फक्सवागनको विद्युतीय कार बिक्री युरोपमा बढ्यो

काठमाडौं । फक्सवागन समूहको विद्युतीय कार(ईभी) को बिक्री यूरोपमा यस वर्षको पहिलो त्रैमासिकमा दोब्बरभन्दा बढी बढेको छ । चीनमा भने बिक्री घटेको देखिएको छ । युरोपमा विद्युत् कारको माग वर्षौंको सुस्त वृद्धिपछि फेरि बढ्न थालेको छ भने चीनको विद्युत् कार बजार भने अझै पनि निकै प्रतिस्पर्धात्मक छ । जहाँ नयाँ विद्युत् कार मात्रै उत्पादन गर्ने कम्पनीहरूले विदेशी कार निर्माता कम्पनीहरूको बजार हिस्सा खोसिरहेका छन् । चीनमा कुल बिक्री ७.१ प्रतिशतले घटेको छ, यद्यपि कम्पनीले त्यहाँ २२ प्रतिशतको इन्धन इञ्जिन कार बजार हिस्सा कायम राख्न सफल भएको छ । मर्सिडीज-बेन्ज र पोर्शेले पनि चीनमा बिक्री घटेको रिपोर्ट दिएका छन् । फक्सवागनले प्रमुख मोडलहरू- जस्तै आईडी.थ्री र आईडी.फोर एक्सको नयाँ संस्करणहरू लन्च हुँदै जाँदा आगामी महिनाहरूमा विद्युत् कारहरूको बिक्री क्रमशः बढ्दै जाने अपेक्षा गरेको छ । अप्रिलमा शाङ्घाइ अटो शोमा फक्सवागनले नयाँ अडी ब्रान्डको पहिलो सिरिज उत्पादन मोडल प्रदर्शन गर्नेछ जुन यसै वर्ष लन्च हुनेछ र सन् २०२६ मा आउने तीनवटा भीडब्ल्यू मोडलहरू पनि देखाउनेछ । पश्चिमी युरोपमा फक्सवागनका गाडीहरूको अर्डर- चाहे त्यो विद्युत् होस् वा इन्धन इञ्जिन- २९ प्रतिशतले बढेको छ । युरोपेली अटोमोबाइल निर्माता संघको तथ्यांकअनुसार यो वर्ष युरोपमा विद्युत् गाडीहरूको बिक्री उल्लेखनीय रूपमा बढेको छ, यद्यपि कुल गाडी बिक्री भने घटेको छ ।  नयाँ युरोपेली संघको उत्सर्जन लक्ष्यहरू र नयाँ मोडलहरूको लन्चले वर्षौंको सुस्त वृद्धिपछि माग बढाएको देखिन्छ । संयुक्त राज्य अमेरिकामा बिक्री ६.२ प्रतिशतले बढेको छ, जुन सम्भवतः २५ प्रतिशत आयात कर लागु हुनु अघि ग्राहकहरूले अग्रीम रूपमा गाडी किनिरहेका संकेत हुन सक्छ । भीडब्ल्यू ब्रान्डको करिब दुई–तिहाइ बिक्री मेक्सिकोमा बनेका गाडीहरूमार्फत हुन्छ र यसको सबै पोर्शे, अडी र लाम्बोर्गिनी गाडीहरू युरोपबाट आयात गरिन्छ ।

स्काईवेल एसयुभी किन्ने जोडीलाई युरोप घुम्न जाने अवसर

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्ने भएका छन् । स्काईवेल नेपालको 'स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप' अभियानअन्तर्गत स्काईवेल किन्ने प्रत्येक जोडी ग्राहकलाई स्काईवेल कम्पनीले युरोप भ्रमणमा लैजाने घोषणा गरेको हो । यस अभियान अन्तर्गत स्काईवेलका दुई मोडेल -'बीई ११' र 'ईटी ५'- मध्ये कुनै पनि खरिद गर्ने ग्राहकका जोडीले युरोप भ्रमणको पूर्ण अवसर प्राप्त गर्नेछन् । उनीहरूले युरोपमै स्काईवेल ड्राइभ गर्न पाउने विशेष सुविधा पनि प्राप्त गर्नेछन् । नेपालमा स्काईवेलले ल्याएका यी एसयुभीहरू फुल-साइज, लक्जरी र प्रिमियम सेग्मेन्टमा पर्दछन् । १९० मिमी ग्राउण्ड क्लियरेन्ससहितका यी सवारीसाधनहरू एकपटकको चार्जमा ४१० किमीदेखि ६२० किमी रेन्जसम्मको दूरी तय गर्न सक्ने क्षमता राख्छन् । नेपालकै भूगोलमा सजिलै चलाउन सकिने यी सवारी युरोपेली सडकमा समेत लोकप्रिय बन्न सफल भएका छन् । 'स्काईवेल ड्राइभ २०२५ : नेपाल टु युरोप' अभियानमा टेस्ट ड्राइभ गर्ने ग्राहकहरू पनि सहभागी हुन सक्छन् । स्काईवेलको जुनसुकै मोडेल टेस्ट ड्राइभ गरेपछि आफ्नो अनुभव सामाजिक सञ्जालमा स्काईवेलको ह्यासट्यागसहित पोष्ट गर्नुपर्नेछ । तीमध्ये एक पुरुष र एक महिला विजेताले युरोप भ्रमण गर्ने मौका पाउनेछन् । स्काईवेल ईटी ५ को लङ रेन्ज भेरियन्टको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको  छ । स्काईवेल विई ११ को ४१० किमी रेन्ज मोडेलको मूल्य ७९ लाख ९० हजार रुपैयाँ, र ५२० किमी रेन्ज मोडेलको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यी दुवै एसयुभी अत्याधुनिक फिचर, आरामदायी डिजाइन, र बिजनेस क्लास स्तरको सुविधा सहित नेपालमा उपलब्ध छन् । हाल स्काईवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । साथै नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा विक्री केन्द्रहरू सञ्चालनमा छन् । स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स हाे ।

सूर्यांश वैद्यः बिँडो थाम्दै, जम्प हान्दै

काठमाडौं । बुवा सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष एवं उच्च कद भएका उद्यमी । आमा रितुसिंह वैद्य, पूर्व मिस इण्डिया, नेपालमा सफलता चुमिरहेकी महिला उद्यमी । सुरज र रितुको छोरा भन्नेबित्तिकै सूर्यांश वैद्यलाई व्यावसायीक जगतमा धेरैले चिन्दछन् । तर सूर्यांशलाई आफ्नै नामले चिनिनु छ ।  वहालवाला वा पूर्वमन्त्री, सांसद्, सचिव, न्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षक वा उच्च सरकारी पदमा पुगेको वर्तमान वा पूर्व हाइप्रोफाइल व्यक्तिका छोरो छोरी नेपालमा बस्दैनन्, विदेशमा पुगेका हुन्छन् । तर धेरै कठिनाइ र झमेलाका बीच व्यवसायीका छोराछोरी नेपालमा नै केही गर्न प्रयत्नशील छन् । तिनैमध्ये एक हुन् सूर्यांश । उनका सबै साथीहरू अहिले विदेशमै रमाइरहेका छन् । तर उनी आफ्नै देशमा केही गर्नुपर्छ भनी व्यवसायमा लागिरहेका छन् ।  विदेशको सिकाइ अनुभव सँगाली नेपाल फर्केका उनी पैतृक व्यवसाय समाल्दै छन् ।  अटोमोबाइल, कृषि, कन्ट्रक्सन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएका वैद्य अर्गनाजेशन अफ इण्ड्रष्ट्रिज एण्ड ट्रेडिङ हाउजेजमा उनी निर्देशकको भूमिकामा छन् । साथै वैद्य इनर्जीका सीईओ र पिटस्टप इन्कर्पोरेटेडका संस्थापकको रूपमा काम गरिरहेका छन् । भन्छन्, ‘मै धेरै विभाग हेरिरहेको छु, तर यसमध्ये विशेषगरी अहिले वैद्य इनर्जीलाई बढी समय दिइरहेको छु ।’ जान्दैनन् नेपाली सूर्यांश काठमाडौंमै जन्मे, काठमाडौंमै हुर्के तर उनलाई नेपाली भाषामा बोल्न कठिन हुन्छ । अरू नेपालीले झैं उनले कखगघ पढेनन्, एबीसीडी मात्र पढे । उनको परिवार बहुसांस्कृतिक र बहुभाषी छ । आमा रितु धेरैजसो अंग्रेजी र कहिलेकाहीं हिन्दी बोल्थिन् । बुवा र अन्य सदस्यले घरमा बोल्ने भाषा अंग्रेजी नै थियो । सूर्यांश सुरुमा काठमाडौंको बाफलस्थित रुपीज इन्टरनेशनल स्कूलमा पढे, जहाँ हिन्दीमा पढाइ हुन्थ्यो । पछि सानेपास्थित ब्रिटिश स्कुल हुँदै रविभवनको लिंकन स्कुलमा कक्षा १२ सम्म पढे, जहाँ पुरै अंग्रेजीमा पढाई हुन्थ्यो । कलेज पढ्न अमेरिका गए । बेन्टले यूनिभर्सिटीबाट व्यवस्थापन र उद्यमशीलता विषयमा ब्याचलर्स डिग्री लिए । अमेरिकामा पढ्दा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र धेरै विषयमा सिक्ने अवसर पाएको, व्यवसाय कसरी गर्ने, त्यसमा के के चाहिन्छ, सरकारसँग कसरी समन्वय गर्ने भन्ने यावत कुराहरू पढ्दै गर्दा थाहा पाएको उनी सुनाउँछन् ।    सूर्यांश पढाइ सकेर नेपाल फर्किँदा कोभिड महामारी थियो । जनमानसमा ठूलो त्रास थियो । त्यहीबेला उनले कुन क्षेत्रमा व्यवसाय कसरी गर्दा ठीक हुन्छ अनुसन्धान गरे । ‘मैले त्यो बेला नेपालका उद्योगहरूबारे जान्ने अवसर पाएँ । कृषि, इनर्जी, मोबिलिटी इनर्जी धेरै क्षेत्रको रिसर्च गरें, सबैभन्दा बेस्ट मलाई यो व्यवसाय लाग्यो र यही क्षेत्र रोजें,’ उनले भने । सूर्यांशका दुईजना दिदी छन् । जेठी दिदी अमेरिकामा छिन् भने माइली हस्पिटालिटी क्षेत्रमा काम गर्छिन् । उनको नेतृत्वमा चितवनमा होटल निर्माणाधीन छ । उनको काका सुरेश वैद्यले कृषि क्षेत्र हेरिरहेका छन् । ‘हजुरबाले जिरोबाट सुरु गरेको व्यवसायलाई मेरो बुवाले यहाँसम्म ल्याउनुभयो, अब मेरो जिम्मेवारी यो व्यवसायलाई कसरी अगाडि लैजाने भन्ने हो,’ उनले सुनाए । सूर्यांश व्यवसायमा लागेको पाँच वर्षमात्र भयो । यस अवधिमा धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको उनी बताउँछन् । उनी उत्साहित छन् । भन्छन्, ‘भर्खरै एथरको ४५० एक्स लन्च गरेका छौं । यसमा धेरै काम भइरहेको छ । केही नयाँ गर्ने प्रयास गरिरहेको छु । अहिले म निकै उत्साहित छु ।  वैद्य इनर्जी वैद्य इनर्जी भारतमा निर्मित दुईपाँग्रे ईभी एथरको आधिकारिक बिक्रेता हो । वैद्य इनजीले एथरको आयात, बिक्री र बिक्रीपछिको सेवामा काम गरिरहेको छ । एथरका उत्पादन केही महँगो भएपनि गुणस्तरीय भएको नेपाली बजारमा उपभोक्ताले रुचाईरहेको उनी बताउँछन् ।  विश्व प्रशिद्ध ब्राण्ड टोयोटाको आयात, बिक्री वितरण र मर्मतसम्भारमा वैद्य अर्गानाईजेशनको संस्थागत अनुभव निकै लामो छ । त्यो अनुभव एथरमा पनि लागू गर्ने वैद्य इनर्जीको प्रयास छ । ‘नेपालको इभीको पुरै इको सिस्टम बनाउनेतर्फ काम गरिरहेका छौं । एथर ईभीमा सर्वसाधारणको आकर्षण पनि बढिरहेको छ,’ उनले भने ।  पैसा हुँदैमा व्यवसाय गर्न सकिँदैन । राज्यका नीति नियमको पालना गर्दै, बजारमा प्रतिस्पर्धा गर्दै उपभोक्ताको मन जित्नु सजिलो काम छैन । पछिल्लो समय नेपालमा व्यावसायीक जटिलता बढेको व्यवसायीको अनुभव छ । सूर्यांशलाई पनि त्यस्तै लाग्छ । नेपालभन्दा बाहिर गएर काम गर्न भने सजिलो हुने उनी बताउँछन् । तर उनलाई आफ्नै देशमा व्यवसाय गर्न मन छ । ‘व्यवसाय’ सूर्यांशको प्यासन हो । त्यसमा पनि अटोमोबाइल उनलाई अझ बढी मन पर्छ ।  आमाबुवासँग सहज सिकाइ आमाबुवा दुवैजना व्यवसायमा हुँदा सूर्यांशलाई धेरै कुरा सिक्न सहज भयो । जब उनको स्कुल बिदा हुन्थ्यो उनी बुवाआमासँगै अफिस जान्थे ।  बुबाआमाले व्यवसायसम्बन्धी कुनै कार्यक्रम, मिटिङ जानुपर्दा उनलाई पनि सँगै लिएर जान्थे ।  कार्यक्रममा, बैठक धेरैमा उनी सानो हुँदै सहभागी हुने अवसर पाउँथे । ती दिन सम्झिँदै उनी भन्छन्, ‘मलाई व्यवसायका बारेमा थाहा थिएन तर, बिजनेसमा कसरी कुरा गर्ने, के गर्ने, के हुन्छ, समस्याहरू कस्ता आउन सक्छन् भन्नेबारेमा आमाबुवाकै कुरा सुनेर थाहा पाएको थिएँ ।’  व्यवसाय गर्नु सूर्यांशका लागि रहर कि बाध्यता ? हामीले प्रश्न गर्‍यौं । धेरैले यही प्रश्न गर्ने गरेको उनले बताए । र भने- 'दुइटै । यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने पहिलेदेखि नै लागेको थियो । अनि अर्को- आउनैपर्ने बाध्यता पनि ।’ बुबा, आमाले जहिल्यै पनि इच्छाअनुसार काम गर्न प्रेरित गरेको पनि उनले बताए ।  नेपालमै उत्पादन गर्ने लक्ष्य उनी व्यवसायमा बाउबाजेको बिँडो थाम्नेमात्र नभई त्योभन्दा केही फरक गर्ने अठोटका साथ लागेका छन् । सूर्यांशलाई विदेशबाट दुई पाँग्रे सवारी आयात मात्र गर्नु छैन । उनको लक्ष्य नेपालमै सवारी उत्पादन गर्ने छ । नेपाली बजारमा इलेक्ट्रिक दुई पांग्रेको हिस्सा तीन प्रतिशतमात्र छ । बाँकी ९७ प्रतिशत अझै आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) सवारीहरू छन् ।  उनी भन्छन्,‘नेपालमा ईभी धेरै प्रयोगमा नआएकाले पनि हुनसक्छ, ग्राहकरूले यसको ब्याट्री कति टिक्छ भनी प्रश्न गर्छन् । यो नेपालीको हकमा महँगो पनि छ तर मर्मत खर्च भने निकै कम छ ।’ पछिल्लो समय देशमा ईभीका लागि पूर्वाधार बन्दै जाँदा बिस्तारै सहज परिस्थिति आउनेमा उनी ढुक्क छन् ।  नेपालमै दुई पाङ्ग्रे इभी उत्पादन कठिन भएको उनी बताउँछन् । ‘सरकारको नीति सहज छैन । यसका लागि चाहिने सामाग्रीहरू धेरै बाहिरबाट ल्याउनुपर्ने हुन्छ । यसरी ल्याउँदा भन्सार शुल्क पनि उत्तिकै महँगो छ ।  सूर्यांश अबको पाँच वर्षपछि ३० प्रतिशत पार्टपूर्जा आफै उत्पादन गर्ने दाबी गर्छन् । भन्छन्, ‘मेरो काम विदेशबाट सामग्री आयात गरेर नेपाली बजारमा सप्लायर्स गर्नुमात्र होइन, मैले यही उत्पादन गर्ने योजना बनाएको छु ।’  ‘अहिले विभिन्न देशहरू उत्पादनमा क्षेत्रमा धेरै प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘नेपालले हरेक सामग्रीको लागि परनिर्भर रहनुपर्ने बाध्यता छ । सरकार र निजी क्षेत्र सबैले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोंच्नुपर्छ ।’ कम्बोडिया पनि पहिले नेपाल जस्तै अवस्थामा रहेको तर पछिल्लो समय कम्बोडियाले धेरै उन्नति गरेको सूर्यांश बताउँछन् । ‘त्यहाँको अवस्था पनि नेपालकै जस्तो छ । त्यहाँका युवाहरू पनि बाहिर गएर भविष्य खोजिरहेका हुन्थ्ये । तर त्यो देशमा टोयोटाको एसम्बल प्लान्ट बन्यो, उक्त प्लान्टमा हजारौं मानिसले रोजगारी पाएका छन् । उनी नेपालमा पनि यस्तो अवसर दिनसक्यो भने नेपाली युवा विदेशीनु नपर्ने बताउँछन् । यसका लागि निजी क्षेत्रले काम गर्न निकै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् ।    भिजनरी बुबाको साथ   सूर्यांशको बुबा सुरज पाँच बजे नै उठ्छन् । ७ बजे अफिस पुगिसक्छन् । बुवाबाट सिक्नुपर्ने कुराहरू धेरै रहेको सूर्यांश बताउँछन् । कम्युनिकेशन, प्यासन्स, भिजन उनी सबैभन्दा यी तीनकुरा बुवाबाट सिक्न निकै आवश्यक रहेको सुनाउँछन् ।  अमेरिकाबाट फर्केपछि उनले सुरुमा मार्केटिङबाट काम थाले । त्यसमा आमाले साथ दिइन् ।  तर अमेरिकामा सिकेको कुरा नेपालमा लागू कठिन भयो सूर्यांशलाई । यतिबेला फेरि बुबा सुरज वैद्यले साथ दिए । उनी भन्छन्, ‘बुवाको त्यस्तो भिजन कहाँबाट आउँछ, मैले अहिलेसम्म बुझ्न सकेको छैन, बुवाले मलाई काम गर्ने राम्रो ठाउँ र अवसर दिनुभएको छ । म त्यो मानेमा निकै भाग्यमानी हुँ।’