नाइमा मोबिलिटी एक्स्पोमा पेट्रोल र विद्युतीय बाइकले प्रतिस्पर्धा गर्दै, यी हुन् प्रदर्शन हुने मोडेल
काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह र रौनक थप्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को आयोजना गर्दैछ । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यो महामेलामा दुई पाङ्ग्रे सवारीसाधनका १७ भन्दा बढी ब्राण्डहरूले सहभागिता जनाउनेछन् । विशेषगरी दुई पाङ्ग्रे सवारीको व्यापार तुलनात्मक रूपमा बढिरहेको समयमा हुन लागेको यो एक्स्पो कम्पनीहरूका लागि आफ्नो व्यापार विस्तार गर्ने र ग्राहकहरूका लागि नयाँ प्रविधि र मोडलहरू एकै छानामुनि हेर्ने अवसर बनेको छ । यस पटकको एक्स्पोको मुख्य आकर्षण पेट्रोल इन्जिन र विद्युतीय सवारी (ईभी) बीचको प्रतिस्पर्धा र सहयात्रा हुने देखिन्छ । केही कम्पनीहरूले पेट्रोल सेगमेन्टमा नयाँ मोडल ल्याउँदैछन् भने अधिकांशको ध्यान विद्युतीय सवारीमा केन्द्रित छ । पहिलो पटक हुन लागेको एक्स्पोमा १० वटा ब्राण्डका करिब २४ वटा मोडेलका विद्युतीय स्कुटर र मोटरसाइकलले प्रदर्शनीमा राखिनेछ । केही बहुप्रतिक्षित नयाँ मोडलहरू यही एक्स्पोमार्फत पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछन् । मेलामा सहभागी प्रमुख कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने योजना बनाएका छन् । वैद्य इनर्जी प्रालिले भारतमा सर्वाधिक बिक्री भएको र अत्यधिक चर्चामा रहेको ‘एथर रिज्ता’ ईभी स्कुटरलाई यही एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । १५९ किलोमिटरसम्मको रेन्ज, ४.३ किलोवाटको शक्तिशाली मोटर र ३४ लिटरको ठूलो स्टोरेज क्षमता भएको यो स्कुटरले बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीको छ । वैद्य इनर्जी प्रालिका मार्केटिङ प्रमुख सलमान खानका अनुसार यो स्कुटर भारतमा निकै सफल भएको र पारिवारिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो । नेपालमा सार्वजनिक हुनुअघि नै यसको ३० देखि ४० प्रतिशत युनिट बुक भइसकेको उनले जानकारी दिए । यसका साथै कम्पनीले आफ्ना पुराना र सफल मोडेलहरू ४५० एक्स र ४५० एस पनि प्रदर्शनीमा राख्नेछ । वैद्य इनर्जीले हालसम्म नेपालमा १ हजार ५ सय भन्दा बढी एथर स्कुटर बिक्री गरिसकेको पनि खानले बताए । यसैगरी नवीनतम् प्रविधिका लागि चिनिएको गोगोरो नेपालले एक्स्पोमा आफ्ना उत्पादनभन्दा पनि प्रविधिलाई मुख्य आकर्षण बनाउने जनाएको छ । कम्पनीका मार्केटिङ प्रमुख चिरञ्जिवी साहका अनुसार अवलोकनकर्ताले गोगोरोको ‘ब्याट्री स्वापिङ टेक्नोलोजी’ को प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । उनीहरूले आफैले ब्याट्री स्वाप गरेर यसको सहजता र उपयोगिता बुझ्न सक्ने गोगोरोले जनाएको छ । यसका साथै, गोगोरोले जेगो, क्रसोभर र पल्स गरी तीन भेरियन्टमा ल्याउने जनाएको छ । यी मोडेलका अपग्रेटेड भर्सन र देशभर रहेका ४५ वटा ब्याट्री स्टेसनबारे विस्तृत जानकारी पनि प्रदान गर्नेछ भने बजाजले यस पटक आफ्नो एकमात्र नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ लाई मुख्य आकर्षण बनाउने छ । बजाजले पनि आफ्नो एकमात्र नयाँ मोडलको रूपमा ’चेतक’ स्कुटर प्रदर्शन गर्नेछ । कम्पनीका मार्केटिङ प्रमुख अमित चालिसेका अनुसार यो ३५०१ मोडलको नयाँ चेतक हुनेछ र यो पूर्ण रूपमा नयाँ हुनेछ । कम्पनीले यसपटक एउटा मात्र नयाँ मोडेलमा ध्यान केन्द्रित गरेको छ । यो मोडेल भारतमा निकै लोकप्रिय छ । यस्तै, सुजुकीले भने यस पटक कुनै नयाँ मोडल सार्वजनिक नगर्ने भएको छ । सुजुकीका मार्केटिङ प्रमुख समित सिंहका अनुसार एक्स्पोमा कम्पनीले आफ्ना स्थापित र लोकप्रिय मोडलहरू ‘भी–स्ट्रम एसएक्स २५०’, ‘जिक्सर १५०’ र ‘एभिनिस’ स्कुटर प्रदर्शनीमा राख्नेछ । नयाँ ‘एक्सेस’ स्कुटर आउने चर्चा चले पनि त्यो हाललाई निश्चित नभएको उनले स्पष्ट पारे । टीभीएसल ‘कस्टम मोडल’, ‘रेसिङ मोडल’ र हाल चलिरहेका स्कुटरहरूको ‘नयाँ कलर भेरियन्ट’ ल्याउने सम्भावना रहेको बताएको छ । तर, चर्चित इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भने प्रदर्शनीमा नहुने निश्चित भएको छ । कम्पनीले एक-दुई दिनमा आफ्नो अन्तिम योजनाबारे जानकारी दिने बताएको छ । यस्तै, कुजु नेपालले नाइमा एक्स्पोमा आफ्नो पहिलो ईभी मोटरसाइकल ‘याडिया कीनीस’ सार्वजनिक गर्दैछ । १०० किमी/घण्टाको उच्च गति र १५० किलोमिटरको रेन्ज भएको यो बाइकसँगै कम्पनीले ई८एस प्रो, एम६ र भेलक्स स्कुटर पनि प्रदर्शनमा राख्नेछ । हुलास अटोक्राफ्टले बजाजको लोकप्रिय ‘चेतक’ स्कुटरलाई विद्युतीय अवतारमा प्रस्तुत गर्नेछ । १५३ किलोमिटरको रेन्ज र ३५ लिटरको स्टोरेज भएको ‘चेतक ३५०१’ ले क्लासिक डिजाइनका पारखीहरूलाई आकर्षित गर्नेछ । यसैगरी आइहब प्रालिले दुइटा नयाँ ईभी स्कुटर (ई १२५ एमके २ र ई १५० एमके २) र दुईवटा अफरोड ईभी बाइक (जाइबर र छफरी) प्रदर्शन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यी मोडेलहरूले एड्भेन्चर र सिटी राइड दुवैका लागि नयाँ विकल्प दिनेछन् । केडिया इन्टरनेशनलले उच्च प्रदर्शन भएको ‘अल्ट्राभोइलेट एफ७७ म्याच २’ मोटरसाइकल प्रदर्शन गर्नेछ । ३२३ किलोमिटरको विशाल रेन्ज र ३० किलोवाटको शक्तिशाली मोटर भएको यो प्रिमियम बाइकले सबैको ध्यान खिच्ने पक्का छ । यसका साथै, रिभोल्टले आरभी ४०० सिरिज, जीहोले एई ६ प्लस र एई ८ प्लस, तथा एनआईयूले गोभा, एनक्यूआई लगायतका चार मोडेलहरू प्रदर्शनीमा राख्नेछन् । यी सबै ब्राण्डहरूले विद्युतीय सवारीको बढ्दो बजारमा आफ्नो बलियो उपस्थिति देखाउनेछन् । एड्भेन्चर र स्पोर्टी बाइकमा विशेष आकर्षण विद्युतीय सवारीको चर्चा चुलिँदै गर्दा पेट्रोल इन्जिनका पारखीहरूलाई पनि नाइमा एक्स्पोले निराश बनाउने छैन । स्थापित ब्राण्डहरूले आफ्ना लोकप्रिय मोडलका नयाँ र अपग्रेटेड भर्सनहरू ल्याउँदैछन् । हंशराज हुलाशचन्द एण्ड कम्पनीले बाइक प्रेमीहरूको लागि ‘केटीएम एड्भेन्चर’ र ‘केटीएम ड्युक’ को नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको यी मोडेलहरूले नेपाली बजारमा पनि उत्साह थप्ने विश्वास कम्पनीको छ । एक्स्पोमा केटीएम ब्राण्डले आफ्ना ५ वटा नयाँ मोडल ल्याएर ठूलो ’सप्र्राइज’ दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्स्पोमा सार्वजनिक गरिने मोडलहरूमा ’नयाँ जेनेरेसन ड्युक’ र ’एड्भेन्चर’ सिरिजका बाइकहरू रहनेछन् । यद्यपि, ग्राहकहरूमाझ उत्साह कायम राख्न कुन–कुन मोडल आउँदैछन् भन्नेबारे कम्पनीले गोप्य राखेको छ । कम्पनीका अनुसार यी सबै मोडेलहरू पेट्रोल इन्जिनमा आधारित हुनेछन् । हालसम्म नेपालमा करिब २५ हजार वटा केटिएम बाइक बिक्री भइसकेको कम्पनीले जनाएको छ । भीजी अटोमोबाइल्सले नेपालको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक ‘सुजुकी एक्सेस’ को अपग्रेटेड भर्सन ल्याउनेछ । जसमा कम्पनीले ‘एक्सेस’ कै विद्युतीय (ईभी) भर्सन पनि ल्याउने तयारी गरिरहेको जनाएको छ, जसले पेट्रोल र ईभी दुवै बजारलाई जोड्ने प्रयास गर्नेछ । यसैगरी जगदम्बा मोटर्सले युवाहरूमाझ निकै लोकप्रिय ‘टीभीएस एन्टर्क’ स्कुटरको नयाँ मोडेल प्रस्तुत गर्ने तयारी गरिरहेकोे छ । यसबाहेक कम्पनीले रिसिङ मोडेल र न्यूकलर भेरियन्ट नाइमा एक्स्पोमा राखिने जनाएको छ । केटीएम इन्टरनेशनलले बनेलीको भगिनी ब्राण्ड ‘मोर्बिडेली’ का २५० सीसी र ३५२ सीसीका स्पोर्ट बाइकहरू प्रदर्शनीमा राख्नेछ । जसले रेसिङ बाइकका पारखीहरूलाई आकर्षित गर्नेछ । यी बाहेक होण्डा, रोयल इन्फिल्ड, महिन्द्रा जस्ता ब्राण्डहरूको उपस्थिति पनि एक्स्पोमा रहनेछ । जसले ग्राहकहरूलाई छनोटका लागि थप विकल्पहरू प्रदान गर्नेछन् । भृकुटी मण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ भविष्यको मोबिलिटीको स्पष्ट चित्र देखाउने एउटा मञ्च बन्दैछ । जहाँ एकातिर वातावरणमैत्री विद्युतीय सवारीको पार्किङ हुनेछ भने अर्कोतिर पेट्रोल इन्जिनका आकर्षक नयाँ मोडलहरूले प्रतिस्पर्धा गर्नेछन् । यो एक्स्पो सवारी खरिद गर्न चाहनेहरूका लागि मात्र नभई नेपाली अटोमोबाइल उद्योगको भविष्यको दिशा बुझ्न चाहने सबैका लागि एक महत्त्वपूर्ण गन्तव्य हुन विश्वास अटो व्यवसायीको छ ।
अघोषित लोडसेडिङपछि बिल तिर्ने प्रणालीमा पनि सकस, कर्मचारी भन्छन्- दबाब आउन थाल्यो
काठमाडौं । काठमाडौंको कुलेश्वरमा बस्ने सरिता घिमिरेको मोबाइलमा राति एउटा मेसेज आयो । मेसेजमा भनिएको थियो, ‘विद्युत महसुल तिर्ने आज अन्तिम दिन ।’ मेसेज पढेपछि उनले हतार-हतार गर्दै मिटर रिडरले ढोकामा छोडेर गएको बिजुलीको बिल खोजिन् । बिलमा ३ हजार ४ सय ४५ रुपैयाँ तिर्नुपर्ने देखियो । उनले बिजुलीको बिल तिर्न नेपाल विद्युत प्राधिकरणको एप खोलिन् । एपमा ग्राहक नम्बर राखिन् । तर, स्क्रिनमा देखिएको नतिजाले उनी छाँगाबाट खसे झैं भइन् । त्यहाँ लेखिएको थियो- ‘तिर्नुपर्ने रकम शून्य । हातमा बिजुलीको तिर्नुपर्ने बिल छ । तर, प्रणालीमा शून्य देखिएपछि उनलाई अचम्म लाग्यो । यसबारे पछिल्लो दिन उनले प्राधिकरणमा बुझ्दा सर्भरको समस्या रहेको सुनाइयो । पुरानो, विकेन्द्रित प्रणाली र मानवीय कमजोरीले समस्या रहेको जवाफ उनले पाइन् । मिटर रिडरले घरमा बिल दिएर गए पनि अनलाइन प्रणालीमा भुक्तानी गर्न खोज्दा रकम ‘शून्य’ देखाउने गरेको गुनासो उपभोक्ताको छ । हातमा बिल भए पनि ई-सेवा, खल्ती वा मोबाइल बैंकिङमा हेर्दा तिर्नुपर्ने रकम नदेखिँदा उपभोक्ताहरू जरिवानाको त्रासमा हुन्छन् । यस विषयमा प्राधिकरणका आईटी र बिलिङ दुवै महाशाखाका अधिकारीहरूले यो समस्या एप वा भुक्तानी सेवा प्रदायकको नभई प्राधिकरणकै डाटा प्रणालीको कमजोरी भएको बताएका छन् । उनीहरूका अनुसार मिटर रिडरले फिल्डमा बिल काटे पनि सम्बन्धित वितरण केन्द्रका कर्मचारीले त्यो डाटा केन्द्रीय प्रणालीमा अपलोड गर्न ढिलाइ गर्दा यस्तो समस्या देखिएको हो । प्राधिकरणको सूचना प्रविधि विभागका प्रबन्धक सजुनकुमार श्रेष्ठले भने, ‘कुनै शाखाले समयमै डाटा पठाउँदैनन्, कहिले इन्टरनेटको समस्या हुन्छ, कहिले कर्मचारीको लापरबाही । जबसम्म शाखाबाट डाटा केन्द्रीय प्रणालीमा आउँदैन, तबसम्म अनलाइनमा रकम देखिँदैन ।’ श्रेष्ठले भान्साकोठाको उदाहरण दिँदै थपे, ‘तपाईंको घरमा भान्सा (एप) तयार छ, चुल्हो (प्रणाली) पनि छ, तर कसैले चामल (डाटा) हालिदिएन भने भात पाक्दैन । हाम्रोमा पनि त्यस्तै हो ।’ यस्तै, पूर्वअर्थसचिव रहेका रामेश्वर खनालले पनि यस्तै किसिमको गुनासो गरे । प्राधिकरणले हाल अनलाइन भुक्तानीका लागि बिहान ८ बजेदेखि राति १२ बजेसम्मको समय तोकेको छ । सो समयमा पनि बिल भुक्तानी गर्न सकिने अवस्था नरहेको गुनासो उनको छ । ‘दिनभर काम साँझमा फुर्सद हुन्छ, त्यही बेला बिजुलीको बिल तिर्न पाइँदैन । पहिला कुलमान घिसिङको पालामा २४सै घण्टा यो सेवा चलेको थियो, अहिले त समय पनि घटाइएछ, प्रणाली पनि कमजोर बनाइएको छ,’ उनले आफ्नो अनुभव पोख्दै भने । पूर्वसचिव खनालले यो प्राधिकरण नेतृत्वको नालायकीपन भएको सुनाए । विगतमा २४ घण्टा बिजुलीको बिल तिर्न सकिने सुविधा भएपनि अहिले बिहान ८ बजेदेखि राति १२ बजेसम्म कायम गरिएको र सो समयमा पनि राम्रोसँग प्रणालीले काम नगरेको उनको धारणा छ । प्राधिकरणको नेतृत्वमा हितेन्द्रदेव शाक्य आएपछि प्राधिकरणको आधिकारिक मोबाइल एप र नागरिक एपमा रहेको बिल भुक्तानी खण्ड महिनौंदेखि अद्यावधिक (अपडेट) नभएको पनि बुझिएको छ । पूर्वसचिव खनालका अनुसार गत फागुनदेखि नै ती एपहरूमा नयाँ बिलको जानकारी आउन छाडेको छ । ‘शाक्यजी (हालका कार्यकारी निर्देशक) आएपछि जम्मै सिस्टम बिग्रेको छ । प्राधिकरणको आफ्नै एप चल्दैन, नागरिक एपमा पनि अपडेट छैन,’ उनले आक्रोश पोखे । प्राधिकरणको अर्को ठूलो लापरबाही समयमा बिल जारी नहुनु पनि हो । कतिपय उपभोक्ताको घरमा एक महिनाको सट्टा दुई/तीन महिनामा एकै पटक बिल आउने र ढिलो बिल आउँदा अघिल्लो महिनाको जरिवानासमेत जोडेर पठाउने गरिएको गुनासो छ । यसले प्राधिकरणको कमजोरीमा उपभोक्ताले जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । धेरै उपभोक्ताहरू प्राधिकरणको नेतृत्व परिवर्तनसँगै सेवाको गुणस्तर खस्किएको धारणा राख्छन् । ‘जताततै कमजोरी छ । बिजुली झ्यापझ्याप जान्छ, अनलाइन प्रणाली चल्दैन । सबैतिर कमजोरी छ,’ पूर्वसचिव खनाल भन्छन् । हालको बिलिङ प्रणाली विकेन्द्रित र पुरानो भएकाले यस्तो समस्या आएको धारणा प्राधिकरणको छ । देशभरका १८१ वटा वितरण केन्द्रमा छुट्टाछुट्टै सर्भर छन् । हरेक दिन बिहान सबै शाखाबाट डाटा म्यानुअल्ली काठमाडौंको केन्द्रीय प्रणालीमा तानेर एकीकृत गरेपछि मात्र अनलाइन भुक्तानी खुला हुन्छ । राति १२ बजेपछि प्रणाली बन्द गरेर दिनभरिको हिसाब मिलान र सर्भर मर्मतको काम हुने गरेको प्राधिकरणको धारणा छ । प्राधिकरणको बिलिङ महाशाखाका प्रमुख रविन्द्र श्रेष्ठले बिलिङ सिस्टम सेन्ट्रलाइज्ड नभएको कारण यो समस्या रहेको सुनाए । उनले यो प्राविधिक बाध्यता भएको सुनाए । श्रेष्ठले कर्मचारी अभाव र केही मिटर रिडरको गैरजिम्मेवारपनका कारण यस्ता घटना हुने गरेको स्वीकार गरे । यद्यपि, रिडिङ नभएको महिनाको जरिवाना लिनु नियम विपरीत भएको उनको भनाइ छ । ‘कतिपय रिडरहरू समयमै काम गर्न जाँदैनन्, उनीहरूलाई कारबाही गर्न खोज्यो भने राजनीतिक दबाब आउँछ । यो राज्यकै कमजोरी हो,’ उनले निराश हुँदै भने । उपभोक्तामाथि ठगी उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु घिमिरे बिजुलीको बिल भुक्तानीका नामा अनेक बहाना बनाएर प्राधिकरणले उपभोक्तालाई ठगी रहेको धारणा राखे । ‘डिजिटल युगमा अनलाइन भुक्तानी चौबिसै घण्टा हुनुपर्छ । यो उपभोक्ताको अधिकार हो,’ उनले भने, ‘महिनौंसम्म बिल नदिने र पछि जरिवाना लगाउने काम उपभोक्तामाथिको ठगी हो । यस्तो समस्या भोग्ने उपभोक्तालाई हामी कानूनी उपचारका लागि सहयोग गर्न तयार छौं ।’ प्राधिकरणले यी सबै समस्या समाधान गर्न दीर्घकालीन योजना अघि सारेको जनाएको छ । प्राधिकरणका अनुसार देशभरको बिलिङ प्रणालीलाई एकीकृत गर्न नयाँ सफ्टवेयर खरिदका लागि सम्झौता भइसकेको छ । यो प्रणाली लागू भएपछि आगामी एक वर्षभित्रमा चौबीसै घण्टा अनलाइन भुक्तानी सम्भव हुने प्राधिकरणको दाबी छ । यस्तै, प्राधिकरणले मिटर रिडिङको झन्झट अन्त्य गर्न र स्वचालित बिलिङका लागि स्मार्ट मिटर जडानलाई तीव्रता दिइएको छ । काठमाडौंका केही क्षेत्रमा यो सफल भइसकेको र अब देशभर विस्तार गर्ने योजना रहेको प्राधिकरणले जानकारी दिएको छ यो प्रणाली अबको एक दुई महिनापछि लागू गर्ने तयारीमा प्राधिकरण जुटिरहेको बिलिङ महाशाखाका प्रमुख श्रेष्ठले जानकारी दिए । तत्कालका लागि भने पुरानै प्रविधि र प्रणालीगत कमजोरीका कारण लाखौं उपभोक्ताले चाहेको समयमा सहजै बिजुलीको बिल तिर्न नपाउने समस्या कायमै रहने देखिएको छ । कतिपय उपभोक्ताले भने प्राधिकरण नेतृत्वले नियतवस समस्या सिर्जना गरेको बुझाइ छ । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा हुँदा लामो समयसम्म बिजुलीकै लाइन नकाटिने भए पनि पछिल्लो समय भने निरन्तर अघोषित लोडसेडिङ भइरहेको छ । उपभोक्ताले पूर्वानुमान गरे झैं उनले बिचौलियाको प्रभावमा परेर काम गरिरहेको आरोप धेरैको छ ।
