विकासन्युज

दरबन्दी हटेपछि स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केसीको सरुवा

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीको सरुवा भएको छ । उनलाई स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरिएको हो । मन्त्रालयमा वरिष्ठ स्वास्थ्य प्रशासकको दरबन्दी नरहेपछि डा. केसीलाई तालिम केन्द्रमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ ।  नयाँ संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) संरचनाअनुसार मन्त्रालयमा रहेको उक्त दरबन्दी हटाइएपछि उनको पदस्थापनका लागि तालिम केन्द्र सरुवा गरिएको हो । नयाँ ओ एण्ड एम संरचनाले मन्त्रालयको संगठनात्मक संरचना तथा विभिन्न पदको दरबन्दीमा समेत पुनरावलोकन गरेको छ ।  सोही क्रममा मन्त्रालयमा रहेको वरिष्ठ स्वास्थ्य प्रशासकको दरबन्दी हटाइएको थियो । दरबन्दी नै नरहेको अवस्थामा मन्त्रालयमा उनलाई निरन्तर राख्न कानुनी तथा प्रशासनिक जटिलता देखिएपछि सरुवा गरिएको बताइएको छ ।  मन्त्रालयमा सूचना अधिकारीका रूपमा कार्यरत रहँदा डा. केसीले मन्त्रालयका निर्णय, गतिविधि तथा स्वास्थ्यसम्बन्धी सूचनामा सञ्चारमाध्यमसँग समन्वय गर्दै आएका थिए । मन्त्रालयको नयाँ संगठन संरचना कार्यान्वयनसँगै विभिन्न पद तथा कर्मचारीको जिम्मेवारी र पदस्थापनमा समेत परिवर्तन भइरहेको छ ।  यसैक्रममा डा. केसीको सरुवालाई पनि नयाँ ओ एण्ड एम संरचनाअनुसार गरिएको प्रशासनिक व्यवस्थापनका रूपमा हेरिएको छ ।

बैंकको नाफाको बहस

बैंक तथा वित्तीय संस्थाको नाफा सार्वजनिक हुनेबित्तिकै त्यसले बजारमा छुट्टै तरंग ल्याउँछ । सञ्चारमाध्यममा ठूला शीर्षक बन्छन्, सेयरधनीको अनुहारमा चमक देखिन्छ, लगानीकर्ता नाफा बढेको बैंकको सेयरतर्फ आकर्षित हुन्छन् । कर्मचारी पनि बढी नाफा गर्ने संस्थामा काम गर्न पाएकोमा उत्साहित हुन्छन् । नियामकको नजरमा पनि नाफा गर्ने बैंकको वित्तीय अवस्था बलियो देखिन्छ । सर्वसाधारणका लागि समेत ‘कुन बैंकले कति कमायो ?’ भन्ने चासो बढ्छ । तर, बैंकको नाफालाई यति साँघुरो घेरामा मात्र हेर्नु पर्याप्त हुँदैन । गत आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो वर्षको तुलनामा नाफा ३२.२७ प्रतिशतले बढेको छ । करिब १७ अर्ब रुपैयाँको यस्तो वृद्धि पक्कै पनि सामान्य होइन । नबिल बैंक सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ भने ग्लोबल आइएमई, एभरेष्ट, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, एनएमबी, प्राइमलगायत बैंकले पनि उल्लेख्य नाफा गरेका छन् । समग्र तथ्यांकले बैंकिङ क्षेत्र पुनः नाफाको लयमा फर्किएको देखाउँछ । तर, यही तथ्यांकलाई आधार बनाएर बैंकिङ क्षेत्र स्वस्थ भयो र अर्थतन्त्र पनि सुधारको बाटोमा गयो भन्ने निष्कर्ष निकाल्नु भने हतार हुनेछ । बैंकको नाफा र अर्थतन्त्रको विस्तार एउटै कुरा होइन । बैंकले नाफा कमाइरहँदा उद्योगको उत्पादन घट्न सक्छ, निजी लगानी सुस्त हुन सक्छ, रोजगारी विस्तार नहुन सक्छ र कर्जाको माग कमजोर रहन सक्छ । त्यसैले बैंकको नाफालाई अर्थतन्त्रको ऐना मान्ने हो भने त्यसमा देखिएको सम्पूर्ण तस्बिर पढ्नुपर्छ ।  