फोटोन नेपालको सर्भिस नेटवर्क पार्टनर बैठक सम्पन्न
काठमाडौं । चिनियाँ सवारी ब्रान्ड फोटोन मोटरको आधिकारिक वितरक फोटोन नेपालले नेपालका १७ सर्भिस नेटवर्क पार्टनरहरूको बैठक सम्पन्न गरेको छ । नेपालमा ट्रक, पिकअप र विद्युतीय सवारी साधनको कारोबार गर्दै आएको फोटोन नेपालले गत वर्षको कार्यसम्पादन मूल्यांकन गर्दै भविष्यमा गर्न सकिने सहकार्यबारे समीक्षा गरेको थियो । ‘अ रिलायबल आफ्टर सेल सर्भिस’ नाराका साथ नयाँ सेवा प्रविधि र सेवामा उत्कृष्टता बढाउने विषयमा छलफल भएको थियो । फोटोन नेपालले आफ्ना सबै ग्राहकलाई सम्भव भएसम्मको आफ्टर सेल्स सर्भिस प्राप्त गर्ने सुनिश्चितता समेत व्यक्त गरेको छ ।
साइमेक्स इंकद्वारा ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजनाको घोषणा
काठमाडौं । नेपालको विद्युतीय मोबिलिटी र अत्याधुनिक प्रविधिमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्यका साथ बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । द एभरेष्ट होटलमा फेब्रुअरी २७ देखि मार्च ४ सम्म आयोजना हुन लागेको यस इभेन्टले इलेक्ट्रिक भेइकल, एआई इन्टिग्रेसन र नयाँ उर्जा सोलुसनका आधुनिक सुविधाहरूलाई एकै ठाउँमा समेट्ने उद्देश्य राखेको छ । कम्पनीकाअनुसार यस इभेन्टमा उपस्थित हुने आगन्तुकहरूले उच्च–टेक इन्टर्याक्टिभ जोनमार्फत बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.० लगायतका अत्याधुनिक प्रविधिहरूको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । साथै, नेक्स्ट–जेन भेइकल शोकेसमा बीवाईडीका पछिल्ला मोडल र चाँडै आउने नयाँ मोडलको प्रदर्शनी हुने भएकोले अटोमोटिभ क्षेत्रका व्यवसायी, प्रविधि उत्साही र साधारण प्रयोगकर्ताले भविष्यको स्मार्ट मोबिलिटीको झलक पाउनेछन् । रियल–टाइम टेक्नोलोजी डेमो, विशेषज्ञ टक र प्यानल डिस्कसनमार्फत नेपालमा ईभी ट्रेन्ड र नविन इनोभेसनका बारेमा महत्वपूर्ण जानकारी साटासाट हुनेछ । इभेन्टले परिवारिक क्रियाकलाप र रमाइला कार्यक्रमहरूको आयोजना पनि गरेकोले सबै उमेरका दर्शकहरूका लागि यो एक अनुपम अनुभव बन्ने अपेक्षा गरिएको छ । कम्पनीकाअनुसार टिकट खरिद ई-सेवामा उपलब्ध गराइएको छ भने विद्यार्थीहरूलाई परिचय पत्र देखाउँदा निःशुल्क प्रवेशको सुविधा प्रदान गरिनेछ । यस इभेन्टले नेपालमा इलेक्ट्रिक मोबिलिटी र सस्टेनेबल प्रविधिको क्षेत्रमा नयाँ सोच र उर्जा प्रवाह गर्ने विश्वास गरिएको छ । सहभागीहरूले आधुनिक प्रविधिका नविन प्रयोगहरू प्रत्यक्ष अवलोकन गर्दै स्मार्ट मोबिलिटीको भविष्यमा आफ्नो योगदान पुर्याउने सुनौलो अवसर प्राप्त गर्नेछन् । बीवाईडी हाई–टेक विक २०२५ ले नेपाली अटोमोटिभ उद्योगमा नयाँ अध्याय सुरु गर्दै, प्रविधि र उर्जामा आधारित समाधानहरूद्वारा दैनिक जीवनमा सहजता र उन्नत सेवा प्रदान गर्ने दिशा तय गरेको कम्पनीले जनाएकाे छ ।
चोरी पैठारीका २३८ वटा पत्रु सवारी साधन बिक्री गर्दै जलेश्वर भन्सार
काठमाडौं । जलेश्वर भन्सार कार्यालय महोत्तरीले चोरी पैठारीका सवारी साधन बिक्री गर्ने भएको छ । कार्यालयले विभिन्न निकायहरूबाट चोरी पैठारीको आरोपमा जफत गरिएका २३८ सवारी साधन लिलाम बिक्री गर्ने भएको हो । भन्सार कार्यालयका अनुसार दर्ता भएन÷भएका पत्रु सवारीहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलामी बढाबढमा बिक्री गरिनेछ । खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले २१ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै आफूले कबोल गरेको रकमको न्यूनतम १० प्रतिशत रकम बैंकमा जम्मा गरी सोको सक्कल भौचर बोलपत्र फाराम साथ पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । चोरी पैठारी लगायत गैरकानुनी रुपमा ल्याइएका सवारी साधन समयमा बिक्री नहुँदा भन्सार कार्यालयमै थन्किएर बस्ने गरेका छन् । यसरी ल्याइएका सवारी साधन समयमा बिक्री वितरण हुने हो भने राज्यलाई करोडौं राजस्व समेत उठ्ने देखिन्छ । तर, समयमा यस्ता सवारी साधन बिक्री नहुँदा भन्सार कार्यालयको ठाउँ समेत ओगट्ने गरेका छन् । अन्ततः कवाडीका रुपमा बिक्री गर्नुपर्ने बाध्यता आउँछ ।