नाटामा पद मात्र पाएको छैन, दृष्टिकोणसहित जिम्मेवारी पाएको छु: अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन परिणाम आएसँगै उनले विकासन्युजसँग संक्षिप्त कुराकानी गर्दै काँधमा अब एउटा पद मात्रै आएको छैन, नाटालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी र अवसर पनि आएको बताएका छन् । ‘निर्वाचित हुनु भनेको पुनः नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,’ उनले भने,’ मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ ।’ पाण्डेका अनुसार निर्वाचन अभियान यसपटकको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो । न त ठूलो भोजभतेर, न त अनावश्यक भीडभाड । न त शक्ति प्रदर्शनको होड, न त तडकभडक। साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेण्डा मतदातासम्म पुर्याउने प्रयास भयो । पाण्डेले मतदातालाई आफ्ना एजेण्डा सुनाउने मात्र गरेनन्, उनीहरूका कुरा पनि सुने। नाटा परिवारभित्रका समस्या, अपेक्षा र संस्थालाई परिवर्तन गर्नुपर्ने विषयमा निरन्तर सुझाव लिए । नेतृत्व भनेको भाषण गर्ने मात्रै होइन, सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारी पनि हो भन्ने सन्देश पाण्डेले अभियानमा बनाएका थिए । निर्वाचनका क्रममा उनले संस्थामा देखिएका कमजोरीप्रति पनि गम्भीर चासो राखे । ‘बिग्रिएपछि सुधार्ने’ भन्दा ‘बिग्रिन नदिन सचेत हुने’ सोच आवश्यक रहेको उनले धारणा राखे । संस्थाको आजको अवस्थालाई मात्र हेरेर होइन, भोलिको नाटालाई कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ उनले मत मागे । उनी एक मतले शताब्दीसम्म काम गर्छ भनेर गम्भीर बनेका थिए । ‘पाण्डेको बुझाइमा नाटा एउटा निर्वाचनबाट आउने र जाने नेतृत्वको संस्था मात्र होइन । पर्यटन तथा ट्राभल व्यवसायीहरूको साझा आवाज, व्यावसायिक हितको प्रतिनिधि र नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्वपूर्ण संस्था हो । नाटाको गरिमा, प्रभाव र ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउनुपर्ने आवश्यकता रहेको उनको ठहर छ । यही सोचका साथ उनी निर्वाचनमा होम्मिए । निर्वाचनको अन्तिम नतिजा आएपछि नाटालाई भोलिको पुस्ताले पनि गर्वका साथ सम्झन सक्ने संस्था बनाउने पाण्डे बताउँछन् । ‘अब निर्वाचन सकिएको छ। प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय सुरु भएको छ । निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,’ पाण्डे गम्भीर सुनिन्छन् । उनका लागि चुनौती निर्वाचनका बेला सुनेका आवाजलाई निर्णयको आधार बनाउने, संस्थाभित्रको एकतालाई बलियो बनाउने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र नाटाको संस्थागत क्षमता अझ मजबुत बनाउने हो । पाण्डेको अनुसार नाटाको नेतृत्व पद प्राप्त गर्ने विषय मात्र होइन, संस्थाको भविष्य निर्माण गर्ने जिम्मेवारी हो । अब यस नेतृत्वले संकल्पलाई कति व्यवहारमा उतार्छ, त्यसको मूल्यांकन समयले गर्नेछ। पद आउने र जाने क्रम चलिरहन्छ । मानिसले गरेको कामले संस्थालाई जीवन्त राख्नेछ । निर्वाचित भएसँगै उनले नाटालाई केवल वर्तमानमा मात्र चलाउने नभइ इतिहासले सम्झने गरी संस्थाको महत्व र गरिमा कायम राख्ने उल्लेख गरे । नाटाको ५९ औं शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
इरानी सांसदको चेतावनी– ट्रम्पले हर्मुजको चिन्ता छाडी आफ्नो सुरक्षाको चिन्ता गरून्
काठमाडौं । इरानको संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटबारे दिएको बयानको प्रतिक्रिया जनाएका छन् । अजिजीले ट्रम्पलाई हर्मुज स्ट्रेटबारे लगातार धम्की दिनुको सट्टा आफ्नो सुरक्षाको चिन्ता गर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् कि आफ्नो सुरक्षाका लागि ट्रम्पले सम्भवतः ‘खाना बोक्ने ट्रक’मा लुक्नुपर्ने अवस्था आउन सक्छ । अजिजीको यो प्रतिक्रिया ट्रम्पले अघिल्लो रात आफूले ‘हर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने’ बताएको भनाइपछि आएको हो । पछि ह्वाइट हाउसले ट्रम्पले उक्त कुरा मजाकका रूपमा भनेको स्पष्ट पारेको थियो । यद्यपि उनको उक्त भनाइको सञ्चारमाध्यममा व्यापक चर्चा भएको छ भने इरानका विभिन्न अधिकारी तथा राजनीतिक नेताहरूले पनि त्यसबारे प्रतिक्रिया दिएका छन् ।