नाफा वृद्धिको प्रकृति हेर्दा पनि धेरै कुरा प्रस्ट हुन्छ । हिमालयन बैंकको नाफा एक हजार प्रतिशतभन्दा बढीले बढेको छ भने कुमारी बैंकको नाफा तीन गुणाभन्दा बढी भएको छ । एनआईसी एसिया बैंक अघिल्लो वर्षको ठूलो घाटाबाट नाफामा फर्किएको छ । यस्ता वृद्धिमा अघिल्लो वर्षको कमजोर आधार, प्रावधान व्यवस्थापन, खराब कर्जा असुली तथा अन्य वित्तीय समायोजनको प्रभाव हुन सक्छ । त्यसैले प्रतिशतमा भएको असाधारण वृद्धिलाई मात्र व्यावसायिक विस्तारको प्रमाण मान्नु उचित हुँदैन । ब्याजदर घट्नु, निक्षेपको लागत कम हुनु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु, खराब कर्जाका लागि छुट्याइएको प्रावधानमा सुधार आउनु तथा विगतमा रोकिएको कर्जा असुलीले पनि नाफा बढाउन भूमिका खेलेका हुन सक्छन् । यसको अर्थ बैंकको नाफा वृद्धि अर्थतन्त्रमा नयाँ लगानी र उत्पादन विस्तारकै परिणाम हो भन्ने आवश्यक छैन । यही अन्तर छुट्याउन नसक्दा बैंकको नाफालाई अर्थतन्त्रको स्वास्थ्यसँग जोडेर गलत निष्कर्ष निकाल्ने जोखिम हुन्छ ।  अझ गम्भीर संकेत खराब कर्जाको तथ्यांकले गर्छ । केही बैंकको खराब कर्जा अनुपात उच्च छ । प्रभु बैंकको खराब कर्जा अनुपात १५ प्रतिशतभन्दा माथि छ भने कुमारी, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतमा पनि यस्तो अनुपात उल्लेख्य छ । अर्कोतर्फ एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र सानिमा बैंकमा खराब कर्जा तुलनात्मक रूपमा कम छ । यसले समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि सबै बैंकको वित्तीय स्वास्थ्य एउटै अवस्थामा नरहेको देखाउँछ । अर्को महत्वपूर्ण विषय बैंकले कमाएको नाफाले अर्थतन्त्रमा कति योगदान ग¥यो ? बैंकिङ प्रणालीको मूल काम निक्षेप संकलन गरेर उत्पादनशील क्षेत्रमा पुँजी परिचालन गर्नु हो । उद्योग, कृषि, ऊर्जा, पर्यटन, व्यापार तथा साना–मझौला उद्यममा कर्जा विस्तार भयो भने मात्र बैंकको नाफाले अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्छ । तर, बैंकमा पर्याप्त पैसा भएर पनि व्यवसायी कर्जा लिन उत्साहित छैनन् भने समस्या बैंकमा मात्र होइन, समग्र लगानी वातावरणमा छ । यतिबेला नेपालको समस्या तरलताको अभावभन्दा लगानीको कमजोर मनोविज्ञान हो । ब्याजदर घटेको छ, बैंकसँग लगानीयोग्य स्रोत छ, तर बजारमा पर्याप्त माग र प्रतिफलको सुनिश्चितता नहुँदा निजी क्षेत्र जोखिम लिन हिच्किचाइरहेको छ । यही कारण बैंकिङ प्रणालीमा पैसा थुप्रिने तर वास्तविक अर्थतन्त्रमा त्यसको प्रवाह अपेक्षाअनुसार नहुने अवस्था देखिन्छ । बैंकहरू नाफा कमाउने संस्थामात्र होइनन्, अर्थतन्त्रका लागि पुँजीका मध्यस्थकर्ता पनि हुन् । उनीहरूले शेयरधनीलाई प्रतिफल दिनुपर्छ, तर त्यससँगै उत्पादन, लगानी र रोजगारी सिर्जना हुने क्षेत्रमा स्रोत परिचालन गर्ने जिम्मेवारी पनि पूरा गर्नुपर्छ ।  खुद नाफा बढ्दैमा सबै नाफा तत्काल सेयरधनीलाई बाँड्न मिल्ने हुँदैन । सञ्चित नोक्सानी, नियामकीय प्रावधान र अन्य समायोजनले वितरणयोग्य नाफालाई प्रभावित गर्छन् । त्यसैले बैंक मूल्यांकनको आधार खुद नाफा वा प्रतिशेयर आम्दानीमा मात्र सीमित हुनु हुँदैन । कर्जाको गुणस्तर, खराब कर्जा, प्रावधान, वितरणयोग्य नाफा र पुँजीको प्रभावकारी परिचालनलाई पनि उत्तिकै महत्व दिनुपर्छ ।  अब बैंकहरूबीचको प्रतिस्पर्धा ‘कसले धेरै नाफा कमायो ?’ मा सीमित रहनु हुँदैन । प्रतिस्पर्धाको प्रश्न हुनुपर्छ कि कसले गुणस्तरीय कर्जा बढायो, कसले उत्पादनशील क्षेत्रमा बढी लगानी ग¥यो, कसले खराब कर्जा नियन्त्रण ग¥यो र कसले अर्थतन्त्रमा बढी रोजगारी तथा उत्पादन सिर्जना गर्न योगदान ग¥यो ? त्यसैले अब बहस ‘बैंकले कति नाफा कमाए ?’ भन्नेमा होइन, ‘बैंकको नाफाले अर्थतन्त्रलाई कति कमाउन मद्दत ग¥यो ?’ भन्नेमा केन्द्रित हुनुपर्छ । यही प्रश्नको उत्तरले बैंकिङ क्षेत्रको वास्तविक स्वास्थ्य र अर्थतन्त्रको दिशालाई सही अर्थमा देखाउँछ । तबमाबै बैंकको नाफाको मूल्यांकन र प्रशंसा गर्न सकिन्छ । 

कुन महानगरमा कति पर्छ जग्गाको मूल्य ?

काठमाडौं । देशका प्रमुख ६ मध्ये पाँच महानगरपालिकाहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि जग्गाको नयाँ मूल्यांकन सार्वजनिक गरेका छन् । महानगरहरुले ल्याएको आर्थिक ऐन अनुसार विभिन्न क्षेत्रको जग्गाको नयाँ सरकारी मूल्याङ्कन दर सार्वजनिक गरेका हुन् ।  नयाँ व्यवस्थाअनुसार देशकै राजधानी काठमाडौंभन्दा बाहिर भरतपुर महानगरपालिकाभित्रको जग्गाको मूल्य तीव्र रुपमा बढिरहेको छ । नयाँ बजार विस्तार र तीव्र आर्थिक गतिविधि भइरहेको भरतपुर महानगरपालिकामा जग्गाको मुल्य काठमाडौं महानगरभित्र भन्दा उच्च देखिएको छ । भरतपुर महानगरपालिकामा जग्गाको मूल्याङ्कन प्रति कठ्ठा साढे ३ करोड रुपैयाँ नजिक पुगेको छ भने राजधानीको मुटु मानिने काठमाडौँ महानगरपालिकाको न्युरोड क्षेत्रमा प्रति आना ५० लाख रुपैयाँ मात्रै कायम गरिएको छ ।  महानगरपालिकाहरूले भौगोलिक अवस्थिति, सडकको पहुँच र व्यावसायिक महत्वका आधारमा वर्गीकरण गरी नयाँ जग्गा दर तोकेका हुन् । क्षेत्रफल मापनको एकाइ फरक–फरक (आना, रोपनी र कठ्ठा) भए पनि सबै महानगरमा व्यापारिक हब बनेका क्षेत्रकै जग्गा सबैभन्दा महँगो देखिएको छ ।  नयाँ व्यवस्थाअनुसार भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा जग्गाको मूल्य सबैभन्दा उच्च छ । यस क्षेत्रअन्र्तगत लायन्स चोकबाट शहीद चोक पुल्चोक हुँदै नारायणी पुलसम्मका (शहीदपाथ) महेन्द्र राजमार्गसँगै जोडिएका जग्गाहरु पर्दछन् । यस क्षेत्रको व्यावसायिक क्षेत्रको जग्गाको दर प्रति कठ्ठा ३ करोड ३८ लाख ८० हजार रुपैयाँ तोकिएको छ । यही क्षेत्रको आवासीय प्रयोजनका लागि प्रति कठ्ठा ३ करोड २३ लाख ४० हजार रुपैयाँ, औद्योगिक क्षेत्रका लागि ३ करोड ८ लाख रुपैयाँ र कृषि क्षेत्रका लागि २ करोड ६१ लाख ८० हजार मूल्यांकन दर कायम गरिएको छ । भरतपुर महानगरमित्र सबैभन्दा कम जग्गाको मूल्यांकन वडा नं. २९ को कविलास क्षेत्रमा रहेको छ ।  उक्त वडा (साविक कविलास गा.वि.स. र जुगेडी क्षेत्र), विशेषगरी लामता गाउँ, वाङ्गेताल र ढोटनी आसपासका बाटो नभएका जग्गाहरू पर्दछन् । यस क्षेत्रको कृषि क्षेत्रको बाटो नभएको जग्गाको दर प्रति कठ्ठा ९३ हजार ५०० त्रियानब्बे हजार पाँच सय रुपैयाँ तोकिएको छ । त्यस्तै आवसीय क्षेत्रका लागि प्रति कठ्ठा  १ लाख १५ हजार ५ सय रुपैयाँ, व्यावसायिक क्षेत्रका लागिप्रति कठ्ठा  १ लाख २१ हजार र औद्योगिक क्षेत्रका लागि प्रति कठ्ठा १ लाख १० हजार रुपैयाँ तोकिएको छ । काठमाडौँ महानगरपालिकामा ऐतिहासिक एवं देशकै प्रमुख व्यापारिक केन्द्रको रुपमा लिइने न्युरोड क्षेत्रमा जग्गाको मूल्याङ्कन प्रति आना ५० लाख रुपैयाँ रहेको छ । यसलाई रोपनीमा रूपान्तरण गर्दा (१६ आना बराबर १ रोपनी) न्युरोडको जग्गाको सरकारी मूल्य मात्रै प्रति रोपनी ८ करोड रुपैयाँ हुन आउँछ । प्रतिआना ५० लाख मूल्यांकन गरिएको जग्गाहरु हनुमानढोका पूर्व नयाँ सडक, पुरानो काठमाडौं महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिकदेखि इन्द्रचोक, खिचापोखरी र धरहरासम्मका मूल सडकहरू रहेका छन् । त्यस्तै न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौं महानगरपालिकाका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरु यस क्षेत्रमा पर्दछन् ।   त्यस्तै केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मुलवाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू यस क्षेत्रमा पर्दछन् ।  माइतीघर, सिंहदरवार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूहरुको मूल्यांकन पनि ५० लाख रुपैयाँ नै तोकिएको छ ।  