इभी व्यवसायमा देखिएका चुनौतिहरुको विषयमा पाठ्यक्रम बनाइने
काठमाडौं । नेपालमा इलेक्ट्रिक भेइकल (इभी) व्यवसायमा देखिएका चुनौतिहरुको विषयमा पाठ्यक्रम बनाइने भएको छ । आइतबार नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विद्युतीय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाइ अघि बढ्ने विषयमा छलफल भएको हो । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यताको विषयमा पनि छलफल भएको थियो । विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरियो । उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने बताए । बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्याल्यु रेसियोको हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधन गरिनु पर्ने तथा भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गरे । यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरु बारे प्रस्तुतिकरणमार्फत विस्तृत रुपमा जानकारी प्रदान गरे । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले विद्युतिय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताएको नाडाले जनाएको छ । उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
देशबाट गाडीका डाक्टर पनि पलायन हुन थाले : नाडा अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले देशबाट गाडीका उपचार गर्ने डाक्टरहरू पलायन हुन थालेको बताएका छन् । बिहीबार अटो पत्रकार संघ (जाम) ले आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले ठूलो मात्रामा गाडीका मेकानिकल र इन्जिनियरहरू पलायन हुन थालेको बताएका हुन् । ‘उहाँहरू मेकानिक्स र इन्जिनियरको सिप सिक्नका लागि जानु भएको हैन, यहाँबाट उहाँहरू विदेश गएर यहाँको भन्दा तल्लो दर्जामा बसेर काम गर्न गरिराख्नु भएको छ,’ उनले भने । अटो क्षेत्र समस्याबाट गुज्री रहेको बताउँदै चौधरीले अटो क्षेत्रको लागि दीर्घकालीन नीतिको आवश्यकता रहेको पनि बताए । ‘प्रदूषणबाट मर्ने कि अर्थतन्त्रको समस्याबाट मर्ने पहिला त्यो छानाैं,’ ‘उनले भने, ‘तर दुवैबाट नमर्ने वातावरण सिर्जना गरी मिलेर अगाडी बढौं,’ उनले भने । चौधरीले नाडा युरो ६ कार्यान्वयनको विरोधी नभएको बताए । उनका अनुसार पछिल्लो समय नेपालमा ईभीको तुलनामा आइसीई गाडीहरू बिक्री हुन छाडेका छन् । उनले नेपालमा वातावरण प्रदूषणको कमी र ऊर्जाको खपत कम गर्नको लागि भए पनि ईभीको आवश्यकता रहेको बताए । ‘सरकारले विद्युतीय यातायातलाई प्राथमिकता दिएर त्यसलाई प्रोत्साहन गर्न थालेको २/३ वर्ष भयो, अहिले मान्छेहरू आइसीईका गाडी छाडेर ईभीका गाडी किन्न थालेका छन्, ईभी सञ्चालन पश्चात् वातावरणमा कस्तो सुधार आएको छ, त्यस विषयमा निहाल्न पनि आवश्यक छ,’ उनले भने । चौधरीले गाडीले भन्दा बढी उद्योगले इन्धनको खपत गरिरहेको बताउँदै उद्योगलाई विद्युतीकरण तर्फ लैजान आवश्यक रहेको पनि बताए ।