नाडा अटो शोमा १००० बढी गाडी बुकिङ, ग्राहकको रोजाइमा ईभी

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको ‘अटो शो–२०२३’ मा एक हजार भन्दा बढी गाडी बुकिङ भएका छन् । भदौ २६ गतेदेखि जारी नाडा अटो शोको तेस्रो दिनसम्ममा सो संख्यामा गाडी बुकिङ भएको नाडाले जानकारी दिएको हो । नाडाका अध्यक्ष ध्रुब थापाले तेस्रो दिनसम्ममा करिब एक हजार बढी चार पाँग्रे गाडीको बुकिङ भएको जानकारी दिए । उनका अनुसार अझै बुकिङ हुने क्रम जारी छ । अटो शोमा विद्युतीय सवारी नै सबैभन्दा बढी बुकिङ भएको अनुमान नाडाको छ । उनका अनुसार नाडा अटोशोमा धेरै अवलोकनकर्ताको नजरमा पनि विद्युतीय सवारी नै परेको छ । दुई पाँग्रे सवारीको बुकिङ भने अहिले नै थाहा नहुने उनको भनाइ छ । ईभी सँगसँगै इन्धनबाट चल्ने विद्युतिय सवारीको बुकिङ पनि राम्रो रहेको थापाको भनाइ छ । ‘हामी सोचे भन्दा पनि राम्रो अटो शो राम्रो भयो, भिजिटर पाउँछ कि पाउँदैन, गाडी बुकिङ हुन्छ कि हुँदैन भन्ने डर थियो, तर अटो शो सोचे भन्दा पनि राम्रो भयो,’ उनले भने । देशको अर्थतन्त्रमा नयाँ भाइब्रेसन सिर्जना गर्ने गरी अटो शो भएको पनि थापाले बताए । उनका अनुसार दोस्रो दिनसम्म २१ हजार बढीले शोको अवलोकन गरेका छन् । यस्तै, अटो–शो तेस्रो दिनमा आज १५ हजार बढीले अवलोकन गरेका अनुमान नाडाको छ । अटो शोले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिएको पनि थापाले बताए । भदौ ३१ गतेसम्म नाडा अटो शो चल्नेछ ।

नाडा अटो शोमा १७ लाखदेखि २५ लाखसम्मका ईभी कार, यस्ता छन् विशेषता

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो शो–२०२३’ मा विभिन्न कम्पनीहरुले लाखौं मूल्य पर्ने ईभी गाडी प्रर्दशनीमा राखका छन् । सो गाडीमध्ये यस्ता गाडी छन् जो २५ लाख रुपैयाँ भन्दा कम नै मूल्य पाइन्छन् । आकर्षक लुक्स, आधुनिक फिचर भएका ती गाडीहरुमा अटो शोमा जाने जो कोहीलाई पनि आकर्षित गर्छ । मूल्य पनि सस्तो भएकाेले ती गाडीहरुमा मान्छेको आकर्षण व्यवसायीहरू बताउँछन् । उसो त प्रदर्शनीमा पनि विशेष गरेर विद्युतीय सवारी साधनहरुरुको बाहुल्यता छ । ईभी गाडीको मूल्य महँगो भयो भन्नेहरूका लागि यी गाडीहरू उपयुक्त हुन सक्छन् । यी हुन् कम मूल्यमा पाइने ईभी गाडी टाटाको टियागो इभी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नाडा अटो शो लक्षित गरेर टियागो ईभी गाडी सार्वजनिक गरेको छ । कम्पनीले टियागो ईभी आईआर एक्सटी मोडलको विद्युतीय गाडीको मूल्य कम्पनीले २५ लाख ४९ हजार रुपैयाँ तोकेको छ । ३१५ किलोमिटर रेन्ज दिने यस ईभीमा २४ किलोवाट आवरको ब्याट्री जडान भएको छ । यस्तै, १९.२ किलोवाट ब्याट्री भएको टियागो ईभी एमआर एक्सटी मोडलको गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सो मोडलको गाडीले २५० किलोमिटर रेन्ज दिन सक्छ । कम्पनीका अनुसार टियागो ईभी एमआर एक्सई मोडलको गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । १९.२ किलोवाटको ब्याट्री क्षमता रहेका यस गाडीले २५० किलोमिटरको रेन्ज दिन्छ । नाडा अटो शोमा टियागो ईभी धेरै मान्छेले चाखपूवर्क हेरेका छन् । वुलिङको ईभी गाडी २० लाखमै  बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभी सस्तो मूल्यमै पाइनेछ । कम्पनीले  सो गाडीको मूल्य २० लाख ९९ हजार रूपैयाँ मूल्य ताेकेकाे छ । २०० किलोमिटर रेन्ज दिने यो गाडी खरिद गर्न चाहनेहरूको लागि अफरको पनि व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । एमजीको दुई वटा मोडल १७ लाखमै  नाडा अटो शोमा एमजीको विभिन्न गाडीहरू उपलब्ध छन् । जसमध्ये दुई वटा ईभीका मोडल १७ लाखमै पाइन्छ । कम्पनीले ३१.२६ किलोवाट मोटर क्षमता रहेको एमजी कमिट पीस मोडलको गाडीकाे मूल्य १७ लाख ९९ हजार ताेकेकाे छ । १७.३ किलोवाट आवरको ब्याट्री रहेको यस गाडीको रेन्ज २३० किलोमिटर रहेको छ । यस्तै, एमजी कमेट इभी प्ले मोडलको गाडी २० लाख ९९ हजारमा पाइन्छ । ३१.२६ किलोवाटको मोटर क्षमता रहेको कमेट इभी प्लेमा १७.३ किलोवाट आवरको ब्याट्री जडान भएको छ । कम्पनीका अनुसार सो गाडीले २३० किलोमिटरको रेन्ज दिन्छ । एमएडब्लूको मिनी ईभी पनि सस्तो मूल्यमा पाइने नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू नेपालले अटो शोमा राखिएको मिनी ईभी गाडी मान्छेको आकर्षणको केन्द्र बनेको छ । १८० किलोमिटर रेन्ज रहेको मिनी ईभीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । १८० किलो मिटर फूल अप्सनको १६ लाख ९९ हजार राखिएको छ । यस्तै, २२० किलोमिटर फूल अप्सनको मूल्य १७ लाख ९९ हजार रुपैयाँ राखिएको कम्पनीले बताएको छ ।

नाडा अटो शोको दोस्रो दिन : यी गाडीमा देखियो मान्छेको आकर्षण

काठमाडौं । मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो-२०२३’ भृकुटीमण्डपमा भव्य रूपमा सञ्चालन भइरहेको छ । लामो समयपछि भएको उक्त अटो शोमा दिनानुदिन अवलोकनकर्ताहरुको संख्या बढ्दो छ । विभिन्न कम्पनीहरूले अटो शो लक्षित गरेर नयाँ गाडी पनि सार्वजनिक गरेका छन् । जसले गर्दा नयाँ गाडी किन्न चाहनेहरूको लागि यो शो उपलब्धिमूलक हुने विश्वास लिएको छ । यस वर्षको अटो शो ईभीमय नै भयो भन्दा फरक नपर्ला । विभिन्न कम्पनीहरूले ईभी गाडीलाई नै प्राथमिकता दिँदै प्रदर्शनीमा गाडी राखेका छन् । जसले गर्दा पनि ईभी गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । नाडा अटो शोको पहिलो दिन नै धेरै कम्पनीहरूले नयाँ गाडीको अनावरण गरिसकेका छन् । शोमा टाटा मोटर्स, सुजुकी, हुन्डाई मोटर्स, किया, एमजी मोटर, बीवाईडी लगायतका कम्पनीहरूले शोमा नयाँ मोडलका गाडी राखेका छन् । दुई र चार पाँग्री नयाँ सवारी साधनको प्रदर्शनीले अटो शोमा रौनक थपेको छ । अवलोकनकर्ताको आकर्षण विद्युतीय गाडी प्रति नै भएको भएको देखिन्छ । अवलोकनकर्ता राम शर्मा पनि अटो शोमा आएर विद्युतीय गाडी नै खोजेको बताउँछन् । ‘पछिल्लो समय मान्छेहरू ईभी गाडी किनेर कुदाएको देख्छु, त्यही भएर मैले पनि ईभी गाडी किन्ने सोच बनाएर आएको छु, केही गाडी हेर्यो तर मूल्य अलिक बढी भए जस्तो लाग्यो, गाडी चाहिँ शोको अवसर पारेर किन्ने हो, यहाँ किन्दा डिस्काउन्ट पनि पाइएला,’ उनले भने । भदौको ३१ गतेसम्म सञ्चालन हुने उक्त अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकको संख्या पनि बढ्दै गएको गाडी व्यवसायीहरू बताउँछन् । अटो शोको आकर्षणको केन्द्र बनेको ईभी गाडी राखिएको स्टलमा मानिसहरूको घुइँचो पनि बाक्लो थियो ।