नाइमा एक्स्पो: पानी पर्दा पनि भृकुटीमण्डप पुगे १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतबार समापन हुँदैछ । तर, साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौं दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन् । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन् । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या १ लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । एक्स्पो अवलोकन गर्नेहरुको भीड शनिबार अनपेक्षित बढेपछि पार्किङ व्यवस्थापनमा समेत हम्मे–हम्मे परेको थियो । भृकुटीमण्डपभित्रका सबै खालि जग्गा, नेपाल पुलिस क्लबको दुई तला तथा खाद्य गोदाम ग्राउन्डलगायतका स्थलमा पार्किङको व्यवस्थापन गर्दा पनि अवलोकनकर्तालाई सहज भएको थिएन । पटक–पटक भइरहेको भारी वर्षालाई बेवास्ता गर्दै अवलोकनकर्ता भृकुटीमण्डप पुगिरहेका थिए । ‘पानीले निकैबेर डिस्टर्ब गर्यो,’ काठमाडौं सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले भने, ‘यहाँ आइपुग्दा खुट्टा टेक्नै नपाउने गरी भीड लागेको रहेछ, मैले पनि एउटा स्कुर बुक गरेँ ।’ उनीसँगै आएका संघका सह–सचिव अभिषेक शाक्यले पनि विगत वर्षको मेलामा भन्दा यसपटक धेरै नै मानिस आएको अनुभव सुनाए । अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । ‘मेला पूर्णरुपमा सफल भयो भन्नका लागि अन्तिम दिनसम्म कुर्नै परेन,’ उनले भने, ‘हाम्रो लक्ष्य पूरा भइसकेको छ, एक्स्पो अवलोकन गरेर भोलिको दिनलाई अझ विशेष बनाइदिन म सबैलाई आग्रह गर्छु ।’ एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अवलोकनकर्ताको व्यापक उपस्थितिले मेलालाई सफल बनाएको बताइन् । पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठुलो संख्यामा अवलोकनकर्तालाई आकर्षित गर्न सक्नु नाइमाको सफलत भएको धारणा राखे । विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ । दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ । नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरुले बताएका छन् । अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् । कम्पनीहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् । मेलामा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । पाँचौँ दिनमा पनि एउटा सवारीसाधन लन्च गरिएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको हो । आजको नाइमा मोबिलिटी संवादमा एआई र अटोमोटिभ प्रविधिः मोबिलिटीको भविष्य विषयमा छलफल भएको छ । संवादको सहजीकरण ट्यान्जिबलका प्रमुख कार्यकारी अधिकृत आलोक खत्रीले गरेका थिए भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेल, वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (भोइथ)का निर्देशक सूर्यांश वैद्य, एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चका कार्यकारी निर्देशक सन्ध्या सिटौला र टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलियला प्यानलिस्टका रुपमा सहभागी थिए । शुक्रबार टेक्निकलएम ब्याट्री रिसाइकल एन्ड इथेनोल ब्लेन्डिङ इन फ्युएल विषयमा छलफल भएको थियो । त्यस्तै बिहीबार मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स विषयमा छलफल तथा अन्तक्र्रिया भएको थियो । बुधबारको लर्निङ सेसनमा ‘मोबिलिटी: हिजो आज र भोलि’ विषयमा छलफल तथा अन्तक्र्रिया भएको थियो भने एक्स्पोको पहिलो दिन मंगलबार इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडिआई) मोबिलाइजिङ-फ्युएल फर इकोनोमिक ग्रोथ विषयमा छलफल भएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुनेछ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रुपमा रहेको छ । त्यस्तै बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् । नाइमा मोबिलिटी एक्स्पोको को-टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।
विद्युतीय सवारीमा एआई र डेटाको प्रयोग बढ्दो, नेपालमा छ पूर्वाधार र नीतिको अभाव
काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले अटोमोबाइलमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएसँगै नेपालले सवारीसाधनलाई केवल आयात र बिक्रीको वस्तुका रूपमा नभई डेटा, प्रविधि, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एआई एन्ड अटोमोटिभ टेक्नोलोजी ड्राइभिब द फ्युचर अफ मोबिलिटी संवादमा उद्योग, सरकार, अनुसन्धान तथा शैक्षिक क्षेत्रका प्रतिनिधिले अटोमोबाइलमा एआईको सम्भावनादेखि त्यसका लागि आवश्यक नीति, पूर्वाधार र जनशक्तिसम्मका विषयमा धारणा राखेका थिए । संवादमा वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले एआईको प्रयोग अटोमोबाइल क्षेत्रमा मात्र नभई ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत गर्न सकिने बताए । उनका अनुसार सवारीसाधनमा जडित सेन्सर तथा अन्य उपकरणबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरेर प्रयोगकर्तालाई थप सुरक्षित, सहज र प्रभावकारी सेवा दिन सकिन्छ । वैद्यले एआईको प्रयोगबाट सडकको अवस्था पहिचान गर्नेदेखि सवारी चलाउने शैली सुधार गर्नेसम्मका काम गर्न सकिने बताए । त्यस्तै, एआईलाई रुट प्लानिबमा प्रयोग गरेर सवारीको ब्याट्री सकिनुअघि नै उपयुक्त चार्जिब स्टेसनको सुझाव दिन सकिने उनको भनाइ छ । मौसम तथा वर्षासम्बन्धी तथ्यांकलाई सवारीको प्रणालीसँग जोडेर सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल मोड परिवर्तन गर्न सकिने सम्भावना पनि उनले औंल्याए । तर, नेपालमा स्वचालित सवारी अर्थात् अटोनोमस ड्राइभिबको प्रयोग तत्काल सहज नरहेको वैद्यको भनाइ छ । यस्तो प्रविधिका लागि आवश्यक प्रशिक्षण तथ्यांक प्रायः राम्रो सडक, स्पष्ट लेन र व्यवस्थित ट्राफिक भएको वातावरणबाट आउने गरेको भन्दै उनले नेपालका फरक सडक तथा ट्राफिक अवस्थाका लागि स्थानीय डेटा र अनुसन्धान आवश्यक रहेको बताए । उनका अनुसार सवारीसाधनबाट संकलित तथ्यांकलाई सम्बन्धित सरकारी निकायसँग साझेदारी गर्न सके सडकको अवस्था, खाल्डाखुल्डी तथा अन्य पूर्वाधारसम्बन्धी समस्या पहिचान गर्न समेत सहयोग पुग्न सक्छ । भविष्यको मोबिलिटीको उद्देश्य नयाँ सवारीसाधन बिक्री गर्नु मात्रै नभई मानिसलाई सुरक्षित, सहज र प्रभावकारी रूपमा एक स्थानबाट अर्को स्थानमा पुर्याउने प्रणाली विकास गर्नु हुनुपर्ने उनले बताए । यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले पनि आधुनिक अटोमोबाइल क्षेत्रमा डेटा व्यवस्थापन र सरकारी नियमनको आवश्यकता औंल्याए । नेपालमा विद्युतीय तथा प्रविधियुक्त सवारीसाधनको प्रयोग बढ्दै जाँदा सवारीसाधनबाट उत्पादन हुने डेटा, गुणस्तर परीक्षण, साइबर सुरक्षा र प्रविधिको नियमनमा सरकारको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । कुनै वस्तु आयात गर्नुअघि र आयात भइसकेपछि त्यसको डेटा कसरी संकलन गर्ने, गुणस्तर कसरी मापन गर्ने र प्राप्त तथ्यांकलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट प्रणाली आवश्यक रहेको उनले बताए । पौडेलले साइबर सुरक्षा र डेटा नेपालमै राख्ने सम्भावना तथा त्यसका लागि लाग्ने लागतबारे समेत नीतिगत रूपमा अध्ययन गर्नुपर्ने बताए । सवारीसाधनमा सफ्टवेयर, कनेक्टिभिटी, सेन्सर र डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा सवारीसम्बन्धी डेटा पनि साइबर सुरक्षासँग जोडिने उनको भनाइ छ । उनले नेपालमा नयाँ इनोभेसन ल्याब स्थापना गर्ने विषयसँगै सरकारले कुन क्षेत्रमा कति समय र स्रोत लगानी गर्ने भन्ने प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा नेपालको आवश्यकता र आर्थिक सम्भावनाका आधारमा प्राथमिकता तोकेर अनुसन्धान अघि बढाउनुपर्ने उनको धारणा छ । यसैगरी अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधि भित्रिए पनि त्यसअनुसारको जनशक्ति उत्पादनमा नेपाल कमजोर रहेको टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले बताए । उनका अनुसार नेपालमा विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग बढिरहेको भए पनि त्यसअनुसार