सवा एक करोड पर्ने टोयोटाको ‘यारिस क्रस हाइब्रिड’ गाडी, यस्ता छन् सुविधा

काठमाडौं । टोयोटाको हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक गाडी नेपाली बजारमा आएको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले गत शुक्रबार सार्वजनिक गरी उक्त गाडीकाे बिक्री सुरु गरेकाे हाे । युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिका सेल्स हेड महेन्द्र श्रेष्ठले यारिस क्रस हाइब्रिड गाडी सार्वजनिक भएसँगै बुकिङ पनि खुला भएकाे जानकारी दिए । ‘यो गाडी अन्य भन्दा फरक छ, नेपाली सडकको लागि सुहाउँदो यो गाडी आफैंमा सुविधा सम्पन्न छ,गाडीलाई निश्चित ब्याट्री ब्याकअपबाट कुदाउन सकिन्छ,’ उनले भने । आकर्षक लुक्स र आधुनिक फिचर भएको यो गाडीको लम्बाई ४३१० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१५ एमएम रहेको छ । कम्पनीका अनुसार यसमा २६२० एमएम लामो ह्विललेस र १८ इन्च को टायर पाउन सकिन्छ । यो गाडीमा अटोमेटिक हाइबिमसहितको हेडलाइट, एलइडी डीआरएल, एलईडी फग लाइट र कनेक्टेड एलईडी टेललाइट दिइएको छ । जुन पहिलो पटक यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट दिएको हो । हाइब्रिड पावरट्रेन भएकोले यो गाडीमा इलेक्ट्रिक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक रहेको छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई-सीभीटी गियरबक्स रहेको कम्पनीले बताएकाे छ । यारिस क्रस हाइब्रिड गाडीमा डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी-आई इन्जिन रहेको याे गाडीको ग्राउन्ड क्लिअरेन्स भने २१० मिमी रहेको छ । लिथियम-आयोन ब्याट्री रहेको यो गाडीमा प्यानोरेमिक ग्लास रूफ रहेकाे छ । १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पिकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेराका साथै इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड सुविधा पनि गाडीमा रहेको छ । यो  मोडलमा ८ वे पावर इलेक्ट्रिक ड्राइभर सिट, वायरलेस मोबाइल चार्जर, एपल कारप्ले, अन्द्रोइड अटो र  किक सेन्सरसहितको पावर टेलगेट पाउन सकिन्छ । कम्पनीले यारिस क्रस हाइब्रिडको मूल्य १ करोड २२ लाख रुपैयाँ ताेकेको छ ।  

वुलिङ ईभी र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्नेलाई हिराको औंठी उपहार

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकका लागि भ्यालेन्टाइन स्किम लागू गरेको छ । फेब्रुअरी १४ अर्थात् भोलि मनाइने भ्यालेन्टाइन पर्वको अवसरमा सो स्किम उपलब्ध गराएको कम्पनीले जनाएको छ । यसअन्तर्गत वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा ग्राहकले हिराको औँठी उपहार पाउनेछन् । वुलिङ ईभी २०० किमी र ३०० किमी रेन्ज दिने गरी दुई भेरिएन्टमा उपलब्ध छ । यी दुई मोडलको मूल्य क्रमश: २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ । इलेक्ट्रिक कार किन्नको लागि काठमाडौंको नक्साल र भैसेपाटी शोरुम जान सकिने छ । गाडीमा ८ वर्षको वारेन्टी पाउन सकिन्छ । साथै, फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको कम्पनीका एजीएम एनके शरदले बताए । लेभ्निङ इलेक्ट्रिक स्कुटर नेपालभरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर १२ फरक मोडलमा उपलब्ध छ, जुन कलेजको विद्यार्थी देखि कार्यालयका कर्मचारी र कृषक तथा अपाङ्गता भएकाहरूलाई समेत सहज हुने खालको प्रोडक्ट मानिन्छ । लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार रुपैयाँदेखि सुरु हुन्छ । स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको कम्पनीको भनाइ छ । यदि कसैलाई स्कुटर वा कार चाहिएमा ९९०२३०८५१२ वा ९८०१००२९८७ मा कल गर्न समेत गर्न सकिने कम्पनीले जनाएको छ । यो स्किम निश्चित समयका लागि लागू गरिएको बताइएको छ । नेपाली बजारमा विगत ३१ वर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा स्यानिटरीका आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क, अटोमोबाइल आदि रहेका छन् ।  

विद्युतीय ‘हेलिकोप्टर’ ल्याउँदै सुजुकी

काठमाडौं । अहिलेसम्म तपाईंले सुजुकी भन्नासाथ कार भनेर चिन्नुहुन्थ्यो । यो जापानी कम्पनी भए पनि यसले भारतमा सबैभन्दा ठूलो कार कम्पनी (मारुती सुजुकी) का रूपमा आफ्नो अड्डा जमाएको छ । तर, अहिले सुजुकीको आँखा आकाशतिर छ । अब ऊ उड्नेवाला विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको छ । टाइम्स अफ इन्डियाले प्रकाशित गरेको रिपोर्टअनुसार सुजुकीले विद्युतीय एयर कप्टर बनाउने योजना बनाएको छ, जुन ड्रोनभन्दा ठूलो तर परम्परागत हेलिकप्टरभन्दा सानो हुनेछ । यसमा पाइलटसहित कम्तीमा तीन जना बस्न सक्नेछन् । वास्तवमा कम्पनीले नयाँ गतिशीलता समाधानहरूमा प्रारम्भिक नेतृत्व प्राप्त गर्न चाहन्छ । रिपोर्टका अनुसार प्रारम्भमा यसलाई (इलेक्ट्रिक एयरकोप्टर) जापान र अमेरिकामा ल्याउन सकिनेछ । त्यसपछि छिट्टै भारतमा सार्न सकिने छ । यो जमिनमा आधारित उबर र ओला कारहरू जस्तै एयर ट्याक्सी हुन सक्छ । यसले ग्राउण्ड ट्राफिकबाट बच्न मद्दत गर्न सक्छ । रिपोर्टका अनुसार सुजुकी मोटर (अटोमोबाइल उत्पादन योजना समूह) ग्लोब अटोमोबाइल योजना विभागका सहायक प्रबन्धक केन्टो ओगुराले कम्पनीले आर्थिक कारणले पनि भारतमा उत्पादन गर्नेबारे विचार गरिरहेको र उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशकको कार्यालय (डीजीसीए) सँग वार्तासहित यसको सम्भाव्यतालाई विचार गरिरहेको बताएका छन् । ‘हामी भारतमा ग्राहक र साझेदारहरू खोज्न बजार अनुसन्धान गरिरहेका छौं,’ ओगुराले भने, ‘१ हजार ४ सय किलो तौलको यो एयर हेलिकोप्टरको टेक अफ तौल परम्परागत हेलिकप्टरको झन्डै आधा हुनेछ । घरको छानाबाट टेक अफ र ल्यान्डिङ गर्न सकिने छ, यो हेलिकप्टरभन्दा सस्तो हुनुपर्छ ।’ एजेन्सी