मर्सिडीज-बेन्जको पहिलो त्रैमासिक डेलिभरी ७ प्रतिशतले घट्यो
काठमाडौं । जर्मन कार निर्माता कम्पनी मर्सिडीज-बेन्जले सोमबार जनाएअनुसार चीन र युरोपमा घट्दो मागका कारण कम्पनीका कार र भ्यानको पहिलो त्रैमासिक बिक्री ७ प्रतिशतले घटेको छ । कम्पनीको भनाइअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा कार र भ्यानको डेलिभरी ५ लाख २९ हजार २०० युनिटमा झर्यो, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ लाख ६८ हजार ४०० युनिट थियो । यस्तै, ब्याट्री इलेक्ट्रिक गाडीको बिक्री अझै तीव्र गतिमा १० प्रतिशतले घटेर ५० हजार ५०० बाट ४५ हजार ५०० युनिटमा सीमित भयो। मर्सिडीज कार युनिटको अमेरिका भित्रको पहिलो त्रैमासिक बिक्री १ प्रतिशतले बढेको छ भने चीनमा १०% ले घटेको छ । जर्मनी र युरोपमा क्रमशः १० प्रतिशत र ७ प्रतिशतले बिक्री घटेको कम्पनीले थप जानकारी दिएको छ ।
संयुक्त वक्तव्यपछि नाडा नफुटेको चौधरीको दावी, अझै अन्यौलमा अटो शो
काठमाडौं । लामो समयदेखि अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा ) बाट छुट्टिएर बनेको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) दुवै संस्था एकअर्काका परिपूरक भएर जाने विषयले अटो क्षेत्र तरंगित बनेको छ । अटो क्षेत्रमा नाडा हुँदाहुँदै अर्को संस्था जन्मिनु र नाडा अटो शो संकटमा परेको चर्चा सेलाउन नपाउँदै नाइमा र नाडा एक अर्काको परिपूरक भएर जाने विषय एकाएक चर्चामा आएको हो । नाइमाको आधिकारिक घोषणा नै भएको छैन । नाइमाले आगामी वैशाख ४ गते मात्रै आफ्नो उद्देश्य तथा कार्यदिशा सार्वजनिक गर्ने बताएको छ । तर, आइतबार नाडा र नाइमाले संयुक्त रूपमा अटो क्षेत्रको विकासका लागि सहकार्य गरेको भन्दै विज्ञप्ति निकाले । यसले अब नाडाले अटो शो गर्छ वा नाइमाले पनि आफ्नै आयोजनामा अटो शो गर्छ भन्ने आममानिसमा खुलदुली छ । संयुक्त विज्ञप्ति र तस्बिरहरू सार्वजनिक गरिए पनि आगामी भदौमा हुने नाडा अटो शोलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने कुनै छलफल नै भएको छैन । हालसम्म नाडाले घोषणा गरेको अटो शोमा तीन व्यावसायीक घरानाबाहेक कसैले पनि इच्छा देखाएको छैन । जसका कारण नाडा अटो शो के हुन्छ र कसरी अगाडि बढ्छ भन्ने अन्यौल कायमै छ । यो विषयमा नाइमा र नाडालाई बुझ्दा उनीहरूले अहिले कुनै छलफल नभएको बताउँछन् । नाइमामा आवद्ध रहेका एक सदस्यका अनुसार सहकार्य गर्ने तर अटो शोलगायत अन्य सबै कामहरू छुट्टाछुट्टै गरिने बताए । ती सदस्यले भने, ‘हामीले नाडालाई आयातकर्ताका रूपमा सहयोग गर्नेछौं । सहकार्य भनेको एउटै भएर जाने भनेका होइनौं । दुवै संस्थाको काम एउटै प्रकृतिको भएकाले हामीले सँगै जाने भनेका हौं । तर कामहरू फरक फरक नै हुन्छन् । नाडाले आफ्नो तरिकाले गर्छ भने हामीले आफ्नो तरिकाले गर्छौं ।’ 