ईभीमा आक्रामक बन्दै साओमी, ५.५ अर्ब डलरको सेयर बिक्री

काठमाडौं । चीनको साओमी कर्पले आफ्नो महत्त्वाकांक्षी विद्युतीय सवारी (ईभी) उत्पादन योजनाहरूलाई अघि बढाउने क्रममा ५.५ अर्ब डलर जुटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीले मंगबार ८० करोड सेयरहरू प्रत्येक एचके ५३.२५ डलरमा बिक्री गरेको जनाएको हो । जसको जानकारी कम्पनीले हङकङ स्टक एक्सचेन्जलाई दिएको वक्तव्यमा उल्लेख छ । विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता साओमीले गत वर्ष विद्युतीय सवारी निर्माणमा प्रवेश गरेको थियो । कम्पनीले ७५ करोड सेयर बिक्री गर्ने योजना बनाएको थियो तर बुकबिल्डिङ प्रक्रियाको क्रममा सम्झौताका आकार बढाएको हो । अन्तिम मूल्य एचके ५२.८० देखि एचके ५४.६० को मूल्य दायरामा रहेको थियो, जुन सोमबार सम्झौता सुरु गर्दा लगानीकर्ताहरूलाई सूचित गरिएको थियो । यो मूल्य सोमबार साओमीको एचके ५७ डलरको बन्द मूल्यको तुलनामा ६.६ प्रतिशत छुटमा थियो । साओमीले भनेको छ कि संकलित रकम आफ्नो व्यापार विस्तार, अनुसन्धान र प्रविधि विकासलाई तीव्र बनाउन प्रयोग गरिनेछ । साओमीले आफ्नो १५ वर्षको इतिहासमा स्मार्टफोन, घरेलु उपकरणहरू र स्मार्ट ग्याजेटहरू बिक्री गरेपछि गत वर्ष एसयूभी सेडानको सुरुवातसँगै ईभी निर्माण सुरु गरेको थियो । कम्पनीले गत हप्ता चौथो त्रैमासिक राजस्वमा लगभग ५० प्रतिशतले वृद्धि रिपोर्ट गरेको थियो र यस वर्ष आफ्नो विद्युतीय सवारी डेलिभरी लक्ष्य ३ लाखबाट बढाएर ३.५ लाख पुर्‍याएको छ । कम्पनीले २०२४ मा आफ्नो ईभी व्यवसायबाट ३२.१ अर्ब युआन (४.४ अर्ब) आम्दानी रिपोर्ट गरेको छ । कम्पनीले १ लाख ३५ हजारभन्दा बढी एसयूभी सेडानहरू डेलिभर गरेर उक्त आम्दानी गरेको हो । कम्पनीले २०२७ सम्ममा कारहरू विदेशमा पठाउन सुरु गर्ने लक्ष्य राखेको बताएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार कम्पनीले वार्षिक ढुवानी लक्ष्य बढाउँदै गर्दा बेइजिङको दक्षिणमा ५२ हेक्टर (१२८.५ एकड) नयाँ जमिन खरिद गरेको छ, जहाँ उसले आफ्नो अटो कारखानाको तेस्रो चरण निर्माण गर्नेछ । साओमी का अध्यक्ष लू वेइबिङले गत हप्ता भनेअनुसार कम्पनीले आफ्नो २०२५ को कुल अनुसन्धान र विकास बजेट ३० अर्ब युआनमध्ये लगभग ७-८ अर्ब युआन एआईमा लगानी गर्नेछ । साओमीको सम्झौताले हङकङमा चिनियाँ कम्पनीहरूबाट प्रविधिकेन्द्रित पूँजी उठाउने लहरलाई विस्तार गरेको छ, किनकि कम्पनीहरूले प्रविधि क्षेत्रमा सकारात्मकता देखेर फाइदा उठाइरहेका छन् । गत महिना राष्ट्रपति सी जिनपिङको नेतृत्वमा शीर्ष प्रविधि नेताहरूको शिखर सम्मेलनलाई २०२० मा सुरु भएको क्षेत्रमाथिको कडा सरकारी निगरानी खुकुलो हुँदै गएको संकेतका रूपमा व्यापक रूपमा हेरिएको थियो । साओमीको सेयर बिक्री अघि चिनियाँ कम्पनीहरूले पहिलो त्रैमासिकमा १६.८ अर्ब डलर बराबरको इक्विटी पूँजी बजार गतिविधि गरेका थिए, जुन गत वर्षको सोही अवधिको दोब्बर हो । (एजेन्सीहरूको सहयोगमा)

सवारी कर्जाको ब्याजदर ४.९९ प्रतिशतमा झर्‍यो, इतिहासमै सबैभन्दा सस्तो

काठमाडौं । कार किन्ने योजनामा हुनुहुन्छ ? यदि तपाईं बैंकबाट कर्जा लिएर कार किन्ने योजनामा हुनुहुन्छ भने ५ प्रतिशत ब्याजदरमै कार किन्न सकिने भएको छ । जगदम्बा मोटर्सले बैंकसँगको सहकार्यमा कार खरिद गर्दा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । सवारी कर्जाको व्याजदर इतिहासमा नै यो सबैभन्दा सस्तो भएको व्यवसायीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकहरूको कर्जाको ब्याजदर औसत ८.५५ प्रतिशत छ भने सवारी कर्जाको औसत ब्याजदर ९.०३ प्रतिशत छ । तर,  जगदम्बा मोसर्टले  ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन भएको छ । विद्युतीय सवारीसाधन (इभी)  बिक्रीमा व्यापक प्रतिस्पर्धा हुँदै गर्दा बिक्रेताहरूले नयाँ नयाँ व्यावसायीक योजना ल्याइरहेका छन् । जगदम्बा मोसर्टका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विभिन्न बैंकसँग सहकार्य गरेर सो ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको जानकारी दिए । ‘८/१० वटा बैंकसँग सहकार्य गरेका छौं, बैंकसँगको सहकार्यमा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने हो । यसमा कम्पनीले सहयोग गरेको हुन्छ । जस्तो बैंकको ब्याजदर ७ प्रतिशत छ भने त्यसमा २ प्रतिशत कम्पनीले योगदान गर्छ,’ उनले भने, ‘बैंकले आफ्नो ब्याजदर जति हो त्यति नै लिन्छ, बैंकको ब्याजदर यथावत नै कायम रहन्छ । तर, यसमा ग्राहकको रूपमा कम्पनीले सहयोग गरेको हुन्छ ।’ तर, कुन-कुन बैंकसँग सहकार्य गरेको हो ती बैंकको नाम भने उनले खुलाएनन् । बैंकको नाम नभन्ने शर्त राखिएको उनले बताए । ‘हाम्रो आफ्नै इन्भेष्टमेन्ट कम्पनी जगदम्बा कम्पनी छ । बैंकमा तरलता बढी भएर के गरौं भइरहेको छ । यसले बैंकलाई केही असर गर्दैन । बैंकलाई घाटा नहुने गरी उहाँहरूले काम गर्नु भएको छ । ग्राहकबाट ४.९९ प्रतिशतमा लिने हो । बाँकी कम्पनीले योगदान गरेर भुक्तानी गर्ने हो,’ उनले भने । सवारी खरिदमा ४० प्रतिशत डाउन पेमेन्टमा बैंकहरूले ६० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराइरहेका छन् । अर्थात ग्राहकले डाउन पेमेन्ट ४० प्रतिशत गर्नुपर्ने हुन्छ भने ६० प्रतिशत बैंकले कर्जा प्रदान गर्नेछ । कम्पनीका अनुसार ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गराउनेछ । बाँकी ब्याजदर भने कम्पनीले भुक्तानी गर्नेछ । जगदम्बा मोटर्सले प्रोटोन ईमस सेभेन गाडी खरिदका लागि उक्त कर्जा उपलब्ध गराउनेछ । उक्त सवारीको मूल्य ५६.९९ लाख रुपैयाँ तोकेको छ ।

भारतमा चर्चा पाएको क्रेटा ईभी अब नेपाली बजारमा, मूल्य ५१ लाखदेखि ५९ लाखसम्म

काठमाडौं । केही समयअघि मात्रै भारती बजारमा सार्वजनिक भएको क्रेटा ईभी अब नेपाली बजारमा पनि सहजै उपलब्ध हुने भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ भेरियन्टको क्रेटा ईभी सार्वजनिक गरेको हो । कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने यो कारको प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार रुपैयाँ र क्रेटा ईभी स्मार्ट ओको ५६ लाख ९६ हजार रुपैयाँ तोकेको छ । हुन्डाईले क्रेटा ईभी ९९ किलोवाट र १२६ किलोवाट मोटर विकल्पमा उपलब्ध गराउने छ भने ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट क्षमताको ब्याट्री हुनेछ । यसले ३९० किमी रेन्ज दिने बताइएको छ ।