सवारीसाधनको चाप बढ्दो, एकै वर्ष थपिए पौने ४ लाख नयाँ गाडी
काठमाडौं । गत वर्ष देशभर पौने ४ लाख नयाँ सवारीसाधन थपिएका छन् । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा देशभर ३ लाख ७६ हजार ३९३ वटा नयाँ सवारीसाधन थपिएका हुन् । जसमध्ये सबैभन्दा धेरै मोटरसाइकल थपिएका छन् । राष्ट्र बैंकको अध्ययन अनुसार गत वर्ष २ लाख ९४ हजार ३९८ वटा नयाँ मोटरसाइकल दर्ता हुँदा ८१ हजार ९९५ वटा अन्य सवारीसाधन थपिएका हुन् । तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ लाख ७३ हजार ७४ वटा सवारीसाधन दर्ता भएका थिए । जसमध्ये २ लाख ३२ हजार ५५२ वटा मोटरसाइकल र ४० हजार ५२२ वटा अन्य सवारीसाधन दर्ता भएको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष देशभर ३७.८३ प्रतिशत सवारीसाधन थपिएका हुन् । गत वर्ष मोटरसाइकलको संख्या २६.५९ प्रतिशत र १०२.३४ प्रतिशत अन्य सवारीसाधन थपिएका छन् । कुन प्रदेशमा कति थपिए ? सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा १४ हजार ७ सय २१ यातायातका साधन दर्ता भएका छन् । जसमध्ये १० हजार ९३१ मोटरसाइकल र ३ हजार ७९० वटा अन्य सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयहरूको तथ्याङ्क छ । अघिल्लो आव २०८०/८१ मा ७ हजार ७१८ वटा मोटरसाइकल र ३ हजार १८१ वटा अन्य गरी कुल १० हजार ८९९ वटा सवारीसाधन दर्ता भएका थिए । दुई पाङ्ग्रे तथा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग लगायतका कारणले सवारीसाधनको वृद्धि दर उच्च रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले जनाएको छ । पछिल्लो समय डडेल्धुरा र डोटी जिल्लास्थित यातायात व्यवस्था कार्यालयहरूमा समेत यातायातका साधनको दर्ता सुरु भएको छ । कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ९७७ वटा सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकल २ हजार ५५२ वटा र अन्य सवारीसाधन ७४८ वटा दर्ता भएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशमा २ हजार ४३८ वटा मोटरसाइकल र ५६६ वटा अन्य सवारीसाधन गरी ३ हजार ४ वटा सवारीसाधन दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३२.३९ प्रतिशत बढी सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालय सुर्खेत र जुम्लाले जनाएका छन् । लुम्बिनी प्रदेशमा गत आव २०८१/८२ मा ७५ हजार ८७ सवारीसाधन दर्ता भएका छन् । जसमध्ये ७० हजार ७१४ वटा मोटरसाइकल र १३ हजार ७५५ वटा अन्य सवारी दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय बुटवल, नेपालगञ्ज र दाङको तथ्याङ्क अनुसार अघिल्लो आव २०८०/८१ मा ४६ हजार ७३८ वटा मोटरसाइकल र ८ हजार ९० वटा अन्य सवारी गरी कुल ५४ हजार ८३० वटा सवारीसाधन दर्ता भएका थिए । गण्डकी प्रदेशमा आव २०८१/८२ मा १७ हजार ९६७ वटा सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकलको संख्या १४ हजार ८६१ र अन्य यातायातको साधनको संख्या ३ हजार १०६ रहेको छ । अघिल्लो आव २०८०/८१ मा ११ हजार १२३ वटा मोटरसाइकल र १ हजार ८१५ वटा अन्य गरी कुल १२ हजार ९३८ सवारीसाधन दर्ता भएका थिए । यस प्रदेशमा आर्थिक क्षेत्र चलायमान हुँदै जानु, आयातमा गरिएको कडाइ फुकुवा हुनु तथा यातायातका साधन प्रयोग गर्ने युवाहरू बढेका जस्ता कारणले यातायातको साधनहरूको दर्ता क्रमशः बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा १ लाख ३५ हजार ८६६ सवारी दर्ता भएका छन् । जसमध्ये मोटरसाइकल सङ्ख्या १ लाख २ हजार ८११ वटा र ३३ हजार ५५ वटा अन्य सवारीसाधन दर्ता भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आव २०८०/८१ मा ८५ हजार ८७४ वटा मोटरसाइकल र ७ हजार ७२५ वटा अन्य गरी कुल ९३ हजार ५९९ वटा सवारीसाधन दर्ता भएका थिए । मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ६८ हजार २५९ वटा सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकलको संख्या ५७ हजार ९३६ र अन्य यातायात साधनको संख्या १० हजार ३२३ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आवमा ४९ हजार ८४५ वटा मोटरसाइकल र ९ हजार ८३७ वटा अन्य गरी ५९ हजार ६८२ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालय, मधेश प्रदेशको तथ्याङ्क छ । कोशी प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा ५१ हजार १३४ वटा सवारीसाधन दर्ता भएका छन् । जसमध्ये ३३ हजार ९१६ वटा मोटरसाइकल र १७ हजार २१८ वटा अन्य सवारी रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ८१६ वटा मोटरसाइकल र ९ हजार ३०६ वटा अन्य सवारी गरी कुल ३८ हजार १२२ वटा सवारीसाधन दर्ता भएका थिए । २०८२ असार मसान्तमा कोशी प्रदेशका १४ वटा जिल्लामध्ये सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा र ओखलढुङ्गा गरी ७ वटा जिल्लाबाट सवारीसाधन दर्ता हुने कार्य हुँदै आएको छ ।
काठमाडौंमा प्रोटोनको ‘एक्सचेन्ज फर एक्सचेन्ज’ क्याम्प : ८ वर्ष वारेन्टी र शून्य प्रतिशत ब्याजदरमा गाडी
काठमाडौं । जगदम्बा मोटर्स प्रोटोन डिभिजनले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘एक्सचेन्ज फर एक्सचेन्ज’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । यही नोभेम्बर २१ देखि २३ (शुक्रबारदेखि सोमबार) सम्मका लागि आयोजित यो कार्यक्रम ग्राहकहरूको अझ नजिक पुग्ने र उनीहरूलाई उत्कृष्ट डिल तथा प्रिमियम ड्राइभिङको अनुभव गराउने उद्देश्यका साथ ल्याइएको कम्पनीका मार्केटिङ हेड आकाश विक्रम थापाले जानकारी दिए । थापाका अनुसार यो ३ दिने कार्यक्रम भए पनि ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएमा यसलाई १ दिन थप विस्तार गरिएको छ । ‘हामी ग्राहकको अझ नजिक पुग्न चाहन्छौं, अझ उहाँहरूलाई बेटर अफर र बेटर डिल दिन चाहन्छौं । त्यसैले थप एक दिनको समय राखेका हौं,’ उनले भने । एक्सचेन्ज क्याम्पमा पुराना गाडीको मूल्यांकनका लागि ग्राहकहरूले नेपालकै उत्कृष्ट रिकन्डिसन हाउसबाट उच्च र सन्तोषजनक मूल्य प्राप्त गर्न सक्ने थापाले बताए । जुनसुकै ब्रान्ड, मोडल तथा इन्धन प्रकार (पेट्रोल, डिजेल, इलेक्ट्रिक) का गाडीहरू पनि एक्सचेन्ज गर्न सकिने थापाले जानकारी दिए । प्रोटोनका गाडीहरुको सुरुवाती मूल्य ४६ लाख ९९ हजार लाख रुपैयाँदेखि ६७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । जगदम्बा मोटर्सले हाल प्रोटोन इमास सेभेन मोडललाई प्राइम र प्रिमियम गरी दुई भेरिअन्टमा बिक्री गर्दै आएको छ । उनका अनुसार यस गाडीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘एजे शटब्लेड ब्याट्री’ हो । जुन हालसम्म बजारमा रहेका सबै इभीहरूमध्ये सबैभन्दा सुरक्षित र भरपर्दो मानिन्छ । यसले ग्राहकहरूलाई सुरक्षा र लामो समयसम्म गाडीको स्वामित्व कायम राख्न मद्दत गर्नेछ । कम्पनीले ब्याट्रीमा ८ वर्ष र असीमित माइलेजको वारेन्टी प्रदान गरेको छ । गाडी खरिदका लागि ग्राहकहरूलाई सहयोग पुर्याउन नेपालका प्रमुख वाणिज्य बैंकहरूसँग जगदम्बा मोटर्सले टाईअप गरेको छ । यसका साथै जगदम्बाको आफ्नै इनहाउस हायर परचेज योजना पनि रहेको छ । जसअन्तर्गत शून्य प्रतिशत ब्याजदरमा पनि गाडी खरिद गर्न सकिनेछ । पहिलो तीन दिनमा १२ वटा युनिट बिक्री भएको र सोमबारसम्म थप १० युनिट बिक्री हुने प्रक्षेपणका साथ कुल २२ युनिटको बिक्री लक्ष्य राखिएको थापाले बताए । हाल बुकिङ खुल्ला रहेको र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले गर्दा आगामी दिनहरूमा पनि ग्राहकहरूको घरघरमा पुग्न र सुविधा दिन यस्तै एक्सचेन्ज क्याम्पहरू आयोजना गरिने उनको भनाइ छ । हाललाई प्रोटोन इमास सेभेन नै प्रमुख मोडल रहने र २०२६ सम्ममा केही नयाँ उत्पादनहरू आउने सम्भावना रहेको पनि थापाले बताए । काठमाडौंको ज्ञानेश्वरस्थित एटीक रेष्टुरेन्टमा एक्सचेन्ज अफर सञ्चालन भइरहेको हो ।
प्रोटोन ईमासको एक्सचेन्ज अफर सोमबारसम्म चल्ने
काठमाडौं । प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर कार्यक्रम सोमबारसम्म सञ्चालन हुने भएको छ । जगदम्बा मोटर्सले गत शुक्रबारदेखि काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा जारी एक्सचेन्ज अफर कार्यक्रम थप एक दिन समय थपिएको हो । सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफर ४६ लाख ९९ हजार सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।