'तपाईंलाई लाग्न सक्छ नाइमा नाडासँग मिलेर एउटै अटो शो गर्छन् भनेर तर हामी नाडा अटो शोमा सामेल हुदैनौं । हामीले मोबिलिटीको आयोजना गर्छाैं । मोबिलिटीको तयारी तीव्र रूपमा भइरहेको छ । अब छिट्टै स्टल बुकिङ खुलाउछौं,’ ती सदस्यले भने । उनले नाडा अटो शोमा आफूहरू सामेल हुन नसक्ने दाबी गरे । नाइमाले मोबिलिटी शो स्टल बुकिङको तयारी गरिरहेको समेत उनले जानकारी दिए । नाडाका अध्यक्ष करण चौधरी भने नाडा नफुटेको दावी गरिरहेका छन् । उनले विकासन्यूजलाई भने, ‘हामीले संयुक्त विज्ञप्ति निकालेका छौं । भ्रम फैलाइएको थियो । त्यही भ्रमलाई पुष्टि गर्नलाई छलफल गरेका हौं र नाडा र नाइमा दुवै संस्थामा सदस्यहरू आवद्ध छन् ।’ उनले उक्त छलफलमा नाडा अटो शोका विषयमा कुनै छलफल नभएको बताए । अझै धेरै दिन बाँकी रहेकाले यसबारे पछि नै छलफल गरिने भनाइ उनको छ । भर्खरै पोखरामा नाडाको नेतृत्वमा सम्पन्न भएको वाडा अटो शोमा विभिन्न ३० वटा ब्राण्डका गाडीहरू सहभागिता रहेको थियो । वाडा अटो शोमा सबै गाडीहरू उपस्थित हुनुले नाडा अटो शोमा पनि उत्तिकै सहभागी रहने नाडाका एक सदस्यले दावी गरे । उनले भने, ‘भर्खरै पोखरामा वाडा अटो शो सम्पन्न गरेका छौं। राम्रो भएको छ । धेरैले बुकिङ गराएका थिए । नाडा अटो शोमा पनि धेरैले स्टल बुकिङ गर्ने अपेक्षा गरेका छौं ।’ यद्यपि ती सदस्यका अनुसार भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शोमा हालसम्म चार पाङ्ग्रेतर्फ तीन ठूला कम्पनीबाहेक अन्यले स्टल बुकिङ गराएका छैनन् । यसैगरी, दुई पाङ्ग्रेतर्फ दुई कम्पनीले स्टल बुकिङ गराएका छन् । यता केही अटो व्यवसायीहरूले नाडा अटो शो नहुन सक्ने औंल्याउँछन् । नाइमासँग एक-अर्कासँग परिपूरक भएर जाने विज्ञप्ति जारी पछि नाडा अटो शो हुनेमा अटो व्यवसायीहरू मौन छन् ।
टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य
काठमाडौं । टोयोटाले सन् २०२७ सम्म आफ्नै प्रविधिमा आधारित करिब १५ वटा इलेक्ट्रिक सवारीसाधन (ईभी) मोडेल विकास गर्ने लक्ष्य राखेको छ र त्यसबेला सम्म प्रति वर्ष १० लाख कार उत्पादन गर्ने तयारी गरिरहेको छ । जापानी पत्रिका निक्केईले आइतवार यस्तो जानकारी दिएको हो । टोयोटाले यस विषयमा भने कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । निक्केईका अनुसार टोयोटाले अहिले जापान र चीनमा मात्र निर्माण भइरहेका पाँचवटा ईभी मोडेल आफ्नै प्रविधिबाट विकास गरेको छ । अमेरिकामा, थाइल्यान्ड र अर्जेन्टिनामा उत्पादन विस्तार गर्नाले शुल्क तथा मुद्रा सटही जोखिम कम गर्न र डेलिभरी समय घटाउन मद्दत पुग्ने उल्लेख गरिएको छ । यी १५ वटा ईभी मोडेलमध्ये केही टोयोटाको लक्जरी ब्रान्ड लेक्सस अन्तर्गतका हुनेछन् । टोयोटाले अहिले सन् २०२६ मा करिब ८ लाख इकाइ उत्पादन गर्ने अपेक्षा गरेको छ, जुन अघिल्लो योजनाको करिब ५० प्रतिशतले कम हो । टोयोटाले यसअघि सन् २०२६ सम्ममा प्रति वर्ष १५ लाख र सन् २०३० सम्ममा ३५ लाख ईभी बेच्ने योजना रहेको बताएको थियो, तर ती संख्या लगानीकर्ताहरूका लागि मार्गदर्शक सूचक मात्रै रहेको कम्पनीको भनाइ थियो । सन् २०२४ मा टोयोटाले विश्वभर झण्डै १ लाख ४० हजार ईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब एक तिहाइले बढी हो । ती बिक्रीहरू कम्पनीका कुल १ करोडभन्दा बढी सवारीसाधन बिक्रीमध्ये २ प्रतिशतभन्दा कम रहेका छन्। यी पनि पढ्नूहोस् : बेलायतको ज्यागुआर ल्याण्ड रोभरले आफ्ना गाडी अमेरिका नपठाउने ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने