विकासन्युज

पानी परे पनि अडिएन अटो पारखीको उत्साह, तीन दिनमै ७७ हजारले हेरे 'नाइमा एक्स्पो'

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको दोस्रो संस्करणको यस एक्स्पोमा सुरुवाती तीन दिनमै ७७ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् ।  मेलाको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र भारी वर्षा भएको तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका हुन्। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजित यो ६ दिने एक्स्पो आगामी साउन ३१ गतेसम्म चल्नेछ भने मेला अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा राखिएको छ । एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन र हालसम्म ५२ वटा नयाँ मोडल सार्वजनिक गरिएकाले ग्राहकलाई आफ्नै बजेट र रुचि अनुसारका सवारीसाधन छान्न सहज भएको छ ।  मेलास्थलमा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनहरू प्रदर्शनीमा राखिएका छन् । अवलोकनकर्ताहरूले सवारी खरिदका क्रममा मुख्यगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी र रिसेल भ्यालु जस्ता विषयमा चासो देखाएका छन् ।  ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बीमा र सवारी कर, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जा जस्ता सुविधाहरू उपलब्ध गराएका छन् । सवारी साधन प्रदर्शनीका साथै एक्स्पोमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ’नाइमा मोबिलिटी संवाद’ समेत सञ्चालन भइरहेको छ । संवाद अन्तर्गत तेस्रो दिन ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्यन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्याल, एनएलजी इन्स्योरेन्सका सिइओ सुनिल बल्लभ पन्त र हुलास फिनसर्भका सिइओ समिर ठाकुरबीच छलफल तथा विचार विमर्श भएको छ ।  ग्लोबल आइएमई बैंक को-स्पोन्सर रहेको यस मेलामा विभिन्न बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा प्रविधि साझेदारहरूको सहभागिता रहेको छ ।

४० वर्षमुनिका युवा र महिलामा बढ्दो गाडीको मोह, ६० प्रतिशत हायर पर्चेज कर्जा युवाकै पोल्टोमा

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन् । 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको 'मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स' विषयक 'नाइमा मोबिलिटी संवाद' मा उनीहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले २००७/०८ मा ग्लोबल क्राइसिस आएपछि बैंकहरुको पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताए ।  'बासेलमा पनि उक्त कुरा रहेकोले हामीले लोन टू भ्यालु रेसियोको व्यवस्था गरेका हौं । हायर परचेस कर्जामा सुरुमा ५० प्रतिशत लोन टु भ्यालु रेसियो भए पनि अहिले ईभीमा ८० प्रतिशत र आइस गाडीमा ६० प्रतिशत छ,' उनले भने, 'ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ । त्यसमा सुरक्षित हुनका लागि पनि लोन टू भ्यालु रेसियो महत्त्वपूर्ण छ ।' लोन डिफल्ट हुँदै गएपछि भोली गाडी आयातकर्ता, ऋणी, ऋणदाता नै समस्यामा पर्ने भएको ले यो आवश्यक रहेको उनको भनाइ छ । उनले भने, 'लोन टू भ्यालु रेसियो परिवर्तन हुने विषय राज्यमा निर्भर रहन्छ । राज्यको सोचमा पनि भर पर्छ । परिवर्तन पनि हुन सक्छ ।'  ईभीमा ग्रिन फाइनान्सिङअन्तर्गत रहेकोले लोन टू भ्यालु रेसियो केही सहज गराएको उनले बताए । उनले अटो कर्जा र हायर पर्चेज कर्जा फरक भनेर बुझ्नुपर्ने उनले बताए ।   यस्तो कर्जामा मोबाइल र घरायसी सामान पनि गइरहेकाले फरक बुझ्नुपर्ने उनले प्रस्ट पारे । उनले अहिले कुल कर्जा ६० खर्ब रुपैयाँमध्ये १ खर्ब ४२ अर्ब  हायर पर्चेज कर्जाको हिस्सा रहेको जानकारी दिए । गत वर्षको तुलनामा हायर पर्चेज कर्जा १० प्रतिशतले बढेको तथ्यांक उनले दिए । 'यसको खराब कर्जा कम छ भने सानो मार्जिन राखेर पनि बैंकहरु कर्जा दिन तयार रहेकाले यसमा जोखिम पनि कम छ,' उनले भने । अटो लोनमा क्रेडिट बबल आउँछ र जोखिम हुन्छ जस्तो नलागेको निर्देशक सुवेदीले बताए । 'एउटा क्षेत्रमा समस्या आएपछि सबै क्षेत्रमा असर पर्छ भन्नेमा राष्ट्र बैंक सतर्क छ,' उनले भने । त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बनेको बताएका छन् । उनले बीमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझेपछि सहज हुने बताए । यसको बुझाइको कारणले नै बीमा दाबीको समस्या भएको उनको तर्क छ । यसको निष्पक्ष पारदर्शिता बीमाको ऐनमा बसेर फर्छ्योट गर्नुपर्ने भएकोले क्षतिको सही विवरण, प्रमाणलाई प्रमाणित गर्ने कागजात दिए भने सहज हुने उनको भनाइ छ ।  'यो कुरा अहिले परिपक्व भइसकेको छ । बीमा प्राधिकरणले के गर्‍यो भने छिटो भुक्तानी दिन सकिन्छ भनेर निर्देशन दिने गरेको छ । अहिले यो प्रक्रिया कहाँ पुगेको छ भनेर ड्यासबोर्डमा राख्नुपर्नेछ,' उनले भने । उनले घरायसी सामानको जोखिम पनि नदेखिने भएकाले बीमा नभएको बताए । सवारी साधन र मोबाइलबाहेक घरायसी सामानमा बीमा नदेखिएको उनको भनाइ छ । उनले ईभी गाडीमा ब्याट्रीमा ५० प्रतिशतमात्रै बीमाले डिप्रिसिएसन काटिने जानकारी दिए । नाइमा मोबिलिटी संवादमा हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज  कम्पनीलाई नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याइएको बताएका छन् । उनले हायर पर्चेज कम्पनीले सवारी साधन, घरायसी सामानमा पनि कर्जा प्रवाह गरी रहेको बताए । उनले भने, 'हाम्रो लक्षित वर्ग भनेको बैंकहरुसम्म पुग्न नसक्ने ग्राहक हुन् । सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो ।'  यी कम्पनीहरुले बैंकबाट कर्जा लिएर नै हामीले कर्जा प्रवाह गर्ने गरेको र अहिलेसम्म ४० अर्ब रुपैयाँ यी कम्पनीहरूले कर्जा प्रवाह गरिसकेको जानकारी उनले दिए ।  उनले भने, 'पछिल्लो कर्जा प्रवाहमध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा कर्जा प्रवाह भएको छ ।' उनले बैंकका प्रक्रिया पूरा भएकाहरुका लागि पनि यी कम्पनीहरूले कर्जा प्रवाह गर्ने गरेको बताए । केही घण्टामा नै हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्ने गरेको उनले उल्लेख गरे ।  '६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेरभन्दा कमका छन्,' ठाकुरले भने । कार्यक्रममा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिइरहेको बताएका छन् ।  उनले पहिला गाडी किन्ने औसत उमेर ४३ भए पनि अहिले भने कम रहेको बताए । उनले भने, 'अहिले ६० प्रतिशत ऋण लिने ४० वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि महिलाहरुको संख्या उल्लेख्य छ ।' सबैभन्दा बढी काठमाडौं नै भए पनि कर्जा विकेन्द्रीकृत हुँदै गएको उनको भनाइ छ । उनले भने, 'काठमाडौंबाहिरका सहरमा पनि बजार विस्तार गर्दै गएका छौं ।' स्थिर आम्दानीको स्रोत भएका र विद्यार्थीले पनि गाडी चढ्न सक्ने उनले बताए । हायर पर्चेज कम्पनीलाई कर्जा दिएपछि बैंकहरुलाई पनि सहज हुने उनको भनाइ छ । यसले गर्दा बैंकहरुको जोखिम पनि पास हुने उनले बताए । सबै डकुमेन्ट पूरा गरेको भए बैंकहरुले अर्को दिन नै कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।