प्रविधि, अनुसन्धान र दक्ष जनशक्ति विकासमा पर्याप्त ध्यान पुगेको छैन । थापलियाका अनुसार नेपालका अधिकांश कलेज तथा विश्वविद्यालयमा अझै प्रोग्रामिब, वेब डेभलपमेन्ट, डेटाबेस, नेटवर्किब लगायतका परम्परागत विषयमा बढी जोड दिइन्छ । तर आधुनिक सवारीमा प्रयोग भइरहेका सेन्सर, स्वचालन, एआई तथा अन्य डिजिटल प्रणालीका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान जानु पर्ने आवश्यक रहेको छ । अब एआई, साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिब , अटोमोटिभ सफ्टवेयर र डिजिटल फरेन्सिक जस्ता विषयलाई शिक्षामा प्राथमिकताका साथ समावेश गर्नुपर्ने उनले बताए । एउटा विषयका रूपमा एम्बेडेड सिस्टम पढेर मात्र भविष्यको आवश्यकता पूरा नहुने भन्दै उनले यसको उन्नत संस्करण, रोबोटिक्स, एज कम्प्युटिब र अटोमोटिभ सफ्टवेयरसमेत विद्यार्थीले गहिराइमा अध्ययन गर्नुपर्ने उल्लख गरे । थापलियाले आफूले अवसर पाए वर्तमान पाठ्यक्रममा ६० प्रतिशत कोर एकेडेमिक्स, २० प्रतिशत इमर्जिब टेक्नोलोजी र २० प्रतिशत इन्डस्ट्री एप्लिकेसन राख्ने अवधारणा प्रस्तुत गरे । यसबाट विद्यार्थीले आधारभूत ज्ञानसँगै नयाँ प्रविधिको अभ्यास र उद्योगको वास्तविक आवश्यकता बुझ्न सक्ने उनको भनाइ छ । साथै, नेपाल एप्लाइड म्याथमेटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले एआईलाई रोजगारी खोस्ने प्रविधिका रूपमा मात्रै हेर्न नहुने बताइन् । उनका अनुसार एआईले काम गर्ने शैलीलाई सहज बनाउनुका साथै अनुसन्धान, विश्लेषण र नयाँ सम्भावना पहिचानमा समेत सहयोग पुर्याइरहेको छ । सरकारी तहमा पनि एआईको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । एआईसम्बन्धी बहसमा रोजगारी गुम्ने विषयलाई मात्रै प्राथमिकता दिइएको भन्दै उनले प्रविधिले कामलाई कसरी सरल र प्रभावकारी बनाइरहेको छ भन्ने विषयमा पनि बहस आवश्यक रहेको बताइन् । सिटौलाले नेपालमा अनुसन्धानको इकोसिस्टम निर्माण गर्न दीर्घकालीन लगानी आवश्यक रहेको बताइन् । आज अनुसन्धान गरेर भोलि नै परिणाम आउने अवस्था नहुने भन्दै अनुसन्धानलाई खर्च नभई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उनको धारणा छ । उनका अनुसार डेटा सुरक्षा पनि प्रविधिको विकाससँगै महत्वपूर्ण विषय बनेको छ । डेटा सुरक्षित राख्न आवश्यक पूर्वाधारमा लगानी गर्दै नेपाल उपभोक्ताको भूमिकाबाट माथि उठेर प्रविधि र अनुसन्धानमा योगदान गर्ने मुलुकका रूपमा अघि बढ्नुपर्ने उनले बताइन् । सरकार, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपालमा भएका अनुसन्धानलाई स्थानीय समस्या समाधानमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । स्थानीय डेटा प्रयोग गरेर कुनै क्षेत्रको समस्या समाधान गर्न सकिने भए त्यस्ता अनुसन्धानलाई व्यवहारमा लागू गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । यस्तै, नाइमा संवादमा व्यक्त विचारले नेपालको अटोमोबाइल क्षेत्र अब केवल सवारीसाधन आयात, बिक्री र सञ्चालनको विषयमा सीमित नरहेको देखाएको छ । एआई, सेन्सर, सफ्टवेयर, कनेक्टिभिटी, डेटा र स्वचालनले सवारीसाधनको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा नेपालले पनि त्यसअनुसार आफ्नो नीति, शिक्षा, अनुसन्धान र पूर्वाधार परिवर्तन गर्नुपर्ने देखिन्छ । उद्योगले उत्पादन गर्ने डेटा सरकार र अनुसन्धान संस्थासँग सुरक्षित तथा उपयोगी ढंगले साझेदारी गर्ने व्यवस्था, स्थानीय सडक तथा ट्राफिक अवस्थालाई समेट्ने अनुसन्धान, साइबर सुरक्षा, गुणस्तर परीक्षणका आधुनिक उपकरण, एआई पूर्वाधार र प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता संवादका वक्ताहरूले औंल्याएका छन् ।
‘१५ औँ महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छु’
