बजेट भाषणअघि कार किन्दा रू.५ लाख छुट, सरकारले गाडीकाे भन्सार घटाउला ?

काठमाडौँ ।सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्दैछ । अर्थमन्त्रीले संसदमा बजेट पढ्नुभन्दा अघि कार किन्नेले ५ लाख रूपैयाँ छुट पाउने भएकाे छन् । त्यति मात्र हाेइन, गाडी बुकिङ वा खरिद गर्दा निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीकाे सुविधा पाउने छन् । तर याे सुविधा सबै गाडीमा पाउने हाेइन । रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईल प्रालिले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफरमा यस्ताे सुविधा ल्याएकाे हाे । उक्त कम्पनीकाे अफर हेर्दा लाग्छ सरकारले बजेटमा गाडीकाे भन्सार तथा अन्तशुल्क लगाउन सक्छ । तर  कम्पनीले आफ्ना गाडी बिकाउन यस्ताे अफर ल्याएकाे हाे । बजेटपछि गाडीकाे कर घट्ने वा मूल्य घट्ने सम्भावना छैन । वर्तमान सरकार, त्यसमा पनि अर्थमन्त्री युवराज खतिवडाले महँगाे गाडी प्रति अत्यान्तै नकारात्मक धारणा व्यक्त गर्दै आएकाले यस वर्ष पनि गाडीमा लाग्ने कर वृद्धि हुन सक्छ र बजेट पछि गाडीकाे मूल्य झन् बढ्न सक्छ । उपभाेक्ताले बुझेकाे यहि मनाेविज्ञानलाइ बुझेर कम्पनीले बजेटअघि बढी गाडी बेच्न यस्ताे याेजना ल्याएकाे विश्लेषण गरिएकाे छ । कम्पनीका अनुसार रेनो ब्राण्ड गाडीहरु केडब्लुआईडी, डस्टर र क्यापचरमा सीमित अवधिका लागि यो अफर उपलब्ध गराइने छ ।

बढ्यो ट्याक्सी भाडा, ६ हजार ट्याक्सीको मिटर भाडा समायोजन

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ ।विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । “मिटर र प्रिन्टर मेशिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ”, उनी भन्छन् । विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि शुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि रु ५० उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि शुरुमा रु १५ र एक किलोमिटर गुडेपछि रु ५३ उठ्नेछ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेशिनसमेत जडान गरिसकेको छ । सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७५ मङ्सिरदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारवाही गरेको छ । महाशाखाका प्रमुख वसन्तकुमार पन्त ट्राफिक प्रहरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने उजुरीका आधारमा कारवाही गर्दै आएको बताउँछन् । महाशाखाले दैनिक ४० ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाउँदै आएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको बताउँछन् । “समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ”, उनी भन्छन् । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन् । रासस

हेटौँडामा स्मार्ट लाइसेन्स वितरण शुरु, मुख्यमन्त्री पौडेलले गरे उद्घाटन

हेटौँडा । प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाद्वारा शुरु गरिएको सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण कार्यको आज शुभारम्भ गरेका छन् । मुख्यमन्त्री पौडेलले सवारी अनुमतिपत्र स्मार्ट कार्ड प्राप्त गर्ने २६ जना मध्ये नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष माधव अधिकारी, हेटौँडा उद्योग सङ्घका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, समाजसेवी सुयस पराजुली, केशवलाल श्रेष्ठ र महिला सेवाग्राही सुरक्षा पौडेललाई स्मार्ट कार्ड वितरण गरे । सो अवसरमा मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा देखिएको अनियमित कार्य र विसङ्गतिलाई अन्त्य गरी सेवाग्राहीलाई सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताए । प्रदेश सरकारले अब छ महिनाभित्र प्रदेशको १३ जिल्लामा स्थायी राजधानी तोकिएपछि हेटौँडाबाटै नियमित स्मार्ट कार्ड वितरण गर्ने प्रणाली लागू गर्न गृहकार्यका साथ प्रक्रिया अघि बढाइसकेको उनले स्पष्ट पारे । यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले स्मार्ट कार्ड वितरण अभियानलाई निरन्तरता दिने र नयाँ सेवाग्राहीका लागि सवारी अनुमतिपत्र दुई महिनाभित्रै वितरण गर्ने कार्यलाई सहज पार्न प्रक्रिया शुरु भइसकेको जानकारी दिए । सेवाग्राहीका तर्फबाट नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष गोकर्ण पराजुली र माधव अधिकारीले यातायात क्षेत्रबाट सेवाग्राहीलाई दिँदै आएको कर दस्तुरलाई प्रदेश सरकारले पुनः समीक्षा गरी करको दरलाई घटाउन आग्रह गर्दै यातायात कार्यालयले १३ वटै जिल्लाबाट आएका सेवाग्राहीलाई निष्पक्ष एवं पारदर्शी र व्यावहारिक अनुकूलता हेरी स्मार्ट कार्ड र यातायात व्यवसायीलाई सवारीको साधनलाई नवीकरण गर्ने कार्यलाई निरन्तरता दिन सुझाव दिए ।