नेप्से घट्दा ५ अर्ब ७ करोडको सेयर कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेको छ । बजार ०.७३ प्रतिशतले घटेर २६२२.४८ विन्दुमा झरेको हो । सोमबारको कारोबारपछि २६४१.८२ विन्दुमा रहेको नेप्से मंगलबार २६२२.४८ विन्दुमा बन्द भएको छ । मंगलबार बजारमा कुल ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दिनभर १ करोड ५१ लाख ९६ हजार ८२ कित्ता सेयर किनबेच भएको छ । कुल ५५ हजार २४६ वटा कारोबारबाट ३४७ कम्पनीका सेयर कारोबार भएका छन् । कारोबार भएका कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ । २१७ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ । मंगलबारको कारोबारमा सर्वोत्तम पेन्टसको सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ५२४.६० रुपैयाँ पुगेको छ । त्यस्तै, माउन्ट एभरेष्टको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर ६०३.२० रुपैयाँ पुगेको छ । मनकामना इन्जिनियरिङको सेयर मूल्य ४.७८ प्रतिशत, माथिल्लो मैलुनको ३.६४ प्रतिशत र एचएलआई लार्जको संस्थापक सेयरको ३.५७ प्रतिशतले बढेको छ । मंगलबार कारोबार रकमका आधारमा एग्रीकल्चर बोन्ड अगाडि रहेको छ । यसको ५० करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख रुपैयाँ, खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँ, रिलाइन्स स्पिीनिङको १६ करोड ७८ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
६४.६७ अर्ब आम्दानीमा ६.७६ अर्ब नाफा, ३ कम्पनी घाटामा
काठमाडौं । पुँजी बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १८ कम्पनीमध्ये १७ वटाले कुल ६ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७४.१८ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड १३ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा यी १७ कम्पनीले ३ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा युनिलिभर नेपालले गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । सबैभन्दा बढी नाफा वृद्धि भने सोनापुर मिनिरल्स एन्ड आयलको भएको छ । कम्पनीको नाफा ६१३.५३ प्रतिशतले बढेर ३३ करोड ७१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा हिमालयन डिस्टिलरीको नाफा २८.१३ प्रतिशतले बढेर १ अर्ब २० करोड ६३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । नेपाल ल्युब आयलको नाफा २३.०२ प्रतिशतले वृद्धि भएर ५ करोड ५० लाख ४७ हजार रुपैयाँ पुगेको छ भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको नाफा १२.१९ प्रतिशतले बढेर १ करोड ७८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको नाफा ७.७० प्रतिशतले बढेर १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको नाफा ४.३० प्रतिशतले बढेर २२ लाख १३० रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको नाफा १.०८ प्रतिशतले वृद्धि भएर ६ करोड ७५ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा युनिलिभर नेपालसहित पाँच कम्पनीको नाफा घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको नाफा १६.१३ प्रतिशतले घटेर ३९ करोड ९० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको नाफा ५९ प्रतिशतले घटेर ३ करोड ९९ लाख ९२ हजार रुपैयाँमा झरेको छ । सर्वोत्तम पेन्ट्सको नाफा ११.३१ प्रतिशतले घटेर १ करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने शिवम् सिमेन्टको नाफा १.