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । शनिवार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् । नेता कोइरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे । आगामी १५ औँ महाधिवेशनको प्रसंगमा बोल्दै कोइरालाले नेता डा. शेखर कोईरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गरे । उनले थप स्पष्ट पार्दै सभापतिमा शेखर कोइराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्ने समेत बताए । उनले भने, ‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा बिलकुलै छैन । जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ । सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन । साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु । नयाँ र सङ्गठित काँग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ । नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ ।’ पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै डा. कोइरालाले अब काँग्रेसले सैद्धान्तिक बहसभन्दा माथि उठेर विकास र समृद्धिको एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताए । संविधान प्राप्त भइसकेको अवस्थामा अबको मूल लक्ष्य विकास हुनुपर्ने उनको तर्क छ ।
पोखरामा ६ करोडका लक्जरियस बस भित्रिए, बसभित्रै चिया-कफी र शौचालयको सुविधा
काठमाडौं । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैयाँ बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गरे । पोखरा आफैँमा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो । यहाँबाट मुक्तिनाथलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सञ्चालन हुने सुविधा सम्पन्न यातायात सेवाले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ । लामो समयदेखि यात्रुहरूको प्रतिक्षाको विषय बनेको यो सेवा विशेष सुविधाहरू सहित सञ्चालनमा आउन लागेको हो । कम्पनीका अध्यक्ष टीकाराम अधिकारीकाअनुसार नयाँ सञ्चालनमा आउने बसहरूमा यात्रुको सहजताका लागि बसभित्रै शौचालय (वासरुम), चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ । यात्रुहरूबाट सेवा सञ्चालनका सम्बन्धमा बारम्बार सोधपुछ भइरहेकाले आगामी भदौ ३ गतेलाई सेवा प्रारम्भ गर्ने आधिकारिक मिति तय गरिएको कम्पनीले जनाएको छ । गुणस्तरीय र सुविधायुक्त यात्रा सुनिश्चित गर्दै यात्रुहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता समेत अध्यक्ष अधिकारीले व्यक्त गरेका छन् । उनले भने, ‘हामीले यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका थियौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाहरू प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले नेपालको पर्यटकीय राजधानी पोखराबाट काठमाडौंका लागि शुरु भएको यो सेवा नेपालकै मात्र नभई एशियाकै उत्कृष्ट पर्यटकीय सवारी साधनमध्ये पर्ने दाबी गरे । प्रतिसवारी साधन करिव २ करोड रुपैयाँ लगानी भएको जानकारी दिँदै उनले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा जोड दिए । सिटौलाले अबको यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्दै महासंघले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘हामीले सरकारसँग प्रविधिको स्पष्ट कार्यविधि बनाउन माग गरेका छौँ । संघीय यातायात व्यवस्था विभागमा यसबारे छलफल भइरहेको छ । अब यात्रीले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था हुनुपर्छ ।’ उद्घाटन गरिएका बसका चालकहरू ‘पाइलट’ र सहचालकहरू ‘एयर होस्टेस’ को पोसाकमा सुसज्जित हुनुलाई सिटौलाले यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवात भएको बताए। उनले पोसाकसँगै व्यवहारमा पनि उच्च व्यावसायिकता र विनम्रता अपनाउन कर्मचारीहरूलाई आग्रह गरे । साथै, उनले कार्यक्षेत्रमा खटिएका चालक र सहचालकको सुरक्षाको विषयमा राज्य गम्भीर हुनुपर्ने माग राखे । सडक दुर्घटना वा अन्य विवादमा चालकमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न प्रहरी वा ट्राफिक प्रहरीलाई सरह नै चालक वर्गलाई पनि कानुनी सुरक्षा प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
गगन र विश्वलाई दीपकले भने - जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ?
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा पराजित भएकाहरूले अरूमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गरेका हुन् । नेता खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उनले कुनै पनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताएका छन् । पार्टीभित्रको आन्तरिक कलह र ‘रडाको’ले कांग्रेसलाई कमजोर बनाएको भन्दै यस्तै गतिविधिले पार्टीलाई अहिलेको अवस्थामा पुर्याउन मुख्य भूमिका खेलेको उनको आरोप छ। पार्टीभित्रको विवाद र जनमतबारे स्पष्ट पार्दै उनले भने, ‘जनताले उहाँहरूको पूरा कार्यसमितिलाई नै पराजित गराइदिएका छन् । जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदैछ ? निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ। कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्ने कुरा आम जनताले बुझिसकेका छन् । त्यसैले नेताहरूले आपसमा बसेर छलफल गरी पार्टीलाई बलियो बनाउनुपर्छ ।’ अहिलेको सरकार र युवा नेतृत्वको गतिविधिको मूल्याङ्कन गर्ने समय बाँकी रहेको उल्लेख गर्दै खड्काले आगामी पाँच वर्षसम्म साङ्गठनिक सुदृढीकरण र जनतालाई आश्वस्त पार्ने काममा लाग्नु नै बुद्धिमानी हुने सुझाव दिएका छन् । उनले आफ्ना गल्तीहरू स्वीकार गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न संस्थापन पक्षका नेताहरूलाई आग्रहसमेत गरेका छन् ।
लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने बताएकी छन् । लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिष्टको अभावमा सेवा प्रभावित भएको भन्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरी सेवा सुचारु गर्ने बताइन् । उनले भनिन्, ‘ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सकहरू आवश्यक पर्छन्। तर लहान राजमार्गमा अवस्थित भएको र यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पताल जस्ता पूर्वाधारहरू उपलब्ध रहेकाले हामी तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ । विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको छ। बीमाका केही प्याकेजहरू अवैज्ञानिक रहेकाले त्यसलाई पुनरवलोकन गर्ने काम भइरहेको छ ।’ स्वास्थ्य बीमाको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको बताइन् । उनले निजी अस्पतालहरूमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालहरूमा यथावत रहेको बताइन् । तथ्यांकअनुसार करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहेकाले बीमाको प्रभावकारिता बढाउन सरकार लागिपरेको उनको दाबी छ । तराई क्षेत्रमा देखिएको ‘एन्टी स्नेक भेनम’को अभावका विषयमा मन्त्री मेहताले काठमाडौंमा ८ हजार ५ सय भायल औषधि आइपुगेको र आइतबारदेखि नै देशका विभिन्न भागमा वितरण सुरु हुने बताइन् । केही अस्पताल र सैनिक क्याम्पहरूमा मौज्दात कमी भए पनि पूर्ण रूपमा अभाव हुन नदिने उनले बताइन् ।
वर्तमान सरकार कामचलाउ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बहुमतको समर्थन प्राप्त भए पनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। उनले वर्तमान सरकारलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिए । वर्तमान सत्ता पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गर्दै कोइरालाले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेकोसमेत उल्लेख गरे । उनले भने, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ। बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ । यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ । राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन ।’
प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गरिरहेको बताए । उनले भने, ‘यसपालिको बजेटलाई हामीले आर्थिक दिशा परिवर्तन गर्ने र नयाँ गन्तव्य तय गर्ने आधारशिलाका रूपमा ल्याएका छौ पाँच वर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको जग बसाल्ने, दोस्रो र तेस्रो वर्ष त्यसलाई गति दिने र अन्तिम दुई वर्ष सुधारबाट प्राप्त प्रतिफल नेपाली जनतालाई लाभांशका रूपमा वितरण गर्ने हाम्रो लक्ष्य छ ।’ उनले देशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने नीतिगत रणनीति कार्यान्वयन भइरहेको उल्लेख गरे । नेपालमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएकाले प्रवासी नेपालीलाई लगानी गर्न उनले आग्रह गरे । मन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्ने क्षेत्रमा लगानी गर्न विशेष आग्रह गरे ।