हुन्डाई मोटर्सले थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्दै
काठमाडौं । हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन बिस्तार गर्ने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो । नेपाली बजारमा हुन्डाईको क्रेटा ईभी आउने भएपछि कम्पनीले चार्जिङ स्टेशन विस्तार गर्न लागेको हो । क्रेटा ईभीलाई मास मार्केट ईभीको रूपमा लिइएको छ । हुन्डाईले नेपालमा हाल ४५ वटा एसी चार्जिङ स्टेशन गरी सञ्चालनमा ल्याएको छ । कम्पनी जनरल मेनेजर दीपक थपलियाका अनुसार आगामी जनवरीभित्रै नेपालको मुख्य राजमार्गका ३ स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्न लागिएको छ । देशका अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणका लागि अध्ययन भइरहेको उनले जानकारी दिए । कम्पनीका अनुसार निर्माण गर्न लागिएको डीसी फास्ट चार्जिङ स्टेशन १०० किलोवाट क्षमताको डबल गन रहने छ । अर्थात् एकैपटक दुईवटा ईभी चार्ज गर्न सकिनेछ । यस्तै, कम्पनीले जनवरीभित्रै २ वटा भेहिकल टु भेहिकल (भीटुभी) चार्जिङ भ्यान पनि ल्याउने भएको छ । यी भ्यानलाई मोबाइल चार्जिङ युनिटको रूपमा प्रयोग गरिने छ । कुनै पनि हुन्डाईका ईभी चार्ज सकिएर बाटोमै अलपत्र परेमा भीटुभी भ्यान लगेर उक्त ईभीमा चार्ज गरिने बताइएको छ । हुन्डाईले अहिले देशका विभिन्न सहरहरूमा होटल, मल तथा शोरुमलगायत ४५ स्थानमा ७ देखि २२ किलोवाटको एसी चार्जिङ पोइन्ट निर्माण गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको कोना ईभी र आयोनिक ५ बिक्री वितरण गरिरहेकोमा फागुन पहिलो हप्तासम्म क्रेटा ईभी पनि ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक
नेपालगन्ज । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम बहादुर चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापा सहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका एजीएम सेल्स, सीभीबीयू कृष्ण चन्दले नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस६ उत्कृष्ट यातायात समाधान भएको बताए । उनले भने, ‘यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ । सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं ।’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका कमर्सियल भेइकल्स बिजनेस युनिट (सीभीबीयू) का प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले भने, ‘टाटा म्याजिक बीएस६ ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम र सुरक्षा फिचरले यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ ।’ उनले यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको बताए । टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस२ संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बीएस३, बीएस४ हुँदै अब बीएस६ संस्करणसम्म आइपुगेको हो । सो गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको सिप्रदीको दावी छ । हालसम्म ४ हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् । टाटा म्याजिक बीएस६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वास कम्पनीले राखेको बताएको छ । टाटा म्याजिक बीएस६ मा ६९४ सीसी पेट्रोल इन्जिन रहेको छ, जसले ३० एचपी पावर र ५५ एनएम टर्क जेनेरेट गर्छ । फाइभ स्पिड गियरबक्स रहेको सो गाडीमा १३ इन्चको टायर रहेको छ । डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इको स्विच, एबीएस र सबै पांग्रामा एन्टी–रोलबार लगायतका विशेषता रहेका छन् । चालक र यात्रुहरूको सहजताका लागि सो गाडी विशेष रुपमा डिजाइन गरिएको छ ।
ईभी गाडीको चार्जिङ शुल्क मनलाग्दी, कार्यविधि बनाएर अनुगमन गर्ने तयारीमा आयोग
