विकासन्युज

एपीजी समूहसँग अर्थमन्त्रीको प्रतिवद्धता : कानुनको पालनामा सरकार दृढ छ

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गरे ।  एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताए । प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै उनले जनमतको प्रमुख अपेक्षा सुशासन नै रहेको धारणा राखे । नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको उनको भनाइ थियो ।  अर्थमन्त्री डा. वाग्लेले ग्रे लिस्टबाट बाहिरिन तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्याङ्कन भइरहेको जानकारी दिए । पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्टसम्बन्धी सूचकमा नेपालको अवस्थामा सुधार आएको उनले बताए ।  कार्यक्रममा एपिजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गरे । छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स–एफएटीएफ) ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । उक्त सूचीबाट बाहिरिन नेपालले १५ बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाउँदै सोअनुसार काम गरिरहेको छ ।  

‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’

कञ्जगाउँ लालझाडी । विसं २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश र नदी हेरेर केही ढुक्क भएर कञ्ज गाउँवासी सुत्ने तरखरमा थिए, निदाउन भने भ्याएका रहेनछन् । वर्षाका समय । एक्कासी गाउँको माथिल्लो भेगमा घोप्टे वर्षा भएपछि तटीय भेगमा दोदा नदी उर्लेर आयो । एकाएक भेल गाउँमै पस्नै लाग्यो । सर्वत्र अन्धकार । लालझाडी–२ का वडाध्यक्ष आशाराम रानाले तत्क्षणलाई सम्झँदै भने, 'मध्यरातमा हाहाकार मच्चियो । हेर्दाहेर्दै नदीको भेल गाउँमै पस्न लाग्यो । गाउँलेले आशा मार्न थाले । बालबच्चा बोकेर जाने ठाउँ पनि भएन ।'   पछिल्ला दिन कञ्जगाउँ लगभग टाकुराजस्तै भएको छ । हिउँदमा नदी छ र ? भन्ने अवस्था हुन्छ । विशाल बगरमात्र देखिन्छ । उनले बगर देखाउँदै भने, 'हेर्नुस् त न नदी नै भन्न नसक्ने अवस्था छ र ? बगरमात्र छ । बगर छ, पानी छैन । लाग्छ यस्तो अकल्पनीय अवस्था आउँछ भनेर पत्याउन गाह्रो छ । गाउँलेले तत्काल बाढी आइहाल्यो भने कटान रोक्न आफ्ना घरमा राखेका बाँस प्रयोग गरेँ । रातका समयमा जसोतसो गाउँले मिलेर नदीको बेगलाई जैविक र परम्परागत सीप प्रयोग गरेर गाउँ पस्नबाट रोके । धान र उखुबाली डुबायो । रोक्न नभ्याएको भए अहिले कञ्चगाउँ रहँदैनथ्यो ।'   आपत्कालीन अवस्थामा नदीको भेल गाउँमा पस्न नदिन र कटान रोक्न सिङ्गो बाँस र बाँसको पात प्रयोग गरिँदोरहेछ । यसका लागि सामग्री पूर्वअवस्थामा राखिँदोरहेछ । लालझाडी–१ का वडाध्यक्ष प्यारेलाल रानाका अनुसार दोदा नदीको सतह बर्सेनि बढिरहेको छ । वर्षात्मा बगेर आएका माटो र बालुवाले नदीको सतह निरन्तर माथि आइरहेको छ । सतह कति बढ्यो भन्ने एकिन नाप हालसम्म कुनै निकायबाट गरिएको रहेनछ । नदीले निरन्तर धार परिवर्तन गरिरहेको छ । उनले भने, 'नदीले आफ्नो बहाव बर्सेनि परिवर्तन गरिरहेको छ । कटान र डुबानले नसताएको वर्ष हुन्न । नदीले कति कटान गरेर लग्यो, अन्नबाली कति डुबानमा परेँ, जङ्गली जनावरले कति बाली सखाप पारे कुनै हिसाबकिताब छैन । यस्तो पीडा कति सुनाउनु । हाम्रो काम त पीडा सुन्ने र सुनाउनेमात्र भएको छ । छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन ।' नसर्ने रोग उच्च : सचेतना जगाउँदै रेडक्रस   बर्सेनि बाढी, कटान तथा जङ्गली जनवारबाट कहर भोगिरहेका कञ्चनपुरको अति दुर्गम भेग लालझाडीवासी पछिल्ला वर्ष नसर्ने रोगले प्रभावित बन्न थालेका छन् । विपद्को सधैँ उच्च जोखिममा रहेको यो गाउँपालिका नसर्ने रोग वृद्धिको ‘ग्राफ’ निरन्तर बढ्दो छ । यहाँको नसर्ने रोग (रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास) को बारेमा ‘डिएचआइएस–२’ भन्छ, 'आव २०७८/७९ मा रक्तचाप २५७, मधुमेह १२४, रक्तनली तथा श्वासप्रश्वास १२२ जनामा थियो । आव २०८१/८२ यो सङ्ख्या लगभग दोब्बर भएको छ । अर्थात् क्रमशः ६००, २५० र २५२ जनामा ती रोगको समस्या छ ।' यो सङ्ख्या चालु आवमा झन् बढ्ने आकलन छ ।  पछिल्लो जनगणनाअनुसार छ वडा रहेको यस गाउँपालिकामा ३० वर्षमाथिको जनसङ्ख्या वडा नं १ मा एक हजार ८८, २ मा ८११, ३ मा ८८३, ४ मा एक हजार १७९,  ५ मा ७२१ र वडा नं ६ मा ७३७ गरी पाँच हजार ४११ छ । प्राथमिक स्वास्थ्य सेवा तहमा नसर्ने रोगको व्यवस्थापन गर्न विश्व स्वास्थ्य सङ्गठनले ‘पेन डी’ कार्यान्वयनमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयलाई सहयोग गरिराखेको भए पनि विपद्का अवस्थामा यो प्रभावकारी छैनन् । यस्तो अवस्थामा उपचार रोकिने, सेवन गरिराखेका औषधि रोकिने र विस्थापितसमेत हुनुपर्ने अवस्था रहेको ‘रेजिलिएयन्स एन्सिडी परियोजनाका’ स्वास्थ्य कार्यक्रमका सहसंयोजक अनिल महर्जनले बताए ।  नेपालमा अकालमै हुने मृत्युदर र अपाङ्गताको प्रमुख कारक नसर्ने रोग बन्दै गएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा ७१ प्रतिशत मृत्युको कारकका रूपमा देखिएको नसर्ने रोग सन् २०४० सम्ममा ७९ पुग्ने प्रक्षेपण छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजना गाउँपालिकामा कार्यान्वयनमा आएपछि नसर्ने रोगका बारेमा धेरै जानकारी प्राप्त भएको बताए । विपद्का समयमा नसर्ने रोगका लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तताको सुनिश्चितका लागि ‘पेन डी प्याकेज’ लाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने जानकारी दिए । उनका अनुसार गाउँपालिकाका सबै वडा बाढी र डुबानको उच्च जोखिममा छन् । विशेषगरी पालिकाका कञ्ज, डुगा, कस्वाकञ्च, विनवारी विचवा, सिकलपटी, वैजनाथ टोल, अन्नपूर्ण टोल, विनयवारी विचवा, विछुवा टोल, देउवाटोल, चानदेव, सिकलपाटी मुक्त, कञ्ज, कश्वा, विछुवा टोल, गाउँपालिका भवन, स्वास्थ्य संस्थालगायत डुबानका जोखिममा रहन्छन् ।  लालझाडी गाउँपालिकामा नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, क्यानडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयको सहकार्यमा ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजना अप्रिल २०२४ देखि मे २०२६ सम्म सञ्चालनमा छ ।  रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास रोग पछिल्लो समय जनस्वास्थ्यको प्रमुख जोखिम देखिएकाले विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरताका लगि ‘पेन डि प्याकेज’ ल्याइएको हो । ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजनाका संयोजक प्रमोद अधिकारी भने , 'विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूमा नछुटाई स्वास्थ्य क्षेत्र र विपद् प्रतिकार्य प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य ध्येय रहेको छ । विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्यु जोखिम कम हुन्छ । बिरामीको मानसिक तनाव कम हुन्छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोग बिग्रनबाट मानिसलाई जोगाउन सकिन्छ । नीतिगत रूपमा काम गरेमा नियमित औषधि पाउन र उपचार निरन्तरतामा समेत सहयोग हुन्छ ।' लालझाडी–२ शङ्खरपुरस्थित शङ्खरपुर स्वास्थ्यचौकीमा भेटिएका ७३ वर्षीय रामभजन राना रक्तचापको औषधि लिन महिला स्वयंसेविकालाई लिएर आउनुभएको रहेछ । लालझाडी–२ बागवाढी टोलकी महिला स्वयंसेविका राममति रानाले भने, 'गाउँमा रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वासका बिरामी भएर औषधि खानेहरू वृद्धि भइराखेको छ ।' ७३ वर्षीय रामभजनले वर्षात्का समयमा औषधि पाउनसमेत समस्या हुने गरेको गुनासो गरे । उनले भने, 'कहिलेकाहीँ त औषधि किनेर खानुपर्छ ।' सरकारले रक्तचाप, मधुमेहका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।  लालझाडी गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत खगेन्द्र चौधरीले गाउँपालिका स्वास्थ्यका दृष्टिकोणले जोखिम रहेको जानकारी दिए । उनले भने, 'सरुवा रोगभन्दा नसर्ने रोगको समस्या बढ्दो छ ।' गाउँपालिकाले नसर्ने रोगको स्क्रिनिङसमेत थालनी गरेको छ । लालझाडी गाउँपालिका विपद् शाखा प्रमुख हेमराज उपाध्याय बाढी र डुबानको उच्च जोखिम क्षेत्रमा गाउँपालिकाका अधिकांश वडा रहेको जानकारी दिँदै दोदा नदी नियन्त्रणमा ध्यान दिन सुझाव दिए । उनले भने, 'समुदायमा विपद् प्रतिकार्य क्षमता वृद्धि भएको छ, तर यतिले पुग्दैन ।' उनका अनुसार गाउँपालिकाभित्र चार स्थानमा पूर्वसूचना प्रदान गर्न ‘साइरन’ राखिएका छन् । शङ्करपुर स्वास्थ्यचौकीका सिनियर अहेव यज्ञबहादुर धामीले विपद्का समयमा नसर्ने रोगका लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तता सुनिश्चितताका लागि प्रयास जारी रहेको जानकारी दिँदै कतिपय समयमा स्वास्थ्य संस्था आफैँ डुबानमा पर्ने बताए । उनले भने, 'पेन डी प्याकेज त राम्रो छ, कार्यान्वयन गर्न समस्या छ ।' ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजनाका  विनायक पौडेलले नेपाल रेडक्रसले विपद्का समयमा नसर्ने रोगका लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तताको सुनिश्चितताका लागि यहाँ विभिन्न गतिविधि सञ्चालन गर्न गाउँपालिकालाई सहजीकरण गरिराखेको जानकारी दिए । रासस

मकै बोडी किलोको ९० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, गोलभेँडा साना (टनेल) रु ७८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु रातो (गोलो) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४५ र भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ६०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ५५, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिन्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ४५ र पिँडालु प्रतिकिलो रु ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकेजी रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, चमसुरको साग प्रतिकेजी रु १२०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३२०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, निगुरो प्रतिकिलो रु ८०, कुरिलो प्रतिकिलो रु ३३०, रातो बन्दा प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १३०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी २८०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ४५०, आँप मालदह प्रतिकिलो रु २५०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३२०, तरबुजा (हरियो) प्रतिकिलो रु ३८, भुइँकटहर प्रतिगोटा रु २३०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु ७५, भेडेखुर्सानी प्रतिकिलो रु ७५, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २६० निर्धारण गरिएको छ । 

२२.२५ करोड फिर्ता गर्न ब्रोकरलाई हिमालयनको ताकेता

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालि (ब्रोकर नं. ५५) लाई करोडौं रकम फिर्ता गर्न ताकेता गरेको छ ।  हिमालयन इन्भेष्टमेन्ट बैंकर (योजना व्यवस्थापक) ले सञ्चालन गरेको एचएलआई लार्ज क्याप फण्डको नाममा ब्रोकर कम्पनीले कारोबार गर्नुपर्ने भए पनि सेयर खरिद नगरी फण्डको रकम रोकेको आरोप लगाएको हो ।  कम्पनीका अनुसार भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीमार्फत सेयर खरिदका लागि पटक-पटक रकम उपलब्ध गराइए पनि कारोबार नभई बाँकी रहेको रकम फिर्ता गरिएको छैन । कुल २२ करोड २५ लाख ७३ हजार ५९० रुपैयाँ फिर्ता गर्नुपर्ने दाबी गरेको हो ।  यसअघि पनि पटक-पटक ताकेता गरिए पनि रकम फिर्ता नभएको कम्पनीले जनाएको छ । ७ दिनभित्र सम्पूर्ण रकम तथा ब्याज-हर्जाना सहित फिर्ता गर्न भनिएको छ । यदि उक्त अवधिमा रकम फिर्ता नभए कानूनी कारबाही अघि बढाइने चेतावनी दिएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारत उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ । श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिए । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्यप्रदेशस्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टरमार्फत पोखराबाट स्वदेश लगिएको हो ।  विमानमा एक जना बिरामी, तीन जना स्वास्थ्यकर्मी र दुई जना बिरामीका आफन्त गरी ६ जना रहेको पोखरा विमानस्थलले जनाएको छ । ‘पोखराबाट पहिलो पटक भारत सिधा उडान भएको छ । स्वदेशी विमान कम्पनीले छिमेकी मुलुक उडान गर्नु विमानस्थलका लागि राम्रो कुरा हो,’ प्रवक्ता रेग्मीले भने ।  पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका श्रीवास्तवलाई थप उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि शुभारम्भ गरिएका यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमै सीमित बनेको छ । पोखरा विमानस्थलबाट यसअघि भुटान, चीनलगायका देशमा चार्टर उडान हुने गरेपनि भारतमा पहिलो पटक उडान भएको हो । 

आर्थिक गणनामा ठूला उद्योगी व्यवसायीको अवरोध, दिएनन् तथ्याङ्क

काठमाडौं । तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क गणकलाई उपलब्ध नगराएको दाबी गरेका छन् । ‘पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका छौँ । तर, त्यहाँबाट आवश्यक पर्ने तथ्याङ्क पनि पाउन समस्या भइरहेको छ,’ उनले भने, ‘यही जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीका बारेमा छलफल गर्ने तयारी रहेको छ ।’ वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले राज्यले गर्न खोजेको आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क दिन उद्योगी-व्यवसायी तयार रहेको पनि दाबी गरे । ‘कुन-कुन औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क दिएनन् भन्ने विषयमा कार्यालयले हामीसँग समन्वय गरेको छैन,’ उनले भने, ‘सम्बन्धित कार्यालयले सङ्घलाई अनुरोध गरेको खण्डमा सङ्घले औद्योगिक प्रतिष्ठानहरूलाई पत्र लेखेरै भए पनि आर्थिक गणनामा सहभागी हुनका लागि अनुरोध गर्न र समन्वय गर्न हामी हरदम तयार रहेका छौँ ।’ पर्सामा तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्सा जिल्लाभरिमा २३ हजार ३००  प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा सोमबारसम्म भने १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको जनाएको छ । अहिले आर्थिक गणनाका लागि ६६ जना गणक र नौ जना सुपरीवेक्षक खटिएको कार्यालयले जनाएको छ ।

हिमालयन पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ । वैशाख १७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको ५० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत चैत १० गते बुकक्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेँसीशहर, दोर्दी, भोटेओडार र उदीपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सेन्ट्रल एक्स्चेञ्ज काउण्टरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरास्थित सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रालिको मनिचेञ्जर इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकका अनुसार परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्न इजाजतपत्र प्राप्त उक्त कम्पनीले कारोबार बन्द गरी स्वेच्छिक रूपमा इजाजतपत्र खारेज गरिदिन निवेदन दिएको थियो ।  सोही निवेदनका आधारमा मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ अनुसार निर्णय गर्दै इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।  निर्णयअनुसार उक्त मनिचेञ्जरको इजाजतपत्र खारेज भएसँगै कम्पनीको विदेशी मुद्रा सम्बन्धी कारोबार आधिकारिक रूपमा बन्द भएको राष्ट्र बैंकले जनाएको छ ।