मर्मत शुल्क तिरेर गाडी लैजान गो अटोकेयरको ताकेता, १५ दिनभित्र नलिए कवाडीमा मिल्काइने

काठमाडौं । गो अटोकेयर प्रालिले सवारी साधन लैजान सवारीधनीहरूलाई ताकेता गरेको छ । मर्मत शुल्क तिरेर गो अटोकेयरको परिसरमा रहेका सवारी साधनहरू फिर्ता लैजान ताकेता गरेको हो । कम्पनीका अनुसार सर्भिस सेन्टरको परिसरमा मर्मत गर्न ल्याइएका सवारी साधनहरू मर्मत सम्भारको कार्य सम्पन्न भइसकेको छ । उक्त स्वारी साधन पटकपटक ताकेता गर्दा पनि नलगिएको हुँदा १५ दिनभित्र सम्पूर्ण खर्च (मर्मत शुल्क, पार्किङ शुल्क) भुक्तानी गरी पार्किङ परिसरबाट उठाउन कम्पनीले अनुरोध गरेको छ । यस अवधिमा पनि सवारी साधनहरू नलिए कम्पनी जिम्मेवार नरहने र कवाडीको हिसाबमा मिल्काइने कम्पनीले चेतावनी दिएएको छ । कम्पनीका अनुसार ९ वटा सवारी साधन सर्भिस सेन्टरको परिसरमा छन् ।

काव्य स्कूलले थप्यो १६ हाइगर ईभी भ्यान

काठमाडौं । काव्य स्कूलले एकैदिन १६ वटा हाइगर ईभी भ्यान थपेको छ । काठमाडौंस्थित सशीला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा सशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् । विद्यालयले १६ सिट क्षमताका ४ र १४ सिट क्षमताका १२ वटा हाइगर ईभी भ्यान खरिद गरेको हो । प्रिन्सिपल बास्कोटाले हाइगर ब्राण्डको विश्वसनीयता र सशीला मोटर्सको सर्भिसका कारण विद्यालयले हाइगर इभी भ्यान रोजेको बताए । उनले नयाँ विद्युतीय भ्यान थपिएपछि विद्यार्थीलाई प्रदान गरिने सेवा झनै गुणस्तरीय हुने विश्वास व्यक्त गरे । सशीला मोटर्सका प्रबन्ध निर्देशक खतिवडाले गाडी बिक्री मात्र नभई बिक्रीपछिको सेवा प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । उनले गाडीको दीर्घकालीन सञ्चालनका लागि आवश्यक सेवा तथा समन्वय सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । सशीला मोटर्स नेपालमा कमर्सियल गाडीहरूको बिक्री तथा वितरणमा स्थापित डिलर हो। कम्पनी विश्व प्रसिद्ध हाइगर ब्राण्डको आधिकारिक बिक्रेता रहेको छ । हाइगरले १३० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको छ भने ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि समेत प्राप्त गरेको छ ।

यामाहा नेपालले महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजन गर्ने

काठमाडौं । यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजको टाइटल प्रायोजन गरेको छ । नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने कम्पनीले जनाएको छ । त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपालमा क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाउँदा उत्साहित भएको बताए । अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो ।