नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डको सामान खरिद गर्दा ब्याज नलाग्ने

काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ । शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा सुन्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने छन् । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागेपनि न्युनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्ने बैंकले जनाएको छ ।

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी

गण्डकी । पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति। पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र ढोडबेँसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ। मालेपाटन ढोडबेँसी क्षेत्रमा उखुखेती कहिलेबाट गर्न थालियो भन्ने यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको पाइएको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिए। ‘खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो, यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्’, उनले भने, ‘दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौँ।’ सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ। नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लटे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ। उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ। समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो। पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको पौडेलले जानकारी दिए। कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुनलागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन्। व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन्। सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालनलगायत लगानी गरिँदै आएको छ। मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो। पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ। मालेपाटन ढोडबेँसी क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखु लगाउँदै आएका छन्। उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ। अनी रस पकाइन्छ। उक्त रसलाई घण्र्टौँ पकाएपछि खुदो तयार हुन्छ। यहाँका किसानले कोलमा उखु पेल्थे। दाइँमा जस्तै गोरुले कोल घुमाउँथे। यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ। पकाउने कामलाई पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले जानकारी दिए। पहिचान जोगाउन ब्राण्डिङ मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै अघिल्लो वर्षदेखि यसलाई ब्राण्डिङ गरिएको छ। पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटरको बोतलमा राखेर गत वर्ष नै बजारमा लगिएकामा यस वर्ष पनि एक हजार बोतल प्याकेजिङ गरिएको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए। यस वर्ष प्याकेजिङ गरिएकामध्ये पाँच सय बोतल बिक्री भइसकेको जानकारी दिँदै उहाँले यस वर्ष पनि तराईतिरबाट ल्याइएको खुदो मालेपाटन र ढोडबेँसीको भन्दै ठाउँ–ठाउँमा बिक्री हुने गरेको पाइएको बताए। गुणस्तर परीक्षणसहित सिलबन्दी खुदोको खुद्रा मूल्य प्रतिलिटर तीन सय ५० निर्धारण गरिएको छ। दश लिटरभन्दा बढी लैजानेका लागि प्रतिलिटर तीन सय २५ लिने गरिएको छ । सहकारीका अलावा स्थानीयले घर–घरबाट पनि खुदोको व्यापार गर्दै आएका छन् । महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको बताए। महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा वडा नं ३२ मा उखुखेतीमा जोड दिने कडरियाले जानकारी दिए । विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन्। उखुमा लाग्ने गरेको ढुसीजन्य रोगले उत्पादनमा कमी आएको स्थानीयको गुनासो छ। यस वर्ष वर्षात्को समयमा उखु ढलेपछि चिन्तित बनेका यहाँका स्थानीयलाई औषधि छर्नका लागि कृषि ज्ञान केन्द्रले स्प्रे उपलब्ध गराएको थियो । औषधि छरेसँगै क्षतिमा कमी आएको थियो। उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेँसीको भन्दै बिक्री गर्न थालिँदा चिन्तित बनेका छन्। करिब ६० देखि ७० कृषकले उखुबाट वार्षिक ६० लाख आम्दानी गर्ने गरेकामा वर्षात्मा सेतो ढुसीका कारण उखु लड्दा उत्पादन केही कम भएको अवसर पारी तराईबाट खुदो ल्याएर मालेपाटन र ढोडबेँसीको भन्दै बिक्री गर्ने गरिएकोे स्थानीयवासी रामप्रसाद ढकालले बताए । ‘पछिल्ला वर्षमा यस क्षेत्रमा उखुको व्यावसायिक खेती हुने गरेको छ, व्यक्तिगतरूपमा नै कतिपयले एक सय ४० टिनसम्म (प्रति टिन १६–१७ लिटरसम्म हुने) खुदो उत्पादन गर्ने गरेका छन्’, उनले भने। स्थानीयले यहाँको गुणस्तरीय खुदो घर–घरबाट प्रतिमाना दुई सयमा बिक्री गर्ने गरेको उल्लेख गर्दै उनले तराईबाट ल्याइएको कम गुणस्तरको खुदो प्रतिमाना एक सय ४० देखि एक सय ५० सम्म बेच्दा स्थानीय उत्पादन बिक्री गर्न सस्यामा भएको छ । रासस

