नाडा अटो शोमा ‘स्काइवेल’को १२६ युनिट बुकिङ
काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड ‘स्काइवेल’ ले नाडा अटो शो २०२४ मा आक्रामक बुकिङ गर्न सफल भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले आक्रामक बुकिङ गर्न सफल भएको हो । आइतबार सम्पन्न नाडा अटो शोमा स्काईवेलले १ सय २६ युनिट बुकिङ गरेको छ । शनिबारसम्म स्काईवेलले ९९ युनिट गाडीको बुकिङ प्राप्त गरेको थियो । आइतबार थप २७ युटिन गाडी बुकिङ प्राप्त गरेको स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । ‘हामीले प्रिमियम गाडीमा सम्भवतः सबैभन्दा धेरै गाडी बुकिङ गरेका हौँ, शो निकै उत्साहजनक रह्यो’, उनले भनेका छन् । उनका अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो । नाडा अटो शोमा स्काईवेल एसयूभी बी ११ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्जको इभी सार्वजनिक गरेको थियो । नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले न्यूनतम ४ लाखसम्मको छुट पनि दिएको थियो । कम्पनीले जनाएअनुसार ४१० किलोमिटर रेन्ज दिने गाडीलाई छुटसहित ७५ लाख ९० हजार, ५२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजार र ६२० किमी रेन्ज दिने गाडीलाई ८५ लाख ९० हजारमा उपलब्ध गराइएको थियो । १ सय ५० किलोवाट मोटर क्यापासिटी भएका गाडीहरूमा सेफ्टी फिचरसहित विभिन्न सुविधा पनि उपलब्ध गराइएको थियो । गाडीमा अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषताहरू रहेको कम्पनीले जनाएको छ । स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर इभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ । स्काईवेलका विद्युतीय सवारीहरू जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत धेरै देशहरूमा लोकप्रिय छन् ।
सनरुफ भएको टाटा पन्च इभीको बुकिङ ४६८ युनिट
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ उत्साहजनक रहेको बताएको छ । नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ भइसकेको छ भने अन्तिमसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ । यस वर्षको नाडामा उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । टाटा पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यस भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन सक्ने कम्पनीको भनाइ छ । हाल सार्वजनिक मूल्य नाडासम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ । साथै, नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा पनि गरेको छ ।
पहिले दशैं ठूलो चाड लाग्थ्याे तर अटो शो पो ठूलो रहेछ : नाडा अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो दशैं भन्दा ठूलो चाड रहेको बताएका छन् । आइतबार ‘नाडा अटो शो २०२४’ को समापन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अटो शोमा मानिसहरूको किनमेल देख्दा दशैं आएको जस्तै लागेको बताएका हुन् । साथै नाडा अटो शोले दशैंलाइ स्वागत गरेको समेत उनको भनाइ छ । ‘पहिले दशैं ठूलो चाड हो जस्तो लाग्थो । तर, अटो क्षेत्रमा लागेदेखि नाडा अटो शो पो ठूलो रहेछ,’ उनी भन्छन्, ‘अटो शोमा मानिसहरूको किनमेल देख्दा साँच्चै नै दशैं आएको जस्तो लाग्यो ।’ उनका अनुसार नाडा अटो शो २०२४ मा ७४ हजार भन्दा धेरैले अवलोकन गरेका छन् । अध्यक्ष चौधरीले नाडा शोको ६ दिनको समय बितेको पत्तै नभएको बताउँदै नेपाली अटो क्षेत्र शोमा रहेको बताए । शोले अटो सेक्टरको उद्देश्य सरकारलाई बुझाउन सफल भएको उनले बताए । ठाउँ र समयका कारण नाडाको समय थप्न नसकिएको उनको भनाइ छ । ‘अहिले अटो क्षेत्र शोकमा छ, हामीले चाहिने जति लगानी पनि गर्न सकेका छैनौं, यस्तोमा मैले गर्न सक्ने भनेको अटो व्यवसायीको यही समस्या सरकारसँग राख्नु हो, जुन समस्या मैले राखेको छु,’ उनले भने । भदौ ११ गतेबाट सुरु भएको अटो शो आज समापन भएको हो ।