यस्तै जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वर सम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।  महानगरपालिकाले सबैभन्दा कम जग्गाको मूल्यांकन  वडा नं. १४ अन्तर्गतका विभिन्न सहायक मार्गहरूमा पर्ने र बाटो नभएको जग्गाहरूको मूल्याङ्कन प्रति आना ४ लाख रुपैयाँ तोकिएको छ ।  यसबाहेक केही अन्य क्षेत्रहरूमा पनि कम मूल्याङ्कन तोकिएको छ, वडा नं. ६ र ७ वडाहरूमा जग्गाहरूको मूल्याङ्कन ५ लाख रुपैयाँ तोकिएको छ । वडा नं. १३ मा बाटो नभएको जग्गाको मूल्याङ्कन ५ लाख ५० हजार रुपैयाँ रहेको छ । ललितपुरको सैंफुमा सबैभन्दा महँगो  त्यस्तै, ललितपुर महानगरपालिकामा सबैभन्दा महँगो जग्गा सैफूँ क्षेत्रको विकसित जग्गालाई मानिएको छ । ललितपुर महानगरको आर्थिक ऐनले सैफूँ क्षेत्रको व्यवस्थित र विकसित जग्गाको मूल्य प्रति रोपनी १ करोड ९२ लाख रुपैयाँ तोकिएको छ । सैफूँ पछिको दोस्रो उच्च मूल्यांकन  सैंबुकै पिच सडकसँग प्रति रोपनी एक करोड २८ लाख रहेको छ । यो मूल्यांकन महानगरका विभिन्न वडाका मूल पिच सडकसँग जोडिएका जग्गाहरूका लागि तोकिएको छ, जसमा साविक वडा नं. १ हालको वडा नं. १ र १०, वडा नं. ३ का मूल पिच सडकसँग जोडिएका जग्गाहरू, वडा नं. ४ र १३ को चक्रपथ भित्र पर्ने क्षेत्रहरू,  वडा नं. ५, १४ र १५ को चक्रपथ भित्र पर्ने मूल पिच सडकका जग्गाहरू पर्दछन् ।  त्यस्तै वडा नं. १२, १९ र २० का मूल पिच सडकका जग्गाहरू रहेका छन् ।  न्युनतम मूल्य वडा नं. ९ मा पर्ने गोरेटो बाटोसँग जोडिएका जग्गाहरूको मूल्यांकन प्रति रोपनी छ लाख दश हजार तोकिएको छ । अन्य कम मूल्यांकन भएका क्षेत्रहरूःहरुमा वडा नं. ४ र १३ (चक्रपथ बाहिर) पर्दछन् । यहाँको गोरेटो बाटोसँग जोडिएको जग्गाको मूल्यांकन प्रति रोपनी ७ लाख १५ हजार रहेको छ । त्यसैगरी  वडा नं. ६ र १७ (चक्रपथ भित्र)का जग्गाका मूल्यांकन न्युनतमअन्र्तगत तोएिको छ ।  यहाँको गोरेटो बाटोसँग जोडिएको जग्गाको मूल्यांकन प्रति रोपनी ८ लाख रुपैयाँ तोकिएको छ ।  पोखरामा कति छ मूल्य ?  पोखरा महानगरपालिकाले आर्थिक ऐन सार्वजनिक गरेको छैन । यद्यपि मालपोत कार्यालयले भने आव २०८३/८४ को लागि जग्गा नयाँ मूल्य निर्धारण गरेको छ ।  सबैभन्दा बढी मूल्यांकन  पोखरा महानगर वडा नं. ६ अन्तर्गत जिल्ला अदालतदेखि हल्लनचोकसम्मको मुख्य सडकमा जग्गाको मूल्यांकन प्रति वर्गमिटर १ लाख रुपैयाँ तोकिएको छ । मालपोत कार्यालयले १ रोपनी जग्गा बराबर ५०८.७४ वर्गमिटर हुने उल्लेख गरिएको छ । यसअनुसार उक्त जग्गाको मूल्य प्रति रोपनी ५ करोड ८ लाख ७४ हजार रुपैयाँ पर्न आउँछ । अन्य उच्च मूल्यांकन भएका क्षेत्रहरू वडा नं. ८ को न्यूरोडमा पर्ने मुख्य पक्की सडक (वि.पि. मार्ग समेत) को मूल्यांकन प्रति वर्गमिटर ९० हजार रुपैयाँ रहेको छ । त्यस्तै  वडा नं. ६ कै हल्लनचोक हुँदै खहरे गैराको चौतारासम्म र हल्लनचोक हुँदै जरेबर बुलादी खोला वडा नं. ५ को सिमानासम्म पनि प्रति वर्गमिटर ९० हजार रुपैयाँ कायम गरिएको छ । वडा नं. ४ को पालिखे चोकदेखि महेन्द्रपुल हुँदै सिद्धार्थ चोकसम्मको मूल्य प्रति वर्गमिटर ८० हजार रुपैयाँ रहेको छ । वडा नं. ९ को मुख्य पक्की सडक र पृथ्वीचोकदेखि नयाँबजार हुँदै महेन्द्रपुलसम्मको मूल्य प्रति वर्गमिटर ८५ हजार रुपैयाँ तोकिएको छ । विराटनगरमा डेढ करोड  विराटनगर महानगरपालिकाले मालपोत कार्यालयले निर्धारण गरेको दरअनुसार नै महानगरहरुको जग्गाको मूल्याकन गरिएको छ । विराटनगर महानगरपालिकाले आफ्नो साविकका ११ वटा वडाहरूलाई महँगो सूचीमा राखेको छ । साविक विराटनगर वडा नं. १, २, ३, ४, ८, ९, १०, १२, १३, १४ र १५ का क्षेत्रहरूमा जग्गाको मूल्याङ्कन सबैभन्दा उच्च छ । यी वडाहरूमा पर्ने ‘क’ वर्ग अन्तर्गतका मुख्य कालोपत्रे (पिच) सडकको दायाँबायाँ रहेका जग्गाहरूको सरकारी मूल्य प्रति कठ्ठा १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको छ । यी वडाहरु विराटनगरको प्रमुख बजार क्षेत्र र प्रमुख सडक आसपासका क्षेत्रलाई जनाउँछ  । साविक वडा नं. १ अन्र्तगत विराटनगर–विराटचौक पिच सडक, मेनरोड, पानीटंकी उत्तर, शान्ता मार्ग, नेतामार्ग, नवरंगी मार्ग, रामलक्ष्मण मार्ग, सृजना पथ, भुपाल मार्ग र पानीटंकी चोक क्षेत्र पर्दछन् ।  वडा नं २ अन्र्तगत शनिहाट चोक, बञ्जरा चोक, तीनपैनी मार्ग, हाटखोला, हनुमान मार्ग, बजरंगबलि पथ, सेन्ट जोसेफ स्कूल क्षेत्र, धर्मभक्त पथ, भानुमार्ग र शिक्षामार्ग पर्दछन् ।  त्यस्तै साविक वडा नं३ अन्र्तगत विराटनगर–धरान सडक (कोशी मार्ग), राजवंशी चोक, मानगढ चोक, पुष्पलाल चोक, साविक ल क्याम्पस क्षेत्र, दुध फाराम चोक, औषधि व्यवस्था, बह्रिबारे हाट, पीपल चोक र बरगाछी पर्दछन् ।  साविक वडा नं ४  विराटनगर–विराटचौक रोड, विराटनगर ढाट, कञ्चनवारी चोक, एयरपोर्ट चोक, सहकारी चोक, नोबेल हस्पीटल क्षेत्र, गोधुली मार्ग, चाँदनी चोक र जामुनगाछी चोक रहेका छन् । त्यसैगरी साविक वडा नं. ८ अन्र्तगत शनिहाट चोकबाट उत्तरतर्फ जाने बञ्जरा चोक हुँदै तीनपैनी मार्ग जोडिएका क्षेत्रहरू, साविक वडा नं. ९ अन्र्तगत पीपल चोक आसपास र पोखरिया पुल जाने सहायक पिच सडक क्षेत्रहरू पर्दछन् ।  साविक वडा नं. १० मा हालको वडा नं. १५ मा पर्ने सम्पूर्ण क्षेत्रहरू पर्दछन् ।  साविक वडा १२ अन्र्तगत जोगबनी जाने पुरानो सडक, कामत चोक, मंगलबारे हटिया, आपबगैचा, दरैया जाने बाटो, कलेज रोड, जनपथ मार्ग र बौद्ध मार्ग, साविक वडा नं. १३अन्र्तगत मलाया सडक, रोडशेष चोकदेखि जोगबनी जाने पुरानो बाटो, भूमिसुधार चोक र पुरानो सोमबारे हाट जाने क्षेत्र पर्दछन् । त्यस्तै साविक वडा नं. १४ अन्र्तगत जोगबनी जाने पुरानो सडक दायाँबायाँका क्षेत्रहरू रहेका छन् ।  साविक वडा नं. १५ अन्र्तगत साविक बखरीका केही क्षेत्रहरू (हाल वडा ११ मा पर्ने) जस्तै बसपार्कदेखि पिछरा जाने सडक, जनपथ मार्ग, धरणीधर मार्ग, पिछरा चोक र पाञ्चाली मार्ग क्षेत्रहरु पर्दछन् ।  यसका अतिरिक्त अन्य केही उच्च मूल्याङ्कन भएका प्रमुख स्थानहरू साविक बखरी ८क (हाल विराटनगर वडा नं. ५ अन्र्तगत धरान–विराटनगर सडकसँग जोडिएको व्यवसायिक जग्गाको मूल्य प्रति कठ्ठा १ करोड १३ लाख ३० हजार तोकिएको छ ।  धरान–विराटनगर मलाया सडकसँग जोडिएका दायाँबायाँका व्यवसायिक जग्गाहरूको मूल्याङ्कन प्रति कठ्ठा रु. १ करोड ०८ लाख रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै साविक विराटनगर वडा नं. ८ हाल ५, १० र २ अन्र्तगत शनिहाट चोकबाट उत्तरतर्फ जाने बञ्जरा चोक हुँदै तीनपैनी मार्ग जोडिएका व्यवसायिक जग्गाहरूको मूल्य प्रति कठ्ठा ८१ लाख ३५ हजार तोकिएको छ ।  