नयाँ भनिएका राजनीतिक शक्तिमा शासन गर्ने न्यूनतम दक्षतासमेत छैन : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बरबादीतर्फ उन्मुख रहेको बताएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरेका हुन् । अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे । नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षतासमेत नभएको उनको टिप्पणी छ । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीले बताए । खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर उनले गरे । सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उनको भनाइ छ । ओलीले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गरे । अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उनले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाए । संविधानको रक्षाका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको बताए । अध्यक्ष ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिए ।
बैंकहरूको खराब कर्जा १८ प्रतिशत बढ्यो, ५ बैंकले घटाए
काठमाडौं । बैंकहरूको खराब कर्जा औसत साढे ५ प्रतिशत पुगेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म औसत खराब कर्जा (एनपीएल) ५.४४ प्रतिशत पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो दर ४.६ प्रतिशत थियो । यस आधारमा बैंकहरूको खराब कर्जा एक वर्षमा १८.१८ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा वृद्धि प्रभु बैंकमा देखिएको छ । बैंकको खराब कर्जा १२१.८२ प्रतिशतले बढेर १५.५५ प्रतिशत विन्दुमा पुगेको छ । अघिल्लो वर्ष यो ७.०१ प्रतिशत विन्दु थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ४३.९७ प्रतिशतले बढेर २.०३ प्रतिशत विन्दु पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को खराब कर्जा ३६.३७ प्रतिशतले बढेर ८.६६ प्रतिशत विन्दु पुगेको छ । त्यसैगरी, सिद्धार्थ बैंकको ३४.७३ प्रतिशतले बढेर ३.५३ प्रतिशत विन्दु, एभरेस्ट बैंकको २८.९४ प्रतिशतले बढेर ०.४९ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २०.२४ प्रतिशतले बढेर ५.८८ प्रतिशत विन्दु र लक्ष्मी सनराइज बैंकको २०.२२ प्रतिशतले बढेर ५.२३ प्रतिशत विन्दु पुगेको छ । एनएमबी बैंकको खराब कर्जा १९.४६ प्रतिशतले बढेर ४.९१ प्रतिशत विन्दु पुगेको छ भने कृषि विकास बैंकको १८.३१ प्रतिशतले बढेर ४.०७ प्रतिशत विन्दु पुगेको छ । प्राइम बैंकको खराब कर्जा १५.१४ प्रतिशतले बढेर ६.६९ प्रतिशत विन्दु, कुमारी बैंकको ७.३३ प्रतिशतले बढेर ७.४६ प्रतिशत विन्दु र एनआईसी एशिया बैंकको ५.९४ प्रतिशतले बढेर ९.२६ प्रतिशत विन्दु पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४.२२ प्रतिशतले बढेर ३.९५ प्रतिशत विन्दु पुगेको छ । ग्लोबल आइएमई बैंकको २.०५ प्रतिशतले बढेर ४.९६ प्रतिशत विन्दु र माछापुच्छ्रे बैंकको ०.५० प्रतिशतले बढेर ३.९८ प्रतिशत विन्दु पुगेको छ । यद्यपि, अधिकांश बैंकहरूको खराब कर्जा बढेका बेला पाँच बैंकले भने आफ्नो खराब कर्जा घटाउन सफल भएका छन् । नेपाल एसबीआई बैंकको खराब कर्जा १२.८३ प्रतिशतले घटेर २.९२ प्रतिशत विन्दुमा झरेको छ । नेपाल बैंकको ८.३३ प्रतिशतले घटेर ४.१८ प्रतिशत विन्दु, नबिल बैंकको ६.२५ प्रतिशतले घटेर ४.२ प्रतिशत विन्दु, सानिमा बैंकको ४.६ प्रतिशतले घटेर २.८७ प्रतिशत विन्दु र हिमालयन बैंकको ०.१२ प्रतिशतले घटेर ७.९६ प्रतिशत विन्दुमा सीमित भएको छ ।
