्यको दिशा बुझ्न चाहने सबैका लागि एक महत्त्वपूर्ण गन्तव्य हुन विश्वास अटो व्यवसायीको छ ।
अघोषित लोडसेडिङपछि बिल तिर्ने प्रणालीमा पनि सकस, कर्मचारी भन्छन्- दबाब आउन थाल्यो
काठमाडौं । काठमाडौंको कुलेश्वरमा बस्ने सरिता घिमिरेको मोबाइलमा राति एउटा मेसेज आयो । मेसेजमा भनिएको थियो, ‘विद्युत महसुल तिर्ने आज अन्तिम दिन ।’ मेसेज पढेपछि उनले हतार-हतार गर्दै मिटर रिडरले ढोकामा छोडेर गएको बिजुलीको बिल खोजिन् । बिलमा ३ हजार ४ सय ४५ रुपैयाँ तिर्नुपर्ने देखियो । उनले बिजुलीको बिल तिर्न नेपाल विद्युत प्राधिकरणको एप खोलिन् । एपमा ग्राहक नम्बर राखिन् । तर, स्क्रिनमा देखिएको नतिजाले उनी छाँगाबाट खसे झैं भइन् । त्यहाँ लेखिएको थियो- ‘तिर्नुपर्ने रकम शून्य । हातमा बिजुलीको तिर्नुपर्ने बिल छ । तर, प्रणालीमा शून्य देखिएपछि उनलाई अचम्म लाग्यो । यसबारे पछिल्लो दिन उनले प्राधिकरणमा बुझ्दा सर्भरको समस्या रहेको सुनाइयो । पुरानो, विकेन्द्रित प्रणाली र मानवीय कमजोरीले समस्या रहेको जवाफ उनले पाइन् । मिटर रिडरले घरमा बिल दिएर गए पनि अनलाइन प्रणालीमा भुक्तानी गर्न खोज्दा रकम ‘शून्य’ देखाउने गरेको गुनासो उपभोक्ताको छ । हातमा बिल भए पनि ई-सेवा, खल्ती वा मोबाइल बैंकिङमा हेर्दा तिर्नुपर्ने रकम नदेखिँदा उपभोक्ताहरू जरिवानाको त्रासमा हुन्छन् । यस विषयमा प्राधिकरणका आईटी र बिलिङ दुवै महाशाखाका अधिकारीहरूले यो समस्या एप वा भुक्तानी सेवा प्रदायकको नभई प्राधिकरणकै डाटा प्रणालीको कमजोरी भएको बताएका छन् । उनीहरूका अनुसार मिटर रिडरले फिल्डमा बिल काटे पनि सम्बन्धित वितरण केन्द्रका कर्मचारीले त्यो डाटा केन्द्रीय प्रणालीमा अपलोड गर्न ढिलाइ गर्दा यस्तो समस्या देखिएको हो । प्राधिकरणको सूचना प्रविधि विभागका प्रबन्धक सजुनकुमार श्रेष्ठले भने, ‘कुनै शाखाले समयमै डाटा पठाउँदैनन्, कहिले इन्टरनेटको समस्या हुन्छ, कहिले कर्मचारीको लापरबाही । जबसम्म शाखाबाट डाटा केन्द्रीय प्रणालीमा आउँदैन, तबसम्म अनलाइनमा रकम देखिँदैन ।’ श्रेष्ठले भान्साकोठाको उदाहरण दिँदै थपे, ‘तपाईंको घरमा भान्सा (एप) तयार छ, चुल्हो (प्रणाली) पनि छ, तर कसैले चामल (डाटा) हालिदिएन भने भात पाक्दैन । हाम्रोमा पनि त्यस्तै हो ।’ यस्तै, पूर्वअर्थसचिव रहेका रामेश्वर खनालले पनि यस्तै किसिमको गुनासो गरे । प्राधिकरणले हाल अनलाइन भुक्तानीका लागि बिहान ८ बजेदेखि राति १२ बजेसम्मको समय तोकेको छ । सो समयमा पनि बिल भुक्तानी गर्न सकिने अवस्था नरहेको गुनासो उनको छ । ‘दिनभर काम साँझमा फुर्सद हुन्छ, त्यही बेला बिजुलीको बिल तिर्न पाइँदैन । पहिला कुलमान घिसिङको पालामा २४सै घण्टा यो सेवा चलेको थियो, अहिले त समय पनि घटाइएछ, प्रणाली पनि कमजोर बनाइएको छ,’ उनले आफ्नो अनुभव पोख्दै भने । पूर्वसचिव खनालले यो प्राधिकरण नेतृत्वको नालायकीपन भएको सुनाए । विगतमा २४ घण्टा बिजुलीको बिल तिर्न सकिने सुविधा भएपनि अहिले बिहान ८ बजेदेखि राति १२ बजेसम्म कायम गरिएको र सो समयमा पनि राम्रोसँग प्रणालीले काम नगरेको उनको धारणा छ । प्राधिकरणको नेतृत्वमा हितेन्द्रदेव शाक्य आएपछि प्राधिकरणको आधिकारिक मोबाइल एप र नागरिक एपमा रहेको बिल भुक्तानी खण्ड महिनौंदेखि अद्यावधिक (अपडेट) नभएको पनि बुझिएको छ । पूर्वसचिव खनालका अनुसार गत फागुनदेखि नै ती एपहरूमा नयाँ बिलको जानकारी आउन छाडेको छ । ‘शाक्यजी (हालका कार्यकारी निर्देशक) आएपछि जम्मै सिस्टम बिग्रेको छ । प्राधिकरणको आफ्नै एप चल्दैन, नागरिक एपमा पनि अपडेट छैन,’ उनले आक्रोश पोखे । प्राधिकरणको अर्को ठूलो लापरबाही समयमा बिल जारी नहुनु पनि हो । कतिपय उपभोक्ताको घरमा एक महिनाको सट्टा दुई/तीन महिनामा एकै पटक बिल आउने र ढिलो बिल आउँदा अघिल्लो महिनाको जरिवानासमेत जोडेर पठाउने गरिएको गुनासो छ । यसले प्राधिकरणको कमजोरीमा उपभोक्ताले जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । धेरै उपभोक्ताहरू प्राधिकरणको नेतृत्व परिवर्तनसँगै सेवाको गुणस्तर खस्किएको धारणा राख्छन् । ‘जताततै कमजोरी छ । बिजुली झ्यापझ्याप जान्छ, अनलाइन प्रणाली चल्दैन । सबैतिर कमजोरी छ,’ पूर्वसचिव खनाल भन्छन् । हालको बिलिङ प्रणाली विकेन्द्रित र पुरानो भएकाले यस्तो समस्या आएको धारणा प्राधिकरणको छ । देशभरका १८१ वटा वितरण केन्द्रमा छुट्टाछुट्टै सर्भर छन् । हरेक दिन बिहान सबै शाखाबाट डाटा म्यानुअल्ली काठमाडौंको केन्द्रीय प्रणालीमा तानेर एकीकृत गरेपछि मात्र अनलाइन भुक्तानी खुला हुन्छ । राति १२ बजेपछि प्रणाली बन्द गरेर दिनभरिको हिसाब मिलान र सर्भर मर्मतको काम हुने गरेको प्राधिकरणको धारणा छ । प्राधिकरणको बिलिङ महाशाखाका प्रमुख रविन्द्र श्रेष्ठले बिलिङ सिस्टम सेन्ट्रलाइज्ड नभएको कारण यो समस्या रहेको सुनाए । उनले यो प्राविधिक बाध्यता भएको सुनाए । श्रेष्ठले कर्मचारी अभाव र केही मिटर रिडरको गैरजिम्मेवारपनका कारण यस्ता घटना हुने गरेको स्वीकार गरे । यद्यपि, रिडिङ नभएको महिनाको जरिवाना लिनु नियम विपरीत भएको उनको भनाइ छ । ‘कतिपय रिडरहरू समयमै काम गर्न जाँदैनन्, उनीहरूलाई कारबाही गर्न खोज्यो भने राजनीतिक दबाब आउँछ । यो राज्यकै कमजोरी हो,’ उनले निराश हुँदै भने । उपभोक्तामाथि ठगी उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु घिमिरे बिजुलीको बिल भुक्तानीका नामा अनेक बहाना बनाएर प्राधिकरणले उपभोक्तालाई ठगी रहेको धारणा राखे । ‘डिजिटल युगमा अनलाइन भुक्तानी चौबिसै घण्टा हुनुपर्छ । यो उपभोक्ताको अधिकार हो,’ उनले भने, ‘महिनौंसम्म बिल नदिने र पछि जरिवाना लगाउने काम उपभोक्तामाथिको ठगी हो । यस्तो समस्या भोग्ने उपभोक्तालाई हामी कानूनी उपचारका लागि सहयोग गर्न तयार छौं ।’ प्राधिकरणले यी सबै समस्या समाधान गर्न दीर्घकालीन योजना अघि सारेको जनाएको छ । प्राधिकरणका अनुसार देशभरको बिलिङ प्रणालीलाई एकीकृत गर्न नयाँ सफ्टवेयर खरिदका लागि सम्झौता भइसकेको छ । यो प्रणाली लागू भएपछि आगामी एक वर्षभित्रमा चौबीसै घण्टा अनलाइन भुक्तानी सम्भव हुने प्राधिकरणको दाबी छ । यस्तै, प्राधिकरणले मिटर रिडिङको झन्झट अन्त्य गर्न र स्वचालित बिलिङका लागि स्मार्ट मिटर जडानलाई तीव्रता दिइएको छ । काठमाडौंका केही क्षेत्रमा यो सफल भइसकेको र अब देशभर विस्तार गर्ने योजना रहेको प्राधिकरणले जानकारी दिएको छ यो प्रणाली अबको एक दुई महिनापछि लागू गर्ने तयारीमा प्राधिकरण जुटिरहेको बिलिङ महाशाखाका प्रमुख श्रेष्ठले जानकारी दिए । तत्कालका लागि भने पुरानै प्रविधि र प्रणालीगत कमजोरीका कारण लाखौं उपभोक्ताले चाहेको समयमा सहजै बिजुलीको बिल तिर्न नपाउने समस्या कायमै रहने देखिएको छ । कतिपय उपभोक्ताले भने प्राधिकरण नेतृत्वले नियतवस समस्या सिर्जना गरेको बुझाइ छ । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा हुँदा लामो समयसम्म बिजुलीकै लाइन नकाटिने भए पनि पछिल्लो समय भने निरन्तर अघोषित लोडसेडिङ भइरहेको छ । उपभोक्ताले पूर्वानुमान गरे झैं उनले बिचौलियाको प्रभावमा परेर काम गरिरहेको आरोप धेरैको छ ।
रसुवागढी नाका बन्दले तातोपानीमा चाप, अटो शो प्रभावित हुने चिन्ता
काठमाडौं । बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी नाकामा चाप बढेको छ । चीनतर्फको व्यापारका लागि तातोपानी नाकामा अत्यधिक चाप बढेको हो । मुख्य नाका रसुवागढी बन्द भएपछि तातोपानी नाकामा चाप बढेको हो । यही समयमा सवारीसाधन र तीर्थयात्रीको आवतजावत बढेपछि तातोपानी नाकामा भन्सार जाँचपास तथा समग्र व्यवस्थापनमा चुनौती थपिएको बताइएको छ । रसुवागढी नाका बन्द भएपछि अहिले सम्पूर्ण सवारीसाधन तातोपानीतर्फ ’डाइभर्ट’ भएका छन् । साउन महिनामा मानसरोवर जाने तीर्थयात्रीहरूले पनि यही नाका प्रयोग गर्न थालेपछि जाँचपासमा ठूलो दबाब सिर्जना भएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार हाल दैनिक औसत ३ सय तीर्थयात्री १ सय बढी संख्यामा मालवाहक गाडीहरू आवतजावत हुने गरेका छन् । ‘रसुवागढीबाट आउने गाडीहरू पनि यहीँ आएका छन्, मानसरोवरका लागि आउने तीर्थयात्रीको चाप पनि थपिएको छ,’ सूचना अधिकारी काफ्लेले भने, ‘भन्सार परिसरको क्षमता करिब १ सयवटा गाडी भण्डारण गर्ने हो । गाडीको संख्या बढ्दै जाँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।’ अटो शो प्रभावित हुन सक्ने नाकामा बढेको चापको प्रत्यक्ष असर आगामी सवारी मेला नाइमाको मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा पर्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । दशैं-तिहारलाई लक्षित गरी आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो’ र ‘नाडा अटो शो’ का लागि नयाँ मोडेलका गाडीहरू धमाधम आयात भइरहेका छन् । तर, नाकामा सवारी जाँचपासमा ढिलाइ हुँदा समयमै गाडीहरू काठमाडौं ल्याउन नसकिने र त्यसले वर्षभरिको व्यापारमा असर पार्ने नाडाका पूर्वअध्यक्ष ध्रुव थापाको धारणा छ । ‘यो समयमा हुने व्यापारले वर्षभरि अर्थ राख्छ,’ उनले भने, ‘तर नाकाको अवस्था र भन्सार प्रक्रियामा हुने सम्भावित ढिलाइले अटो शो नै प्रभावित हुने जोखिम छ । तातोपानी नाकाको यार्ड पनि रसुवागढीको तुलनामा साँघुरो भएकाले समस्या थपिएको हो ।’ यो समय सरकारको राजस्व संकलनका लागि पनि महत्त्वपूर्ण भएकाले भन्सार प्रक्रियालाई सहज बनाउन तत्काल तदारुकता देखाउनुपर्ने उनको माग छ । पूर्वअध्यक्ष थापाले भन्सारमा अतिरिक्त कर्मचारी खटाएर भए पनि कामलाई छिटो-छरितो बनाउन आग्रह गरे । ‘यो समस्याले व्यवसायीलाई मात्र होइन, सरकारको राजस्वमा पनि असर पार्छ, त्यसैले सरकारले यसलाई प्राथमिकतामा राखेर तत्काल समाधान खोज्नुपर्छ,’ उनले भने । यस्तै, सिट्रोन गाडीको आधिकारीक वितरक साँग्रिला मोटर्सका मार्केटिङ म्यानेजर कुमुद नकर्मीले तातोपानी भन्सारमा चाप बढेकाले नयाँ मोडेल चाँडो ल्याउन सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘दुई/चार वटा नयाँ मोडेलका गाडी आयात गर्न त्यति समस्या त छैन । तर, मोबिलिटी एक्स्पोमा बढी ल्याउनुपर्ने हुन्छ, तातोपानी भन्सारमा चाप बढी भएकाले चाँडो आउन सक्ने अवस्था छैन ।’ उनका अनुसार चीनबाट आयात गरिनुपर्ने नयाँ मोडेलको गाडी रसुवागढी नाका बन्द भएका कारण तातोपानी नाकाबाट ल्याउने प्रयास भइरहेको छ । तर, तातोपानी नाकामा पनि अत्यधिक चाप भएकाले भन्सार प्रक्रियामा ढिलाइ भइरहेको नकर्मीको भनाइ छ । ‘नयाँ मोडेलको गाडी चीनबाट छुटिसकेको छ । तर, भन्सारमा समय लाग्ने देखिन्छ । एक्स्पोका लागि समयमै आइपुग्छ कि पुग्दैन भन्ने निश्चित छैन,’ उनले भने । आयातका लागि आवश्यक कागजात प्रक्रियामा कुनै समस्या नभएको व्यवसायीहरू बताउँछन् । कागजातहरू गाडीसँगै आउने र बैंकमार्फत गरिने भुक्तानी प्रक्रिया पनि एकै दिनमा सकिने भएकाले मुख्य समस्या भन्सार नाकाको भौतिक व्यवस्थापनमै रहेको व्यवसायीहरूको भनाइ छ । जनशक्ति अभाव नाकामा बढेको चापलाई व्यवस्थापन गर्न जनशक्ति अभाव मुख्य चुनौतीको रूपमा देखिएको छ । भन्सार कार्यालयले जनशक्ति थप गर्नका लागि भन्सार विभागमा अनुरोध गरिसकेको छ । विभागले कर्मचारी सरुवाको तयारी गरिरहेको र चाँडै थप जनशक्ति उपलब्ध हुने कार्यालयले जनाएको छ । हालको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरूले बिहान ८ बजेदेखि नै काम सुरु गरेका छन् । सशस्त्र प्रहरी बलले पनि अतिरिक्त गोदाम सञ्चालनमा ल्याएर सामान भण्डारणमा सहयोग गरिरहेको भन्सार कार्यालयका सूचना अधिकारी काफ्लेले जानकारी दिए । भन्सार कार्यालयका अनुसार फलफूल र मसलाजन्य सामानलाई गोदाममा राखेर अन्य व्यावसायिक सामानको जाँचपासलाई निरन्तरता दिइएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले छिटोभन्दा छिटो गाडी पठाइदिन आग्रह गरिरहेको सुनाए । भन्सारमा समस्या बढ्न नदिन र जाँचपास प्रक्रियालाई सहज बनाउन तत्काल जनशक्ति थप्नुपर्ने माग सरकारसँग गरिरहेका उनको भनाइ छ । ‘कर्मचारीहरूले बिहान ८ बजेदेखि नै काम गरिरहनुभएको छ,’ उनले भने, ‘उज्यालो रहुञ्जेल सवारीसाधनलाई क्रमशः निकाल्ने काम भइरहेको छ । अहिले पाँच जनाले १० वटा गाडी चेक गर्छन् भने १० जना भए २० वटा गाडी जाँच गर्न सकिन्छ । त्यसैले जाँचपासलाई सहज बनाउन जनशक्ति थप्नुपर्छ ।’ उनले यस विषयमा सरकारी निकायलाई जानकारी गराइसकिएको पनि बताए । रसुवागढी नाका बन्द हुँदा तातोपानी नाकामा चौतर्फी दबाब सिर्जना भएको छ । भन्सार कार्यालय, सुरक्षा निकाय र व्यवसायीहरूबीच समन्वय गरेर चुनौतीलाई सामना गर्ने प्रयास भइरहेको छ । तर, पूर्वाधार र जनशक्तिको सीमितताका कारण आगामी दिनहरू थप चुनौतीपूर्ण बन्ने देखिन्छ ।
नाइमा मोबिलिटी एक्स्पोमा अधिकांश पुरानै मोडेलका गाडी राखिँदै, यी हुन् सहभागी हुने नयाँ मोडेल
काठमाडौं । यस वर्ष सवारीप्रेमीहरूले दुईवटा अटो शो अवलोकन गर्न पाउने भएका छन् । अटो व्यवसायीहरूबीचको संस्थागत विभाजनपछि पहिलोपटक स्थापना भएको ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको छ भने नाडाले पनि भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शो गर्न लागेको छ । नाइमाले अटो क्षेत्रलाई झल्कने गरी मोबिलिटी एक्स्पो गर्ने तयारी गरिरहेको छ भने नाडाले पनि नाइमाको मोबिलीटी एक्स्पोभन्दा केही फरक गर्ने रणनीतिका साथ योजना बनाइरहेको छ । यसअघि नाडा अटो शोमा सँगै काम गर्दै आएका अटो व्यवसायीहरुले यसपटक नाइमा खोलेर मोबिलिटी एक्सो पो गर्दैछन् । जसमा ५० भन्दा बढी ब्राण्डको सहभागिता हुनेछ । कुल ५० ब्राण्ड सहभागी हुने एक्स्पोमा ४८ स्टल रहने छन् । यसमध्ये चार पाङ्ग्रेका २१, दुई पाङ्ग्रेका १७ र व्यावसायिक सवारी साधन ब्राण्डका ७ वटा स्टल रहने छन् । एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड र डिजेल/पेट्रोल सवारी साधन प्रदर्शनी हुने व्यवसायीले बताएका छन् । एक्स्पोमा सहभागी हुने मोडेल बीवाईडी बीवाईडी विश्व प्रसिद्ध ब्राण्ड हो । बीवाईडी १ करोड चार पाङ्ग्रे उत्पादन गाडी उत्पादन गर्ने पहिलो गाडी निर्माता कम्पनी बनिसकेको छ । नेपालमा पनि यसका विभिन्न मोडेलहरु उपलब्ध छन् । नेपालमा सन् २०१७ मा ई-६ मोडेलसहित भित्रिएको बीवाईडीले हाल डल्फिन, एट्टो-३ र सिल जस्ता मोडेलहरूले तहल्का मच्चाइरहेको छ । यी गाडीहरूमा अत्यधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट पफर्मेन्सको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परिरहेका छन् । पर्याप्त प्रोडक्ट, नयाँ-नयाँ प्रविधिसहितका विभिन्न कार्यक्रम, सर्भिस सेन्टर लगायतले बीवाईडीलाई नेपाली अटो बजारको ईभीहरुको नेतृत्वकर्ता नै बनाइदिएको छ । उसो त बीवाईडीले ‘सामाजिक उत्तरदायित्व’ तर्फ गरेको लगानीको चर्चा हुने गरेको छ । सँगै, चार्जिङ स्टेशन तथा प्वाइन्टमा पनि बीवाईडीले राम्रो लगानी गरेको छ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एक्स्पोमा विभिन्न आफ्ना मोडेलहरु प्रर्दशनमा राख्ने जनाएको छ । साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ मोडल नयाँ प्रिमियम विद्युतीय एसयूभी ‘सिल लायन ७ सार्वजनिक गर्ने जनाएको छ । बीवाईडीका सेल्स हेड आशुतोष गौतमले ‘सिल लायन ७’ को सहभागिता निश्चित भएको बताए । उनका अनुसार यो नयाँ मोडेलका साथै कम्पनीका हाल बजारमा रहेका लोकप्रिय मोडलहरू एट्टो ३, डल्फिन, र ई६ पनि प्रदर्शनीमा राखिनेछन् । ‘नाइमामा हाम्रो नयाँ गाडी ‘सिल लायन ७’ प्रदर्शनमा रहनेछ । यो मोडेल नयाँ हो । यो बाहेक हाम्रा सबै पुराना र सफल मोडलहरू पनि अवलोकनका लागि उपलब्ध हुनेछन्,’ गौतमले भने । उनका अनुसार, ‘सिल लायन ७’ हाल नेपाल भित्र्याउने प्रक्रियामा रहेको छ र नाइमा एक्स्पोमार्फत पहिलो पटक नेपाली ग्राहकमाझ प्रस्तुत गरिनेछ । उनले हालसम्म ७ हजारभन्दा बढी गाडीहरू सडकमा गुडिरहेको जानकारी दिए । ग्राहकको सुविधालाई ध्यानमा राख्दै कम्पनीले देशभर आफ्नो सञ्जाल विस्तार गरेको उनको भनाइ छ । हाल देशभर २१ वटा सेल्स आउटलेट र ६० भन्दा बढी चार्जिङ स्टेशनहरू सञ्चालनमा रहेका छन् । सिट्रोन सिट्रोन सुन्दर कार निर्माणमा बहुचर्चित यूरोपियन ब्राण्ड हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ । नेपालको लागि सिट्रोनको आधिकारीक वितरक साँग्रिला मोटर्स हो । सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरु रहेका छन् । जसमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू–भी, मिनी-भ्यान र एसयू भी बहु चर्चित छन् । सिट्रोन ब्राण्ड पनि मोबिलिटी एक्स्पोमा सहभागी हुँदैछ । यस कम्पनीले मोबिलिटी एक्स्पोमा सिट्रोनका ‘सी३’, ‘ईसी३’ र ‘सी५ एयरक्रस’ मोडलहरू प्रर्दशनमा राख्नेछ । कम्पनीका मार्केटिङ म्यानेजर कुमुद नकर्मीका अनुसार एक्स्पोमा सिट्रोनको कुनै पनि नयाँ गाडी सार्वजनिक गरिने छैन । कम्पनीले भित्र्याउँदै गरेको अर्को ब्रान्ड ‘लिपमोटर’ को नयाँ गाडी ‘बी १०’ को सहभागिता मोबिलिटी एक्स्पो अघि नै आयात भएको खण्डमा प्रदर्शनमा राखिने जानकारी दिए । नभए पुरानै मोडेलहरु एक्स्पोमा राखिनेछ । उनका अनुसार चीनबाट आयात गरिनुपर्ने उक्त गाडी रसुवागढी नाका बन्द भएका कारण तातोपानी नाकाबाट ल्याउने प्रयास भइरहेको छ । तर, तातोपानी नाकामा पनि अत्यधिक चाप भएकाले भन्सार प्रक्रियामा ढिलाइ भएको नकर्मीको भनाई छ । ‘गाडी चीनबाट छुटिसकेको छ । तर, भन्सारमा समय लागेकाले एक्स्पोका लागि समयमै आइपुग्छ कि पुग्दैन भन्ने निश्चित छैन,’ उनले भने, ’यदि एक्स्पो सुरु हुनुभन्दा एक दिन अगाडिसम्म पनि गाडी आइपुगेमा हामी त्यसलाई प्रदर्शनीमा राख्नेछौँ ।’ ग्रेटवाल मोटर्स ग्रेटवाल मोटर्स बहुचर्चित चिनियाँ ब्राण्ड हो । पछिल्लो समयमा नेपालमा सबैभन्दा बढी गाडी चीनबाटै भित्रिने गरेका छन् । नेपालमा ग्रेटवाल मोटर्स गाडीको इतिहास पुरानो भएपनि अहिलेसम्म राम्रो ब्राण्डको रुपमा उसले आफुलाई स्थापित गर्दै लगेको छ । ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता भिजिइम्पेक्स प्रालिका अनुसार मोबिलिटीमा ‘ट्यांक ५००’ बाहेक जीडब्लूएमका अन्य दुई पुराना मोडलहरू पनि प्रदर्शनीमा राखिनेछन् । जसमा ‘ओरा ०३ ईभी’ र ‘ह्याभल’ एसयूभी समावेश हुने छन् । यी तीनवटै गाडी एक्स्पो अवधिभर अवलोकन तथा बुकिङका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । जीडब्लूएमले नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । हालसम्म देशभर आफ्नो नेटवर्कमार्फत ३ सयभन्दा बढी गाडी बिक्री गरिसकेको छ भने हाल नेपालभर ५ वटा शोरुम सञ्चालनमा छन् । जसमा शोरुमहरू काठमाडौं, विराटनगर, बुटवल, चितवन र पोखरामा रहेका छन् । यस्तै, नेपालगञ्जमा पनि छिट्टै नयाँ शोरुम खोल्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । आफ्ना सबै नेटवर्क शोरुमहरूबाट चार्जिङ र सर्भिसिङको सुविधा पनि प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ । ओमोडा ओमोडा चिनियाँ अटोमोबाइल कम्पनी ‘चेरी’ को अर्को ब्राण्ड हो । यसले उच्च गुणस्तरका कार खोज्ने उपभोक्ताहरूलाई लक्षित गरी फ्युचरिस्टिक गाडीहरू डिजाइन गरेको दाबी गरेको छ । अत्यधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनहरूको विकास गर्नु ओमोडा ब्रान्डको डिएनएमै रहेको कम्पनीको भनाइ छ । ओमोडा, उपभोक्ताहरूको परिवर्तनशील आवश्यकतालाई पहिल्याउँदै नयाँ पुस्ताका लागि पहिलो रोजाइको ब्रान्ड बन्न पुगेको छ । ओमोडा, विश्वव्यापी रूपमा युवापुस्ताको जीवनलाई अझ राम्ररी बुझ्नको लागि उनीहरूसँग संवादमा संलग्न हुँदै आइरहेको छ भने ओमोडाले ‘ओ–युनिभर्स’ इकोसिस्टमको अवधारणा सिर्जना गरेको छ । जुन ब्रान्ड र प्रयोगकर्ताहरूबीच सम्पर्क गर्न अनुकुल बनाउने प्रविधि हो । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स नेपालका लागि चेरी अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता हो । सन् २०२१ मा सुरु भएको यस कम्पनीले चीनस्थित चेरीको प्लान्टबाट गाडी आयात गर्दै आएको छ । हाल कम्पनीको नेपालभर १२ वटा बिक्री केन्द्रहरू रहेका छन् । कम्पनीका अनुसार एक्स्पोमा ‘जेको’ ब्रान्डको ‘जे५’ र ‘चेरी’ ब्रान्डको ‘आइकार भी२३’ लाई पहिलो पटक प्रर्दशनीमा राखिनेछ । यी दुई मोडल एक्सपोका मुख्य आकर्षण बन्ने अपेक्षा कम्पनीले गरेको छ । यसका साथै शारदा ग्रुपले आफ्ना अन्य स्थापित मोडेलहरू पनि प्रदर्शनीमा राख्नेछ । जसमा ‘ओमोडा ई५’ र ‘जेको जे६’ समावेश छन्, जुन पहिले नै लन्च भइसकेका गाडी हुन् । त्यस्तै, ‘जिकर’ ब्रान्डको ‘एक्स’ मोडल पनि अवलोकनका गर्न सकिनेछ । यसैबीच, पायोनियर मोटो कर्पले वितरण गर्दै आएको निशानको ‘म्याग्नाइट’ पनि सोही एक्सपोमा प्रदर्शनीका लागि राखिनेछ । यद्यपि, ‘म्याग्नाइट’ शारदा ग्रुप अन्तर्गत नभई पायोनियर मोटो कर्पको छुट्टै प्रस्तुति रहने कम्पनीले जनाएको छ । एक्सपोमा निशानको एउटा मात्र मोडल ‘म्याग्नाइट’ सहभागी हुनेछ । हुन्डाई हुन्डाई गाडी कोरियन ब्राण्ड हो । अटोमोबाइल कम्पनी हुन्डाई मोटर्स ग्रुप विश्वको तेस्रो ठूलो मोटर कम्पनी हो । यो ब्राण्डले सन् २०२२ मा तेस्रो ठूलो अटोमोबाइल कम्पनी बन्दा जापानी, युरोपियन र अमेरिकन ब्राण्ड पछाडि परेका थिए । ५८ वर्ष अगाडि स्थापना भएको हुन्डाई मोटर्स ग्रुपले हुन्डाई, किया र जेनिसस ब्राण्डमा कार उत्पादन गर्दै आएको छ । विश्वभर कम मूल्यका फिचर लोडेड कार उत्पादनमा हुन्डाईले ख्याति कमाएको छ । हुन्डाईको विश्वभर १९३ देशमा ५ हजारभन्दा बढी डिलरसिप तथा शोरुम रहेको जनाइएको छ । यस ब्राण्डले पनि नाइमा एक्स्पोमा आफ्नो स्टल बुकिङ गरेको छ । नाइमा एक्स्पोमा यस ब्राण्डका सबै मोडलहरु देख्न सकिने नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक दीपक थपलियाले हाल बजारमा रहेका सबै रेगुलर मोडलहरूलाई नै प्रदर्शनीमा राख्ने तयारी गरेको बताए । उनका अनुसार, एक्स्पोमा हुन्डाईका क्रेटा ईभी, नेपालमै बनेको क्रेटा, भेन्यु, आयोनिक ५, ग्रान्ड आई१० नियोस र एक्स्टर जस्ता गाडीहरू प्रदर्शनीमा रहनेछन् । यद्यपि, लक्ष्मी ग्रुपले हुन्डाईबाहेक नयाँ ब्रान्ड ‘फोरथिङ’ को ‘साइनियर’ नामक गाडी भने एक्सपोमार्फत सार्वजनिक गर्ने जनाएको छ । यो मोडेल नयाँ हो । निर्देशक थपलियाले नाडा अटो शोमा नभई नाइमा एक्सपोमा सहभागी हुने जानकारी दिए । हुन्डाईले नेपालमा आफ्नो वितरक अधिकार लिएदेखि हालसम्म ४८ हजारभन्दा बढी गाडी बिक्री गरिसकेको छ भने नेपाली अटो बजारमा आफ्नो हक जमाउन सफल भएको छ । हाल देशभर हुन्डाईका १३ वटा शोरुम र ६६ वटा ‘रिल्याक्स’ नामका चार्जिङ स्टेसनहरू सञ्चालनमा छन् । यी चार्जिङ स्टेसनहरू एसी र डीसी दुवै प्रविधिका छन् भने केही स्थानमा वर्कशपको सुविधासमेत उपलब्ध रहेको थपलियाले बताए । उनका अनुसार, तत्काल विदेशबाट अन्य नयाँ मोडल ल्याउने कुनै योजना छैन । एमजी एमजी पनि चिनियाँ ब्राण्ड हो । अहिले बजारमा रहेका चर्चित ब्राण्डमध्ये एमजीलाई पनि लिने गरिन्छ । नेपाली बजारमा विद्युतीय गाडी (ईभी) को क्रेज बढ्दै गर्दा एमजीले पनि उल्लेखनीय प्रदर्शन गरिरहेको छ । एमजीले सन् २०१९ मा नेपालमा पहिलो पटक ईभी भित्र्याएको थियो । त्यही सययदेखि कम्पनीले एमजी-४ लगायत निकै लोकप्रिय बनेको जेड-एस ईभी नेपाली बजारमा ल्याइसकेको कम्पनीले जनाएको छ । हालसालै नेपाल भित्र्याइएको एस-५ मोडलले बजारमा छुट्टै तहल्का पिटिरहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार व्यापारिक दृष्टिकोणले हेर्दा एमजीका ईभीहरू नेपाली बजारमा दिगो रूपमा स्थापित (सस्टेन) भएका मोडलहरूमा पर्छन् । आफुसँग उत्पादन ब्याकअप पनि मजबुत रहेको कम्पनीको भनाइ छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक्स्पोमा आफ्ना विभिन्न ब्राण्ड एमजी एस ५, एमजी कोमेट, एमजी विन्डसर तथा एमजी ४ प्रदर्शनमा राख्ने जनाएको छ । यसका साथै आइएम-सिक्स मोडल पनि राख्ने कम्पनीले जनाएको छ । यो एमजीको नयाँ मोडल हो । चार्जिङ संरचना विस्तारमा समेत एमजीले उल्लेखनीय लगानी गर्दै आएको छ । एमजीले देशभर एसी चार्जिङ स्टेसन १२ तथा डीसी चार्जिङ स्टेसन ११ गरी जम्मा २३ वटा रहेका छन् । महिन्द्रा नेपालमा उपलब्ध सवारी साधन ब्राण्डहरु मध्यको एक उत्कृष्ट ब्राण्ड हो महिन्द्रा । भारतीय ब्राण्ड महिन्द्राको उत्पादन विश्व बजारमा परिचित छ । जुन नेपाली बजारमा समेत निकै लोकप्रिय मानिन्छ । नेपालका लागि महेन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट प्रालि हो । विशेष गरी महिन्द्राका गाडीहरू बोलेरो, स्कार्पियो तथा थार कडा सडक, पहाडी भूगोल र ग्रामीण क्षेत्रमा सजिलै चल्ने गरी निर्माण गरिएका छन् । नेपाली जस्तो विविध भौगोलिक चुनौतीहरू सामना गर्न यी मोडलहरू निकै उपयोगी छन् । यसका साथै महिन्द्राका पिकअप ट्रक, बोलेरो, स्कार्पियो जस्ता मोडलहरू सरकारी कार्यालयहरू, सुरक्षा निकायहरू, तथा ग्रामीण यातायात सेवा (जस्तै ट्याक्सी र यात्रुवाहक) का लागि व्यापक रूपमा प्रयोग हुँदै आएका छन् । महिन्द्राले पछिल्लो समयमा आफ्ना गाडीहरूको डिजाइन, प्रविधि र सुरक्षा सुविधाहरूमा सुधार गरिरहेको छ । एक्स यूभी ७००, स्कर्पियो-एन जस्ता नयाँ मोडलहरूमा प्रिमियम डिजाइन, एडभान्स फिचरहरू र अत्याधुनिक सुरक्षा प्रविधिहरू समावेश छन् । महिन्द्राले ई२०, ईभेरिटो जस्ता विद्युतीय गाडी (ईभी) हरू नेपाली बजारमा पहिले नै ल्याइसकेको छ । नेपालमा महिन्द्राले बोलेरो, स्कार्पियो, थार, एक्स यूभी ३००, एक्स यूभी ७०० लगायतका मोडलहरूमार्फत बलियो उपस्थिति कायम गरेको छ । विक्री सञ्जाल, सजिलो मर्मत सेवा र स्पेयर पाट्र्सको पहुँचले गर्दा महिन्द्रा सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय ब्राण्ड बनेको छ । नाइमा एक्स्पोमा महेन्द्रा ब्राण्डका विभिन्न गाडीहरु देख्न पाइने छ । कम्पनीका अनुसार नयाँ दुई इलेक्ट्रीक एसयूभी ल्याउने छ । कम्पनीले बीई-सिक्स र एक्सईभी-नाइन यी मोडल ल्याउने तयारी गरिरहेको छ । यी मोडेल नयाँ हुन् । अहिले नेपालका सबै किसिमका सडकमा यसको परीक्षण भइरहेको कम्पनीले जनाएको छ । यसबाहेक एक्स्पोमा पुराना मोडेलहरु पनि राखिनेछन् । अहिले महिन्द्राले एक्सयूभी-४०० ईभी मोडल बिक्री गरिरहेको छ । किया किया दक्षिण कोरियाली चर्चित ब्राण्ड हो । कियाका गाडीहरू विश्वभर गुणस्तरीय निर्माण, सुरक्षा र मजबुत इन्जिनका लागि परिचित रहेको कम्पनीको दाबी छ । कियाका मोडलहरू प्रायः आकर्षक डिजाइन र आधुनिक इन्टेरियरका साथ आउने गरेका छन् । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नाइमा एक्सोमा कियाले पनि सहभागिता जनाउनेछ । कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा कियाले पनि नयाँ एसयूभी ईभी–फाइभ देखाउने तयारी गरिरहेको छ । अहिले एक युनिट ईभी-फाइभ भन्सार बिन्दुमा आइपुगेको जनाएको छ । त्यसैलाई ल्याएर एक्स्पो मार्फत सार्वजनिक गर्ने योजनामा कन्टिनेन्टल ट्रेडिङ छ । यो नयाँ मोडेल हो । प्रोटोन मलेशियाको चर्चित ब्राण्ड प्रोटोन हो । प्रोटोनको मुख्य बजार मलेशिया र बेलायत भए तापनि, हालसम्म कम्पनीले ७० भन्दा बढी मुलुकहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने यो क्रम अझ बढ्दै गएको कम्पनीले जनाएको छ । यस कम्पनीका अनुसार उत्तर अमेरिका, युरोप, चीन र दक्षिण–पूर्वी एसियामा गरी कम्पनीका ९ वटा अनुसन्धान केन्द्रहरू तथा ९ वटा डिजाइन केन्द्रहरू सञ्चालनमा छन् । प्रोटोनले आफ्नो अत्यधिक बिक्री भएको ब्राण्ड हो । जुन हाल नेपाली बजारमा देख्न