कोरियाली युद्ध अन्त्य गर्न राष्ट्रपति लीको आह्वान, उत्तर कोरियासँग संवादको प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न र उत्तर कोरिया (डीपीआरके) सँग शान्तिपूर्ण सहअस्तित्वका लागि संवादको आह्वान गरेका छन् । जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको ८१ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले दुवै मुलुकलाई अनावश्यक टकराव त्यागेर आपसी सम्मान र साझा समृद्धिको बाटोमा लाग्न आग्रह गरे । आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति लीले शान्तिपूर्ण सहअस्तित्वका लागि एक विशेष मार्गचित्र (रोडम्याप) प्रस्तुत गरे ।  उनले कोरियाली युद्धका प्रत्यक्ष सरोकारवाला पक्षहरूबीच वार्ताको माध्यमबाट हाल कायम रहेको अस्थिर युद्धविराम सम्झौतालाई स्थायी शान्ति संयन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । यो प्रस्ताव गत वर्षको मुक्ति दिवसमा राष्ट्रपति लीले व्यक्त गरेको प्रतिवद्धताकै निरन्तरताका रूपमा आएको हो ।  सो समयमा उनले सियोलले उत्तर कोरियाको राजनीतिक प्रणालीको सम्मान गर्ने, जबर्जस्ती गाभ्ने प्रक्रिया अवलम्वन नगर्ने र कुनैपनि शत्रुतापूर्ण गतिविधि नगर्ने घोषणा गरेका थिए ।  ती सिद्धान्तहरूलाई व्यवहारमा उतार्न आवश्यक कदमहरू चाल्न आफू तयार रहेको उनले उल्लेख गरे ।  राष्ट्रपति लीले दुई कोरियाबीचको वैचारिक र संस्थागत शत्रुतालाई क्रमशः न्यूनीकरण गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । उनले दुवै पक्षले एकअर्काको अस्तित्वलाई स्वीकार गर्दै साझा विकासका सम्भावनाहरू खोजी गर्न संवादको टेबलमा बस्नुपर्ने बताए । सहअस्तित्वलाई दिगो बनाउनका लागि दक्षिण कोरियाले तनाव र द्वन्द्व व्यवस्थापन गर्ने संयन्त्रहरू स्थापना गर्ने तथा संकट बढ्न नदिन विभिन्न सुरक्षात्मक उपायहरू अवलम्वन गर्ने उनको योजना छ ।  साथै कोरियाली प्रायद्वीपको सुरक्षा वातावरणको वृहत मूल्याङ्कन गरी सक्रिय र निरन्तर शान्ति प्रक्रिया अगाडि बढाइने राष्ट्रपति लीले प्रतिबद्धता व्यक्त गरे ।  अन्त्यमा उनले कोरियाली युद्धको औपचारिक अन्त्य र वर्तमान युद्धविरामको सट्टा स्थायी शान्ति सन्धि स्थापना गर्न प्रत्यक्ष संलग्न पक्षहरूबीचको वार्ता अपरिहार्य रहेको पुनः दोहोर्‍याए । 

तृणमुल कंग्रेसका नेता तथा पूर्वमन्त्री आशीष बनर्जीको शव पार्टी कार्यालयमा फेला

काठमाडौं । ममता बनर्जी नेतृत्वको सरकारमा मन्त्री तथा विधानसभा उपाध्यक्षसमेत रहेका आशीष बनर्जीको शव आइतबार बिहान उनको निवाससँगै रहेको पार्टी कार्यालयमा भेटिएको छ । उनी पश्चिम बंगालको बीरभूम जिल्लास्थित रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए । प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार एउटा कोठामा उनको शव फेला परेको थियो । उनको निधनको कारणबारे हाल अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा सुसाइड नोट पनि फेला परेको छ । यद्यपि अधिकारीहरूले त्यसबारे थप जानकारी दिन अस्वीकार गरेका छन् । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।  आशीष सन् २००१ देखि लगातार रामपुरहाटबाट चुनाव जित्दै आएका थिए । तर यस वर्षको निर्वाचनमा उनी भाजपा उम्मेदवार ध्रुव साहासँग पराजित भएका थिए । स्थानीय बासिन्दाले सबैभन्दा पहिले आशीषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको रामपुरहाट प्रहरी टोलीले शव बरामद गरेको हो । आशीष बनर्जी ममता बनर्जी नेतृत्वको सरकारमा विद्यालय शिक्षा तथा कृषि मन्त्रीसमेत भएका थिए । सन् २०२१ मा उनलाई विधानसभा उपाध्यक्ष बनाइएको थियो । आशीषले बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेपछि रामपुरहाट कलेजमा अध्यापनबाट आफ्नो करियर सुरु गरेका थिए । पछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनलाई ममता बनर्जीका निकट नेताका रूपमा चिनिन्थ्यो ।

नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेरेर अर्थमन्त्रीले भने- अघि बढ्नुहोस्, सरकार साथमा छ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री डा. वाग्लेले भने ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस् । सरकार तपाईंहरूको साथमा छ ।’ नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए ।  ‘एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ । सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस् । सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस् तर, विश्व बजारमा फैलन अरू के–के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,’ अर्थमन्त्री डा. वाग्लेले भने ‘नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु ।’ नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित्न सकोस् भन्ने शुभकामना पनि उनले दिए । नेपालमा बनेको स्कुटर अमेरिकी पहाडहरूमा समेत दौडिन सकून् भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीहरूलाई यो ब्रान्ड मन परोस् र नेपालीहरूले खोजीखोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गरे ।  सो क्रममा अर्थमन्त्री डा.वाग्लेलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा सीईओ असिम पाण्डेले नयाँ बनाइएको स्कुटर (यात्री पीटू) को डिजाइन, सुरक्षा जाँच, त्यसमा प्रयोग हुने पार्टपुर्जा र स्कुटरको सफल परीक्षणको अनुभवबारे जानकारी गराए ।  यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफूहरूले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गरेर ऐतिहासिक सफलता हासिल गरेको बताए ।  दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन नेपालमै गर्नु र त्यसका केही विशेषता विश्वमै नभएको उच्चस्तरीय र विशिष्ट हुनु नयाँ सफलता भएको उनको भनाइ छ ।  नेपालको कठिन र जटिल पहाडी तथा हिमाली भूभागहरूमा सफल परीक्षणपछि यस्तो स्कुटरलाई छिट्टै सर्वसाधारणलाई बिक्रीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको श्रेष्ठले बताए । दुईपांग्रे विद्युतीय सवारीसाधनमा डीसी चार्जर भएको स्कुटर नेपालमा निर्माण हुनु विश्वकै पहिलो सफलता भएको कम्पनीका अधिकारीहरूको दाबी छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा बनाउने कच्चा पदार्थमा केही सहुलियतपूर्ण नीति लिनुपर्ने बताए ।  केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको सो स्कुटर अहिलेलाई भने गोप्य राखिएको छ । नेदरल्याण्ड्सबाट इन्जिनियरिङ सकेर नेपाल फर्किएका असिम पाण्डेले २०१७ मा विद्युतीय मोटरसाइकल बनाउने भन्दै स्टार्टअप कम्पनी ’यात्री मोटरसाइकल’ खोलेका थिए । सोही कम्पनी अहिले भने नेपालको अग्रणी गाडी बिक्रेता कम्पनी ’सिप्रदी ट्रेडिङ’सँगको व्यावसायिक सहकार्यमा ’सिप्रदी यात्री’ बनेको छ । यही कम्पनीले पहिलो पटक नेपालमै आफ्नै डिजाइन, इन्जिनियरिङ र भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने निकायमा गुणस्तर जाँच गराएर विद्युतीय दुईपांग्रे स्कुटर ‘यात्री पीटू’ निर्माण गरेको हो ।   

३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।  शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोलामा ५० रुपैयाँले बढी ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक तोला चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

इरानी पुरुषको उचाइ विश्वमै सबैभन्दा धेरै बढ्यो, महिलामा दक्षिण कोरियाको रेकर्ड