काठमाडाैं । नेपालमा विद्युतीय सवारी (ईभी) को संख्या बढ्दै गएको छ । वातावरणीय लाभदेखि आर्थिक बचत पनि हुनाले ईभी सबैको रोजाइमा परेको हो । अहिले नेपालका सडकमा विभिन्न कम्पनीका ईभी गाडी गुडिरहेका छन्, जुन निकै सकारात्मक कुरा हो । ईभीको अझै प्रवर्द्धन हुनुपर्ने हो तर चार्जिङ स्टेशनमा भने मनपरी शुल्क असुल्ने गरिएको पाइएको छ । खासगरी नेपालमा ईभी विक्रेता कम्पनी, विक्रेता कम्पनीबाट चार्जिङ स्टेशन सञ्चालन अनुमति लिएका संस्था र नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालन गर्दै आएका छन् । तर, यसरी खोलिएर सञ्चालनमा आएका चार्जिङ स्टेशनहरूमा सवारी चार्ज गरेको शुल्क भने मनपरि छ । विद्युत प्राधिकरणले कुन समयमा चार्ज गरेको हो, त्यसका आधारमा शुल्क निर्धारण गरेको छ । विद्युत महसुल संकलन विनियमावलीले ईभी चार्ज गर्दा प्रति यूनिट कति शुल्क लाग्छ भनेर निर्धारण गरिदिएको छ । अर्थात् ट्यारिफ रेट रहेको छ । तर, चार्जिङ स्टेशनहरूले भने ट्यारिफ रेटभन्दा १० गुणा बढी शुल्क असुल्ने गरेको पाइएको छ । विनियमावलीअनुसार चार्जिङ शुल्क ४ रुपैयाँ ४५ पैसादेखि ११ रुपैयाँ ७० पैसासम्म रहेको छ । पिक आवरमा चार्ज गर्दा ११ रुपैयाँ ७० पैसा र अफ पिक समयमा चार्ज गर्दा ४ रुपैयाँ ४५ पैसा शुल्क रहेको छ । चार्जिङ स्टेशनहरूले त्यो रेटभन्दा २० प्रतिशत बढी रकम लिन पाउँदछन् । तर, नेपालमा सञ्चालनमा रहेका चार्जिङ स्टेसनले भने यो रेटलाई वेवास्ता गर्दै मनपरी शुल्क लिने गरे पनि त्यसको कसैले पनि अनुगमन गरेका छैनन् । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोरासैनीले प्राधिकरणले ट्यारिफ रेटभन्दा धेरै मूल्य नलिएको उल्लेख गरे । तर, अन्य निजी क्षेत्रले सञ्चालन गरेको स्टेशनले के कति लिए भनेर अनुगमन तथा नियमन गर्ने निकाय प्राधिकरण नभएको बताए । उनका अनुसार कुनै पनि निजी क्षेत्रले कुनै स्थानमा चाजिङ स्टेशन बनाउन चाह्यो भने त्यस क्षेत्रमा विद्युतीय पूर्वाधार पुर्याउने काम प्राधिकरणको हो । तर, अनुगमन र नियमन गर्ने काम भने प्राधिकरणको नभएको उनको भनाइ छ । प्रवक्ता घोरासैनी भने, ‘चार्जिङ स्टेशनले लिने शुल्क निर्धारण गरिएको छ । चार्जिङ स्टेशन बन्ने ठाउँमा प्राधिकरणले विद्युतीय पूर्वाधार विकास गर्ने हो । बढी शुल्क लिएको बारेमा हामीले केही गर्न सकिँदैन ।’ विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई नियमित गर्ने निकाय विद्युत नियमन आयोगको हो । यसर्थ ईभी चार्जिङ स्टेशनको नियमन, अनुगमन गर्ने काम पनि आयोगकै क्षेत्र अधिकारमा पर्ने आयोगकी प्रवक्ता मोनदेवी श्रेष्ठ बताउँछिन् । तर, हालसम्म कुनै पनि चार्जिङ स्टेशनमा आयोगले अनुगमन नगरेको उनले जानकारी दिइन् । प्रवक्ता श्रेष्ठका अनुसार अनुगमनको कार्यविधि नभएकाले अनुगमन आयोगले हालसम्म अनुगमन नगरेको हो । उनले आयोगमा कार्यविधिबारे भने बेला बेला छलफल भइरहेको जानकारी दिँदै भनिन्, ‘के कसरी अनुगमन गर्ने भन्ने हामीसँग कार्यविधि छैन । कार्यविधि बनेपछि त्यहीअनुसार हामी अनुगमन गर्ने गर्दछौं ।’ कार्यविधि बनाउन ढिलो भएन र भन्ने प्रश्नमा उनले भनिन्, ‘चार्जिङ स्टेशनहरूको स्थापना पछिल्लो समयमा भएको हो । पहिला चार्जिङ स्टेशन नै थिएनन् ।’ आयोगमा हालसम्म चार्जिङ स्टेशनको बारे कुनै गुनासोसमेत आइनसकेको प्रवक्ता श्रेष्ठले बताइन् । यस्तै, अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ईभी चार्जिङ स्टेशनको अनुगमन सरकारले नै गर्नुपर्ने जनाएको छ । नाडाका उपध्याक्ष राजनबाबु श्रेष्ठले चार्जिङ स्टेशनको अनुगमन, निरीक्षण र कारबाही गर्ने काम सरकारी निकायको भएको बताए । उनका अनुसार आयातकर्ता कम्पनीले चार्जिङ स्टेशन सञ्चालनको जिम्मा व्यवसायीहरूलाई दिने भएकाले नाडाले यसको अनुगमन गर्न नसक्ने उल्लेख गरे । नाडाका अनुसार नेपालमा ५ सयको हाराहारीमा चार्जिङ स्टेशन छन् । जसमध्ये प्राधिकरणले भने हाल ६२ वटा स्टेशन सञ्चालन गरिरहेको छ । प्राधिकरणको ४ वटा स्टेशनमा गएको बाढी-पहिरोले क्षति पूर्याएको छ । हाल ५८ वटाबाट दैनिक २ हजार ७ सय गाडी चार्ज भइरहेका छन् । त्यसमा ट्यारिफ रेटअनुसार नै शुल्क प्राधिकरणले लिएको छ ।