रसुवागढी नाका बन्दले तातोपानीमा चाप, अटो शो प्रभावित हुने चिन्ता
काठमाडौं । बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी नाकामा चाप बढेको छ । चीनतर्फको व्यापारका लागि तातोपानी नाकामा अत्यधिक चाप बढेको हो । मुख्य नाका रसुवागढी बन्द भएपछि तातोपानी नाकामा चाप बढेको हो । यही समयमा सवारीसाधन र तीर्थयात्रीको आवतजावत बढेपछि तातोपानी नाकामा भन्सार जाँचपास तथा समग्र व्यवस्थापनमा चुनौती थपिएको बताइएको छ । रसुवागढी नाका बन्द भएपछि अहिले सम्पूर्ण सवारीसाधन तातोपानीतर्फ ’डाइभर्ट’ भएका छन् । साउन महिनामा मानसरोवर जाने तीर्थयात्रीहरूले पनि यही नाका प्रयोग गर्न थालेपछि जाँचपासमा ठूलो दबाब सिर्जना भएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार हाल दैनिक औसत ३ सय तीर्थयात्री १ सय बढी संख्यामा मालवाहक गाडीहरू आवतजावत हुने गरेका छन् । ‘रसुवागढीबाट आउने गाडीहरू पनि यहीँ आएका छन्, मानसरोवरका लागि आउने तीर्थयात्रीको चाप पनि थपिएको छ,’ सूचना अधिकारी काफ्लेले भने, ‘भन्सार परिसरको क्षमता करिब १ सयवटा गाडी भण्डारण गर्ने हो । गाडीको संख्या बढ्दै जाँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।’ अटो शो प्रभावित हुन सक्ने नाकामा बढेको चापको प्रत्यक्ष असर आगामी सवारी मेला नाइमाको मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा पर्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । दशैं-तिहारलाई लक्षित गरी आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो’ र ‘नाडा अटो शो’ का लागि नयाँ मोडेलका गाडीहरू धमाधम आयात भइरहेका छन् । तर, नाकामा सवारी जाँचपासमा ढिलाइ हुँदा समयमै गाडीहरू काठमाडौं ल्याउन नसकिने र त्यसले वर्षभरिको व्यापारमा असर पार्ने नाडाका पूर्वअध्यक्ष ध्रुव थापाको धारणा छ । ‘यो समयमा हुने व्यापारले वर्षभरि अर्थ राख्छ,’ उनले भने, ‘तर नाकाको अवस्था र भन्सार प्रक्रियामा हुने सम्भावित ढिलाइले अटो शो नै प्रभावित हुने जोखिम छ । तातोपानी नाकाको यार्ड पनि रसुवागढीको तुलनामा साँघुरो भएकाले समस्या थपिएको हो ।’ यो समय सरकारको राजस्व संकलनका लागि पनि महत्त्वपूर्ण भएकाले भन्सार प्रक्रियालाई सहज बनाउन तत्काल तदारुकता देखाउनुपर्ने उनको माग छ । पूर्वअध्यक्ष थापाले भन्सारमा अतिरिक्त कर्मचारी खटाएर भए पनि कामलाई छिटो-छरितो बनाउन आग्रह गरे । ‘यो समस्याले व्यवसायीलाई मात्र होइन, सरकारको राजस्वमा पनि असर पार्छ, त्यसैले सरकारले यसलाई प्राथमिकतामा राखेर तत्काल समाधान खोज्नुपर्छ,’ उनले भने । यस्तै, सिट्रोन गाडीको आधिकारीक वितरक साँग्रिला मोटर्सका मार्केटिङ म्यानेजर कुमुद नकर्मीले तातोपानी भन्सारमा चाप बढेकाले नयाँ मोडेल चाँडो ल्याउन सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘दुई/चार वटा नयाँ मोडेलका गाडी आयात गर्न त्यति समस्या त छैन । तर, मोबिलिटी एक्स्पोमा बढी ल्याउनुपर्ने हुन्छ, तातोपानी भन्सारमा चाप बढी भएकाले चाँडो आउन सक्ने अवस्था छैन ।’ उनका अनुसार चीनबाट आयात गरिनुपर्ने नयाँ मोडेलको गाडी रसुवागढी नाका बन्द भएका कारण तातोपानी नाकाबाट ल्याउने प्रयास भइरहेको छ । तर, तातोपानी नाकामा पनि अत्यधिक चाप भएकाले भन्सार प्रक्रियामा ढिलाइ भइरहेको नकर्मीको भनाइ छ । ‘नयाँ मोडेलको गाडी चीनबाट छुटिसकेको छ । तर, भन्सारमा समय लाग्ने देखिन्छ । एक्स्पोका लागि समयमै आइपुग्छ कि पुग्दैन भन्ने निश्चित छैन,’ उनले भने । आयातका लागि आवश्यक कागजात प्रक्रियामा कुनै समस्या नभएको व्यवसायीहरू बताउँछन् । कागजातहरू गाडीसँगै आउने र बैंकमार्फत गरिने भुक्तानी प्रक्रिया पनि एकै दिनमा सकिने भएकाले मुख्य समस्या भन्सार नाकाको भौतिक व्यवस्थापनमै रहेको व्यवसायीहरूको भनाइ छ । जनशक्ति अभाव नाकामा बढेको चापलाई व्यवस्थापन गर्न जनशक्ति अभाव मुख्य चुनौतीको रूपमा देखिएको छ । भन्सार कार्यालयले जनशक्ति थप गर्नका लागि भन्सार विभागमा अनुरोध गरिसकेको छ । विभागले कर्मचारी सरुवाको तयारी गरिरहेको र चाँडै थप जनशक्ति उपलब्ध हुने कार्यालयले जनाएको छ । हालको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरूले बिहान ८ बजेदेखि नै काम सुरु गरेका छन् । सशस्त्र प्रहरी बलले पनि अतिरिक्त गोदाम सञ्चालनमा ल्याएर सामान भण्डारणमा सहयोग गरिरहेको भन्सार कार्यालयका सूचना अधिकारी काफ्लेले जानकारी दिए । भन्सार कार्यालयका अनुसार फलफूल र मसलाजन्य सामानलाई गोदाममा राखेर अन्य व्यावसायिक सामानको जाँचपासलाई निरन्तरता दिइएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले छिटोभन्दा छिटो गाडी पठाइदिन आग्रह गरिरहेको सुनाए । भन्सारमा समस्या बढ्न नदिन र जाँचपास प्रक्रियालाई सहज बनाउन तत्काल जनशक्ति थप्नुपर्ने माग सरकारसँग गरिरहेका उनको भनाइ छ । ‘कर्मचारीहरूले बिहान ८ बजेदेखि नै काम गरिरहनुभएको छ,’ उनले भने, ‘उज्यालो रहुञ्जेल सवारीसाधनलाई क्रमशः निकाल्ने काम भइरहेको छ । अहिले पाँच जनाले १० वटा गाडी चेक गर्छन् भने १० जना भए २० वटा गाडी जाँच गर्न सकिन्छ । त्यसैले जाँचपासलाई सहज बनाउन जनशक्ति थप्नुपर्छ ।’ उनले यस विषयमा सरकारी निकायलाई जानकारी गराइसकिएको पनि बताए । रसुवागढी नाका बन्द हुँदा तातोपानी नाकामा चौतर्फी दबाब सिर्जना भएको छ । भन्सार कार्यालय, सुरक्षा निकाय र व्यवसायीहरूबीच समन्वय गरेर चुनौतीलाई सामना गर्ने प्रयास भइरहेको छ । तर, पूर्वाधार र जनशक्तिको सीमितताका कारण आगामी दिनहरू थप चुनौतीपूर्ण बन्ने देखिन्छ ।
नाइमा मोबिलिटी एक्स्पोमा अधिकांश पुरानै मोडेलका गाडी राखिँदै, यी हुन् सहभागी हुने नयाँ मोडेल
काठमाडौं । यस वर्ष सवारीप्रेमीहरूले दुईवटा अटो शो अवलोकन गर्न पाउने भएका छन् । अटो व्यवसायीहरूबीचको संस्थागत विभाजनपछि पहिलोपटक स्थापना भएको ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको छ भने नाडाले पनि भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शो गर्न लागेको छ । नाइमाले अटो क्षेत्रलाई झल्कने गरी मोबिलिटी एक्स्पो गर्ने तयारी गरिरहेको छ भने नाडाले पनि नाइमाको मोबिलीटी एक्स्पोभन्दा केही फरक गर्ने रणनीतिका साथ योजना बनाइरहेको छ । यसअघि नाडा अटो शोमा सँगै काम गर्दै आएका अटो व्यवसायीहरुले यसपटक नाइमा खोलेर मोबिलिटी एक्सो पो गर्दैछन् । जसमा ५० भन्दा बढी ब्राण्डको सहभागिता हुनेछ । कुल ५० ब्राण्ड सहभागी हुने एक्स्पोमा ४८ स्टल रहने छन् । यसमध्ये चार पाङ्ग्रेका २१, दुई पाङ्ग्रेका १७ र व्यावसायिक सवारी साधन ब्राण्डका ७ वटा स्टल रहने छन् । एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड र डिजेल/पेट्रोल सवारी साधन प्रदर्शनी हुने व्यवसायीले बताएका छन् । एक्स्पोमा सहभागी हुने मोडेल बीवाईडी बीवाईडी विश्व प्रसिद्ध ब्राण्ड हो । बीवाईडी १ करोड चार पाङ्ग्रे उत्पादन गाडी उत्पादन गर्ने पहिलो गाडी निर्माता कम्पनी बनिसकेको छ । नेपालमा पनि यसका विभिन्न मोडेलहरु उपलब्ध छन् । नेपालमा सन् २०१७ मा ई-६ मोडेलसहित भित्रिएको बीवाईडीले हाल डल्फिन, एट्टो-३ र सिल जस्ता मोडेलहरूले तहल्का मच्चाइरहेको छ । यी गाडीहरूमा अत्यधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट पफर्मेन्सको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परिरहेका छन् । पर्याप्त प्रोडक्ट, नयाँ-नयाँ प्रविधिसहितका विभिन्न कार्यक्रम, सर्भिस सेन्टर लगायतले बीवाईडीलाई नेपाली अटो बजारको ईभीहरुको नेतृत्वकर्ता नै बनाइदिएको छ । उसो त बीवाईडीले ‘सामाजिक उत्तरदायित्व’ तर्फ गरेको लगानीको चर्चा हुने गरेको छ । सँगै, चार्जिङ स्टेशन तथा प्वाइन्टमा पनि बीवाईडीले राम्रो लगानी गरेको छ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एक्स्पोमा विभिन्न आफ्ना मोडेलहरु प्रर्दशनमा राख्ने जनाएको छ । साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ मोडल नयाँ प्रिमियम विद्युतीय एसयूभी ‘सिल लायन ७ सार्वजनिक गर्ने जनाएको छ । बीवाईडीका सेल्स हेड आशुतोष गौतमले ‘सिल लायन ७’ को सहभागिता निश्चित भएको बताए । उनका अनुसार यो नयाँ मोडेलका साथै कम्पनीका हाल बजारमा रहेका लोकप्रिय मोडलहरू एट्टो ३, डल्फिन, र ई६ पनि प्रदर्शनीमा राखिनेछन् । ‘नाइमामा हाम्रो नयाँ गाडी ‘सिल लायन ७’ प्रदर्शनमा रहनेछ । यो मोडेल नयाँ हो । यो बाहेक हाम्रा सबै पुराना र सफल मोडलहरू पनि अवलोकनका लागि उपलब्ध हुनेछन्,’ गौतमले भने । उनका अनुसार, ‘सिल लायन ७’ हाल नेपाल भित्र्याउने प्रक्रियामा रहेको छ र नाइमा एक्स्पोमार्फत पहिलो पटक नेपाली ग्राहकमाझ प्रस्तुत गरिनेछ । उनले हालसम्म ७ हजारभन्दा बढी गाडीहरू सडकमा गुडिरहेको जानकारी दिए । ग्राहकको सुविधालाई ध्यानमा राख्दै कम्पनीले देशभर आफ्नो सञ्जाल विस्तार गरेको उनको भनाइ छ । हाल देशभर २१ वटा सेल्स आउटलेट र ६० भन्दा बढी चार्जिङ स्टेशनहरू सञ्चालनमा रहेका छन् । सिट्रोन सिट्रोन सुन्दर कार निर्माणमा बहुचर्चित यूरोपियन ब्राण्ड हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ । नेपालको लागि सिट्रोनको आधिकारीक वितरक साँग्रिला मोटर्स हो । सिट्रोन ब्राण्ड अन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरु रहेका छन् । जसमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू–भी, मिनी-भ्यान र एसयू भी बहु चर्चित छन् । सिट्रोन ब्राण्ड पनि मोबिलिटी एक्स्पोमा सहभागी हुँदैछ । यस कम्पनीले मोबिलिटी एक्स्पोमा सिट्रोनका ‘सी३’, ‘ईसी३’ र ‘सी५ एयरक्रस’ मोडलहरू प्रर्दशनमा राख्नेछ । कम्पनीका मार्केटिङ म्यानेजर कुमुद नकर्मीका अनुसार एक्स्पोमा सिट्रोनको कुनै पनि नयाँ गाडी सार्वजनिक गरिने छैन । कम्पनीले भित्र्याउँदै गरेको अर्को ब्रान्ड ‘लिपमोटर’ को नयाँ गाडी ‘बी १०’ को सहभागिता मोबिलिटी एक्स्पो अघि नै आयात भएको खण्डमा प्रदर्शनमा राखिने जानकारी दिए । नभए पुरानै मोडेलहरु एक्स्पोमा राखिनेछ । उनका अनुसार चीनबाट आयात गरिनुपर्ने उक्त गाडी रसुवागढी नाका बन्द भएका कारण तातोपानी नाकाबाट ल्याउने प्रयास भइरहेको छ । तर, तातोपानी नाकामा पनि अत्यधिक चाप भएकाले भन्सार प्रक्रियामा ढिलाइ भएको नकर्मीको भनाई छ । ‘गाडी चीनबाट छुटिसकेको छ । तर, भन्सारमा समय लागेकाले एक्स्पोका लागि समयमै आइपुग्छ कि पुग्दैन भन्ने निश्चित छैन,’ उनले भने, ’यदि एक्स्पो सुरु हुनुभन्दा एक दिन अगाडिसम्म पनि गाडी आइपुगेमा हामी त्यसलाई प्रदर्शनीमा राख्नेछौँ ।’ ग्रेटवाल मोटर्स ग्रेटवाल मोटर्स बहुचर्चित चिनियाँ ब्राण्ड हो । पछिल्लो समयमा नेपालमा सबैभन्दा बढी गाडी चीनबाटै भित्रिने गरेका छन् । नेपालमा ग्रेटवाल मोटर्स गाडीको इतिहास पुरानो भएपनि अहिलेसम्म राम्रो ब्राण्डको रुपमा उसले आफुलाई स्थापित गर्दै लगेको छ । ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता भिजिइम्पेक्स प्रालिका अनुसार मोबिलिटीमा ‘ट्यांक ५००’ बाहेक जीडब्लूएमका अन्य दुई पुराना मोडलहरू पनि प्रदर्शनीमा राखिनेछन् । जसमा ‘ओरा ०३ ईभी’ र ‘ह्याभल’ एसयूभी समावेश हुने छन् । यी तीनवटै गाडी एक्स्पो अवधिभर अवलोकन तथा बुकिङका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । जीडब्लूएमले नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । हालसम्म देशभर आफ्नो नेटवर्कमार्फत ३ सयभन्दा बढी गाडी बिक्री गरिसकेको छ भने हाल नेपालभर ५ वटा शोरुम सञ्चालनमा छन् । जसमा शोरुमहरू काठमाडौं, विराटनगर, बुटवल, चितवन र पोखरामा रहेका छन् । यस्तै, नेपालगञ्जमा पनि छिट्टै नयाँ शोरुम खोल्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । आफ्ना सबै नेटवर्क शोरुमहरूबाट चार्जिङ र सर्भिसिङको सुविधा पनि प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ । ओमोडा ओमोडा चिनियाँ अटोमोबाइल कम्पनी ‘चेरी’ को अर्को ब्राण्ड हो । यसले उच्च गुणस्तरका कार खोज्ने उपभोक्ताहरूलाई लक्षित गरी फ्युचरिस्टिक गाडीहरू डिजाइन गरेको दाबी गरेको छ । अत्यधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनहरूको विकास गर्नु ओमोडा ब्रान्डको डिएनएमै रहेको कम्पनीको भनाइ छ । ओमोडा, उपभोक्ताहरूको परिवर्तनशील आवश्यकतालाई पहिल्याउँदै नयाँ पुस्ताका लागि पहिलो रोजाइको ब्रान्ड बन्न पुगेको छ । ओमोडा, विश्वव्यापी रूपमा युवापुस्ताको जीवनलाई अझ राम्ररी बुझ्नको लागि उनीहरूसँग संवादमा संलग्न हुँदै आइरहेको छ भने ओमोडाले ‘ओ–युनिभर्स’ इकोसिस्टमको अवधारणा सिर्जना गरेको छ । जुन ब्रान्ड र प्रयोगकर्ताहरूबीच सम्पर्क गर्न अनुकुल बनाउने प्रविधि हो । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स नेपालका लागि चेरी अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता हो । सन् २०२१ मा सुरु भएको यस कम्पनीले चीनस्थित चेरीको प्लान्टबाट गाडी आयात गर्दै आएको छ । हाल कम्पनीको नेपालभर १२ वटा बिक्री केन्द्रहरू रहेका छन् । कम्पनीका अनुसार एक्स्पोमा ‘जेको’ ब्रान्डको ‘जे५’ र ‘चेरी’ ब्रान्डको ‘आइकार भी२३’ लाई पहिलो पटक प्रर्दशनीमा राखिनेछ । यी दुई मोडल एक्सपोका मुख्य आकर्षण बन्ने अपेक्षा कम्पनीले गरेको छ । यसका साथै शारदा ग्रुपले आफ्ना अन्य स्थापित मोडेलहरू पनि प्रदर्शनीमा राख्नेछ । जसमा ‘ओमोडा ई५’ र ‘जेको जे६’ समावेश छन्, जुन पहिले नै लन्च भइसकेका गाडी हुन् । त्यस्तै, ‘जिकर’ ब्रान्डको ‘एक्स’ मोडल पनि अवलोकनका गर्न सकिनेछ । यसैबीच, पायोनियर मोटो कर्पले वितरण गर्दै आएको निशानको ‘म्याग्नाइट’ पनि सोही एक्सपोमा प्रदर्शनीका लागि राखिनेछ । यद्यपि, ‘म्याग्नाइट’ शारदा ग्रुप अन्तर्गत नभई पायोनियर मोटो कर्पको छुट्टै प्रस्तुति रहने कम्पनीले जनाएको छ । एक्सपोमा निशानको एउटा मात्र मोडल ‘म्याग्नाइट’ सहभागी हुनेछ । हुन्डाई हुन्डाई गाडी कोरियन ब्राण्ड हो । अटोमोबाइल कम्पनी हुन्डाई मोटर्स ग्रुप विश्वको तेस्रो ठूलो मोटर कम्पनी हो । यो ब्राण्डले सन् २०२२ मा तेस्रो ठूलो अटोमोबाइल कम्पनी बन्दा जापानी, युरोपियन र अमेरिकन ब्राण्ड पछाडि परेका थिए । ५८ वर्ष अगाडि स्थापना भएको हुन्डाई मोटर्स ग्रुपले हुन्डाई, किया र जेनिसस ब्राण्डमा कार उत्पादन गर्दै आएको छ । विश्वभर कम मूल्यका फिचर लोडेड कार उत्पादनमा हुन्डाईले ख्याति कमाएको छ । हुन्डाईको विश्वभर १९३ देशमा ५ हजारभन्दा बढी डिलरसिप तथा शोरुम रहेको जनाइएको छ । यस ब्राण्डले पनि नाइमा एक्स्पोमा आफ्नो स्टल बुकिङ गरेको छ । नाइमा एक्स्पोमा यस ब्राण्डका सबै मोडलहरु देख्न सकिने नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक दीपक थपलियाले हाल बजारमा रहेका सबै रेगुलर मोडलहरूलाई नै प्रदर्शनीमा राख्ने तयारी गरेको बताए । उनका अनुसार, एक्स्पोमा हुन्डाईका क्रेटा ईभी, नेपालमै बनेको क्रेटा, भेन्यु, आयोनिक ५, ग्रान्ड आई१० नियोस र एक्स्टर जस्ता गाडीहरू प्रदर्शनीमा रहनेछन् । यद्यपि, लक्ष्मी ग्रुपले हुन्डाईबाहेक नयाँ ब्रान्ड ‘फोरथिङ’ को ‘साइनियर’ नामक गाडी भने एक्सपोमार्फत सार्वजनिक गर्ने जनाएको छ । यो मोडेल नयाँ हो । निर्देशक थपलियाले नाडा अटो शोमा नभई नाइमा एक्सपोमा सहभागी हुने जानकारी दिए । हुन्डाईले नेपालमा आफ्नो वितरक अधिकार लिएदेखि हालसम्म ४८ हजारभन्दा बढी गाडी बिक्री गरिसकेको छ भने नेपाली अटो बजारमा आफ्नो हक जमाउन सफल भएको छ । हाल देशभर हुन्डाईका १३ वटा शोरुम र ६६ वटा ‘रिल्याक्स’ नामका चार्जिङ स्टेसनहरू सञ्चालनमा छन् । यी चार्जिङ स्टेसनहरू एसी र डीसी दुवै प्रविधिका छन् भने केही स्थानमा वर्कशपको सुविधासमेत उपलब्ध रहेको थपलियाले बताए । उनका अनुसार, तत्काल विदेशबाट अन्य नयाँ मोडल ल्याउने कुनै योजना छैन । एमजी एमजी पनि चिनियाँ ब्राण्ड हो । अहिले बजारमा रहेका चर्चित ब्राण्डमध्ये एमजीलाई पनि लिने गरिन्छ । नेपाली बजारमा विद्युतीय गाडी (ईभी) को क्रेज बढ्दै गर्दा एमजीले पनि उल्लेखनीय प्रदर्शन गरिरहेको छ । एमजीले सन् २०१९ मा नेपालमा पहिलो पटक ईभी भित्र्याएको थियो । त्यही सययदेखि कम्पनीले एमजी-४ लगायत निकै लोकप्रिय बनेको जेड-एस ईभी नेपाली बजारमा ल्याइसकेको कम्पनीले जनाएको छ । हालसालै नेपाल भित्र्याइएको एस-५ मोडलले बजारमा छुट्टै तहल्का पिटिरहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार व्यापारिक दृष्टिकोणले हेर्दा एमजीका ईभीहरू नेपाली बजारमा दिगो रूपमा स्थापित (सस्टेन) भएका मोडलहरूमा पर्छन् । आफुसँग उत्पादन ब्याकअप पनि मजबुत रहेको कम्पनीको भनाइ छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक्स्पोमा आफ्ना विभिन्न ब्राण्ड एमजी एस ५, एमजी कोमेट, एमजी विन्डसर तथा एमजी ४ प्रदर्शनमा राख्ने जनाएको छ । यसका साथै आइएम-सिक्स मोडल पनि राख्ने कम्पनीले जनाएको छ । यो एमजीको नयाँ मोडल हो । चार्जिङ संरचना विस्तारमा समेत एमजीले उल्लेखनीय लगानी गर्दै आएको छ । एमजीले देशभर एसी चार्जिङ स्टेसन १२ तथा डीसी चार्जिङ स्टेसन ११ गरी जम्मा २३ वटा रहेका छन् । महिन्द्रा नेपालमा उपलब्ध सवारी साधन ब्राण्डहरु मध्यको एक उत्कृष्ट ब्राण्ड हो महिन्द्रा । भारतीय ब्राण्ड महिन्द्राको उत्पादन विश्व बजारमा परिचित छ । जुन नेपाली बजारमा समेत निकै लोकप्रिय मानिन्छ । नेपालका लागि महेन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट प्रालि हो । विशेष गरी महिन्द्राका गाडीहरू बोलेरो, स्कार्पियो तथा थार कडा सडक, पहाडी भूगोल र ग्रामीण क्षेत्रमा सजिलै चल्ने गरी निर्माण गरिएका छन् । नेपाली जस्तो विविध भौगोलिक चुनौतीहरू सामना गर्न यी मोडलहरू निकै उपयोगी छन् । यसका साथै महिन्द्राका पिकअप ट्रक, बोलेरो, स्कार्पियो जस्ता मोडलहरू सरकारी कार्यालयहरू, सुरक्षा निकायहरू, तथा ग्रामीण यातायात सेवा (जस्तै ट्याक्सी र यात्रुवाहक) का लागि व्यापक रूपमा प्रयोग हुँदै आएका छन् । महिन्द्राले पछिल्लो समयमा आफ्ना गाडीहरूको डिजाइन, प्रविधि र सुरक्षा सुविधाहरूमा सुधार गरिरहेको छ । एक्स यूभी ७००, स्कर्पियो-एन जस्ता नयाँ मोडलहरूमा प्रिमियम डिजाइन, एडभान्स फिचरहरू र अत्याधुनिक सुरक्षा प्रविधिहरू समावेश छन् । महिन्द्राले ई२०, ईभेरिटो जस्ता विद्युतीय गाडी (ईभी) हरू नेपाली बजारमा पहिले नै ल्याइसकेको छ । नेपालमा महिन्द्राले बोलेरो, स्कार्पियो, थार, एक्स यूभी ३००, एक्स यूभी ७०० लगायतका मोडलहरूमार्फत बलियो उपस्थिति कायम गरेको छ । विक्री सञ्जाल, सजिलो मर्मत सेवा र स्पेयर पाट्र्सको पहुँचले गर्दा महिन्द्रा सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय ब्राण्ड बनेको छ । नाइमा एक्स्पोमा महेन्द्रा ब्राण्डका विभिन्न गाडीहरु देख्न पाइने छ । कम्पनीका अनुसार नयाँ दुई इलेक्ट्रीक एसयूभी ल्याउने छ । कम्पनीले बीई-सिक्स र एक्सईभी-नाइन यी मोडल ल्याउने तयारी गरिरहेको छ । यी मोडेल नयाँ हुन् । अहिले नेपालका सबै किसिमका सडकमा यसको परीक्षण भइरहेको कम्पनीले जनाएको छ । यसबाहेक एक्स्पोमा पुराना मोडेलहरु पनि राखिनेछन् । अहिले महिन्द्राले एक्सयूभी-४०० ईभी मोडल बिक्री गरिरहेको छ । किया किया दक्षिण कोरियाली चर्चित ब्राण्ड हो । कियाका गाडीहरू विश्वभर गुणस्तरीय निर्माण, सुरक्षा र मजबुत इन्जिनका लागि परिचित रहेको कम्पनीको दाबी छ । कियाका मोडलहरू प्रायः आकर्षक डिजाइन र आधुनिक इन्टेरियरका साथ आउने गरेका छन् । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नाइमा एक्सोमा कियाले पनि सहभागिता जनाउनेछ । कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा कियाले पनि नयाँ एसयूभी ईभी–फाइभ देखाउने तयारी गरिरहेको छ । अहिले एक युनिट ईभी-फाइभ भन्सार बिन्दुमा आइपुगेको जनाएको छ । त्यसैलाई ल्याएर एक्स्पो मार्फत सार्वजनिक गर्ने योजनामा कन्टिनेन्टल ट्रेडिङ छ । यो नयाँ मोडेल हो । प्रोटोन मलेशियाको चर्चित ब्राण्ड प्रोटोन हो । प्रोटोनको मुख्य बजार मलेशिया र बेलायत भए तापनि, हालसम्म कम्पनीले ७० भन्दा बढी मुलुकहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने यो क्रम अझ बढ्दै गएको कम्पनीले जनाएको छ । यस कम्पनीका अनुसार उत्तर अमेरिका, युरोप, चीन र दक्षिण–पूर्वी एसियामा गरी कम्पनीका ९ वटा अनुसन्धान केन्द्रहरू तथा ९ वटा डिजाइन केन्द्रहरू सञ्चालनमा छन् । प्रोटोनले आफ्नो अत्यधिक बिक्री भएको ब्राण्ड हो । जुन हाल नेपाली बजारमा देख्न सकिन्छ । उक्त गाडी नेपालका लागि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्रालिले बिक्री गरिरहेको छ । यसको मुख्य उत्पादन केन्द्र भने मलेशियाको तान्जुङ् मलिम सहरमा अवस्थित रहेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरेका प्रत्येक गाडीमा नवीनतम अन्तर्राष्ट्रिय प्रविधिको समावेश रहेको उल्लेख गरेको छ । ठूला अटो ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न प्रोटोनले प्रविधि अनुसन्धानमा अर्बौं रुपैयाँको लगानी गर्दै आएको जनाइएको छ । कम्पनीका अनुसार, प्रोटोनका गाडीहरूले सुरक्षित, आरामदायी र सुलभ यात्रा अनुभव प्रदान गर्ने उद्देश्य राखेका छन् । ३५ वर्षभन्दा बढीको अनुभवसहित उच्चस्तरीय गाडी उत्पादन गर्दै आएको प्रोटोनले हालसम्म २७ ओटा मोडल बजारमा ल्याइसकेको छ । यो ब्राण्डले पनि नाइमा एक्स्पोमा सहभागि हुनेछ । जगदम्बा मोटर्स प्रालिका अनुसार एक्स्पोमा ईमास ७ मोडेलका दुईवटा भेरियन्ट प्राइम र प्रिमियम सहभागि हुनेछन् । यसमा पाँच रङ्गहरू छन् । जसमा प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट रहेका छन् । हालसम्म जगदम्बा मोटर्सले ४६ वटा गाडी बिक्री गरिसकेको छ । यसका साथै जर्मन ब्राण्ड फक्सवागेनले कम्प्याक्ट सेडान कार सेग्मेन्टमा भारतमा बनेको ‘भर्टुस’ मोडल नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल प्रालिले एक्सपोमा भर्टुस सार्वजनिक गर्ने जनाएको छ । जर्मन ब्राण्ड फक्सवागेनले भारतमा उत्पादन गरेको भर्टुसमा १.० लिटर टीएसआई इन्जिन रहने छ । यसअघि टाइगुनमा दिएको उक्त इन्जिन टर्बो चार्ज्ड, थ्री सिलिण्डर हो । यो नयाँ मोडेल हो । फक्सवागनले आफ्नो नयाँ सेडान भर्टुसको अगाडिको डिजाइन निकै सार्प बनाएको कम्पनीको दाबी छ । टोयोटा टोयोटा जापानी ब्राण्ड हो । यस ब्राण्डलाई हाइब्रिड प्रविधिमा विश्वकै अग्रणी कम्पनीका रुपमा लिइन्छ । सन् १९९७ मा ल्याइएको टोयोटा प्रियस पहिलो व्यावसायिक हाइब्रिड कार हो । जसले ईभीको युग सुरु गरेको थियो । नेपालका लागि टोयोटा ब्राण्डको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स प्रालि हो । जसले नेपाली बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । टोयोटा गाडीहरू कम बिग्रने, मर्मत खर्च न्यून हुने र लामो समयसम्म चल्ने गाडीका रूपमा परिचित छन् । त्यसैले एक पटक किनेपछि नहेर्नु पर्ने गाडी भन्ने छवि यस ब्राण्डले बनाएको कम्पनीको दाबी छ । नेपालमा टोयोटाले हाइलक्स, आरएभी४, फच्र्युनर, ल्याण्ड क्रुजर प्राडो जस्ता मोडलमार्फत राम्रो बजार जमाएको छ । हाइब्रिड गाडीप्रति बढ्दो आकर्षणसँगै टोयोटा अहिले फेरि चर्चामा छ । कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाका विभिन्न ब्राण्डहरु राख्नेछ । कम्पनीका अनुसार टोयोटाले नाइमा मोबिलिटी एक्स्पोमा पुरानै तीन मोडेल राख्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुइटा मोडेलको यकिन भएको तर तेस्रो कुन मोडेल राख्ने भन्ने यकिन भएको छैन् । दुइटा मोडेलहरुमा ल्याण्ड क्रूजर र ल्याण्ड क्रूजर २५० ल्याउने बताएको छ ।
टाटा पञ्च ईभीको क्रेज बढ्दै, १२ सयभन्दा बढी बिक्री
काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा विद्युतीय गाडी (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । बदलिँदो विश्वव्यापी परिवेश र इन्धनको बढ्दो मूल्यका बीच ईभीहरू सहरी उपभोक्ताका लागि एक स्मार्ट विकल्प बनिरहेका छन् । अझ भन्नुपर्दा नेपालमा दशकौंदेखि टाटा मोटर्सका गाडी सबैतिर गुडिरहेका देखिन्छन् । यही दौडमा, पञ्च ईभीले नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जमाएको छ । यो ईभी हाल नेपालमा सबैभन्दा बढी बिक्री हुने ईभी मध्ये एक बनेको छ । हुन त कुनै पनि उत्पादनको सफलताको पछाडि कम्पनीको विरासत र ग्राहकको विश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ । टाटा पञ्च ईभीको हकमा पनि यही लागू हुन्छ । सिप्रदी ट्रेडिङ प्रालिका उप-प्रबन्धक सुजन कार्की भन्छन्, ‘सफलताको एउटा प्रमुख कारण टाटा ब्रान्ड प्रतिको विश्वास हो । हामीले लगभग २० वर्षभन्दा बढी समयदेखि पेट्रोल-डिजेल गाडी र विगत ५ वर्षदेखि ईभी गाडी नेपालमा ल्याइरहेका छौँ ।’ ४० वर्षभन्दा पुरानो सिप्रदीको आफ्नै विश्वसनीयता र टाटाको बलियो ब्रान्ड छविका कारण ग्राहकहरूले सजिलै भरोसा गर्ने वातावरण बनेको हो । अटो मोबाइल बजारमा एक किसिमले नेतृत्व नै गरिरहेको टाटाले पन्च ईभी नेपाली बाटो र माटोमा सुहाउँदो रहेको कम्पनीको भनाइ छ । तर, यसमा विश्वास मात्रै पर्याप्त छैन । कम्पनीले ईभीका लागि आवश्यक पूर्वाधारमा गरेको लगानी अर्को महत्त्वपूर्ण पक्ष हो । कम्पनीले छुट र अफरमा मात्र केन्द्रित नभई चार्जिङ स्टेसन र सर्भिस सेन्टरको सञ्जाल विस्तारमा समेत जोड दिएको छ । आधिकारिक वितरक रहेको सिप्रदीको यो ईभी तीन भेरिएन्टमा उपलब्ध छ । टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्लस एस एमआरको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३७ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३९ लाख ९९ हजार पर्ने गरेको छ । कम्पनीले अफर अन्तर्गत ग्राहकहरूलाई एक पन्च ईभीमा १ लाख रुपैयाँसम्मको नगद छुट दिने गरेको जनाएको छ । नेपाली सडक सुहाउँदो डिजाइन र फिचर कम्पनीका उप-प्रबन्धक कार्कीका अनुसार टाटा पञ्च ईभीलाई एक ‘कम्प्याक्ट एसयुभी’ को रूपमा डिजाइन गरिएको छ । जुन सरहरको भीडभाडदेखि हल्का अफ–रोडसम्मका लागि उपयुक्त छ । यसको १९० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका खाल्डाखुल्डीयुक्त सडकमा गाडी ठोक्किने चिन्ता कम गर्छ । ‘यो गाडी सिटी एरिया र अफ-रोड दुवैलाई सुट हुन्छ,’ उनले थपे, ‘साइजमा धेरै ठूलो नभए पनि यसमा एसयुभीका गुणहरू छन् । यसबाहेक, गाडीको ढोका ९० डिग्रीसम्म खुल्ने हुँदा उमेर ढल्केका र बिरामी मानिसहरूलाई पनि गाडीभित्र पस्न र निस्कन निकै सहज हुन्छ ।’ टाटाले आफ्ना गाडीहरूमा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । पञ्च ईभीले भारत एनक्याप ( नयाँ कार मूल्याङ्कन कार्यक्रम) बाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जसले यसलाई आफ्नो सेगमेन्टमा सबैभन्दा सुरक्षित गाडीहरूमध्ये एक बनाउँछ । यसको बेस मोडेलदेखि नै ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम (इएसपी ), हिल होल्ड कन्ट्रोल जस्ता सुरक्षा फिचरहरू उपलब्ध छन् । यसका साथै, ३६०–डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता प्रिमियम फिचरहरूले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउँछ । चार्जिङ र सर्भिसको चिन्ता मुक्ती ईभी खरिदकर्ताको सबैभन्दा ठूलो चिन्ता ‘रेन्ज एन्जाइटी’ र चार्जिङ पूर्वाधारको अभाव हो । यसलाई समाधान गर्न सिप्रदीले देशव्यापी रूपमा एक बलियो चार्जिङ सञ्जाल स्थापना गरेको छ । ‘अहिले हामीसँग १८५ भन्दा बढी चार्जिङ स्टेसन छन्, जसमा ३० भन्दा बढी फास्ट चार्जरहरू छन्,’ उपप्रबन्धक कार्कीले भने, ‘ग्राहकले पूर्वको बिर्तामोडदेखि पश्चिमको धनगढीसम्म ढुक्क भएर यात्रा गर्न सक्नुहुन्छ ।’ कम्पनीले ‘सजिलो चाजर्’ नामक मोबाइल एप पनि उपलब्ध गराएको छ, जसबाट ग्राहकले नजिकको चार्जिङ स्टेसनको अवस्था (खाली छ वा व्यस्त) र लोकेसनबाटै सजिलै हेर्न सक्छन् । त्यसैगरी, कम्पनीका अनुसार देशभर २० भन्दा बढी ईभी-डेडिकेटेड सर्भिस सेन्टरहरू छन्, जहाँ तालिम प्राप्त प्राविधिकहरू उपलब्ध छन् । यसले गाडीको मर्मतसम्भारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता हटाएको छ । ब्याट्रीको चिन्ता र समाधान ईभीको सबैभन्दा महँगो पार्टस् ब्याट्री हो, र यसको मर्मत वा प्रतिस्थापन महँगो हुने चिन्ता ग्राहकमा हुन्छ । यसलाई सम्बोधन गर्न सिप्रदीले नेपालमै ब्याट्री डाइग्नोस्टिक एन्ड रेस्टोरेसन फ्यासिलिटी स्थापना गरेको छ । ‘हामी ब्याट्रीसँग सम्बन्धित समस्या नेपालमै समाधान गर्न सक्छौँ, जसले गर्दा ग्राहकलाई भोलि लामो समयसम्म आउने खर्च कम हुन्छ,’ उनले भने । कम्पनीले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ । जसले ग्राहकलाई थप विश्वस्त पारेको छ । कम्पनीले अहिलेसम्म १२ सयभन्दा बढी पञ्च ईभी बिक्री गरिसकेको छ । ग्राहकहरूले विशेषगरी यसको न्यून मर्मत खर्च, पेट्रोल-डिजेल भर्नु नपर्ने झन्झटबाट मुक्ति र चलाउन सहज भएकोमा सन्तुष्ट छन् । अटोमेटिक गियर सिस्टमले गर्दा सहरको ट्राफिकमा ड्राइभिङ निकै आरामदायी हुने कम्पनीको भनाइ छ । एक ग्राहकले अर्कोलाई सिफारिस गर्ने क्रम (रिफरेन्स सेल्स) बलियो हुनुले पनि बजारमा यसको सकारात्मक प्रभाव परेको देखिन्छ । टाटा पञ्च ईभीको सफलता कुनै एक कारणले मात्र सम्भव भएको होइन । यो टाटा र सिप्रदीको बलियो विश्वास, नेपाली सडक सुहाउँदो उत्पादन, सुरक्षामा दिइएको प्राथमिकता, र सबैभन्दा महत्त्वपूर्ण, चार्जिङ र सर्भिसको देशव्यापी सञ्जालको संयुक्त परिणाम रुपमा लिन सकिन्छ । ग्राहकको चिन्तालाई बुझेर त्यसको समाधानसहित बजारमा प्रस्तुत भएका कारण नै पञ्च ईभीले नेपाली बजारमा दमदार ‘पञ्च’ स्थापित गर्न सफल भएको छ ।
देशकै पहिलो चार लेनको पुल, पुससम्म निर्माण सक्ने रणनीति
काठमाडौं । मुग्लिङ-पोखरा राजमार्गअन्तर्गत तनहुँको मादी नदीमा निर्माणाधीन नेपालकै पहिलो चार-लेनको आधुनिक पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डिजाइन तथा जग्गा अधिग्रहणका केही प्रक्रियागत ढिलाइ भए पनि हालसम्म ७१ प्रतिशत प्रगति हासिल भएको र आउँदो हिउँदसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ । मुग्लिङ-पोखरा सडक आयोजना (पूर्वी खण्ड) का अनुसार ३१८ मिटर लम्बाइको यो पुल १ अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हो । यो पुल नेपालमा निर्माण भएको पहिलो चार-लेनको ‘नेटवर्क आर्च ब्रिज’ हो, जसले यात्रालाई सहज बनाउनुका साथै पर्यटकीय दृष्टिकोणले पनि सुन्दर देखिनेछ । आयोजना (पूर्वी खण्ड) का प्रमुख प्रकाशचन्द्र भण्डारीले यो पुल ‘डिजाइन-बिल्ड’ अवधारणामा निर्माण भइरहेको हो, जसमा डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै रहेको जानकारी दिए । ‘यो पुल नेपाली प्राविधिक र निर्माण व्यवसायीका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा हो,’ भण्डारीले भने, ‘यसले हाम्रो आत्मविश्वास बढाएको छ ।’ पुलको कुल ६ स्प्यानमध्ये बीचका दुई स्प्यान काठमाडौंको बिजुलीबजारस्थित पुलजस्तै ‘नेटवर्क आर्च’ डिजाइनमा छन्, भने बाँकी चार स्प्यान आरसीसी बक्स गर्डर प्रकृतिका हुन् । आयोजनाको सुरुमा डिजाइन स्वीकृत हुन १३ महिना लागेको थियो, जसले गर्दा निर्माण तालिका केही पछि धकेलिएको थियो । यस बाहेक, पुलको दुवैतर्फ जग्गा अधिग्रहण र संरचना हटाउने काम मुख्य चुनौतीको रूपमा रहेको प्रमुख भण्डारीले बताए । आयोजना प्रमुख भण्डारीका अनुसार, पोखरा तर्फको पुलको पहुँचमार्गका लागि आठ वटा घरजग्गाको मुआब्जा निर्धारण गरी वितरण सुरु भइसकेको छ । त्यस्तै, दमौलीतर्फ सडक डिभिजन कार्यालयको परिसरबाटै राजमार्ग जाने भएकाले उक्त कार्यालयका भवनहरू हटाएर नयाँ बनाउनुपर्ने अवस्था छ । ‘यी सबै प्रक्रियागत कामहरू समाधानको चरणमा छन्,’ उनले भने, ‘मनसुन सकिनेबित्तिकै बीचको स्प्यानको काम ३-४ महिनाभित्र सकिनेछ र आउँदो मंसिर-पुससम्ममा पुल सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’ निर्माण कम्पनी अनक कन्स्ट्रक्सन र चिनियाँ साझेदार जेडीआईसी जेभीका तर्फबाट साइट म्यानेजर दिनेश कुमार श्रेष्ठले पनि डिजाइन स्वीकृतिमा भएको ढिलाइले सुरुमा केही समस्या भए पनि अहिले कामले गति लिएको बताए । उनका अनुसार पुलको कुल लम्बाइ र पहुँचमार्गसहित ८४५ मिटर सडकखण्ड निर्माण गर्नुपर्नेछ । ‘जग्गासम्बन्धी समस्या समाधान हुनासाथ हामीलाई ६ देखि ९ महिनाको कार्यअवधि चाहिन्छ,’ श्रेष्ठले भने, ‘हामी अर्को आर्थिक वर्षभित्र काम सम्पन्न गर्न प्रतिबद्ध छौँ ।’ विशेषगरी पुल निर्माणका लागि आवश्यक उच्च गुणस्तरको निर्माण सामग्री (एम-५० ग्रेडको कङ्क्रिट) का लागि मादी नदीको स्रोत अपर्याप्त भएपछि सेती नदीबाट समेत सामग्री ल्याएर प्रयोग गरिएको आयोजनाले जनाएको छ । हाल सञ्चालनमा रहेको मादी पुल दुई लेनको छ । यसको लम्बाइ ३७० मिटर छ । कुल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन-पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु गरिएको थियो । २०२२ सेप्टेम्बरमा सम्झौता भएको यो पुलको निर्माण अवधि २०२५ सेप्टेम्बरसम्म भए पनि आयोजनाले निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने विश्वास लिएको छ । यो पुलको निर्माण सम्पन्न भएपछि मुग्लिङ-पोखरा राजमार्गको यात्रा थप सहज, छिटो र सुरक्षित हुनेछ ।
११ हजार मेगावाटको पीपीए सम्पन्न, ८ हजार मेगावाट निर्माणको चरणमा
काठमाडौं । एक दशकअघिसम्म लोडसेडिङको अँध्यारोमा डुबेको नेपाल आज ऊर्जामा आत्मनिर्भर हुँदै निर्याततर्फ लम्किरहेको छ । यो यात्राको मेरुदण्ड हो, विद्युत खरिद बिक्री सम्झौता (पीपीए), जसले निजी क्षेत्रलाई जलविद्युतमा लगानी गर्न आकर्षित गर्यो । आज त्यही पीपीएको जगमा नेपालको ऊर्जा क्षेत्रले छलाङ मारिरहेको छ । तर यसभित्र पनि विभिन्न कठिनाइहरू छन् । नेपालमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको कुल जडित क्षमता ११ हजार २ सय ८३ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभागका निर्देशक कमल आचार्यका अनुसार पीपीए सम्पन्न भएकामध्ये करिब ८ हजार मेगावाटका आयोजनाहरू निर्माणका विभिन्न चरणमा छन् । यसलाई निर्माण सुरु भएका आयोजना तथा लगानी जुटाउने चरणका आयोजना गरेर दुई श्रेणीमा विभाजन गरिएको छ । जुन निर्माण सुरु भएका आयोजनामा कुल २९८ वटा छन् । जसको क्षमता करिब ४ हजार मेगावाट रहेको छ भने यी आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरी पूर्ण रूपमा निर्माणको चरणमा प्रवेश गरेका छन् । लगानी जुटाउने चरणका आयोजनामा कुल २५८ वटा आयोजना छन् । जसको क्षमता पनि करिब ४ हजार मेगावाट छ । यी आयोजनाको पीपीए सम्पन्न भए पनि लगानी सुनिश्चित गर्न बाँकी छ । प्राधिकरणको नियमअनुसार पीपीए भएको दुई वर्षभित्र लगानी जुटाएर निर्माणमा जानुपर्ने हुन्छ । यसरी हेर्दा, पीपीए भएर निर्माण र लगानी जुटाउने प्रक्रियामा रहेका आयोजनाको संख्या मात्रै ५५६ पुगेको छ, जसले भविष्यमा नेपालको ऊर्जा क्षेत्रमा ठूलो हिस्सा ओगट्नेछ । ५५० मेगावाट थपियो आचार्यका अनुसार हालसम्म प्राधिकरण र निजी क्षेत्रका गरी कुल ३ हजार ५ सय ५० मेगावाट क्षमताका आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । यसमध्ये प्राधिकरणको स्वामित्वका पुराना आयोजनाहरूको क्षमता करिब ६ सय मेगावाट छ भने बाँकी २ हजार ८ सय मेगावाटभन्दा बढी निजी क्षेत्रबाट पीपीए भएर प्रणालीमा जोडिएको विद्युत हो । चालु आर्थिक वर्ष २०८०/८१ मा मात्रै करिब ५ सय ५० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यो मुलुकको वार्षिक १० प्रतिशत (करिब ३ सय ५० मेगावाट) को माग वृद्धिको तुलनामा उल्लेख्य प्रगति हो । यसबाहेक, करिब ३ सय मेगावाट क्षमताका आयोजनाहरू (म्याग्दी कोरिडोर, सोलु, भोटेकोसी आदि) परीक्षणको अन्तिम चरणमा रहेकाले आगामी आर्थिक वर्षको सुरुवातसँगै प्रणालीमा जोडिनेछन् । बजार र प्रसारण लाइन मुख्य चुनौती प्राधिकरणले हाल साँझको समयमा हुने विद्युतको उच्च मागलाई सम्बोधन गर्न सक्ने पिकिङ रन अफ रिभर (पीआरओआर) आयोजनालाई पीपीएमा प्राथमिकता दिएको छ । कम्तीमा २ देखि ६ घण्टासम्म पानी जम्मा गरेर आवश्यक परेका बेला विद्युत उत्पादन गर्न सक्ने यस्ता आयोजनाले प्रणालीलाई स्थायित्व दिने विश्वास गरिएको छ । विगतमा यस्ता आयोजना कम बन्दा साँझको समयमा विद्युत व्यवस्थापनमा चुनौती देखिएकाले अब ‘इनर्जी मिक्सिङ’ को सिद्धान्तअनुसार यस्ता आयोजनालाई अघि बढाइएको विद्युत व्यापार विभागका निर्देशक आचार्यले जानकारी दिए । उनका अनुसार पीपीएको गति सन्तोषजनक भए पनि यसको कार्यान्वयनमा मुख्य चुनौतीका रूपमा प्रसारण लाइनको अभाव देखिएको छ । सामाजिक समस्या र लामो निर्माण प्रक्रियाका कारण समयमा प्रसारण लाइन र सबस्टेसन नबन्दा पीपीए भएका आयोजनाको विद्युत प्रणालीमा जोड्न कठिनाइ भइरहेको उनको भनाइ छ । उनले भने, ‘उत्पादित विद्युत खपतका लागि बजारको सुनिश्चितता अर्को प्रमुख चुनौतीका रुपमा देखिएको छ । भारत र बंगलादेशमा विद्युत निर्यातको दीर्घकालीन योजना भए पनि कतिपय चिनियाँ लगानी वा ठेकेदार संलग्न भएका आयोजनाको विद्युत भारतीय नियमअनुसार खरिद गर्न नमिल्ने हुँदा समस्या भइरहेको छ । यस्ता आयोजनाको विद्युत आन्तरिक खपत बढाएरै व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’ उनका अनुसार समयमै प्रसारण पूर्वाधार नबन्दा निर्माण सम्पन्न भएका आयोजनाको विद्युतसमेत खेर जाने जोखिम छ । यस्तै, उत्पादित विद्युतको बजार सुनिश्चितता अर्को प्रमुख विषय हो । भारत र बंगलादेशमा निर्यातको ढोका खुले पनि भारतीय नियमअनुसार चिनियाँ लगानी वा ठेकेदार रहेका आयोजनाको विद्युत खरिद नहुने हुँदा त्यस्तो विद्युत आन्तरिक बजारमै खपत बढाएर व्यवस्थापन गर्नुपर्ने बाध्यता प्राधिकरणले जनाएको छ । ४ हजार ८ सय मेगावाटको पीपीए खाेल्ने प्राधिकरणले भविष्यको माग र सरकारको १० वर्षमा २८ हजार ५ मेगावाट उत्पादनको लक्ष्यलाई सघाउन थप ४ हजार ८ सय मेगावाट क्षमताका लागि पीपीएको ढोका खोलेको छ । प्रसारण लाइन र सबस्टेसनको उपलब्धताका आधारमा प्राथमिकता निर्धारण गरी क्रमशः यी आयोजनासँग सम्झौता गरिने प्राधिकरणले जनाएको छ । पीपीएको संख्या बढाउनुभन्दा पनि त्यसलाई धान्न सक्ने ४ सय केभीका प्रसारण लाइन र सीमापार प्रसारण पूर्वाधार निर्माणमा सरकारले लगानी सुनिश्चित गर्नुपर्नेमा विभागका निर्देशक आचार्यले जोड दिए । उनका अनुसार, पूर्वाधार निर्माणमा हुने ४/५ वर्षको ढिलाइले भविष्यमा पीपीए रोकिने अवस्था आउन सक्नेतर्फ सचेत हुनु आवश्यक छ । पीपीए के हो ? पीपीए अर्थात् विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादक र खरिदकर्ताबीच गरिने एक कानुनी सम्झौता हो । यस सम्झौतामा निश्चित अवधिका लागि विद्युत्को मूल्य, परिमाण र खरिद-बिक्रीका अन्य शर्तहरू स्पष्ट रूपमा तोकिएका हुन्छन् । नेपालको सन्दर्भमा सर्वसाधारणलाई विद्युत् बिक्री गर्ने एकमात्र आधिकारिक निकाय नेपाल विद्युत् प्राधिकरण हो । प्राधिकरण आफैँले पनि विद्युत् उत्पादन गर्छ र अपुग विद्युत् निजी क्षेत्रका उत्पादकहरूबाट खरिद गरेर उपभोक्तालाई वितरण गर्दछ । यसरी प्राधिकरणले निजी कम्पनीहरूबाट विद्युत् खरिद गर्नका लागि गर्ने सम्झौतालाई नै विद्युत् खरिद सम्झौता (पीपीए) भनिन्छ । पीपीए किन आवश्यक छ ? पीपीए उत्पादक, खरिदकर्ता र समग्र देशको ऊर्जा क्षेत्रका लागि विभिन्न कारणले महत्त्वपूर्ण छ । पीपीएले लगानी सुरक्षा र वित्तीय सहजीकरण गर्न मद्दत गर्दछ भने जलविद्युत् जस्ता परियोजनामा ठूलो लगानी आवश्यक पर्छ । पीपीएले निश्चित अवधि र मूल्यमा विद्युत् बिक्री हुने ग्यारेन्टी प्रदान गर्छ, यही ग्यारेन्टीको आधारमा लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट सजिलै ऋण प्राप्त गर्न सक्छन्, जसले गर्दा लगानी सुरक्षित हुन्छ । यसैगरी बजारमा विद्युतकाे मूल्यमा आउने उतारचढावको जोखिमबाट पीपीएले क्रेता र विक्रेता दुवैलाई जोगाउँछ। सम्झौतामा पहिले नै मूल्य तय हुने हुँदा दुवै पक्ष वित्तीय रूपमा सुरक्षित हुन्छन् । खरिदकर्ता-नेपालमा विद्युत् प्राधिकरण) लाई निश्चित अवधिभर कति विद्युत् उपलब्ध हुन्छ भन्ने पहिले नै थाहा हुन्छ । यसले विद्युत् आपूर्ति प्रणालीको व्यवस्थापन गर्न र दीर्घकालीन योजना बनाउन मद्दत पुग्छ । पीपीएको स्थिर र पारदर्शी व्यवस्थाले विद्युत् उत्पादनमा निजी क्षेत्रको लगानीलाई आकर्षित गर्छ । जसले देशको कुल विद्युत् उत्पादन क्षमता बढाउन, ऊर्जामा आत्मनिर्भरता हासिल गर्न र भविष्यमा विद्युत् निर्यातको सम्भावनालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
प्रगति प्रतिवेदन सुनेर हौसिएको सरकारी टोली जब दाउन्ने पुगेर झस्कियो
काठमाडौं । दाउन्नेको उकालोमा रहेको आफ्नो होटलको खाली कुर्चीतिर हेर्दै पदमबहादुर पोखरेल सुनाउँछन्, ‘कुनै बेला मेरो होटलमा यति भीड हुन्थ्यो कि बस्ने ठाउँ मिलाउन हम्मेहम्मे पर्थ्याे ।’ तर, अहिले ? अहिले अवस्था त्यस्तो छैन । आउ ! निःशुल्क खाउ भने पनि उनको होटलमा बस्ने ग्राहक पाइने अवस्था छैन । विगतमा राजमार्गमा गुड्ने गाडीहरू उनको होटल अगाडि लहरै रोकिन्थे । यात्रुहरू खाना-खाजा खान झुम्मिन्थे । तर अहिले उनको होटलमा गाडी र ग्राहकभन्दा बढी हिलो र धुलोको जाम छ । उनको व्यापार सुस्त छ, सडक सुनसान र पदमबहादुर निराश छन् । ‘पहिला त मान्छे गन्नै सकिँदैनथ्यो, अहिले गाडीहरू यो बाटो चल्नै छाडे,’ उनी निराश हुँदै भन्छन्, ‘सात वर्ष भयो, यही धुलो र धुवाँ खाएर बसेको । व्यापार सुकिसक्यो ।’ उनले यो सकस भोग्नुको कारण हो- दाउन्ने-बुटवल सडक । अहिले यो सडक हिलाम्मे र धुलाम्मे छ । राजमार्गमा गुड्ने अधिकांश सवारी साधन यही सडकको सास्तीका कारण रुट परिवर्तन गरेर पोखरा हुँदै काठमाडौं आउँछन् । पदमबहादुर पोखरेल जसरी पदमबहादुरले हामीसँग सडकको कारण पाएको सास्ती सुनाए, त्यो सास्ती सडकमा गुड्ने लाखौं यात्रु र व्यापार व्यवसाय गरिरहेका हजारौं व्यवसायीले पनि भोगिरहेका छन् । वर्षौंदेखि निर्माण कार्य अलपत्र पर्दा यो राजमार्ग यात्रा गर्ने स्थानीयका लागि ठूलो सास्ती बनेको छ । प्रतिवेदनमा प्रगति, सडकमा सास्ती यो धुलाम्मे यथार्थभन्दा केही किलोमिटर पर, सरकारी प्रतिवेदनमा भने विकासको अर्कै उज्यालोको कथा छ । यही उज्यालोको कथा सुनाउन सरकारले केही सञ्चारकर्मीलाई तीन दिन लगाएर यही सडकमा घुमायो । भौतिक पूर्वाधार मन्त्रालय र निर्माण व्यवसायी महासंघको सहकार्यमा केही सञ्चारकर्मीलाई लगेर यही सडकको प्रगति देखायो । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो प्रगति विवरण सुनायो । डिभिजन प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल भएको छ । ५१ मध्ये ४६ वटा ठेक्का सम्पन्न भइसकेका छन् । गोन्द्राङ–पुल्चोक ६ लेन सडक र हुलाकी राजमार्गका महत्वपूर्ण खण्डहरू कालोपत्रे भए । कागजमा हेर्दा, विकासले साँच्चै गति लिएको देखिन्छ । तर, दाउन्ने बुटवलको सडकको दुर्दशा भने बयान गरेर साध्य छैन । कागजी प्रगतिको फेहरिस्त सुनेर उत्साहित भएर अनुगमनका लागि हिँडेको सरकारी टोली दाउन्ने पुगेर झसङ्ग भयो । केही घण्टा अघि आफ्नै कर्मचारीले सुनाएको प्रगतिको प्रतिवेदन उच्च सरकारी अधिकारीलाई फिक्का मात्रै होइन नमीठो लाग्यो । एकातिर सरकारी सफलताको तथ्याङ्क, अर्कोतिर पदमबहादुर जस्ता व्यवसायीको उजाडिएको व्यापार । विकासको यो विरोधाभासले एउटा गम्भीर प्रश्न जन्मायो, आखिर समस्या कहाँ छ ? यसको जवाफमा निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल भन्छन्, ‘सबै दोष व्यवसायीलाई मात्र दिएर हुँदैन । हामीले समयमा काम गर्न नचाहेका होइनौं, सरकारी निकायबीच समन्वयको अभाव र प्रशासनिक झन्झटले आयोजनाहरूलाई बन्धक बनाएको छ ।’ उनको भनाइले स्पष्ट पार्छ कि दाउन्ने सडकको ढिलाइ केबल ठेकेदारको लापरबाहीको परिणाम होइन, यो राज्य संयन्त्रको असफलताको पनि प्रतिविम्ब हो । ‘सिंहदरबार गाउँमा आयो भनिन्छ, तर एउटा सामान्य स्वीकृतिका लागि महिनौं कुर्नुपर्छ । यस्तो अवस्थामा कसरी समयमा काम सकिन्छ ?’ उनले प्रश्न गरे । उनको भनाइले स्पष्ट पार्छ कि दाउन्ने सडकको ढिलाइ केबल ठेकेदारको लापरबाहीको परिणाम होइन, यो राज्य संयन्त्रको असफलताको पनि प्रतिविम्ब हो । यो संयुक्त अनुगमनले सरकारी फाइलमा सीमित विकास र नागरिकले भोगिरहेको यथार्थबीचको पर्खाललाई सतहमा ल्याइदिएको छ । भरतपुर डिभिजनको प्रगति आफ्नो ठाउँमा सह्रानीय होला, तर जबसम्म दाउन्ने जस्ता राष्ट्रिय महत्वका सडकहरू अलपत्र रहन्छन्, तबसम्म नागरिकले विकासको अनुभूति गर्न सक्दैनन् । यति धेरै निराशाका बीच पनि पदमबहादुर पोखरेल झिनो आशा पालेर बसेका छन् । ‘अहिले कामको गति अलि बढेको छ,’ उनी भन्छन्, ‘यही गतिमा काम भए अर्को वर्षसम्म त सकिन्छ कि !’ उनको यो आशा, दाउन्नेको धुलोमा पिल्सिएका सबै नागरिकको साझा प्रतिक्षा हो । अब हेर्नु छ, राज्यले यो प्रतिक्षालाई कहिले सम्बोधन गर्छ र प्रतिवेदनको विकासलाई कहिले सडकको यथार्थमा बदल्छ ।