विकासन्युज

उपत्यकामा १५ हजार बढी होस्टेल, काठमाडौं महानगरले १८३ वटा मात्रै दर्ता गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका होस्टेलमध्ये मापदण्डअनुसार सञ्चालनमा रहेको पाइएका १८३ वटा होस्टेललाई शिक्षा विभागमा दर्ता गर्ने निर्णय गरिएको छ । बिहीबार कार्यवाहक प्रमुख तथा अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले अनुगमनबाट प्राप्त प्रतिवेदनमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।  यसअघि अनुगमन गरिएका होस्टेललाई शिक्षा विभागमार्फत दर्ता गर्ने र अनुगमन हुन बाँकी होस्टेललाई सम्बन्धित वडाले अनुगमन गरी वडामै दर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ । शिक्षा विभागले गत वैशाख १४ गतेदेखि पाँचवटा टोली गठन गरेर होस्टेलहरूको अनुगमन सुरु गरेको थियो । मापदण्डको पालना, गुणस्तर, सेवा र सुरक्षाको अवस्थाको मूल्याङ्कन गरी स्तरीय होस्टेललाई दर्ता प्रक्रियामा ल्याउने, सुधार गर्न सकिने होस्टेललाई समय दिने र न्यूनतम मापदण्डसमेत पूरा गर्न नसक्नेलाई बन्द गर्ने उद्देश्यसहित अनुगमन गरिएको थियो । अनुगमनका लागि ३०० पूर्णाङ्कको सूचक निर्धारण गरिएको थियो । तीमध्ये कम्तीमा १२० अङ्क प्राप्त गर्ने होस्टेललाई मात्र दर्ता प्रक्रियामा समावेश गरिनेछ भने बाँकीलाई सुधारको अवसर दिइनेछ । शिक्षा अधिकृतहरूको संयोजकत्वमा गठन गरिएको अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एसोसिएसन, होस्टेल व्यवसायी संघ, महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिस्ट तथा योजना तथा अनुगमन एकाइका प्रतिनिधि सहभागी थिए । बैठकमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले स्तरीकरणको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । उनका अनुसार राम्रो होस्टेललाई प्रोत्साहन गर्ने र सुधार गर्न इच्छुकलाई अवसर प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्छ । उनले निश्चित मापदण्ड पूरा नगरी सञ्चालन अनुमति दिन नसकिने स्पष्ट पार्दै होस्टेल व्यवस्थापन सुरक्षा, अनुशासन र मानवीय व्यवहारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताइन् । मापदण्ड पूरा गरिसकेपछि होस्टेलहरूको थप स्तरीकरण गरी शुल्कसँग समेत जोड्न सकिने उनको भनाइ छ ।  बैठकमा छात्रावास सञ्चालनलाई थप व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउने तथा अनुगमनका सूचकलाई थप सरल बनाउने विषयमा पनि छलफल भएको थियो । शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार विद्यार्थीको सुरक्षा, स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै १० वटा विषयलाई अनिवार्य मापदण्डका रूपमा लागू गर्ने निर्णय गरिएको छ । नयाँ व्यवस्थाअनुसार प्रत्येक १० जना विद्यार्थी बराबर कम्तीमा एउटा शौचालय हुनुपर्नेछ । एउटै सञ्चालकले एउटै स्थानमा छात्र र छात्राका लागि होस्टेल सञ्चालन गर्न पाउने छैनन्। छुट्टाछुट्टै सञ्चालन गर्दा दुई भवनबीच कम्तीमा २०० मिटरको दूरी कायम गर्नुपर्नेछ । सुरक्षाका दृष्टिकोणले कोठा र शौचालयबाहेकका सार्वजनिक स्थानमा सीसीटीभी जडान, अग्नि नियन्त्रण उपकरण र आपत्कालीन निकासको व्यवस्था अनिवार्य गरिएको छ । त्यसैगरी, भान्सा र शौचालयबीच पर्याप्त दूरी हुनुपर्ने, २४सै घण्टा पानी र बिजुलीको वैकल्पिक व्यवस्था हुनुपर्ने तथा कुनै पनि अवस्थामा बालश्रमिक राख्न नपाइने व्यवस्था गरिएको छ । बैठकमा सहभागी होस्टेल व्यवसायीका प्रतिनिधिले दर्ताविनै सञ्चालन भइरहेका होस्टेलका कारण कानुनी रूपमा सञ्चालन भएका होस्टेललाई समस्या भएको बताएका थिए। उनीहरूका अनुसार दर्ताविहीन होस्टेलप्रति कसैको उत्तरदायित्व नहुने र कतिपय स्थान मादक पदार्थ सेवन तथा लागूऔषध दुर्व्यसनको केन्द्रसमेत बनेका छन् । व्यवसायीहरूले होस्टेल सञ्चालनलाई व्यवस्थित बनाउन दर्ता प्रणालीलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार काठमाडौं उपत्यकाभित्र १५ हजारभन्दा बढी होस्टेल सञ्चालनमा रहेका छन् ।

बैंकहरूको आकर्षक अटो लोन अफर, सेवा शुल्क ०.५ प्रतिशत मात्रै

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) सँग साझेदारी गरेका बैंकहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा अटो लोनका लागि विशेष अफर र सुविधा उपलब्ध गराएका छन् । एक्स्पोका को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ साझेदार सिद्धार्थ बैंक र एनएमबी बैंकले विशेष योजनासहित मेलास्थलमै कर्जा सम्बन्धी सेवा प्रदान गरिरहेका छन् । आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने वा क्यूआर कोडमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म थप ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका छन् भने सेवा शुल्क ०.५ प्रतिशत मात्रै राखिएको जनाएका छन् ।  ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल विष्टका अनुसार सवारीसाधन छनोट गरेपछि कर्जाका लागि आवेदन दिने ग्राहकको संख्या दैनिक रूपमा बढिरहेको छ । उनका अनुसार बैंकले मेलास्थलमै ग्राहकलाई आवश्यक जानकारी उपलब्ध गराउँदै शाखासम्म पहुँच बनाउन सहजीकरण गरिरहेको छ । सिद्धार्थ बैंकका लाजिम्पाट शाखा प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमार्फत संकलन गरिएका विवरण केन्द्रीय कार्यालयमा पठाइने र त्यसपछि सम्बन्धित शाखाले ग्राहकसँग सम्पर्क गर्ने व्यवस्था रहेको बताए । उनले सवारीसाधन खरिदका लागि कर्जा लिन इच्छुक ग्राहकको संख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गरे । एनएमबी बैंकले पनि मेलास्थलमा स्थापना गरिएको स्टलमार्फत अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइरहेको जनाएको छ । बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तका अनुसार नाइमा एक्स्पोलाई लक्षित गर्दै बैंकले ब्याजदर पुनरावलोकन गरेको हो । उनले ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताइन् । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन उत्पादक र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । यस वर्षको एक्स्पोमा नेपालमा पहिलो पटक भित्रिएका ब्रान्डसहित नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएका छन् । 

एनपीएल १५.५५ प्रतिशत पुगेपछि प्रभु बैंक २४ करोड घाटामा

काठमाडौं । प्रभु बैंक गत आर्थिक वर्ष २०८२/८३ मा घाटामा पुगेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष बढेर १५.५५ प्रतिशत पुगेको छ । खराब कर्जा उच्च दरमा बढेपछि बैंकले ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनिङमा छुट्याएको छ । जबकि अघिल्लो वर्ष २ अर्ब ४० करोड रुपैयाँ मात्रै प्रोभिजनिङमा छुट्याएको थियो । जसकारण गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २८.७२ प्रतिशत बढेर ९ अर्ब २६ करोड ५७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड ७२ लाख ६९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२ अर्ब ६७ करोड १४ लाख ९९ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ५९ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।  २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ९४ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १.७१ प्रतिशत बढेर ३ खर्ब ४८ अर्ब ४ करोड ३१ लाख रुपैयाँ र कर्जा लगानी ४.८३ प्रतिशत घटेर २ खर्ब १४ अर्ब ५४ करोड ६५ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.८६ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ६.५६ रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर नेटवर्थ १४०.९२ रुपैयाँ छ ।  बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ८.८३ प्रतिशतबाट घटेर ८.१७ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने ११.८३ प्रतिशत कायम रहेको छ । 

हिमालयन बैंकको नाफा १ हजार ४१ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १ हजार ४१ प्रतिशत बढेर १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रोभिजनिङ घटेका कारण नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले गत वर्ष २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ छुट्याएको छ ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १५.७३ प्रतिशत घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६ करोड २१ लाख ९६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड १ लाख ४२ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड ६० लाख ७७ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख ३४ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १३.७२ प्रतिशत बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ र कर्जा लगानी १.२३ प्रतिशत घटेर २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७२.७४ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष ०.६० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २९.६७ गुणा छ ।  बैंकको खराब कर्जा ७.९७ प्रतिशतबाट घटेर ७.९६ प्रतिशतमा झारेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ७.६९ प्रतिशतबाट बढेर ८.१९ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने ११.६९ प्रतिशत कायम रहेको छ । 

प्राइम बैंकको नाफा ४.११ अर्ब, लाभांश क्षमता ९.१० प्रतिशत

काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत बढेर ९ अर्ब २१ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ८१ करोड ८१ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९४ करोड ९३ लाख ५८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९० करोड ८ लाख ३९ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ८३ करोड ३० लाख ५५ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ९.१० प्रतिशत रहेको छ ।  २० अर्ब ९५ करोड ४७ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ५.४६ प्रतिशत बढेर २ खर्ब ७७ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ र कर्जा लगानी ८.२९ प्रतिशत बढेर २ खर्ब २६ अर्ब ४४ करोड ११ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.३६ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष १६.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १९.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२.२२ गुणा छ ।  बैंकको खराब कर्जा ५.८१ प्रतिशतबाट बढेर ६.६९ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.९८ प्रतिशतबाट घटेर ९.८८ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १२.८७ प्रतिशतमा कायम रहेको छ । 

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, कोर क्यापिटलमा पनि बलियो

काठमाडौं । सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि ८.७१ रुपैयाँबाट बढेर १३.५३ रुपैयाँ पुगेको छ । यसले बैंकको आम्दानी क्षमतामा सुधार भएको देखाउँछ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ८.९५ प्रतिशतबाट बढेर ९.२३ प्रतिशत पुगेको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १२.४७ प्रतिशतमा कायम रहेको छ । यसले बैंकको प्राथमिक पुँजी आधार थप बलियो हुँदै गएको संकेत गर्छ ।  बैंकको नाफा वृद्धिमा इम्पेरिमेन्ट एक्सपेन्समा आएको ६९.०५ प्रतिशतको ठूलो गिरावट पनि महत्वपूर्ण रहेको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यस वर्ष घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । करिब १ अर्ब ८५ करोड रुपैयाँको इम्पेरिमेन्ट खर्च घट्नुले बैंकको खुद नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको देखिन्छ ।  त्यस्तै, बैंकको कस्ट अफ डिपोजिट ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशत तथा आधार दर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा आएको छ । यी सूचकमा आएको सुधारले बैंकको फन्डिङ लागत तथा ब्याजदर व्यवस्थापनमा सकारात्मक परिवर्तन भएको देखाउँछ । साथै, खुद शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले र खुद व्यापार तथा अन्य सञ्चालन आम्दानी ५१.१२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा आवश्यक समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ३.३७ प्रतिशत कायम छ । खुद नाफा र वितरणयोग्य नाफाबीचको अन्तर मुख्यतः नियामकीय समायोजनका कारण देखिएको बैंकले जनाएको छ ।  यस क्रममा डिफर्ड ट्याक्स एसेट्समा ४३ करोड ३८ लाख रुपैयाँ तथा गैर बैंकिङ सम्पत्तिमा २९ करोड १० लाख रुपैयाँ बराबरको समायोजन भएको छ ।  गत असार मसान्तसम्म बैंकले २ खर्ब ३१ अर्ब ७३ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब १४ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षसम्म बैंकले २ खर्ब ११ अर्ब ५० करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।  बैंकको खराब कर्जा (एनपीएल) अनुपात अघिल्लो वर्षको ५.८८ प्रतिशतबाट घटेर ४.८९ प्रतिशतमा झारेको छ । 

नाइमा एक्स्पो: तीन दिनमै १५ सय सवारीसाधन बुक, ईभीको वर्चस्व

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै सवारीसाधनको बुकिङ उत्साहजनक रूपमा अघि बढेको छ । अटो व्यवसायीहरूका अनुसार एक्स्पोको पहिलो तीन दिनमै दैनिक औसत ४०० देखि ५०० का दरले करिब १५ सय युनिट सवारीसाधन बुकिङ भएका छन् ।  बुकिङ हुने गाडीहरूमा विद्युतीय सवारी साधन (ईभी) को संख्या अधिक रहे पनि अघिल्ला वर्षहरूको तुलनामा इन्टर्नल कम्बस्चन इन्जिन (आन्तरिक दहन इन्जिन-आईस) का गाडीहरूले पनि राम्रो प्रतिक्रिया र बुकिङ पाएका छन् ।  एक्स्पोमा अवलोकनकर्ताको प्रमुख रोजाइमा पर्दै बीवाईडी, टाटा र नेपालमा पहिलोपटक डेब्यु गरेको चेरी ब्रान्डले सबैभन्दा धेरै बुकिङ प्राप्त गरेका छन् ।  यी तीन ब्रान्डबाट मात्रै ८५० भन्दा बढी गाडी बुकिङ भइसकेका छन् । जसमा बीवाईडी र चेरीका ३००/३०० युनिट तथा टाटाका २५० भन्दा बढी गाडी रहेका छन् ।  टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ फिचर र प्रविधिसहित टियागो ईभी फेसलिफ्ट बजारमा ल्याएको छ । जसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ र ठूलो ब्याट्री क्षमताको पन्च ईभी फेसलिफ्ट ३२ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ ।  यस्तै, बीवाईडीले अट्टो १ फेसलिफ्ट ३० लाख ७५ हजार रुपैयाँ रहेको छ भने अट्टो २ बेस भेरियन्टको ४५ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै, अट्टो ३ फेसलिफ्ट ६२ लाख ९० हजार रुपैयाँ रहेको छ ।  नेपालमा नयाँ भित्रिएको चेरी क्यु-क्यु ब्रान्डको क्यु३ कम्फर्ट भेरियन्ट एक्स्पो छुटसहित ९९ हजार मूल्य तोकिएको छ भने प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमा राखिएको छ । यसैगरी, हुन्डाई र लिपमोटरका समान १५०/१५० युनिट गरी ३०० भन्दा बढी गाडी बुकिङ भएका छन् ।  हुन्डाईले प्रिमियम ईभी आयोनिक ९ र टर्बो इन्जिन क्षमताको भेन्यु फेसलिफ्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँदेखि ६७.लाख ९६ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । लिपमोटरको बी०३ एक्सको मूल्य ४६ लाख ९९ हजार रहेको छ । जसमा पहिलो १०० ग्राहकलाई ४४ लाख ९९ हजार रुपैयाँमा दिएको छ । यसले धेरै अवलोकनकर्ताको ध्यान खिचेको छ ।  यसका साथै एमजी, ओमोडा, टोयोटा र आइकार लगायतका अन्य ब्रान्डहरूबाट पनि करिब ३ सय गाडी बुकिङ भइसकेको व्यवसायीहरूले जनाएका छन् । 

स्मार्ट इकोसिस्टम र ग्यालेक्सी एआईसहित सामसङका नयाँ फोल्डेबल स्मार्टफोन बजारमा

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टमसहित आठौं पुस्ताका फोल्डेबल स्मार्टफोनहरू-ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ का साथै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।  आठौं पुस्तामा प्रवेश गरेको फोल्डेबल प्ल्याटफर्मले डिजाइन, टिकाउपन, पोर्टेबिलिटी र सफ्टवेयरमा हासिल गरेको उत्कृष्ट सुधारलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र फोल्ड ८ का ठूला डिस्प्लेले एआईलाई विभिन्न काम गर्न अझ ठूलो कार्यस्थल उपलब्ध गराउँछन् जसले गर्दा प्रयोगकर्तालाई एप परिवर्तन नगरी कार्य गर्न सहज हुन्छ ।  यस्तै, कम्प्याक्ट फर्म फ्याक्टरको जेड फ्लिप ८ ले छिटो एआई अन्तरक्रिया प्रदान गर्छ भने नयाँ ग्यालेक्सी वाच लाइनअपले स्वास्थ्य तथा वेलनेस अनुभवलाई विस्तार गर्दछ । सामसङले नेपालमा प्रिमियम प्रविधि भित्र्याउने मात्र नभई सुलभता, पहुँचयोग्यता र दिगोपनालाई केन्द्रमा राख्दै एउटा पूर्ण कनेक्टेड ओनरशिप इकोसिस्टम निर्माण गरेको बताएको छ ।  सुलभताका लागि एसएफएल सँगको सहकार्यमा ४० प्रतिशत डाउन पेमेन्टसहित २४ महिनाको इएमआई सुविधा र योग्य ग्राहकका लागि २० प्रतिशत डाउन पेमेन्टमा ३६ महिनासम्मको इएमआई विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, आइएमएस र हिम इलेक्ट्रोनिक्समार्फत डिजिटल केवाइसी तथा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र डेलिभरीसम्मको ओम्निच्यानल डिजिटल यात्रा सहज बनाइएको कम्पनीको भनाइ छ ।  दिगोपनालाई ध्यानमा राख्दै ब्उपगमय र स्थानीय साझेदारहरूको सहकार्यमा पुराना उपकरणहरूको परीक्षण र मूल्याङ्कन गरी पुनः प्रयोगमा ल्याइनेछ । जसले ग्राहकलाई उचित मूल्य दिनुका साथै भ–धबकतभ घटाउन मद्दत पुर्‍याउनेछ ।  सामसङले एचएफएल, इसेवा, एनसेल, एपकुडो, आइएमएस र हिम इलेक्ट्रोनिक्सलाई एउटै इकोसिस्टममा जोडेर एकीकृट ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । लन्चका अवसरमा सामसङ नेपालका प्रबन्ध निर्देशक  च्याङ उक जुङले परम्परागत स्मार्टफोनले एआईलाई एउटा झ्याल दिने भए पनि फोल्डेबलले एउटा सिङ्गो कार्यस्थल दिने बताउँदै नेपालमा सम्पूर्ण स्वामित्व यात्रालाई अझ स्मार्ट बनाउने उद्देश्य रहेको व्यक्त गरे ।  साथै, सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा स्थानीय टेलिभिजन उत्पादन तथा ‘सामसङ इनोभेसन क्याम्पस’ मार्फत नेपाली युवाहरूलाई कोडिङ, प्रोग्रामिङ र एआई क्षेत्रमा सीप विकास गराउँदै आएको छ । यसैबीच, कम्पनीले बुधबारदेखि नयाँ ग्यालेक्सी जेड सिरिजका लागि स्टक उपलब्ध रहुन्जेलका लागि प्रि–अर्डर खुला गरेको छ । जसअन्तर्गत ६८हजार रुपैयाँसम्मका लाभहरू भएको प्रि-अर्डर प्याकेज र ५८ हजार रुपैयाँसम्मका लाभहरू भएको सामान्य प्रि-अर्डर प्याकेज घोषणा गरिएको छ ।  दुवै प्याकेजमा २ वर्षका लागि एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, १८ हजार ३५१ रुपैयाँसम्मको बचत हुने गरी ६ महिनाका लागि निःशुल्क गुगल एआई प्रो, निःशुल्क फोन कभर र २ वर्षको थप वारेन्टी सुविधा समावेश छ ।  भीआइपी प्याकेज लिने ग्राहकले भने ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा २ को खरिदमा थप १० हजार रुपैयाँ छुट पाउनेछन् ।