भदौमा ५ बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याज कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी ५ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएको जनाएका हुन् । वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर भदौ महिनाका लागि ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशतमा झरेको छ । साउन महिनामा यो दर ४.१७ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशत कायम भएको छ । साउनमा यो दर ३.१२ प्रतिशत थियो । असार महिनाका लागि ५ बैंकले ब्याजदर घटाएका छन् भने १५ बैंकले दर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंक रहेका छन् । त्यस्तै, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंकले ब्याजदर यथावत् राखेका छन् ।
साताको सेयर बजार: १९ अर्ब बढीको कारोबार
काठमाडौं । यस साता सेयर बजार सामान्य उतारचढावका बीच २.७७ अंकले बढेको छ । गत साताको शुक्रबार २६५०.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता ०.२४ प्रतिशत अर्थात् ६.२६ अंकले घटेर २६४३.८३ विन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार २ हजार ६४१.०६ विन्दुमा रहेको नेप्से परिसूचक शुक्रबारसम्म आइपुग्दा २ हजार ६४३.८३ विन्दुमा पुगेको हो । साताभर बजारमा ठूलो उतारचढाव देखिएन । सोमबार नेप्से घटे पनि त्यसपछि लगातार तीन दिन सामान्य अंकले बढेको थियो । शुक्रबार भने पुनः ७.३७ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से ९.०२ अंकले घटेर २ हजार ६४१.०६ विन्दुमा झरेको थियो। सो दिन ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। ३५२ कम्पनीको करिब १ करोड कित्ता सेयर किनबेच भएको थियो। मंगलबार नेप्से ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोलु हाइड्रोपावरको सबैभन्दा धेरै ४४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। युनाइटेड हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा धेरै कमाए। कम्पनीको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको थियो। बुधबार नेप्से ०.५५ अंकले बढेर २ हजार ६४२ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । बिहीबार बजारमा केही सुधार देखियो । नेप्से ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । घलेम्दी हाइड्रोको सबैभन्दा धेरै २९ करोड रुपैयाँ बराबरको कारोबार भयो । सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्से ७.३७ अंकले घटेर २ हजार ६४३.८३ विन्दुमा झरेको छ ।शुक्रबार ३४४ कम्पनीको करिब ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा एग्रिकल्चरल बोन्ड शीर्ष स्थानमा रह्यो। यसको करिब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, खानीखोला हाइड्रोको १७ करोड, लिबर्टी इनर्जीको १६ करोड र न्यादी हाइड्रोको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार माउन्ट एभरेस्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । १९ अर्ब ३० करोडभन्दा बढीको कारोबार यस साता पाँच कारोबार दिनमा गरी करिब १९ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा हेर्दा साताको सुरुवातमा घटेको बजार त्यसपछि तीन दिन सामान्य बढ्यो । तर अन्तिम दिन पुनः गिरावट आए पनि साताको सुरुवातको तुलनामा नेप्से परिसूचक २.७७ अंकले माथि रहेको छ । यसले साताभर बजारमा ठूलो उतारचढाव नभएको देखाउँछ। कारोबार रकम भने अधिकांश दिन ३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।
उपत्यकामा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण हुने
काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ । निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो । वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ । भाेलि थप सात बिक्री केन्द्रबाट ग्यास वितरण निगमले भाेलि (आइतबार) काठमाडौं उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने जनाएको छ । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् । त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ । पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ । त्यस्तै, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिनेछ । निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ । बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ । साथै, कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
