क्यान इन्फोटेक : नयाँ सूचना तथा सञ्चार प्रविधिको अवलोकन गर्ने अवसर
काठमाडौं । सूचना प्रविधि मेला क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड बढेको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानले सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शुरु भएको क्यान इन्फोटेक अवलोकन गर्नेहरुको भीडभाड बढेको हो । इन्फोटेकमा नयाँनयाँ सूचना प्रविधि र जानकारी लिनको लागि अवलोकन कर्ताहरुको बाक्लो उपस्थिति भइरहेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले मेलामा नयाँनयाँ नेपाली सफ्टवयर इञ्जिनीयरहरुले बनाएका प्रविधिहरुका अवलोकन गर्न र कलेजहरुको समेत स्टल रहेकाले टेक्नोलोजी पढ्न चाहने धेरै विद्यार्थीहरु अभिभावकसहित इन्फोटेकमा अवलोकन गर्न आइरहेको बताए । उनीहरुले मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिको बारेमा जानकारी दिने तथा व्यापार गर्ने उद्देश्यले क्यान इन्फोटेकको रहेको आयोजकले बताएको छ । समय अनुसार प्रविधिको नयाँनयाँ विकास हुँदै गएकाले इन्फोटेकमा नयाँ प्रविधिहरु हेर्न र जानकारी लिन मेलामा आउने अवलोकनकर्ताहरुको भीड लागिरहेको लर्डबुद्ध एजुकेसन फाउण्डेसनका निर्देशक उदयकान्त झाले बताए । उनले नेपालका आइटी पढाउने क्यापसहरुले कस्तो टेक्नोलोजी अध्यापन गराएको छ ? भन्ने विषय पनि कजेलहरुको स्टलहरुमा गएर जानकारी लिन सकिने जानकारी दिए । उनले मेलामा आउने नयाँ टेक्नोलोजी र नयाँ पाठ्यक्रमको विषयमा जान चाहेको पाइएको पनि बताए । त्यस्तै, मेलामा स्टल राखेको पिसिपिएस कलेजका मार्केटिङ म्यानेजर सुनन्द रेग्मीले पछिल्लो समय मोबाइल एप्सहरुमा नै धेरै टेक्नोलोजी हेर्न सकिने भएकाले मेलामा अवलोकनकर्ताको कमी जस्तो देखिएको बताए । उनले मेलामा टेक्नोलोजी अध्ययन गर्न विद्यार्थीहरुको लागि कजेलहरुको स्टल राख्नाले विद्यार्थीहरुको आवागमन बढेको जानकारी दिए । उनले विद्यार्थीहरुको टेक्नोलोजीसम्बन्धि चाहना विगतको भन्दा फरक पाइएको बताए । त्यस्तै, रेष्टटोनी कम्प्युटरको म्यानेजर वासुदेव सुवेदीले मेलामा आउने अवलोकनकर्ताहरुको नयाँ टेक्नोलोजीको विषयमा अत्याधिक चासो रहेकोमा जोड दिए । मेलामा १ सय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेट लगायतका सामग्री अवलोकन गर्ने पाइन्छ । इन्फोटेकमा नयाँ प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिन्छ । मेलामा नेपाल टेलिकम, कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, गमला घर, किताव, इलेक्टिकल बाइकहरुको समेत स्टल राखिएको छ ।
कौसी खेतीबाट मनग्य आम्दानी गर्दै होटल व्यवसायी डिलमाया कार्की
पोखरा । दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छतमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् यहाँकी होटल व्यवसायी डिलमाया कार्की । पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी गरेकी छिन् । उनी यस क्षेत्रका महिलाका लागि उदाहरणीय बनेकी छिन् । कार्कीको कौसीमा यतिखेर लटरम्म गोलभेडा, ब्रोकाउली, धनियाँ, लसुनको साग, रायोसागलगायत तरकारी फलेका छन् । साथै उनी काँक्रो, घिरौँला, करेला, चिचिन्ना, लौका जस्ता लहरे बालिका बिरुवा रोप्ने तयारीमा छिन् । ‘होटलमा आउने पाहुनाका लागि कौसीमा फलेका तरकारी पकाउने गरेको छु’, उनले भनिन् । होटलबाट निस्केको फोहरलाई कम्पोष्ट मल बनाएर कौसीको तरकारी खेतीमा प्रयोग गर्ने गरेको उनको भनाइ थियो । ग्राहक नभएको बेला तरकारीको हेरचाह गर्न कौसी जान्छिन् उनी । कार्कीका अनुसार उत्पादन भएको अर्गानिक तरकारीले परिवारलाई मात्र नभएर व्यवसायलाई समेत पुगेको छ । घरको माथिल्लो तल्लाको छतमा तरकारीका क्यारेट, गमला, रङ्गका बट्टामा विभिन्न जातका तरकारीका बोट छन् । कार्की भनिन्, ‘भान्छामा तरकारीको आवश्यकता पर्ने बित्तिकै झोला र पैसा लिएर पसलमा होइन चक्कु लिएर घरको भ¥याङ चढ्छु ।’ तरकारीसँगै उनको छतमा खोर पनि छ । खोरमा उन्नत जातका गिरिराज कुखुरा पाल्दै आउनुभएको छ । अहिले खोरमा दुईवटा भाले र आठ वटा पोथी छन् । ‘आवश्यकता अनुसार घरमै उत्पादन भएको कुखुराको मासुले पाहुनालाई स्वागत गर्न पाउँदा रमाइलो लाग्छ, यसबाट आम्दानीसमेत भएको छ’, उनले बताइन् । कार्कीले तरकारीबाट निस्केको घाँस तथा होटलमा बचेको खानालाई दानाका रुपमा कुखुरालाई खुवाउने र सुली तरकारीमा प्रयोग गर्छिन् । उनले भनिन्, ‘भविष्यमा कुखुरासँगै तरकारी खेतीलाई पनि विस्तार गर्ने सोच छ ।’ छतमा लहलह तरकारी फस्टाएको देख्दा आनन्द लाग्ने उनको भनाइ छ । उच्च हिमाली क्षेत्रमा पाइने पहाडी क्षेत्रका बासिन्दाले बढी प्रयोग गर्ने जिम्बूको बिरुवासमेत उनको कौसीमा देख्न पाइन्छ । “एकवर्ष भयो जिम्बू किनेको छैन, आफ्नै उत्पादनले पुगेको छ । बाहिरबाट ल्याएको भन्दा घरमै उत्पादन गरेको जिम्बू ग्राहकको रोजाइमा पर्ने गरेको छ”, उनले भनिन् । होटलमा खेर जाने खाद्यान्न तथा तरकारीका पात कुखुराको दानामा प्रयोग हुन्छ, सुली तरकारीकै लागि मल हुनेहुँदा चक्रिय प्रणालीमार्फत आयआर्जनसँगै फोहर व्यवस्थापनमा समेत सहयोग पुगेको पोखरा–१७ का वडाअध्यक्ष राधिका शाही योगीले बताए । उनले कौसीखेती प्रवद्र्धनका लागि वडाले समूहगतरुपमा तालिम सञ्चालन गर्नाका साथै कृषि महाशाखाको सहयोगमा फोहरलाई मोहरमा परिणत गर्ने आधुनिक तथा प्रविधियुक्त सामग्री अनुदानमा वितरण गरिरहेको जानकारी दिए । रासस
भारतीय बजारका कारण मारमा उपभोक्ता
पोखरिया । नेपाली धानको मूल्यवृद्धि भएकाले किसानले राहत राहतको अनुभूति गरेका छन् । यसपाली नेपाली धानको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल तीन सय रुपैयाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहतको महशुस गरेका हुन् । भारतले धान निकासीमा कोटा लगाएको र भारतमै पनि मूल्यवृद्धि भएकाले नेपाली धानको मूल्य पनि गत वर्षको तुलनामा धानको मूल्य बढेको हो । धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामल ५८, ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामल ६४ रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान मारमा पर्दै आए पनि यसपाली भने केही भए पनि राहत पाएका छन् । वीरगञ्ज वडा नं ३० स्थित लालपर्साका किसान सीतारामप्रसाद भन्छन्, ‘धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले कम नै हुने गरेको भए पनि यसपाली भने थोरै भए पनि खुसी भएको छु ।’ उनी भन्छन्, ‘म अहिले ६५ वर्षभन्दा माथिको भए, करिब १६ वर्षको उमेरदेखि धानखेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन मल समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने अवस्था छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या हुनेगरेकामा अहिले अलिकति भए पनि धानको मूल्यवृद्धि हुँदा हामी किसान खुसी नै छौँ तर यो पर्याप्त चाहिँ होइन ।’ अर्का पर्साको सबैठवा–४ की किसान किसमतीया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद्य पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि भएको हो ।’ यो बृद्धिले केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्छ । धानको मूल्यवृद्धिले एकातिर किसान खुसी भएका छन् भने अर्कोतर्फ चामलका उपभोक्ता भने मारमा परेका छन् । धानमा प्रतिक्विन्टल तीन सय रुपैयाँसम्म मूल्यवृद्धि हुँदा चामलमा प्रतिकिलो १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म मूल्यवृद्धि भएका कारण आफूहरु मारमा परेको उपभोक्ताको गुनासो छ । वीरगञ्ज महानगर वडा नं १२ मूर्लीकी सरिता देवी कुर्मी चामलको मूल्य अचानक बढेपछि गर्जो टार्न समस्या हुने गुनासो गर्छन् । भारतले नेपालका लागि चालू वर्षमा छ लाख टन धान निकासी गर्ने कोटा निर्धारण गरेका कारण भारतमै धानको मूल्य बढेकाले नेपालमा पनि धानको मूल्यसँगै चामलको मूल्य पनि बढेकाले उपभोक्ता मारमा परेका हुन् । नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष सुबोध गुप्ता भारतले गत वर्षदेखि समर्थन मूल्य पाँचदेखि छ रुपैयाँ बढाएर बिक्री गर्ने गरेको र भारतबाट धान, चामल नेपालतर्फ आयात गर्दा त्यसमै भन्सार कर र भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने भएकाले मूल्यवृद्धि भएको बताउँछन् । उनी अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारतमै निर्भर रहेको र नेपालको बजारमा पनि भारतकै धान, चामलको समर्थन मूल्यले ठाउँ लिने हुँदा यस्तो अवस्था सिर्जना भएको हो भन्छन् । गत वर्ष यही याममा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ थियो भने हाल तीन हजार एक सय रुपैयाँ छ । त्यही धान भारतमा प्रतिक्विन्टल तीन हजार दुई सय ५० रुपैयाँ अर्थात् नेपालको धान, चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको सुबोध गुप्ताको भनाइ छ । रासस