विकासन्युज

'स्वास्थ्य बीमा प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्‍यो, नागरिक बिचल्लीमा परिसके'

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रको पछाडि निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विरोध गरेकी छन् । उनले संवेदनशील स्वास्थ्य संस्था नजिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटोसमेत ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागिएको भन्दै आपत्ति जनाइन् । उचित सूचना र पारदर्शी प्रक्रिया बिना निर्माण कार्य अघि बढाइएको उल्लेख गर्दै उनले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले उक्त क्षेत्रमा फोहोर प्रशोधन केन्द्र निर्माण नगर्न माग गरिन् । स्थानीय बासिन्दाले समेत निर्माणको विरोध गरिरहेको उनले बताइन् । सांसद न्यौपानेले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारण मर्कामा परेको विषयसमेत सदनमा उठाइन् । स्वास्थ्य बीमाको सुविधा सहज रूपमा नपाउँदा नागरिक बिचल्लीमा परेको भन्दै उनले कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘मेरो क्षेत्र काठमाडौं–१ को थापाथली प्रसूति गृह पछाडि फोहोर प्रशोधन केन्द्र बनाउन लागिएको छ । कुनै सूचना वा जानकारी नदिई बाटोसमेत ढाकेर निर्माण गर्न लागिएकोप्रति स्थानीयवासीको विरोध छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा ल्याई नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु ।’ सम्बोधनका क्रममा उनले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकको समस्यासमेत उठाइन् । गत भदौ २४ गते राष्ट्र बैंकबाट लुटिएको भनिएको सुनका सम्बन्धमा पीडितले हालसम्म न सुन फिर्ता पाएको न त बजार मूल्यअनुसार क्षतिपूर्ति नै पाएको उनले बताइन् । पीडितहरूको समस्या तत्काल समाधान गर्न र उनीहरूको सम्पत्तिको संरक्षण गर्न सरकारसँग उनले माग गरिन् ।

पहिलोपटक राइड सेयरिङमा दर्ता भई सञ्चालनमा आयो ‘सवारी नेपाल’

काठमाडौं । गण्डकी प्रदेशमा पहिलोपटक राइड सेयरिङ कम्पनी ‘सवारी नेपाल’ आधिकारिक रूपमा दर्ता भई सञ्चालनमा आएको छ । गण्डकी प्रदेशले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ अनुसार २०८२ वैशाखमा जारी भएको नियमावलीअनुसार पहिलो पटक उक्त कम्पनीले अनुमति लिएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशकी प्रवक्ता मुना अधिकारीले हालसम्म सवारी नेपाल मात्र दर्ता भई सञ्चालनमा आएको विकासन्युजलाई जानकारी दिइन् ।  उनका अनुसार अहिले देशभर सञ्चालनमा रहेका कुनै पनि राइड सेयरिङ सेवा दिने कम्पनीले सरकारबाट अनुमति पाएका थिएनन् ।  यो गण्डकीमा मात्र नभएर देशभरमै पहिलो राइड सेयरिङ दर्ता कम्पनी बनेको हो ।  हालसम्म चलेका राइड सेयरिङ सेवा दिने एपहरू कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भएर चलिरहेका छन् । संघीय र अन्य प्रदेश सरकारहरूले अहिलेसम्म राइड सेयरिङसम्बन्धी कानुन नै ल्याउन सकेका छैनन । सवारी सेवा नेपाल प्रालि नामक कम्पनीले नेपालमै पहिलो पटक कानुनबमोजिम राइड सेयरिङका लागि अनुमति लिएको र अन्य ४ कम्पनीले निवेदन दिएको प्रवक्ता अधिकारीले जानकारी दिइन् । उनका अनुसार इनड्राइभ, पठाओ जस्ता अन्य हालसम्म दर्ता भएका छैनन् ।  गण्डकी सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवाहरूलाई कानुनी दायरामा ल्याउन ३० दिने अल्टिमेटम दिएको छ ।  मन्त्रालयले एक सूचना जारी गर्दै अवैध रूपमा सञ्चालित यस्ता कम्पनीहरूलाई तत्काल दर्ता हुन आह्वान गरेको हो ।  ‘धेरै कम्पनीहरू दर्ता प्रक्रियामा नआई अप्रत्यक्ष रूपमा सञ्चालन भइरहेका छन्,’ प्रवक्ता अधिकारीले भनिन्, ‘सेवा रोक्दा सर्वसाधारणलाई असुविधा हुने भएकाले हामीले तत्काल बन्द नगरी ३० दिन थप गरी दर्ता भएर वैधानिक रूपमा सञ्चालन हुन अवसर दिएका हौं ।’ मन्त्रालयले राइड सेयरिङ र सेल्फ ड्राइभ दुवै सेवाका लागि नयाँ भाडा दरसमेत निर्धारण गरेको छ ।  प्रवक्ता अधिकारीका अनुसार सरकारले तोकेको भाडा दर हाल बजारमा चलिरहेको दरभन्दा कम र किफायती छ । राइड सेयरिङको भाडा दर यसअघि नै तोकिइसकिएको छ ।  विस्तृत भाडा दर मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको र सोहीअनुसार मात्र शुल्क लिन पाइने मन्त्रालयले स्पष्ट पारेको छ । राइड सेयरिङ सेवालाई सुरक्षित र व्यवस्थित बनाउन मन्त्रालयले कम्पनीहरूले प्रयोग गर्ने एपको अडिट गर्ने भएको छ । अबदेखि कुन कम्पनीले कसरी सेवा दिइरहेका छन् भन्ने कुरा सरकारी निगरानी प्रणालीबाटै हेरिनेछ । दर्तामा किन भयो ढिलाइ ?  गण्डकी प्रदेशमा यो सेवा पहिलो पटक कानुनी रूपमा सुरु गर्न लागिएको र अनलाइन प्रविधिमा आधारित भएकाले कानुन निर्माणमा केही समय लागेको मन्त्रालयको भनाइ छ ।  यसअघि कार्यान्वयनको क्रममा अदालतमा मुद्दा परेको र विभिन्न चरणमा आन्दोलनहरू भएकाले पनि प्रक्रियामा ढिलाइ भएको प्रवक्ता अधिकारीले जानकारी दिइन् ।  मन्त्रालयले सर्वसाधारणलाई दर्ता भएका र वैधानिक कम्पनीको सेवा मात्र प्रयोग गर्न आग्रह गरेको छ । ३० दिनको अवधिभित्र पनि दर्ता नहुने कम्पनीहरूलाई कानुनी कारबाही गरिने र उनीहरूको सेवा बन्द गराइने मन्त्रालयले चेतावनीसमेत दिएको छ । मन्त्रालयले यसअघि पनि ३० दिनको सूचना जारी गरेको भए पनि सवारी नेपाल कम्पनीमात्रै  दर्ता भएको थियो ।  मन्त्रालयले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मलाई ३० दिनभित्र दर्ता इजाजतपत्र लिन पुनः निर्देशन दिएको हो । 

३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्दै आयुष कुँवरको ऐतिहासिक सफलता

काठमाडौं । नेपाली एथलेटिक्सका स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै नयाँ इतिहास रचेका छन् ।  शिवम् सिमेन्टमा अनुबन्धित आयुषले ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेपछि आफ्नै नाममा रहेको रेकर्डसमेत सुधार गरेका हुन् । साउन २४ गते लन्डनमा सम्पन्न २०० मिटर दौडमा आयुषले २१.६६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । यसअघि उनको नाममा रहेको २१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनले केही समयअघि मात्र कायम गरेका थिए । उनले २१.८७ सेकेन्डको समय निकाल्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका थिए । यससँगै तीन दशकदेखि कायम रहेको कीर्तिमान आफ्नो नाममा ल्याएका आयुषले त्यसलाई समेत छोटो समयमै सुधार गरेका छन् । यसअघि आयुषले ६० मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान बनाइसकेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले कायम गरेको ७.०९ सेकेन्डको कीर्तिमान सुधार गर्दै ७.०२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमान विश्व एथलेटिक्सको वेबसाइटमा समेत अभिलेखित छ । आयुषका पछिल्ला उपलब्धिहरूको विशेष पक्ष उनले विश्व एथलेटिक्सबाट स्वीकृत प्रतियोगितामा हासिल गरेका हुन् ।  विश्व एथलेटिक्स अन्तर्राष्ट्रिय एथलेटिक्स खेलको नियमनकारी संस्था हो, जसले प्रतियोगिताका मापदण्ड, नियम तथा आधिकारिक कीर्तिमानलाई मान्यता दिन्छ । त्यसैले यस्ता प्रतियोगितामा बनेका रेकर्डले अन्तर्राष्ट्रिय स्तरमा आधिकारिक मान्यता पाउँछन् । नेपालमा एथलेटिक्सका खेलाडीले पर्याप्त प्रतियोगिता र प्रशिक्षणको अवसर नपाउने अवस्था रहेकाले ३० वर्षसम्म २०० मिटरको राष्ट्रिय कीर्तिमान कायम रहनु पनि त्यसैको परिणाम भएको आयुषको बुझाइ छ ।  राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनले सन् २०२३ देखि नै बनाएका थिए । त्यसका लागि उनले आफै अवसर खोज्दै विश्व एथलेटिक्सबाट स्वीकृत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । आयुषको एथलेटिक्स यात्रामा शिवम् सिमेन्टले सन् २०२३ देखि निरन्तर साथ दिँदै आएको छ । नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले शिवम् सिमेन्टले उनलाई अनुबन्धित गरेको हो ।  आवश्यकताअनुसार हवाई टिकट, खेल पोशाक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । आयुषको सफलता भने सहज यात्राको परिणाम होइन । सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताका क्रममा ह्यामस्ट्रिङको चोटका कारण उनी प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका थिए ।  चोटपछि पुनरागमन गर्दै उनले एक वर्षभित्रै राष्ट्रिय कीर्तिमान भंग गर्न सफल भएका हुन् । हाल अमेरिकामा प्रशिक्षणरत आयुषले आफ्नो प्रशिक्षण, प्रतियोगितामा सहभागिता र खेल जीवनका अधिकांश पक्ष आफै व्यवस्थापन गर्दै आएका छन् ।  सीमित स्रोतसाधन, चोटपटक र संस्थागत चुनौतीका बीच निरन्तर प्रशिक्षण र मेहनत गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । कीर्तिमान सुधारपछि आयुषले तीन दशक पुरानो रेकर्ड तोड्न सफल हुँदा गर्व लागेको बताए । तर, यति लामो समयसम्म कीर्तिमान कायम रहनु नेपाली स्प्रिन्टरले पर्याप्त अवसर नपाउनुको परिणाम भएको उनको भनाइ छ । उनले भने, ‘कीर्तिमान भनेको तोड्नकै लागि हो । अब एउटा नयाँ मापदण्ड सेट भएको छ र आउने दिनका एथलिटहरूले चाँडै यसलाई ब्रेक गर्नेछन् भन्ने आशा छ ।’ आयुषले नेपाली स्प्रिन्ट खेलको विकासका लागि ‘स्प्रिन्ट प्रोजेक्ट’ नामक निजी परियोजना अघि बढाउने तयारीसमेत भइरहेको बताए । त्यसमा शिवम् सिमेन्टको साथको अपेक्षा रहेको उनको भनाइ छ । शिवम् सिमेन्टले आयुषको ऐतिहासिक उपलब्धिप्रति बधाई दिँदै नेपाली खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएको छ ।  कम्पनीले सन् २०२७ मा अमेरिकामा हुने वल्र्ड मास्टर्स इन्डोर च्याम्पियनसिपको तयारीका लागि आयुषका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई समेत सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ । आयुषको पछिल्लो प्रदर्शनले पर्याप्त अवसर, निरन्तर प्रशिक्षण र दृढ इच्छाशक्ति पाए नेपाली एथलेटिक्सका खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने सम्भावना देखाएको छ ।

प्रधानमन्त्रीलाई संसदमा जवाफदेही बनाउने रुलिङपछि प्रतिपक्षीको अवरोध हट्यो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित गराएर सांसदका प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेपछि झण्डै दुई महिनादेखि हुँदै आएको प्रतिनिधि सभा अवरोध हटेको छ । सभामुखको रुलिङपछि मंगलबार बसेको प्रतिनिधि सभाको बैठक प्रतिपक्षीको विरोध र अवरोधबिनै सञ्चालन भइरहेको छ ।  बिहान ११ बजे सुरु भएको बैठकमा प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध नगरी नियमित कार्यसूचीमा सहभागी भएका छन् । प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधि सभामा बोल्ने क्रममा ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरू आक्रोशित भएका थिए ।  उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले संसदमै जवाफ दिनुपर्ने र आफ्नो भनाइबारे स्पष्ट पार्नुपर्ने माग गर्दै उनीहरूले त्यसयता निरन्तर बैठक अवरुद्ध गर्दै आएका थिए । बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी सांसदहरू उठेर विरोध जनाउने, प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गर्ने र आफ्ना प्रश्नको जवाफ दिनुपर्ने अडान राख्ने गरेका थिए । तर, प्रधानमन्त्री शाहले प्रतिपक्षीको माग सम्बोधन नगरेपछि संसदमा गतिरोध कायमै थियो । सोमबारको बैठकमा पनि सुरुआतमै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसक्रममा सभामुख अर्यालले यसअघिका बैठकमा जस्तो प्रतिपक्षीलाई लामो समय बोल्ने अवसर नदिई प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरे। सभामुखको उक्त रुलिङपछि प्रतिपक्षी दलहरूले बैठकमा गर्दै आएको अवरोध तत्काल हटाएका थिए । त्यसको भोलिपल्टै संसद् बैठक सहज रूपमा सञ्चालन भएको हो । मंगलबारको बैठकमा आकस्मिक समयअन्तर्गत सांसदहरूले आफ्ना धारणा राखिसकेका छन् । अहिले शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना भनाइ राखिरहेका छन् । आजको बैठकमा सरकारका चार मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘थारु आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८१/०८२’ संसदमा पेस गर्नेछिन् । त्यसपछि विधायिकी कामकारबाही अघि बढाइनेछ। परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछिन् । आजको बैठकमा अन्तर्राष्ट्रिय समुद्री कानुनसँग सम्बन्धित सम्झौता पनि संसदमा प्रस्तुत हुँदैछ ।  कानुनमन्त्री गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा प्रश्नोत्तर, वार्षिक प्रतिवेदन, विधेयक र अन्तर्राष्ट्रिय सम्झौता प्रस्तुत गर्नेसहितका कार्यसूची छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सरकारको जवाफदेहिता र विधायिकी प्रक्रियाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७  परिवारले पाए लालपुर्जा

काठमाडौं । नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैलाई नगरपालिका वडा नं ११ का ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो ।  नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

बालबालिकासँग खुसी साट्दै स्वास्थ्य संस्था सञ्चालक संघ

काठमाडौं । स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले आफ्नो स्थापना दिवस बालबालिकासँग खुसी साट्दै मनाएको छ । संघले कागेश्वरी मनोहरा–स्थित सिर्जनशील बाल सेवा परिवारमा रहेका बालबालिकालाई भोजन गराएर आफ्नो वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मेडिकल व्यवसायी संघका निवर्तमान अध्यक्ष सीताराम रेग्मीले स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल नयाँ संस्था भए पनि छोटो समयमै व्यवसायीका समस्या र सरोकारलाई राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउन सफल भएको बताए । उनले संस्थाले व्यवसायीको हितमा सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गरे  । नेपाल मेडिकल व्यवसायी संघका तत्कालीन महासचिव नवराज पौडेलले स्वास्थ्य क्षेत्रका व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । विभिन्न संस्थाहरूले आफ्ना विधान र उद्देश्यभन्दा बाहिर गएर गतिविधि गर्दा व्यवसायी अन्योलमा पर्ने अवस्था सिर्जना भएको भन्दै उनले व्यवसायीको साझा हितका लागि संस्थागत एकता आवश्यक रहेको बताए । कार्यक्रम संघका अध्यक्ष मदनकुमार पूर्वेको अध्यक्षतामा सम्पन्न भएको थियो । रघुनाथ पनेरु (कालिका)ले सञ्चालन गरेको कार्यक्रममा सोमराज लिम्बुले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा सिर्जनशील बाल सेवा परिवारकी अध्यक्ष उमा देवी कार्की बस्नेतले बालबालिकालाई लक्षित गरी सामाजिक सेवा गरेकोमा संघप्रति आभार व्यक्त गरिन् । उनले आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै यस्ता सेवा गर्ने अवसर प्राप्त हुने अपेक्षा व्यक्त गर्दै स्वास्थ्य संस्था सञ्चालक संघका पदाधिकारी तथा सदस्यहरूको व्यावसायिक सफलताको शुभकामना दिइन् । संघले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएको जनाएको छ ।

ट्रम्पको लोकप्रियता खस्किँदै, ६४ प्रतिशत अमेरिकी असन्तुष्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट देखिएको छ । ‍रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको स्वीकृति दर घटेर ३३ प्रतिशतमा झरेको छ । यो उनको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले मात्र उनको कामलाई अनुमोदन गरेका छन् । यसै महिनाको सुरुवातमा गरिएको सर्वेक्षणमा ट्रम्पको स्वीकृति दर ३५ प्रतिशत थियो । सर्वेक्षणअनुसार ट्रम्पको अहिलेको स्वीकृति दर उनको पहिलो कार्यकालकै न्यूनतम स्तरमा पनि पुगेको छ । पहिलो कार्यकालमा सन् २०१७ को डिसेम्बरमा पनि उनको स्वीकृति दर ३३ प्रतिशतमा झरेको थियो । सर्वेक्षणले इरानसँगको युद्धलाई लिएर अमेरिकी नागरिकको चिन्ता पनि बढेको देखाएको छ । करिब ८० प्रतिशत अमेरिकीले अमेरिका र इरानबीचको युद्ध लामो समयसम्म चल्ने आशंका व्यक्त गरेका छन् ।

सुनको मूल्य प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ । चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।