नाइमा एक्स्पो: पानी पर्दा पनि भृकुटीमण्डप पुगे १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतबार समापन हुँदैछ । तर, साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौं दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन् । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन् । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या १ लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । एक्स्पो अवलोकन गर्नेहरुको भीड शनिबार अनपेक्षित बढेपछि पार्किङ व्यवस्थापनमा समेत हम्मे–हम्मे परेको थियो । भृकुटीमण्डपभित्रका सबै खालि जग्गा, नेपाल पुलिस क्लबको दुई तला तथा खाद्य गोदाम ग्राउन्डलगायतका स्थलमा पार्किङको व्यवस्थापन गर्दा पनि अवलोकनकर्तालाई सहज भएको थिएन । पटक–पटक भइरहेको भारी वर्षालाई बेवास्ता गर्दै अवलोकनकर्ता भृकुटीमण्डप पुगिरहेका थिए । ‘पानीले निकैबेर डिस्टर्ब गर्यो,’ काठमाडौं सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले भने, ‘यहाँ आइपुग्दा खुट्टा टेक्नै नपाउने गरी भीड लागेको रहेछ, मैले पनि एउटा स्कुर बुक गरेँ ।’ उनीसँगै आएका संघका सह–सचिव अभिषेक शाक्यले पनि विगत वर्षको मेलामा भन्दा यसपटक धेरै नै मानिस आएको अनुभव सुनाए । अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । ‘मेला पूर्णरुपमा सफल भयो भन्नका लागि अन्तिम दिनसम्म कुर्नै परेन,’ उनले भने, ‘हाम्रो लक्ष्य पूरा भइसकेको छ, एक्स्पो अवलोकन गरेर भोलिको दिनलाई अझ विशेष बनाइदिन म सबैलाई आग्रह गर्छु ।’ एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अवलोकनकर्ताको व्यापक उपस्थितिले मेलालाई सफल बनाएको बताइन् । पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठुलो संख्यामा अवलोकनकर्तालाई आकर्षित गर्न सक्नु नाइमाको सफलत भएको धारणा राखे । विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ । दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ । नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरुले बताएका छन् । अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् । कम्पनीहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् । मेलामा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । पाँचौँ दिनमा पनि एउटा सवारीसाधन लन्च गरिएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको हो । आजको नाइमा मोबिलिटी संवादमा एआई र अटोमोटिभ प्रविधिः मोबिलिटीको भविष्य विषयमा छलफल भएको छ । संवादको सहजीकरण ट्यान्जिबलका प्रमुख कार्यकारी अधिकृत आलोक खत्रीले गरेका थिए भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेल, वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (भोइथ)का निर्देशक सूर्यांश वैद्य, एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चका कार्यकारी निर्देशक सन्ध्या सिटौला र टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलियला प्यानलिस्टका रुपमा सहभागी थिए । शुक्रबार टेक्निकलएम ब्याट्री रिसाइकल एन्ड इथेनोल ब्लेन्डिङ इन फ्युएल विषयमा छलफल भएको थियो । त्यस्तै बिहीबार मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स विषयमा छलफल तथा अन्तक्र्रिया भएको थियो । बुधबारको लर्निङ सेसनमा ‘मोबिलिटी: हिजो आज र भोलि’ विषयमा छलफल तथा अन्तक्र्रिया भएको थियो भने एक्स्पोको पहिलो दिन मंगलबार इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडिआई) मोबिलाइजिङ-फ्युएल फर इकोनोमिक ग्रोथ विषयमा छलफल भएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुनेछ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रुपमा रहेको छ । त्यस्तै बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् । नाइमा मोबिलिटी एक्स्पोको को-टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।