डुन्डाई आयोनिक फाइभ एन टीए स्पेकले ‘अट्याक सुकुबा २०२५’ मा राख्यो कीर्तिमान
काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एन टाइम अट्याक स्पेकले ‘अट्याक सुकुबा २०२५’ मोटरस्पोर्ट प्रतियोगितामा नयाँ कीर्तिमान कायम गर्दै सबैभन्दा छिटो विद्युतीय सवारीसाधन (ईभी) बन्न सफल भएको छ । जापानको इबाराकी प्रिफेक्चरस्थित प्रसिद्ध सुकुबा सर्किटमा फेब्रुअरी १५ मा आयोजित यो प्रतियोगिता ईभी प्रदर्शनको लागि चुनौतीपूर्ण मानिन्छ । हुन्डाई एनले यस प्रतियोगितामा आयोनिक फाइभ एन टाइम अट्याक स्पेक मोडेल प्रवेश गराएको थियो, जसलाई जापानी पेशेवर चालक नोबुतेरु तानिगुचीले ड्राइभ गरेका थिए । तानिगुचीले भने, ‘अट्याक सुकुबा २०२५ मा हुन्डाई आयोनिक फाइभ एन टाइम अट्याक स्पेक ड्राइभ गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो । यसले मेरो अघिल्लो ईभी कीर्तिमानलाई तोड्न मद्दत गर्यो । आयोनिक फाइभ एन टाइम अट्याक स्पेक मोडेलको ब्रेकिङ क्षमता उत्कृष्ट छ, कारको नियन्त्रण अति नै राम्रो छ ।’ विद्युतीय मोटरस्पोर्टको विजेता आयोनिक फाइभ एन टाइम अट्याक स्पेक जुन आयोनिक फाइभ एनको मोटरस्पोर्ट संस्करण हो, यसअघि नै धेरै सफलता प्राप्त गरिसकेको छ । यो कारले २०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब (पीपीआईएचसी) मा परिमार्जित उत्पादन श्रेणीको इलेक्ट्रिक एसयूभी कोटामा विजयी हुँदै नयाँ कीर्तिमान बनाएको थियो । यो गाडी मुख्य रूपमा उत्पादन–श्रेणीको आयोनिक फाइभ एनकै विशेषताहरू प्रदर्शन गर्न डिजाइन गरिएको हो । यसको उच्च–प्रदर्शन पावर इलेक्ट्रोनिक्स (पीई) प्रणाली यथावत राखिएको छ, तर सफ्टवेयर ट्युनिङमार्फत यसको अधिकतम शक्ति ६८७ पीएससम्म बढाइएको छ । हुन्डाईको ईभी प्रविधिमा छलाङ यो सफलता हुन्डाईको विद्युतीय सवारी प्रविधिमा भएको प्रगतिको संकेत हो । हुन्डाई मोबिलिटी जापानले हालै जापानी बजारमा इन्स्टर इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै आफ्नो ईभी पोर्टफोलियो विस्तार गरेको छ । आयोनिक फाइभ एन डीके इडिसन – भविष्यको नयाँ संस्करण हुन्डाई मोबिलिटी जापानले हालै आयोनिक फाइभ एन डीके इडिसन नामक नयाँ शो–कार प्रदर्शन गर्यो । यो कार जापानी अटोमोबाइल कम्पनी अटोबाक्स सेभेन र जापानी रेसिङ दिग्गज केइचि त्सुचियासँगको सहकार्यमा विकसित गरिएको हो । हुन्डाई एनले डीके इडिसनको एन परफर्मेन्स पाट्र्स बजारमा ल्याउने योजना बनाएको छ ।
एलएस अटोको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ फागुन ९ देखि सुरु
काठमाडौं । एलएस अटोको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प फागुन ९ देखि सुरु हुने भएको छ । एलएस अटोको आधिकारीक विक्रेता नेक्सन भेन्चर प्रालिले चितवनको सीजीआर रिसोर्टमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्पको आयोजना गर्न लागेको हो । क्याम्प दुई दिनको हुने आयोजकले जनाएको छ । कम्पनीले एलईभी जिरो वान क्रसओभर इलेक्ट्रिक एसयूभी गाडी नेपाल ल्याएको छ । एलएस अटोले यो वर्ष थप दुई मोडल एलईभी जिरो थ्री र एलईभी जिरो फाइभ लन्च गर्दैछ । यी कारहरू एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउने जनाइएको छ । एलईभी जिरो थ्री एक प्रिमियम क्रसओभर इलेक्टिक एसयूभी हो भने एलईभी जिरो फाइभ मिडसाइज कम्प्याक्ट एसयूभी हो । एलईभी जिरो वान स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको छ । यसमा ६७ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो ईभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। गाडीमा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्रीप्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ । यसको ब्याट्रीप्याक र ग्राउण्डबीचको दुरी २२१ एमएमको रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ । यसले एक पटकको फुल चार्जमा ५४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । एलईभी जिरो वानमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेड स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेटजस्ता फिचर लोडेड रहेको छ । सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेका छन् । एलएस अटोको बारेमा विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नलोजीअन्तर्गतको एलएस अटो एक नयाँ न्यू इनर्जी भेहिकल कम्पनी हो । विगत २५ वर्षदेखि विभिन्न ब्राण्डको अटोमोवाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा ट्र्याल प्रडक्सन जस्ता सम्पूर्ण काम गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोवाइल ब्राण्डको इभी तयार गरेको हो । कम्पनीको जियाङ्सी प्रोभियन्समा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै फ्याक्ट्री रहेको छ । कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट बनाउँदैछ । कम्पनीले अहिलेसम्म नेपाल लगायत मोरिसस, टर्की, इजिप्ट, नाइजेरिया कजाकस्थान लगायतका ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ ।
स्मार्ट ईभी लञ्चपश्चात् वीवाईडीविरुद्ध गुनासोको बाढी
काठमाडौं । वीवाईडीले आफ्ना अधिकांश गाडीहरूमा निःशुल्क स्मार्ट ड्राइभिङ सुविधा दिने निर्णय गरेपछि धेरै ग्राहकहरूले आफूले कार किन्दा धेरै पैसा तिरेको अनुभव गर्दै चिनियाँ अटो उपभोक्ता गुनासो प्लेटफर्ममा गुनासो दर्ता गरिरहेका छन् । फेब्रुअरी ११–१७ को बीचमा १२३६५ अटो डट कममा बीवाईडी गाडीहरूविरुद्ध ४ हजार ७०० भन्दा बढी गुनासोहरू दर्ता भएका छन्, जुन एक तेस्रो-पक्षीय अटो उपभोक्ता गुनासो प्लेटफर्म हो । गत हप्ता मात्र १५० गुनासोहरू थिए भने जनवरी महिनाभरि करिब ५०० गुनासोहरू मात्र थिए । बीवाईडीका चर्चित ओसन र डाइनास्टी सिरिजका गाडीहरू पनि प्लेटफर्मले प्रकाशित गरेको सूचीमा शीर्ष १० स्थानमा परेका छन्, जुन गुनासोहरूको संख्याका आधारमा कार मोडेलहरूलाई वर्गीकृत गर्दछ । ग्राहकहरूको गुनासोहरू एक ग्राहक जसले सील जेरो सिक्स डीएम-आई प्लग-इन हाइब्रिड सेडान किनेका थिए । उनले गुनासो गर्दै भनेका छन्, ‘गाडी किन्नुअघि मैले सेल्सपर्सनलाई बारम्बार नयाँ मोडेल यस वर्ष आउँछ कि आउँदैन भनी सोधेको थिएँ ।’ ‘तर मैले गाडी लिएको मात्र आधा महिना नपुग्दै सोही मूल्यमा राम्रो कन्फिगरेसन भएको नयाँ मोडेल बजारमा आयो,’उनले थपे । उनले बीवाईडीसँग निःशुल्क अपग्रेड र अन्य क्षतिपूर्तिको माग गरेका छन् । गुनासोहरूलाई सम्बोधन गर्दै प्लेटफर्मले यो जानकारी सम्बन्धित विभागहरूलाई पठाइसकेको बताएको छ । यद्यपि बीवाइडीले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। चिनियाँ अटो बजारमा मूल्ययुद्धको असर यी गुनासोहरू चीनमा दीर्घकालीन मूल्ययुद्ध र अटो उद्योगको तीव्र प्रतिस्पर्धाको असरको एउटा उदाहरण हो । अहिले कार निर्माता कम्पनीहरूले मूल्य कटौती, निःशुल्क सुविधा प्रदान गर्ने वा नयाँ मोडेलहरू छिट्टै बजारमा ल्याउने प्रवृत्ति अपनाएका छन् । दुई वर्षअघि अमेरिकी अटो कम्पनी टेस्लाले मूल्य कटौती गरेपछि सयौं टेस्ला कार मालिकहरू चीनका सोरुमहरू तथा डिस्ट्रीब्युसन सेन्टरहरूमा भेला भएर छुट वा क्रेडिटको माग गरेका थिए । बीवाईडी माथिको हालको गुनासोहरू पनि यही उद्योगकै तीव्र प्रतिस्पर्धा र मूल्य रणनीतिको प्रभाव हुनसक्छ । (एजेन्सीहरूको सहयोगमा) साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?