एथरको नयाँ मोडल ४५०एक्स र ४५०एस सार्वजनिक, एथर रिज्टाको बुकिङ खुला

काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले २०२५ मोडलका एथर ४५०एक्स र ४५०एस नेपाली बजारमा ल्याएको घोषणा गरेको छ । अत्याधुनिक प्रविधिसहित आएको यी स्मार्ट स्कुटरहरूलाई ‘बाइक अफ स्कुटर’ को उपनाम दिइएको छ । साथै, एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ पनि खुला गरिएको छ । कम्पनीका अनुसार २०२५ एथर ४५०एक्समा बहु–मोड ट्रयाक्सन कन्ट्रोल प्रणाली उपलब्ध छ, जसले स्कुटरलाई विभिन्न प्रकारका सडक सतहमा सुरक्षित र स्थिर बनाउँछ । रेन मोड, रोड मोड, र स्पोर्ट्स मोड जस्ता विशेष मोडहरूले प्रयोगकर्तालाई ट्राफिक र अफरोड दुबै अवस्थामा सहज अनुभव प्रदान गर्छन् । वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले भने, ‘प्रिमियम मोटरसाइकलमा मात्र पाइने प्रविधिहरू अब स्मार्ट स्कुटरमा पनि उपलब्ध छन् ।’ स्कुटरको रेन्ज सुधार गर्न नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । एथरले एमआरएफसँग सहकार्य गरेर मल्टी-कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र ब्याट्री खपतलाई अनुकूल बनाउँछ । ३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ । स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् । नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २।९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ । कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने बताएको छ । वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ ।

गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा, चार्ज गर्न धेरै समय पर्खनु नपर्ने

काठमाडौं । गोगोरोको नेपालका लागि आधिकारिक वितरक नेबुला इनर्जीले काठमाडौं उपत्यकाभर ४५ ब्याट्री स्वाप स्टेसनहरू सफलतापूर्वक स्थापना गरेको छ । कम्पनीका अनुसार गोगोरोले आफ्नो बिक्री प्रक्रिया सुरु गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो । यससँगै अब ईभी (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्ताहरूलाई चार्ज सकिने चिन्ता गर्न नपर्ने भएको छ । गोगोरोको ब्याट्री-स्वापिङ प्रविधिले ‘रेन्जको चिन्ता’लाई अन्त्य गर्दै राइडरहरूले अब चार्ज गर्नको लागि धेरै समय पर्खनु पर्ने छैन । चार्जिङका लागि अब समयको चिन्ता छैन गोगोरोका ४५ स्वाप स्टेसनहरू २ देखि ३ किलोमिटरको दायरामा रहेका छन् । जसले गर्दा यात्रुहरूलाई फुल चार्ज गरिएका ब्याट्रीहरूमा सहज पहुँच मिल्छ । प्रत्येक ब्याट्री स्वाप ६ सेकेन्डको छोटो समयमै सम्पन्न हुन्छ । जसले ईभी प्रयोगकर्ताहरूलाई बिना कुनै अवरोधका साथ यात्रा गर्न मद्दत पुर्‍याउँछ । यी स्टेसनहरू प्रमुख सहरी क्षेत्र र आसपासका स्थानहरूमा स्थापित गरिएको छ, जसले सबै प्रयोगकर्ताहरुलाई सहजता र पहुँचको लागि रणनीतिक कभरेज सुनिश्चित गरेको छ। यी स्टेसनहरू २४ घण्टा सञ्चालनमा रहनेछन् र प्रयोगमा सहज इन्टरफेसको साथ ब्याट्री स्वाप प्रणाली उपलब्ध हुनेछ। गोगोरोका ब्याट्री स्वाप स्टेसनहरूले रियल टाइम ब्याट्री हेल्थ निगरानी र अन्य सुरक्षा मापदण्डहरू प्रदान गर्छन् । यसका साथै भविष्यमा बढ्दो मागलाई व्यवस्थापन गर्न सक्षम संरचनाहरू पनि उपलब्ध छन् । गोगोरोका स्वाप स्टेसनहरू एआई प्रणालीद्वारा सञ्चालित छन् र इनबिल्ट युपीएस प्रणालीले बिजुलीको अवरोधको अवस्थामा पनि ७ दिनसम्म सञ्चालन सुनिश्चित गर्दछ । ब्याट्री स्वापिङ प्रविधिको प्रभाव गोगोरोको ब्याट्री स्वापिङ प्रविधि स्कुटरका प्रयोगकर्ताहरूलाई चार्ज गर्ने झन्झटबाट मुक्त बनाउँछ । यस प्रणालीमा प्रयोगकर्ताले चार्ज सकिएको ब्याट्रीलाई निकालेर नयाँ चार्ज गरिएको ब्याट्री राख्न सक्नेछन् । सबै प्रक्रिया अनलाइन भुक्तानीको माध्यमबाट गर्न सकिन्छ र केवल ६ सेकेन्डको समय लाग्छ । गोगोरोले आफ्नो स्कुटर विकास गरेको छ र अन्य स्कुटर निर्माता कम्पनीहरूसँग पनि आवश्यक सहकार्यको आह्वान गरेको छ । यसले न केवल गोगोरोका स्कुटर, बल्कि अन्य स्कुटरहरूको लागि पनि सस्तो र सुविधाजनक चार्जिङ विकल्प उपलब्ध गराउनेछ । नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नेपालमा गोगोरोको प्रविधि ल्याएर ईभी इकोसिस्टमलाई बलियो बनाउनको लागि आफूहरूको प्रतिबद्धता पूरा गरेकोमा गर्व व्यक्त गरे । उनका अनुसार यी ४५ स्वाप स्टेसनहरू कम्पनीको दीर्घकालीन सोचको पहिलो कदम हो र भविष्यमा अझ स्मार्ट र दिगो यातायात प्रणालीको निर्माण गर्ने लक्ष्य राखिएको छ । नेबुला इनर्जीका म्यानेजिङ डाइरेक्टर चिरञ्जिवी शाहले भने, ‘नेपालमा गोगोरोको प्रविधि ल्याएर हामीले नयाँ युगको सुरुवात गरेका छौं। भविष्यमा हामी यो नेटवर्कलाई अझ विस्तार गर्नेछौं ।’ यो ब्याट्री स्वापिङ प्रविधिले नेपाली बजारमा इलेक्ट्रिक सवारीसाधनहरूको प्रयोगलाई अझ प्रोत्साहन गर्ने र दीर्घकालीन दिगो यातायात समाधानको लागि योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

नाडा अटो शोजस्तै पोखरामा पनि वाडा अटो शो, ३० ब्राण्डले राखे स्टल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले बिहीबारबाट पोखरामा ‘वाडा अटो शो‘ को आयोजना गरेका छन् । अमरसिंह मैदानमा आयोजना गरिएको वाडा अटो शोमा ३० वटा अटो ब्राण्डहरू राखिएको वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसीले विकासन्युजलाई जानकारी दिए । राजधानीको भृकुटीमण्डपमा हुने अटो शोमा जस्तै गरी पोखरामा पनि विद्युतीय गाडीहरूकै बाहुल्यता रहेको उनको दावी छ । संयोजक केसीले भने, ‘पोखरामा पहिलोपटक ‘वाडा अटो शो’ को आयोजना गरेका छौं । स्टलमा नयाँ नयाँ ब्राण्डका गाडीहरू राखेका छौं । यसअघि काठमाडौंमा मात्रै नाडा अटो शो हुने गरेको थियो । अब पोखरामै आयोजना भएपछि हामी निकै खुसी छौं । दर्शकहरू उत्साहित देखिन्छन् ।’ मन्दीले डिलरहरू मर्कामा परेको भए पनि अटो शोले यसमा उत्साह थप्ने विश्वास व्यक्त गर्दै अटोमोबाइल उद्योगमा हुने नयाँ प्रविधिको बारेमा यसबाट जानकारी लिन सकिने ‘अटो शो’ उनले बताए । उनले विभिन्न गाडीमा अफरैअफर रहेको पनि जानकारी दिए । यस्तै, नाडाका अध्यक्ष करण चौधरीले नाडाको पहलमा पहिलो पटक काठमाडौं बाहिर यो स्तरको अटो शो गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले अटोमोबाइल व्यवसायीका लागि अटो शो ठूलो पर्वका रूपमा विकास हुँदै गएको दाबी गरे । अध्यक्ष चौधरीले भने, ‘यो नाडा अटो शो स्तरकै शो बाहिर गर्न पाउँदा हामी खुसी छौं । यो वाडा अटो शोले अब हुने नाडा अटो शोलाई ठूलो सहयोग पुग्नेछ । यस्ता शोहरू हामी आयोजना गरिराख्नुपर्छ ।’ उनले राजस्वमा २३ प्रतिशतको योगदान पु¥याउँदै आएको यो क्षेत्र उत्पादक क्षेत्र भएकाले सशक्त बनाउँदै जानुपर्ने आवश्यकता औंल्याए । पोखरामा अटो शोका लागि नाडाले ढोका खोलेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिनका लागि भने वाडा जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । यस्तै, पोखरामा पहिले पटक वाडा अटो शो हुदाँ आफूहरू निकै उत्साहित भएको बारही अस्पतालका प्रबन्ध निर्देशक भैरव पौडेल बताउँछन् । उनले भने, ‘हामी पोखरेलीहरू निकै उत्साहित छौं । चहलपल बढेको छ । नयाँ नयाँ ब्राण्डका गाडीहरू स्टलमा छन् । म पनि कुन ब्राण्ड राम्रो छ भने बुझ्दैछु जुन राम्रो लाग्यो त्यही किन्ने तयारीमा छु । ’ पोखरामा पहिलो पटक आयोजना गरिएको ‘वाडा अटो शो’ मा विद्युतीय चार पाँग्रेतर्फ बीवाईडी, एक्स्पेङ्ग, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा एन्ड जेको, सिट्रोन, जीकर, किया लगायतका ब्रान्डका गाडी राखिएका छन् भने आईसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, हुन्डाई, टाटा, कियाले इभीसँगै आइस गाडी पनि स्टलमा राखिएका छन् । यस्तै, दुईपाँग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गराएको जनाइएको छ । त्यसैगरी स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा राखिएको वाडा अटो शो संयोजक केसीले बताए । अटो सोमा दुई पाङग्रे, चार पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुको स्टल पनि राखिएको बताइएको छ। गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध गराएको वाडाले जनाएको छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज गुरुङले गरेका थिए । गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहेको छ । गाडी बुकिङ गर्ने पहिलो ग्राहकलाई सलिको इन्स्योरेन्सले गाडीको इन्स्योरेन्स बापत १० लाख रुपैयाँ इन्स्योरेन्समा छुट दिने समेत बताएको छ । अटो शोलाई बी एण्ड बी ग्रुपले सहप्रायोजन गरेको छ भने सपोर्टिङ पार्टनर अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले सहयोग गरिरहेका छन् । यसैगरी प्रदर्शनी अवलोकन गर्न आउने ग्राहकहरुलाई टिकटमा गोला प्रथाद्वारा बन्दीपुर केबुलकारको टिकट प्राप्त गर्न सकिने जनाइएको छ । आज पहिलो दिन तीन हजारले अवलोकन गरेको वाडा अटो शो ले जनाएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रबर्द्दक रहेर साथ दिएको छ । चार दिनसम्म चल्ने ‘वाडा अटो शो’ लाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । पहिलो दिनमै उत्साहित रुपमा स्टल बुकिंग गरिएको आयोजकले जनाएको छ ।