सरकार र लघुवित्त पीडितबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । सरकार र लघुवित्त पीडित आन्दोलनकारी पक्षबीच ७ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा बिहीबार बसेको वार्ता बैठकमा अर्थमन्त्रीस्तरको मिति २०८३/०४/१४ को निर्णयानुसार गठित वार्ता टोली र ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’ का पदाधिकारीबीच उक्त सम्झौता सम्पन्न भएको हो ।  सम्झौता भएसँगै आन्दोलनकारी पक्षले राजधानी केन्द्रित सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू सोही मितिदेखि स्थगित गर्ने निर्णय गरेका छन् ।  सहमति अनुसार लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीहरूसँग सम्बन्धित समस्या निराकरणका लागि आवश्यक अध्ययन गरी सुझाव दिन ‘उच्चस्तरीय लघुवित्त वित्तीय संस्थाका समस्या समाधान समिति’ गठन गर्न सिफारिस गरिनेछ ।  उक्त समितिले जनमुखी मौद्रिक नीति, सेवामूलक र सामाजिक बैंकिङ्गको अवधारणा, वित्तीय साक्षरता तथा बैंकिङ्ग कसुर ऐन, २०६४ को संशोधन लगायतका विषयमा अध्ययन गरी कार्यदिश बनाउँदा सरोकारवाला समूहबाट सुझाव लिनेछ । त्यसैगरी, समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने, कालोसूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने तथा कर्जा मिनाहा सम्बन्धी मागमा तथ्याङ्क विश्लेषण गरी उपयुक्त कार्यान्वयनयोग्य विकल्पसहित प्रतिवेदनमा सिफारिस गर्ने सहमति भएको छ ।  विपन्न, समस्याग्रस्त र परिस्थितिजन्य हिसाबले आर्थिक रूपमा सक्षम नरहेका ऋणीहरूको हकमा निक्षेप, कर्जा संरक्षण कोष वा जीवन बीमा मार्फत सुरक्षित गरिएको अवस्था यकिन गरी कार्यान्वयन गर्न सम्बन्धित लघुवित्त संस्थालाई आवश्यक निर्देशनसमेत दिइनेछ । पीडितहरूका गुनासो प्रभावकारी रूपमा व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा टोलफ्री हटलाइनको व्यवस्था गर्नेसँगै घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको सञ्चालन मार्गदर्शन, २०८१ को पूर्ण कार्यान्वयन र कडा अनुगमन गरिनेछ । साथै, लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लाने वा किस्ता नतिरेसम्म घरमै बसेर धरपकड गर्ने जस्ता गैरकानुनी कार्य गरेमा पीडितले तत्काल जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन् ।  यस्ता कानुन विपरीतका कार्य गर्नेहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने सहमतिसमेत भएको छ । वार्ता टोलीका तर्फबाट संयोजक महेश आचार्य, सदस्यहरू रामु पौडेल, नारायण प्रसाद पोखरेल, नारायण प्रसाद अधिकारी, बोलराज आचार्य, प्रमेश पोखरेल र उत्सव राज पन्त तथा आन्दोलनकारी तर्फबाट रमेश सेढुरी, सुरेन्द्र चन्द्र घिमिरे, विमला गजमेर, दामोदर ढकाल, जोगेन्द्र यादव, पुनम कुमारी महतो र निरग राज जैसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

मधुमेहमा उपयोगी हुनसक्छ प्याज, यसरी गर्छ काम

काठमाडौं । पछिल्लो समय मधुमेह अर्थात् डायबिटिजको समस्या बढ्दै गएको छ । अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण यसको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन् ।मधुमेह नियन्त्रणका लागि खानपान र जीवनशैलीमा सुधार गर्नु महत्त्वपूर्ण हुन्छ । मधुमेह भएका मानिसका लागि प्याज पनि उपयोगी खाद्य पदार्थका रूपमा लिइने विशेषज्ञहरू बताउँछन् । केही अध्ययनले प्याजमा पाइने विभिन्न पोषक तत्वले शरीरमा ग्लुकोजको मेटाबाेलिज्म र इन्सुलिनको कार्यक्षमतामा प्रभाव पार्न सक्ने देखाएका छन् । प्याजमा क्वेरसेटिन, सल्फरयुक्त यौगिक, क्रोमियम, आहारीय रेसा तथा प्रतिअक्सिडेन्ट जस्ता तत्व पाइन्छन् । यी तत्वले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी भूमिका खेल्न सक्ने अनुसन्धानले देखाएको छ ।  प्याजमा पाइने क्वेरसेटिनले शरीरका कोषिकाले ग्लुकोज ग्रहण गर्ने प्रक्रियालाई सहयोग गर्न सक्ने बताइएको छ । यसले उच्च रक्तचिनीको स्तर घटाउन भूमिका खेल्न सक्ने अध्ययनहरूमा उल्लेख छ । त्यस्तै, प्याजमा पाइने सल्फरयुक्त यौगिकले पनि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्न सक्ने देखिएको छ । क्रोमियमले शरीरमा इन्सुलिनप्रतिको संवेदनशीलता सुधार गर्न सहयोग गर्ने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रणमा यसको भूमिका हुन सक्ने बताइएको छ । प्याजमा पाइने रेसाले खानाबाट ग्लुकोज शरीरमा साेस्ने गति केही सुस्त बनाउन सक्छ । तर प्याजको रस निकाल्दा यसको अधिकांश रेसा कम हुने भएकाले प्याजलाई सिँगै वा खानासँगै प्रयोग गर्नु बढी उपयोगी हुन सक्ने विश्लेषकहरू बताउँछन् । त्यसैगरी, प्याजमा पाइने प्रतिअक्सिडेन्टले शरीरमा हुने सूजन कम गर्न र रक्तनलीलाई स्वस्थ राख्न सहयोग गर्न सक्छ । यसले मधुमेहसँग सम्बन्धित जटिलताको जोखिम कम गर्न भूमिका खेल्न सक्ने अध्ययनहरूले संकेत गरेका छन् ।  प्याज मधुमेह नियन्त्रण गर्ने कुनै चमत्कारी उपाय भने होइन । केवल प्याजको रस पिएर मधुमेह नियन्त्रण हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन । मधुमेह भएका व्यक्तिले चिकित्सकले सिफारिस गरेको औषधि नियमित सेवन गर्नुका साथै सन्तुलित आहार, नियमित व्यायाम, तौल नियन्त्रण, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ । रगतमा चिनीको मात्रा नियमित जाँच गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्याजलाई मधुमेहको औषधिको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन । प्याजलाई सन्तुलित भोजनको हिस्सा बनाएर खान सकिन्छ । तर मधुमेहको उपचार गराइरहेका व्यक्तिले आफ्नो खानपानमा ठूलो परिवर्तन गर्नुअघि चिकित्सक वा पोषणविद्सँग परामर्श गर्नु उचित हुन्छ । यो सामग्री सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो । मधुमेहको उपचार वा औषधि परिवर्तनका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

कामना विकास बैंकका ग्राहकलाई करदाता उपहार कार्यक्रममा सहभागी हुन सहज

काठमाडौं । कामना सेवा विकास बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा आफ्ना ग्राहकलाई सहज रूपमा सहभागी गराउने उद्देश्यले डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ । ग्राहकले बैंकको मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा उक्त कारोबार स्वतः ‘लक्की ड्र’का लागि समावेश हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।  यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा विवरण अपलोड गर्नुपर्ने छैन । बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन् ।  आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गरी दैनिक एक जनालाई कर कट्टीपछि १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा सुरक्षित रूपमा राख्न आग्रह गरेको छ । साथै आफ्ना योग्य कारोबार नियमित रूपमा जाँच गर्न पनि बैंकले अनुरोध गरेको छ ।

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकको विशेष अफर

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकहरूले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेकाे आयाेजकले जनाएकाे छ । आयाेजकका अनुसार नाइमा एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरू सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमा सुविधा दिएका हुन् ।  आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि मेला अवलोकनकर्ताहरू बैंकका स्टलहरूमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने गरेका छन् । बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्ममा कर्जा सुविधा दिइरहेका छन् भने सेवा शुल्क पनि ०.५ प्रतिशतमात्र लिइरहेको आयोजकले जनाएको छ । मेलामा अवलोकनकर्ताहरूको उपस्थिति बढिरहँदा बैंकका स्टलहरूमा पनि उल्लेख्य भीड बढेको छ। ग्लोबल आइएमई बैंकका एसएमई रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टले एक्स्पोमा हरेक दिन अवलोकनकर्ताको संख्या बढिरहँदा बैंकको स्टलमा आएर कर्जाका बारेमा जानकारी लिनेहरुको संख्या पनि उल्लेख्य बढेको बताए । मेला अवलोकनपछि कर्जाका लागि नाम दर्ता गराउनेहरुलाई शाखासँग जोड्ने कार्यमा बैंकका स्टलहरुले सहजीकरण गरिरहेका छन् । सिद्धार्थ बैंकका लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमा संकलन भएका डेटा केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले अवलोकनकर्तालाई सम्पर्क गरी सम्बन्धित शाखासँग जोडाइदिने काम गरिरहेको बताए ।  त्यस्तै, एनएमबी बैंकले पनि मेला अवलोकनकर्तालाई मेला स्थलमा रहेको स्टलबाट राम्रो सेवा दिइरहेको जनाएको छ ।  नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ ।  एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

पत्रकार श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  बुधबार साँझ ललितपुरस्थित निवास छेउबाट श्रेष्ठ पक्राउ पक्राउ परेका थिए । प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डटकमका अध्यक्ष पनि हुन्।  श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ ।  प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाएको हो ।  उनलाई परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

प्रदेशसभामै सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे राजीनामा घोषणा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार (आज) प्रदेश सभामा सम्बोधन गर्दै उनले  पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सम्बोधनको क्रममा शाहले राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने पनि बताएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धनपछि अल्पमतमा परेका थिए । उनले विश्वासको मत लिने आज अन्तिम दिन थियो । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।