काठमाडौं । पछिल्लो शताब्दीमा इरानी पुरुषको औसत उचाइ विश्वमै सबैभन्दा धेरै बढेको देखिएको छ । सन् १८९६ देखि १९९६ सम्मको १०० वर्षको अवधिमा इरानी पुरुषको औसत उचाइ करिब १६.५ सेन्टिमिटर बढेको थियो । यो वृद्धि केही सीमित व्यक्तिमा मात्र नभई करिब सम्पूर्ण जनसंख्यामा देखिएको हो ।  सोही अवधिमा बेलायती पुरुषको उचाइ ११ सेन्टिमिटर र अमेरिकी पुरुषको उचाइ ६ सेन्टिमिटर बढेको थियो । यस आधारमा इरान सबैभन्दा अगाडि रहेको छ । महिलातर्फ भने दक्षिण कोरियाली महिलाको उचाइ सबैभन्दा धेरै बढेको पाइएको छ । स्पेस डेलीका अनुसार पुरुषको उचाइसम्बन्धी यो तथ्य सन् २०१६ मा प्रकाशित एउटा अध्ययनबाट लिइएको हो । ‘वयस्क मानिसको उचाइमा एक शताब्दीको प्रवृत्ति’ शीर्षकको यो अध्ययन एनसीडी रिस्क फ्याक्टर कोलाबोरेसनले इलाइफ जर्नलमा प्रकाशित गरेको थियो ।  अध्ययनको नेतृत्व इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताले गरेका थिए। उनीहरूले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेका थिए । अनुसन्धान टोलीले १ करोड ८६ लाखभन्दा बढी मानिसमा गरिएको १ हजार ४७२ वटा जनसंख्यामा आधारित अध्ययनको विभिन्न चरणमा विश्लेषण गरेको थियो । त्यसका आधारमा २०० देशमा सन् १८९६ देखि १९९६ सम्म जन्मिएका मानिसको औसत वयस्क उचाइको अनुमान गरिएको थियो । यस क्रममा इरानी पुरुषको औसत उचाइमा सबैभन्दा धेरै वृद्धि देखियो । २०औं शताब्दीमा इरानी पुरुषको उचाइ १६.५ सेन्टिमिटर बढेको थियो । यसको ९५ प्रतिशत विश्वसनीय अन्तराल १३.३ देखि १९.७ सेन्टिमिटरसम्म रहेको थियो । महिलातर्फ भने दक्षिण कोरियाली महिला सबैभन्दा अगाडि रहे। उनीहरूको औसत उचाइ २०.२ सेन्टिमिटर बढेको अध्ययनले देखाएको छ । अध्ययनले उचाइमा भएको परिवर्तन देखाए पनि यसको ठ्याक्कै कारण भने निर्धारण गरेको छैन । तर अनुसन्धानकर्ताहरूले राम्रो पोषण र स्वस्थ वातावरणलाई यसको सम्भावित कारणका रूपमा औंल्याएका छन् । बाल्यकालमा पर्याप्त पोषण पाउने र राम्रो वातावरणमा हुर्किने बालबालिका तुलनात्मक रूपमा अग्लो हुने गर्छन् । गर्भावस्थामा आमाको स्वास्थ्यले पनि बच्चाको शारीरिक विकासमा प्रभाव पार्न सक्छ । तर उचाइलाई स्वास्थ्यको निश्चित मापदण्ड भने मान्न नसकिने अनुसन्धानकर्ताहरू बताउँछन् । इम्पेरियल कलेजका प्रोफेसर माजिद इजातीले यसलाई एक प्रकारको ‘स्वास्थ्यको तस्वीर’ का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो अध्ययनले पछिल्लो शताब्दीमा विभिन्न देशका मानिसको स्वास्थ्य अवस्थाको समग्र तस्वीर बुझ्न सहयोग गर्छ ।  कतिपय देशमा मानिसको औसत उचाइ घटिरहेको देखिन्छ भने कतिपय देशमा मानिस झन् अग्ला हुँदै गएका छन् । उचाइ बढेका देशलाई ‘विजेता’ र उचाइ घटेका देशलाई खराब अवस्थाको संकेतका रूपमा हेर्न सजिलो हुन्छ । तर अध्ययनको मुख्य विषय उचाइ आफै भने होइन । उचाइलाई बाल्यकालमा मानिसले पाएको पोषण, स्वास्थ्य सेवा र जीवनयापनको अवस्थाको अप्रत्यक्ष संकेत का रूपमा बुझ्न सकिन्छ । यस्ता पक्षलाई १०० वर्षको लामो अवधिमा प्रत्यक्ष रूपमा मापन गर्न कठिन हुने भएकाले उचाइ एउटा उपयोगी संकेत बन्न सक्छ । पछि एनसीडी–आरआइएससीको अर्को अध्ययनले यो विषयलाई थप स्पष्ट पारेको थियो । अध्ययनमा धेरै देशमा पाँच वर्ष उमेरका बालबालिकाको उचाइ र तौल सामान्य देखिए पनि विद्यालय जाने उमेरमा उनीहरू विकासको हिसाबले पछि परेको पाइएको थियो । यसले विद्यालय जाने उमेरमा समेत पोषण, स्वास्थ्य र जीवनयापनको वातावरणले बालबालिकाको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखाउँछ ।