ईभी बेच्ने एनईभी नेपालको आम्दानी सवा १ अर्ब रुपैयाँ, ५ वर्षमा ८८२.१७ प्रतिशत बढ्यो
काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) बिक्री गर्ने कम्पनी एनईभी नेपाल प्रालिले सवा १ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब २६ करोड ७० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष ४१.४० प्रतिशत अर्थात् ३७ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको कम्पनीले जनाएको छ । अगस्ट २, २०१९ मा स्थापित एनईभी नेपालले चीनको डीएफएसके ब्रान्डका विद्युतीय सवारी साधन बिक्री वितरण गर्दै आएको छ । साथै नेपाल सरकारले विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धनका लागि ल्याइरहेको नीतिले एनईभीको व्यवसायलाई सहयोग पुर्याइरहेको बताइएको छ । कम्पनीको आम्दानी प्रत्येक वृद्धि हुँदै गएको देखिन्छ । यसअघि सन् २०२३ मा कम्पनीले ४८ करोड रुपैयाँ, सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा १२ करोड ९० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । पछिल्लो ५ वर्ष तथा सन् २०२१ को तुलनामा सन् २०२५ मा कम्पनीको आम्दानी ८८२.१७ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीको मुख्य सेयरधनी राजन रायमाझी हुन् । जसको कम्पनीमा ४६ प्रतिशत सेयर स्वामित्व रहेको छ । रायमाझी दीगो ग्रुप अफ कम्पनीका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । वातावरणमैत्री सवारी सानन उपलब्ध गराउने लक्ष्यसहित जिरो कार्बन उत्सर्जन अभियानमार्फत उनले दीगो ग्रुप अन्तर्गत विभिन्न पाँच कम्पनीको नेतृत्व गर्दै आएका छन् । साथै विद्युतीय सवारी साधन प्रवर्द्धन तथा आवश्यक पूर्वाधार विकासका दीगो समूहले नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा देशभर चार्जिङ स्टेसन निर्माण गर्दै आएको छ । आम्दानी बढेका आधारमा कम्पनीको बजार उपस्थिति बलियो बन्दै गएको देखिन्छ । तर, कम्पनीको खुद नाफा भने अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ । सन् २०२४ मा १५.९४ प्रतिशत खुद नाफा रहेकोमा सन् २०२५ मा घटेर १३.५२ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको जनाएको छ । जसमा ४० करोड २० लाख रुपैयाँ दीर्घकालिन र ८९ करोड ८० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीको तथ्याङ्क छ ।
इन्धनबाट चल्ने गाडी विस्थापन हुँदा सयौँ मजदुर पलायन हुने स्थिति आयो : अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले इन्धनबाट चल्ने गाडीहरूलाई पछिल्लो समय विद्युतीय गाडीहरूले विस्थापन गर्दै जाँदा सयौँ मजदुरलाई असर गर्न थालेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको नेपालमा जलवायु परिवर्तन, श्रम बजारमा प्रभाव र न्यायोचित रुपान्तरणका लागि सरोकारवालासँगको सहकार्य विषयक गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनकाअनुसार पहिला इभि सवारी आउनुअघि पेट्रोलियम पदार्थले चल्ने सवारी आए । ती गाडीहरूको मर्मतसम्भारमा सयौँ मेकानिकहरु आवद्ध थिए । अहिले इभिले त्यस्ता सवारीलाई विस्थापन गरेपछि अधिकांश मेकानिकहरु बेरोजगार बन्दै गएका छन् । ती बेरोजगारलाई रोजगारी दिन इभिलाई मर्मत गर्ने सीप दक्षताको तालिम सरकारले दिनुपर्छ । उनले इभि गाडीहरु आउनु सकारात्मक भएपनि मजदुर पलायन हुन नदिन सरकारले प्रभावकारी कदमहरु चाल्न नसकेको बताए । अध्यक्ष श्रेष्ठले जलवायुसम्बन्धि कतिपय कानूनहरुमा श्रमिकहरुको कुराहरु नसमेटिएको समेत बताए । उनकाअनुसार पुराना कानूनहरुलाई संशोधन गरेर श्रमिकका मुद्दाहरुलाई समेटिनुपर्छ । अध्यक्ष श्रेष्ठले भने–‘सरकारले नीति तथा कानून स्पष्ट गर्नुपर्छ । अहिले पुराना ऐन कानूनहरु हेर्ने हो भने श्रमलाई कम उल्लेख गरिएको छ । त्यसैले कानूनमा श्रमलाई स्पष्ट पारिनुपर्छ । हरित रोजगारी, विकास गर्ने पोलिसिहरु बनाउन आवश्यक छ । प्रभावित क्षेत्रहरु पहिचान गरी श्रमिक संरक्षणका कानून तथा निर्देशिका, नियमावली बनाउनुपर्छ । योगदानमा आधारित सामाजिक सुरक्षाको पहुँचमा वृद्धि गर्न सकियो भने राम्रो हुन्छ । तालिम र पुनर्वर्गीकरणको काम गर्नुपर्छ ।’ श्रेष्ठले सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी लागू गर्न सरकारले ट्रेड युनियनहरूसँग समन्वय गर्न समेत चुकिरहेको बताएका छन् । उनकाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षालाई सरकारले अनौपचारिक क्षेत्रमा समेत प्रभावकारी रुपमा लागू गर्नुपर्छ ।
इन्धनबाट चल्ने कारहरूको लोकप्रियता फेरि बढ्दै
काठमाडौं । विश्वभरका गाडी किन्नेमध्ये धेरै उपभोक्ता पुनः आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीतर्फ फर्किन थालेको अर्न्स्ट एण्ड यङ (ईवाई) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टले देखाएको छ । अस्थिर नीति, व्यापार युद्ध र ईभीसम्बन्धी पूर्वाधार तथा लागतप्रतिको बढ्दो शंकाका कारण यस्तो भएको रिपोर्टमा उल्लेख छ । डिजेल तथा पेट्रोलबाट चल्ने कारको बिक्री सहज बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्ना पुख्र्यौली सरकारद्वारा तयार गरिएका फ्युल–इकनोमी स्ट्यान्डर्डहरू ठूलो मात्रामा घटाउने प्रस्ताव पेश गरे । युरोपेली युनियनले समेत सन् २०३५ पछि आईसीई बन्द गर्ने योजना फितलो पारिएको संस्करण छिट्टै ल्याउन सक्ने संकेत छ । ईवाई ग्लोबल एयरोस्पेस, डिफेन्स एण्ड मोबिलिटीका प्रमुख कोन्स्टान्टिन एम. गालका अनुसार ईभीतर्फको रूपान्तरण अपेक्षाभन्दा ढिलो गतिमा अघि बढेपछि नीतिहरू परिवर्तन भइरहेका हुन् । उनका अनुसार चिनियाँ उपभोक्ताहरू धेरै ईभी किनिरहे पनि उनीहरूका लागि गाडी केले चल्छ भन्ने भन्दा पनि कति राम्रोसँग डिजिटल लाइफस्टाइलसँग एकीकृत हुन्छ भन्नेमा बढी चासो छ । जहाँ एकातिर परम्परागत गाडी निर्माता कम्पनीहरूले जीवाश्म इन्धनको प्रयोग कम गर्ने गति सुस्त चाहन्छन् भने विद्युत् यातायात समर्थक समूहहरूले सीओटू उत्सर्जन नियन्त्रणका लागि ईभीतर्फ छिटो संक्रमण अत्यावश्यक भएको बताउँदै आएका छन् । पश्चिमी नीतिनिर्माताहरूले चीनका भारी रूपमा अनुदान प्राप्त ईभीहरूबाट आफ्ना बजार जोगाउन आयात शुल्कजस्ता कडा उपायहरु अपनाइरहेका छन् । तर अमेरिकन र युरोपेली कार निर्माताहरूले विश्वबजारमा चीनका पेट्रोलबाट चल्ने कारहरूसँग समेत कडा प्रतिस्पर्धा भोगिरहेका छन् । विश्वभरका ५० प्रतिशत गाडी खरिदकर्ताहरू आगामी २४ महिनामा नयाँ वा पुरानो पेट्रोलरडिजेलबाट चल्ने कार किन्न चाहन्छन्— यो दर २०२४ को तुलनामा १३ प्रतिशतले बढेको हो । ब्याट्री–इलेक्ट्रिक कारप्रतिको रुचि १० प्रतिशत बिन्दुले घटेर १४ प्रतिशतमा पुगेको छ । हाइब्रिड कारप्रतिको रुचि ५ प्रतिशतले घटेर १६ प्रतिशत मात्र बाँकी छ । सम्भावित ईभी खरिदकर्तामध्ये ३६ प्रतिशतले भू–राजनीतिक परिस्थितिका कारण खरीद पुनर्विचार वा ढिलाइ गरिरहेका छन् । ‘हामीले हालै युरोपेली युनियनसँग छलफल गरेका छौं । उनीहरूले ग्रिन डिलको पुनर्मूल्यांकनका लागि ‘ड्यु–डिलिजेन्स’ गरिरहेका छन्... अहिले उनीहरू धारणा वा विश्वासभन्दा वैज्ञानिक तथ्यमा बढी ध्यान दिन थालेका छन्,’ गालले भनिन् ।