ट्रम्पको लोकप्रियता खस्किँदै, ६४ प्रतिशत अमेरिकी असन्तुष्ट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट देखिएको छ । ‍रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको स्वीकृति दर घटेर ३३ प्रतिशतमा झरेको छ । यो उनको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले मात्र उनको कामलाई अनुमोदन गरेका छन् । यसै महिनाको सुरुवातमा गरिएको सर्वेक्षणमा ट्रम्पको स्वीकृति दर ३५ प्रतिशत थियो । सर्वेक्षणअनुसार ट्रम्पको अहिलेको स्वीकृति दर उनको पहिलो कार्यकालकै न्यूनतम स्तरमा पनि पुगेको छ । पहिलो कार्यकालमा सन् २०१७ को डिसेम्बरमा पनि उनको स्वीकृति दर ३३ प्रतिशतमा झरेको थियो । सर्वेक्षणले इरानसँगको युद्धलाई लिएर अमेरिकी नागरिकको चिन्ता पनि बढेको देखाएको छ । करिब ८० प्रतिशत अमेरिकीले अमेरिका र इरानबीचको युद्ध लामो समयसम्म चल्ने आशंका व्यक्त गरेका छन् ।
सुनको मूल्य प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ । चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
जब मजदुरले १ अर्ब ६० करोडको सुनको खजाना भेट्टाए...
काठमाडौं । युरोपेली देश बेल्जियममा जमिनमुनिबाट ठूलो परिमाणमा सुनको खजाना फेला परेको छ । पुरातत्त्वविद् वा विशेषज्ञको टोलीले नभई निर्माणको काम गरिरहेका मजदुरहरूले यो खजाना फेला पारेका हुन् । राजधानी ब्रसेल्सबाट करिब १९ माइल उत्तरपश्चिममा रहेको डेन्डरमोन्डे सहरमा एउटा भवनमुनि काम गर्ने क्रममा उनीहरूले ठूलो संख्यामा सुनका सिक्का र सुनका इँटा फेला पारेका हुन् । स्थानीय अधिकारीका अनुसार मंगलबार निर्माणका क्रममा फेला परेको उक्त सुनको सिक्का र बारको कुल मूल्य १०.५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६० करोड नेपाली रुपैयाँ बराबर रहेको छ । भवनको जगमुनि मर्मतको काम गर्ने क्रममा यो सुन फेला परेको हो । यो खजाना कोबे फिलिप्स नामका विद्यार्थीले फेला पारेका हुन्, जो पार्टटाइम निर्माण मजदुरका रूपमा काम गरिरहेका थिए । डेन्डरमोन्डे प्रहरी जिल्लाका प्रमुख प्याट्रिक फेयसले सीएनएनलाई बताएअनुसार एउटा पुरानो मदिरा उत्पादन गर्ने कारखानाको जगमा ४० वटा सुनका बार र करिब ४ हजारवटा सुनका सिक्का लुकाएर राखिएको अवस्थामा फेला परेका थिए । कोबे फिलिप्सका अनुसार सुरुमा आफूहरूले ती सिक्का एक युरोका सिक्का भएको ठानेका थिए । ती वस्तु बाहिर निकाल्दा एउटा सुनको बार देखिएपछि मात्रै वास्तविकता थाहा भएको उनले बताए । आफूहरूले अनुमान गरेभन्दा निकै ठूलो परिमाणमा सुन फेला परेको उनको भनाइ छ । सुन फेला परेपछि मजदुरहरूले सम्पत्तिका मालिकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई बोलाइएको थियो । इस्ट फ्ल्यान्डर्स सार्वजनिक अभियोजन कार्यालयका अनुसार सुनको ठूलो मूल्यका कारण प्रहरीलाई खबर गरिएको हो । अहिले उक्त सुनलाई कडा सुरक्षा र निगरानी भएको स्थानमा राखिएको छ । डेन्डरमोन्डे प्रहरीको फेसबुक पेजमा सार्वजनिक गरिएका तस्बिरमा सुनका सिक्काले भरिएको धातुको बाल्टी तथा सुनका बारले भरिएको टेबल देखिन्छ । प्रहरी प्रमुख फेयसका अनुसार केही सुनका बारमा १९६० को दशकका छाप भेटिएका छन् । त्यस्तै, सिक्कामा विभिन्न राजा र मितिका चिन्हहरू रहेका छन् । त्यसैले यो खजाना कहिले र कसले लुकाएको थियो भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । खजाना फेला परेपछि यसको स्वामित्व दाबी गर्नेहरू पनि देखिन थालेका छन् । केही व्यक्तिले विभिन्न कागजात पेस गर्दै आफूहरू उक्त सुनका वास्तविक हकदार भएको दाबी गरेका छन् । प्रहरीले अहिले यो खजाना कसको हो र यससँग कुनै आपराधिक घटना जोडिएको छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेको छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट अनुदित तथा सम्पादित)
भीमफेदीमा अदालतका मुख्य न्यायाधीश सवार सवारी दुर्घटना, ६ जना घाइते
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन् । प्रहरीकाअनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो जिप बिहान करिव ७ बजे अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडू, उनकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू, छोरी रिता बडू र चालक छुनिलाल चौधरी घाइते भएका छन् । घाइतेमध्ये लक्ष्मी बडूको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको थियो । थप उपचारका लागि चालक चौधरी र रजिस्ट्रार बडूलाई हेटौंडा अस्पताल पठाइएको छ भने मुख्य न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ । मुख्य न्यायाधीश डाँगीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । अन्य घाइतेहरूको पनि टाउको र शरीरका विभिन्न अङ्गमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीसहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको र हाल सडकमा यातायात सञ्चालन सुचारु रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
के नागढुङ्गा सुरुङमार्ग उद्घाटनपश्चात बन्द गरिएको हो ?
काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन भएपनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । सुरुङमार्गको सञ्चालनको जिम्मा पाएको युसियन एआरटी टोलीका नेपाली प्रतिनिधि तथा सेफ्टी म्यानेजमेन्ट डेपुटी लिडर कविराज श्रेष्ठले सुरुङमार्ग पूर्णरूपमा बन्द नभई परीक्षण र अभ्यासका लागि केही समय मात्र रोकिने गरेको जानकारी दिए । उनका अनुसार अहिले सुरक्षा र उद्धारको पूर्व–तयारीका लागि ‘मक ड्रिल’ अभ्यास भइरहेको हो । सुरुङमार्गभित्र हुन सक्ने सम्भावित दुर्घटनाहरूलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्वास्थ्यकर्मी र उद्धार टोलीको दक्षता परीक्षण गर्न यस्तो अभ्यास भइरहेको हो । अभ्यासका क्रममा सुरुङमार्गभित्र दुई वा सोभन्दा बढी सवारी साधनहरू एकापसमा ठोक्किएको काल्पनिक दृश्य बनाएर उद्धार कार्यको अभ्यास भइरहेको श्रेष्ठले बताए । के हो मक ड्रिल ? श्रेष्ठका अनुसार मक ड्रिल एउटा यस्तो अभ्यास हो, जहाँ टनेलभित्र दुर्घटना भएको अवस्थामा कति छिटो अस्पतालबाट एम्बुलेन्स आउँछ, नगरपालिकाबाट दमकल कति समयमा आइपुग्छ र सुरक्षा निकायले कसरी रेस्क्यु गर्छ भन्ने कुराको परीक्षण गरिन्छ । यस क्रममा घाइतेलाई उद्धार गर्ने र दुर्घटनामा परेका सवारी साधनलाई टनेल बाहिर निकाल्ने अभ्यास गरिन्छ । यस्ता अभ्यासका बेला ३ देखि ४ घण्टासम्म सुरुङमार्ग पूर्ण रूपमा बन्द हुने गर्दछ । साना सवारी साधनलाई प्राथमिकता सुरुङमार्ग सर्वसाधारणका लागि कहिले खुल्छ भन्ने जिज्ञासामा श्रेष्ठले एक-दुई भित्र नै साना चारपाङ्ग्रे सवारीसाधन (कार, जिप) का लागि परीक्षणका रूपमा बाटो खुला गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार ठूला सवारी साधन र अन्यको हकमा भने थप परीक्षणपश्चात निर्णय लिइनेछ । सुरक्षामा उच्च मनोबल हालसम्म गरिएका अभ्यासहरूबाट उद्धार टोली उत्साहित देखिएको छ । सामान्य खालका दुर्घटना र उद्धारका लागि टोली पूर्ण रूपमा सक्षम र विश्वस्त रहेको अधिकारीहरूको भनाइ छ । यद्यपि, टनेल भित्र ठूलो आगलागी वा जटिल परिस्थिति सिर्जना भएमा त्यसका लागि छुट्टै विशेष योजना अनुसार काम गर्नुपर्ने उनीहरू बताउँछन् । हाल सुरुङ मार्गमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाडीहरूको आवतजावतलाई निरन्तरता दिँदै सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न अन्तिम चरणको तयारी भइरहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार बैंकले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ । नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ । बैंकले ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस शेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशबापत २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश तथा वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय भएको बैंकले जनाएको छ । राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गराउने बैंकको तयारी छ ।
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डहरूको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन् । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड–२, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । निर्णयअनुसार सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाइधनीले ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाइधनीले १० प्रतिशत नगद लाभांश पाउनेछन् । लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी बुक क्लोज मिति तय गरिनेछ ।
कालीमाटीमा सबैभन्दा महँगो तरकारी पार्सले, किलोको १ हजार ४५० रुपैयाँ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारीको मूल्यमा वस्तुअनुसार उल्लेख्य फरक देखिएको छ । कालीमाटी बजारमा ठूलो गोलभेडा (नेपाली) को औसत थोक मूल्य प्रतिकिलो ७१ रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेडाको औसत मूल्य ७५ रुपैयाँ छ । स्थानीय सानो गोलभेडाको औसत मूल्य ३५ रुपैयाँ र टनेलको सानो गोलभेडाको ५२ रुपैयाँ ५० पैसा रहेको छ । आलुतर्फ रातो आलु (लाम्चाे) को औसत मूल्य ४९ रुपैयाँ ६७ पैसा, रातो आलु (गाेलाे) र (मुडे) को ५० रुपैयाँ ८३ पैसा तथा भारतीय रातो आलुको ३८ रुपैयाँ ५० पैसा रहेको समितिले जनाएको छ । सेतो आलुको औसत मूल्य ३६ रुपैयाँ छ । प्याजको औसत थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । स्थानीय गाजरको ११० रुपैयाँ र तराईको गाजरको ७५ रुपैयाँ औसत मूल्य निर्धारण भएको छ । तरकारीमध्ये स्थानीय काउलीको औसत मूल्य ९५ रुपैयाँ, रातो मुलाको २५ रुपैयाँ, तने बोडीको ८२ रुपैयाँ ५० पैसा, भटमासको ११२ रुपैयाँ ५० पैसा, तिते करेलाको ४५ रुपैयाँ र लौकाको ५५ रुपैयाँ रहेको छ । यस्तै, स्थानीय परवरको औसत मूल्य ६४ रुपैयाँ, तराईको परवरको ६१ रुपैयाँ ६७ पैसा, घिरौलाको २५ रुपैयाँ, चिचिन्डोको २५ रुपैयाँ र फर्सीको ५५ रुपैयाँ रहेको छ । फलफूलतर्फ स्याउ (फुजी) को औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ, नेपाली केराको २७५ रुपैयाँ, मालभोग केराको १९० रुपैयाँ र कागतीको २२५ रुपैयाँ रहेको छ । अनारको औसत मूल्य ३२५ रुपैयाँ तथा आँप (मालदह) को २६५ रुपैयाँ रहेको छ । कालीमाटी बजारमा सबैभन्दा महँगो वस्तुमध्ये पार्सलेको औसत मूल्य प्रतिकिलो १ हजार ४५० रुपैयाँ रहेको छ । सिताके च्याउको औसत मूल्य ९०० रुपैयाँ, डल्ले च्याउको ५०८ रुपैयाँ ३३ पैसा र सुकेको खुर्सानीको ५२५ रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ । यस्तै, किवीको औसत मूल्य ३७५ रुपैयाँ, एभोकाडोको ४५० रुपैयाँ, ड्रागन फ्रुट (नेपाली) को ४५० रुपैयाँ र अदुवाको २१३ रुपैयाँ ३३ पैसा रहेको छ । समितिले बजारको माग र आपूर्ति अवस्थाका आधारमा मूल्य निर्धारण हुने जनाएको छ ।