सकिन्छ । उक्त गाडी नेपालका लागि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्रालिले बिक्री गरिरहेको छ । यसको मुख्य उत्पादन केन्द्र भने मलेशियाको तान्जुङ् मलिम सहरमा अवस्थित रहेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरेका प्रत्येक गाडीमा नवीनतम अन्तर्राष्ट्रिय प्रविधिको समावेश रहेको उल्लेख गरेको छ । ठूला अटो ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न प्रोटोनले प्रविधि अनुसन्धानमा अर्बौं रुपैयाँको लगानी गर्दै आएको जनाइएको छ । कम्पनीका अनुसार, प्रोटोनका गाडीहरूले सुरक्षित, आरामदायी र सुलभ यात्रा अनुभव प्रदान गर्ने उद्देश्य राखेका छन् । ३५ वर्षभन्दा बढीको अनुभवसहित उच्चस्तरीय गाडी उत्पादन गर्दै आएको प्रोटोनले हालसम्म २७ ओटा मोडल बजारमा ल्याइसकेको छ । यो ब्राण्डले पनि नाइमा एक्स्पोमा सहभागि हुनेछ । जगदम्बा मोटर्स प्रालिका अनुसार एक्स्पोमा ईमास ७ मोडेलका दुईवटा भेरियन्ट प्राइम र प्रिमियम सहभागि हुनेछन् । यसमा पाँच रङ्गहरू छन् । जसमा प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट रहेका छन् । हालसम्म जगदम्बा मोटर्सले ४६ वटा गाडी बिक्री गरिसकेको छ । यसका साथै जर्मन ब्राण्ड फक्सवागेनले कम्प्याक्ट सेडान कार सेग्मेन्टमा भारतमा बनेको ‘भर्टुस’ मोडल नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल प्रालिले एक्सपोमा भर्टुस सार्वजनिक गर्ने जनाएको छ । जर्मन ब्राण्ड फक्सवागेनले भारतमा उत्पादन गरेको भर्टुसमा १.० लिटर टीएसआई इन्जिन रहने छ । यसअघि टाइगुनमा दिएको उक्त इन्जिन टर्बो चार्ज्ड, थ्री सिलिण्डर हो । यो नयाँ मोडेल हो । फक्सवागनले आफ्नो नयाँ सेडान भर्टुसको अगाडिको डिजाइन निकै सार्प बनाएको कम्पनीको दाबी छ । टोयोटा टोयोटा जापानी ब्राण्ड हो । यस ब्राण्डलाई हाइब्रिड प्रविधिमा विश्वकै अग्रणी कम्पनीका रुपमा लिइन्छ । सन् १९९७ मा ल्याइएको टोयोटा प्रियस पहिलो व्यावसायिक हाइब्रिड कार हो । जसले ईभीको युग सुरु गरेको थियो । नेपालका लागि टोयोटा ब्राण्डको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स प्रालि हो । जसले नेपाली बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । टोयोटा गाडीहरू कम बिग्रने, मर्मत खर्च न्यून हुने र लामो समयसम्म चल्ने गाडीका रूपमा परिचित छन् । त्यसैले एक पटक किनेपछि नहेर्नु पर्ने गाडी भन्ने छवि यस ब्राण्डले बनाएको कम्पनीको दाबी छ । नेपालमा टोयोटाले हाइलक्स, आरएभी४, फच्र्युनर, ल्याण्ड क्रुजर प्राडो जस्ता मोडलमार्फत राम्रो बजार जमाएको छ । हाइब्रिड गाडीप्रति बढ्दो आकर्षणसँगै टोयोटा अहिले फेरि चर्चामा छ । कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाका विभिन्न ब्राण्डहरु राख्नेछ । कम्पनीका अनुसार टोयोटाले नाइमा मोबिलिटी एक्स्पोमा पुरानै तीन मोडेल राख्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुइटा मोडेलको यकिन भएको तर तेस्रो कुन मोडेल राख्ने भन्ने यकिन भएको छैन् । दुइटा मोडेलहरुमा ल्याण्ड क्रूजर र ल्याण्ड क्रूजर २५० ल्याउने बताएको छ ।
टाटा पञ्च ईभीको क्रेज बढ्दै, १२ सयभन्दा बढी बिक्री
काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा विद्युतीय गाडी (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । बदलिँदो विश्वव्यापी परिवेश र इन्धनको बढ्दो मूल्यका बीच ईभीहरू सहरी उपभोक्ताका लागि एक स्मार्ट विकल्प बनिरहेका छन् । अझ भन्नुपर्दा नेपालमा दशकौंदेखि टाटा मोटर्सका गाडी सबैतिर गुडिरहेका देखिन्छन् । यही दौडमा, पञ्च ईभीले नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जमाएको छ । यो ईभी हाल नेपालमा सबैभन्दा बढी बिक्री हुने ईभी मध्ये एक बनेको छ । हुन त कुनै पनि उत्पादनको सफलताको पछाडि कम्पनीको विरासत र ग्राहकको विश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ । टाटा पञ्च ईभीको हकमा पनि यही लागू हुन्छ । सिप्रदी ट्रेडिङ प्रालिका उप-प्रबन्धक सुजन कार्की भन्छन्, ‘सफलताको एउटा प्रमुख कारण टाटा ब्रान्ड प्रतिको विश्वास हो । हामीले लगभग २० वर्षभन्दा बढी समयदेखि पेट्रोल-डिजेल गाडी र विगत ५ वर्षदेखि ईभी गाडी नेपालमा ल्याइरहेका छौँ ।’ ४० वर्षभन्दा पुरानो सिप्रदीको आफ्नै विश्वसनीयता र टाटाको बलियो ब्रान्ड छविका कारण ग्राहकहरूले सजिलै भरोसा गर्ने वातावरण बनेको हो । अटो मोबाइल बजारमा एक किसिमले नेतृत्व नै गरिरहेको टाटाले पन्च ईभी नेपाली बाटो र माटोमा सुहाउँदो रहेको कम्पनीको भनाइ छ । तर, यसमा विश्वास मात्रै पर्याप्त छैन । कम्पनीले ईभीका लागि आवश्यक पूर्वाधारमा गरेको लगानी अर्को महत्त्वपूर्ण पक्ष हो । कम्पनीले छुट र अफरमा मात्र केन्द्रित नभई चार्जिङ स्टेसन र सर्भिस सेन्टरको सञ्जाल विस्तारमा समेत जोड दिएको छ । आधिकारिक वितरक रहेको सिप्रदीको यो ईभी तीन भेरिएन्टमा उपलब्ध छ । टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्लस एस एमआरको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३७ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३९ लाख ९९ हजार पर्ने गरेको छ । कम्पनीले अफर अन्तर्गत ग्राहकहरूलाई एक पन्च ईभीमा १ लाख रुपैयाँसम्मको नगद छुट दिने गरेको जनाएको छ । नेपाली सडक सुहाउँदो डिजाइन र फिचर कम्पनीका उप-प्रबन्धक कार्कीका अनुसार टाटा पञ्च ईभीलाई एक ‘कम्प्याक्ट एसयुभी’ को रूपमा डिजाइन गरिएको छ । जुन सरहरको भीडभाडदेखि हल्का अफ–रोडसम्मका लागि उपयुक्त छ । यसको १९० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका खाल्डाखुल्डीयुक्त सडकमा गाडी ठोक्किने चिन्ता कम गर्छ । ‘यो गाडी सिटी एरिया र अफ-रोड दुवैलाई सुट हुन्छ,’ उनले थपे, ‘साइजमा धेरै ठूलो नभए पनि यसमा एसयुभीका गुणहरू छन् । यसबाहेक, गाडीको ढोका ९० डिग्रीसम्म खुल्ने हुँदा उमेर ढल्केका र बिरामी मानिसहरूलाई पनि गाडीभित्र पस्न र निस्कन निकै सहज हुन्छ ।’ टाटाले आफ्ना गाडीहरूमा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । पञ्च ईभीले भारत एनक्याप ( नयाँ कार मूल्याङ्कन कार्यक्रम) बाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जसले यसलाई आफ्नो सेगमेन्टमा सबैभन्दा सुरक्षित गाडीहरूमध्ये एक बनाउँछ । यसको बेस मोडेलदेखि नै ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम (इएसपी ), हिल होल्ड कन्ट्रोल जस्ता सुरक्षा फिचरहरू उपलब्ध छन् । यसका साथै, ३६०–डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता प्रिमियम फिचरहरूले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउँछ । चार्जिङ र सर्भिसको चिन्ता मुक्ती ईभी खरिदकर्ताको सबैभन्दा ठूलो चिन्ता ‘रेन्ज एन्जाइटी’ र चार्जिङ पूर्वाधारको अभाव हो । यसलाई समाधान गर्न सिप्रदीले देशव्यापी रूपमा एक बलियो चार्जिङ सञ्जाल स्थापना गरेको छ । ‘अहिले हामीसँग १८५ भन्दा बढी चार्जिङ स्टेसन छन्, जसमा ३० भन्दा बढी फास्ट चार्जरहरू छन्,’ उपप्रबन्धक कार्कीले भने, ‘ग्राहकले पूर्वको बिर्तामोडदेखि पश्चिमको धनगढीसम्म ढुक्क भएर यात्रा गर्न सक्नुहुन्छ ।’ कम्पनीले ‘सजिलो चाजर्’ नामक मोबाइल एप पनि उपलब्ध गराएको छ, जसबाट ग्राहकले नजिकको चार्जिङ स्टेसनको अवस्था (खाली छ वा व्यस्त) र लोकेसनबाटै सजिलै हेर्न सक्छन् । त्यसैगरी, कम्पनीका अनुसार देशभर २० भन्दा बढी ईभी-डेडिकेटेड सर्भिस सेन्टरहरू छन्, जहाँ तालिम प्राप्त प्राविधिकहरू उपलब्ध छन् । यसले गाडीको मर्मतसम्भारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता हटाएको छ । ब्याट्रीको चिन्ता र समाधान ईभीको सबैभन्दा महँगो पार्टस् ब्याट्री हो, र यसको मर्मत वा प्रतिस्थापन महँगो हुने चिन्ता ग्राहकमा हुन्छ । यसलाई सम्बोधन गर्न सिप्रदीले नेपालमै ब्याट्री डाइग्नोस्टिक एन्ड रेस्टोरेसन फ्यासिलिटी स्थापना गरेको छ । ‘हामी ब्याट्रीसँग सम्बन्धित समस्या नेपालमै समाधान गर्न सक्छौँ, जसले गर्दा ग्राहकलाई भोलि लामो समयसम्म आउने खर्च कम हुन्छ,’ उनले भने । कम्पनीले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ । जसले ग्राहकलाई थप विश्वस्त पारेको छ । कम्पनीले अहिलेसम्म १२ सयभन्दा बढी पञ्च ईभी बिक्री गरिसकेको छ । ग्राहकहरूले विशेषगरी यसको न्यून मर्मत खर्च, पेट्रोल-डिजेल भर्नु नपर्ने झन्झटबाट मुक्ति र चलाउन सहज भएकोमा सन्तुष्ट छन् । अटोमेटिक गियर सिस्टमले गर्दा सहरको ट्राफिकमा ड्राइभिङ निकै आरामदायी हुने कम्पनीको भनाइ छ । एक ग्राहकले अर्कोलाई सिफारिस गर्ने क्रम (रिफरेन्स सेल्स) बलियो हुनुले पनि बजारमा यसको सकारात्मक प्रभाव परेको देखिन्छ । टाटा पञ्च ईभीको सफलता कुनै एक कारणले मात्र सम्भव भएको होइन । यो टाटा र सिप्रदीको बलियो विश्वास, नेपाली सडक सुहाउँदो उत्पादन, सुरक्षामा दिइएको प्राथमिकता, र सबैभन्दा महत्त्वपूर्ण, चार्जिङ र सर्भिसको देशव्यापी सञ्जालको संयुक्त परिणाम रुपमा लिन सकिन्छ । ग्राहकको चिन्तालाई बुझेर त्यसको समाधानसहित बजारमा प्रस्तुत भएका कारण नै पञ्च ईभीले नेपाली बजारमा दमदार ‘पञ्च’ स्थापित गर्न सफल भएको छ ।