७१ प्रतिशतले घटेर ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष घाटामा रहेका बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) भने गत वर्ष नाफामा फर्किएका छन् । अघिल्लो वर्ष ६१ करोड ३९ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (तराई)ले गत वर्ष ६५ करोड ९२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, अघिल्लो वर्ष ४० करोड १ लाख ७० हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (बालाजु)ले गत वर्ष ८७ करोड ८३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, उत्पादन तथा प्रशोधन समूहका तीन कम्पनी भने अझै घाटामा छन् । गत आर्थिक वर्षमा घोराही सिमेन्ट इन्डस्ट्रिजले ३० करोड ८० लाख ७२ हजार रुपैयाँ, सागर डिस्टिलरीले ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ र ओम मेगाश्री फर्मास्युटिकल्सले ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ घाटा बेहोरेका छन् । ६४.६७ अर्बको कारोबार सार्वजनिक वित्तीय विवरणअनुसार उत्पादन तथा प्रशोधन समूहका १७ वटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ६४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२२ प्रतिशत अर्थात् १२ अर्ब ५२ करोड रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले ७७ अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा बढी सञ्चालन आम्दानी वृद्धि सागर डिस्टिलरीको भएको छ । कम्पनीको आम्दानी १४५.४८ प्रतिशतले बढेर ४७ करोड ६३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सोनापुर मिनिरल्स एन्ड आयलको सञ्चालन आम्दानी ६९.९९ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको आम्दानी ५१ प्रतिशतले बढेर २१ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ भने सर्वोत्तम पेन्ट्सको सञ्चालन आम्दानी ४८.२८ प्रतिशतले वृद्धि भएर २१ करोड ३ लाख ४८ हजार रुपैयाँ पुगेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सञ्चालन आम्दानी २८.६४ प्रतिशतले बढेर १ अर्ब ८० करोड ६३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको आम्दानी २१.४९ प्रतिशतले वृद्धि भएर १७ करोड २६ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने नेपाल ल्युब आयलको सञ्चालन आम्दानी १७.१० प्रतिशतले बढेर १ अर्ब ५८ करोड ४४ लाख ४१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सञ्चालन आम्दानी १५.९० प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने बोटलर्स नेपाल (तराई)को आम्दानी १५.२८ प्रतिशतले वृद्धि भएर ८ अर्ब ६७ करोड ७८ लाख ७२ हजार रुपैयाँ पुगेको छ । हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानी १२.६७ प्रतिशतले बढेर ८ अर्ब ११ करोड ३७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । सर्वोत्तम सिमेन्टको आम्दानी १०.३९ प्रतिशतले वृद्धि भएर १० अर्ब ५२ करोड ८५ लाख २७ हजार रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको सञ्चालन आम्दानी ७.४९ प्रतिशतले बढेर ८१ करोड २७ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा अधिकांश कम्पनीको सञ्चालन आम्दानी बढेको देखिए पनि पाँच कम्पनीको आम्दानी घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको सञ्चालन आम्दानी ८५.७४ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ९६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । बोटलर्स नेपाल (बालाजु)को आम्दानी ८२.६३ प्रतिशतले घटेर १ अर्ब ८७ करोड ३७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै, शिवम् सिमेन्टको सञ्चालन आम्दानी १०.८६ प्रतिशतले घटेर ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ पुगेको छ। घोराही सिमेन्ट इन्डस्ट्रिजको आम्दानी ६.३८ प्रतिशतले घटेर ४ अर्ब ७२ करोड ९९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ भने युनिलिभर नेपालको सञ्चालन आम्दानी ४.०२ प्रतिशतले घटेर ७ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जनकवि श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले श्रेष्ठका चर्चित रचनाका पंक्ति स्मरण गर्दै लेखेका छन्, ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल । मेची–काली सिँगै ढिको, साझा हाम्रो ज्यान नेपाल। फुलको आँखामा फुलै संसार ।’ प्रधानमन्त्री शाहले भौतिक रूपमा श्रेष्ठ आफूहरूमाझ नरहे पनि उनले देखाएको बाटो, सिर्जना र विचार सधैँ जीवित रहने बताएका छन् । उनले श्रेष्ठले देखाएको मार्गमा निरन्तर हिँडिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् । श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सार्न आदेश
काठमाडौं । पाकिस्तानको सुप्रीम कोर्टले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्न आदेश दिएको छ । उनलाई आगामी सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै राखिनेछ । सुप्रीम कोर्टको तीन सदस्यीय इजलासले इमरान खानलाई अस्पताल भर्ना गराउन माग गर्दै दायर गरिएको निवेदनमाथि सुनुवाइ गरेको हो । इजलासको अध्यक्षता न्यायाधीश शाहिद वाहिदले गरेका थिए । न्यायाधीश नईम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिम इजलासका सदस्य थिए । सुप्रीम कोर्टले अदियाला जेलका प्रमुखलाई अदालतको अवहेलनासम्बन्धी सूचना पनि जारी गरेको छ । अदालतले इमरान खानको स्वास्थ्य अवस्थासँग सम्बन्धित सम्पूर्ण मेडिकल रेकर्ड पेस गर्न निर्देशन दिएको छ । अदालतले इमरान खानलाई उनका परिवारका सदस्यसँग हरेक साता भेटघाट गर्न दिने व्यवस्था सुनिश्चित गर्न पनि अधिकारीहरूलाई आदेश दिएको छ । यसका साथै अदालतले इमरान खानसँग भएका सबै भेटघाटको विस्तृत विवरण तथा उनीविरुद्ध विचाराधीन सबै मुद्दाको पूर्ण जानकारी उपलब्ध गराउन पनि निर्देशन दिएको छ । इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सुप्रीम कोर्टको निर्णयको स्वागत गरेका छन् । उनले भने, ‘इमरान खानलाई शिफा इन्टरनेसनल अस्पताल पठाउने आदेश सही छ । यो निर्णय पहिले नै भएको भए उनको आँखाको अवस्था र स्वास्थ्य यति खराब हुने थिएन ।’
बैंकको केवाईसी अपडेट गर्ने भन्दै ओटीपी लिएर ठगी गर्ने ४ पक्राउ
काठमाडौं । बैंकबाट फोन आएको भन्दै केवाईसी अपडेट गर्न लगाएर ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । बैंकबाट केवाईसी अपडेट गर्नुपर्ने भन्दै बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले पीडितलाई फोन तथा ह्वाट्सएपमा सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने गरेका थिए । त्यसपछि ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी कोड मागेर कर्मचारीहरूको खातामा पहुँच पुर्याउने र खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । साइबर ब्युरोबाट गरिएको प्राविधिक विश्लेषणका आधारमा गिरोहमा संलग्न व्यक्तिहरूको पहिचान भएको थियो । त्यसपछि सीआईबीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा, डेताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही ठाउँका २२ वर्षीय विद्यासागर केवट र पर्सा, वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुबेर थापा रहेका छन् । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा आउने शंकास्पद फोन, सन्देश तथा ह्वाट्सएप सम्पर्कबाट सावधान रहन आग्रह गरेको छ । केवाईसी अपडेटका नाममा कसैले स्क्रिन सेयर गर्न वा ओटीपी कोड मागेमा उपलब्ध नगराउन पनि प्रहरीले सचेत गराएको छ ।
नाइमा एक्स्पोमा एथरको ५०० भन्दा बढी स्कुटर बुकिङ
काठमाडौं । वैद्य इनर्जीअन्तर्गतको एथर नेपालले हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो २०२६ मा उत्साहजनक सहभागिता जनाएको छ । ६ दिनसम्म चलेको एक्स्पोमा एथरका इलेक्ट्रिक स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दा ५०० भन्दा बढी बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकको आकर्षण केवल छुट तथा अफरमा सीमित नभई प्रविधि, ब्याट्रीको दीर्घकालीन वारेन्टी, चार्जिङ पूर्वाधार र सर्भिस नेटवर्कमा समेत केन्द्रित देखिएको छ । ब्याट्री सुरक्षामा ‘एथर अस्योरेन्स’ नेपाली ईभी बजारमा स्कुटर खरिदपछि ब्याट्री र सर्भिसलाई लिएर ग्राहकमा रहने अन्योललाई सम्बोधन गर्न एथरले ‘एथर अस्योरेन्स’लाई प्राथमिकता दिँदै आएको जनाएको छ । कम्पनीले ‘एट७० वारेन्टी’ अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ । सर्तअनुसार उक्त अवधिमा ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने कम्पनीको दाबी छ । एथरले नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार गरिसकेको जनाएको छ । ‘ओभरटोन’ सिरिजमा ग्राहकको आकर्षण एक्स्पोमा एथरको ४५० ओभरटोन सिरिज मुख्य आकर्षण बनेको थियो । नयाँ प्रविधि र फिचरसहितको उक्त सिरिजमा अवलोकनकर्ताको विशेष चासो देखिएको कम्पनीले जनाएको छ । सिरिजमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भोइस अन एथरजस्ता फिचर उपलब्ध छन् । म्याजिक ट्विस्टमार्फत एक्सिलेटरलाई उल्टो घुमाएर रिजेनेरेटिभ ब्रेकिङ नियन्त्रण गर्न सकिन्छ । त्यस्तै, इन्फिनिट क्रुजले लामो दूरीको यात्रालाई सहज बनाउने र भोइस अन एथरले आवाजमार्फत स्कुटरसँग अन्तरक्रिया गर्न सकिने सुविधा प्रदान गर्छ । एक्स्पोमा एथरको ४५० सिरिजसँगै पारिवारिक प्रयोगका लागि उपयुक्त रिज्टा मोडलप्रति पनि ग्राहकको उत्साहजनक चासो देखिएको थियो । ५०० बुकिङले बढायो उत्साह एथर नेपालका प्रतिनिधिका अनुसार एक्स्पोमा प्राप्त ५०० भन्दा बढी बुकिङ बिक्रीको तथ्याङ्क मात्रै नभई नेपाली ग्राहकको प्रविधिप्रतिको बढ्दो विश्वासको संकेत हो । कम्पनीले ग्राहकले अब छोटो अवधिका छुट र अफरभन्दा पनि भरपर्दो प्रविधि, ब्याट्रीको सुनिश्चितता, चार्जिङ सुविधा र सर्भिस नेटवर्कलाई प्राथमिकता दिन थालेको जनाएको छ । एथर नेपालले अत्याधुनिक प्रविधि, चार्जिङ नेटवर्क र ग्राहक सेवामार्फत नेपालमा विद्युतीय मोबिलिटीलाई थप सहज र विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।
हर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा जहाजमाथि अज्ञात प्रक्षेप्य प्रहार, एक जनाको मृत्यु
काठमाडौं । हर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा एउटा जहाजलाई अज्ञात प्रक्षेप्यले निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ब्रिटिश मेरिटाइम ट्रेड अपरेसन्स अर्गनाइजेसन (यूकेएमटीओ) का अनुसार उक्त हमलामा जहाजको इन्जिन कक्षमा क्षति पुगेको छ भने एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । यूकेएमटीओले घटनापछि ओमान कोस्ट गार्डले जहाजमा रहेका अन्य चालक दलका सदस्यको उद्धारका लागि अभियान सञ्चालन गरिरहेको जनाएको छ । घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ । यो घटना हर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजको संख्या ठूलो मात्रामा घटेको समयमा भएको हो । अहिले उक्त जलमार्गबाट निकै कम संख्यामा मात्रै जहाज आवतजावत गरिरहेका छन् । अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु हुनुअघि हर्मुज स्ट्रेट हुँदै दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने गरेका थिए ।
अनलाइन व्यापारमा सरकारको कडाइ, व्यवसायीलाई अनिवार्य सूचीकृत हुन निर्देशन
काठमाडौं । उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि सरकारले अनलाइन व्यापारलाई व्यवस्थित र कडाइका साथ नियमन गर्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन, २०८१ र निर्देशिका, २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ । उपभोक्ता ठगी तथा अनलाइन कारोबारसम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी र व्यवस्थित बनाउन कडाइ थालेको हो ।