विदेशको मासिक डेढ लाखको जागिर छाडेर स्वदेशमै भैँसीपालन

झापा । देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गरेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ११ वर्षसम्म काम गर्दा मासिक डेढ लाख आर्जन गरेको उनले बताए। स्वदेशमै पसिना र सीप लगाउने चाहना बोकेर उनी कतारबाट नेपाल फर्किए र सुवेदी कृषि फार्म स्थापना गरे। विसं २०७६ मा स्थापना गरिएको उनको फार्ममा अहिले ५५ वटा मुर्रा जातको भैँसी पालिएका छन्। हावापानी अनुकूलको दुधालु प्रजाति रोज्ने क्रममा उनले मुर्रा भैँसीले नै गोठ भरेका हुन्। यी भैँसीले कम्तीमा १० लिटरका दरले दूध दिन्छन्। ‘घरको आर्थिक दुर्दशा र देशमा बेरोजगारीको कहाली लाग्दो अवस्थाले नै मलाई खाडीको ४० डिग्री तातो मरुभूमिमा पुर्‍याएको छ। त्यो मेरो रहर थिएन’, वैदेशिक रोजगारीबाट फर्किनुको कारण खुलाउँदै उनले भने, ‘तर सधैँभरि पैसाका पछाडि लागेर परदेशमा बसिरहन मन लागेन। स्वदेशमै बरु रोजगारी सिर्जना हुने केही उद्यम गर्छु भन्ने सोचेर म नेपाल फर्केको हुँ।’ उनकी पत्नी दुर्गा सुवेदी पनि वैदेशिक रोजगारीकै सिलसिलामा चार वर्ष कतार बसिन्। उनीहरू दुवै जनासँगै स्वदेश फर्किए र पशुपालनमा लागे। स्वदेश फर्केर भद्रपुर–१ पृथ्वीनगरमा आफ्नै सात कठ्ठा जग्गामा २६ लाख रुपैयाँ लगानी गरेर आधुनिक भैँसीगोठ निर्माण गरे। सिरहाको लहानबाट भैँसीका पाडीहरू किनेर ल्याए। तराईको हावापानीमा राम्ररी सप्रिने भएकाले मुर्रा भैँसी रोजेको उनी बताउँछन्। फार्ममा अहिलेसम्म ६७ लाख रुपैयाँ लगानी भइसकेको छ। कृषि विकास बैंक बिर्तामोड शाखाबाट फार्मका लागि ५० लाख रुपैयाँ पशुपालन कर्जा लिएको उनले जानकारी दिए। गोठमा मात्र होइन, घाँस, पराल र दानामा उनको ठूलो लगानी छ। यसै वर्ष ६ लाख रुपैयाँको पराल बस्तीबाट किनेर ल्याएको उनले जानकारी दिए। बर्सेनि तीन लाख रुपैयाँको गोबरमल बिक्री हुने गरेको छ। गोठका अधिकांश पाडी गाभिनी अवस्थाका छन्। एक चौथाइ पाडी ६ महिनाभित्र ब्याउने तयारीमा छन्। ती ब्याएपछि सुरुमै उनले दैनिक कम्तीमा एक सय ५० लिटर दूध बिक्रीका लागि डेरी सञ्चालकसँग कुराकानी गरिरहेका छन्। अबको डेढ वर्षभित्र सबै भैँसी दुहुना भइसक्ने र भरपुर आम्दानी हुने उनको अपेक्षा छ। परम्परागत कृषि व्यवसाय गरेको उनको परिवार पहिलोपल्ट व्यावसायिक पशुपालनमा होमिएको छ। भैँसी गोठमा सञ्चालक सुवेदी, उनकी पत्नी दुर्गा र छोराछोरी खटिन्छन्। काम गर्नेलाई मासिक १५ हजार रुपैयाँ दिइएको छ। ‘यो वर्ष पाडीहरू ब्याएपछि वरपरकै डेरी व्यवसायीलाई दूध बेच्ने तयारी गरेको छु’, उनले भने, ‘तर, अर्को वर्षदेखि आफैँ डेरी खोल्ने योजना बनाएको छु।’ झापामा ठूला डेरी सञ्चालनमा आएकाले दूधको बजारमा कुनै समस्या छैन। आगामी दिनमा भैँसीपालन विस्तार हुँदै जाने भएको हुँदा उनले भद्रपुर वरपरका अरु गाईभैँसी पालक किसानको दूध सङ्कलन गर्ने लक्ष्यका साथ चिस्यान केन्द्र आफैँ सञ्चालन गर्ने योजना बनाइरहेको बताए। त्यतिका धेरै भैँसीका पाडीलाई खुवाउन घाँसको लरतरो जोहो गरेर पुग्दैन। स्थानीयको १३ बिघा जग्गा भाडामा लिएर उनले घाँसखेती र तरकारी खेती थालेका छन्। भैँसीपालनबाट जैविक मल सङ्कलन हुने भएकाले भाडामा लिइएको जग्गामा तरकारी बाली फस्टाउने उनको अपेक्षा छ। सात बिघामा घाँसखेती र ६ बिघामा मौसमी तरकारी बाली लगाएका सुवेदीको चार बिघा खेतमा अहिले तोरी पहेँलपुर भएको छ। भाडामा लिइएको जग्गाको भने उनले प्रतिबिघा वार्षिक १५ हजार रुपैयाँ तिरिरहेका छन्। स्वदेशमै पसिना सिञ्चन गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको सोच राज्यको प्राथमिकतामा पर्छ। कृषि र पशुपालनमा मरिमेटेर लागिरहेका उनी सरकारको बेवास्ता र मुलुकको बेथितिबाट भने वाक्क दिक्क छन्। नगरपालिकाले सञ्चालन गरिरहेको पशुसेवा कार्यालयमा कुटी काट्ने मेसिन अनुदानमा पाउन दुई पटकसम्म निवेदन हाल्दा नपाएको उनले बताए। ‘हेर्न आउँदा सबैले राम्रो गर्नुभयो, स्वदेशमै श्रम र सीप लगाए, रोजगारी सिर्जना गर्नुभयो भनेर फुर्क्याउँछन्’, उनी राज्यको गलत नीतिका कारण युवा उद्यमी निराश रहेको गुनासो सुनाउँदै भन्छन्, ‘उद्यम गर्न प्रोत्साहित गर्नुपर्नेमा राज्यका निकाय कर असुल्न मात्र जान्छन्। व्यवसायीले भोगिरहेका समस्याको समाधानका लागि कसैले केही सहयोग पुर्‍याउला भनेर आशा नगर्दा हुने अवस्था छ।’ आफूले विदेशमा आर्जेको रकम भैँसीपालनमा लगानी गरेको जनाउँदै वडा, नगरपालिका, प्रदेश वा अरु कुनै सरकारी निकायबाट हालसम्म कुनै अनुदान नपाएको बताए। अनुदान पाउन झुटा कागज मिलाउनुपर्ने, हिस्सा बुझाउनुपर्ने र सोर्सफोर्स लगाउनुपर्ने बेथिति व्याप्त रहेका कारण वास्तविक र इमान्दार कृषि व्यवसायी सरकारी प्रोत्साहनबाट टाढा रहेको उनको गुनासो छ। रासस