फूलखेतीबाट मासिक ३५ हजार आम्दानी
बुद्धभूमि । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ । तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ वर्ष कटेका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गरेको होइन । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आउएका छन् । तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ । अर्घाखाँचीलगायत कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासीसम्म पुष्प व्यवसायका रूपमा नाम कमाउनुभएका दर्लामीले यसैबाट दैनिकी चलाउँदै आएका छन् । पुष्पखेतीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्ने उनले बताए । सानै उमेरदेखि फूलका सौखिन दर्लामीले कुनै बेला यसरी फूलको खेती गरिएला भन्ने सोचेका थिएन । ‘सानैदेखि आर्टको काम गर्दै आएको हुँ, आर्टको काम गर्दा थुप्रै चित्र बनाएको छु । त्यही पेसा गर्दैगर्दा पुष्पखेती गर्ने सोच पलायो । शोखले गरेको पुष्पखेती एकाएक फैलिएर व्यवसायका रूपमा परिणत भयो’, दर्लामीले भने । छ सन्तानका बाबु उनी जागिरको सिलसिलामा भारतका विभिन्न स्थानसम्म पुगेका छन् । नेपालमै केही वर्ष अध्यापनको अनुभव पनि छ । उनले आफ्नो साढे छ रोपनी जग्गामा पुष्पखेती गरेको बताए । बाह्रै महिना फुल्ने फूल लगाएका उनले विशेषगरी तिहारमा बढी प्रयोग गरिए पनि अघिपछि त्यति प्रयोग नगरिने अनुभव सुनाए । फूलको व्यापार पनि मौसमअनुसार हुने उनको भनाइ छ । उनी भन्छन्, ‘बाह्रै महिना मेरो माग बढ्दो छ । फूलमात्रै नभएर फूलका बिरुवा पनि उत्पादन गर्ने गरेको छु । मैले उत्पादन गरेका फूलका बिरुवा ठूला नर्सरीमा लगाउँछन् ।’ अहिले उनी यिनै फूल लिएर कपिलवस्तु झरेका छन् । यही माघ १७ गतेदेखि जारी कपिलवस्तु महोत्सवमा उनले फूलको स्टल राखेका छन् । केही वर्षयता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आएका उनले यस वर्ष पनि निरन्तरता दिएको बताए । महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उनले फूलखेती लगाउने तरिका पनि सिकाउने गरेका छन् । कतिपयले महोत्सवबाट घरमा शोभाका लागि फूलका बिरुवा किनेर लैजाने गरेको उनले सुनाए । कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफूलाई स्टल ल्याउन आग्रह गरेकाले यहाँ आएको उनले सुनाए । कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफूले स्टल लैजाने गरेको उनले बताए । पुष्प व्यवसायी दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, बेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरीलगायत दुई दर्जनभन्दा बढी जातका फूल लगाउने गरेका छन् । उनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने अन्य चार–पाँच जनालाई सिजनअनुसार जागिर दिँदै आएको उनले बताए । रासस
मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी, वार्षिक १२ लाख आम्दानी
गलेश्वर । रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’ बनेको छ । यही भाइरल तोरी फाँटमा बेनी–४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त छन् । उनी रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउँछन् । एक दशकदेखि व्यावसायिक रुपमा मौरीपालन गरेका ४२ वर्षीय खत्री ७० घार मौरी लिएर घुम्ती चरनका लागि रत्नेचौरको तोरीबारीमा आएका छन् । पहेँलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ । ‘मौसमअनुसार आहारा पाइने ठाउँमा मौरीलाई सार्नुपर्छ, मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ’, उनले भने । जङ्गल आसपासका क्षेत्रलाई चरन क्षेत्रका रुपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनाका साथै स्वादिलोसमेत हुने भएकाले समय अनुकूल चरन क्षेत्रको खोजी गर्नुपर्ने उनले बताए । उनी २१ वर्षको उमेरमा दुबई पुगेर दुई वर्ष बिताएर फर्किएपछि पुनः मलेसिया गए । मलेसियामा तीन वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर मौरीपालन गरेका खत्रीले वार्षिक रुपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर वार्षिक २० लाखको कारोबार गर्ने गरेको बताए । वार्षिक एक क्विन्टल मह उत्पादन हुने र सबै खर्च कटाएर वार्षिक १२ लाखभन्दा रुपैयाँ बढी आम्दानी हुने उनको भनाइ छ । उनले महका अलवा मौरीसहित र खाली गरी वार्षिक एक सय मौरीका घार पनि बिक्री हुने बताए । प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ । गत वर्ष मौरीसहितका घार बिक्रीबाट मात्रै उनले १० लाख रुपैयाँ आम्दानी भएको जानकारी दिए । यस वर्ष चरन क्षेत्रमा राखेका ७० घार मौरीबाट दुई सय ५० किलो मह उत्पादन गर्ने अपेक्षा गरेको उनले सुनाए । प्रत्येक घारमा मौरीले तीनदेखि चार किलोसम्म मह उत्पादन गर्दछ । ताजा मह एक हजारदेखि एक हजार पाँच सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । महका गोला र मौरीसहितका घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको उनी बताउँछन् । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँच हजार र खाली घार तीन हजार पाँचसयमा बिक्री हुन्छ । बर्खाको समयमा धान र मकै, हिउँदमा तोरीबारीमा लैजाने गरेकामा पर्याप्त आहारा नपुगेमा मौरी भाग्ने जोखिम रहेको अर्का कृषक जीवन केसीले बताए । उनले मौरीको सबैभन्दा पहिलो रोजाइ चिउरी र दोस्रो तोरीबारी रहेको जानकारी दिए । गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फूल फुल्ने सबै बिरुवा अनुकूल भए पनि सबैभन्दा राम्रो तोरी र चिउरी हुने उनको भनाइ छ । गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको कृषकहरुको भनाइ छ । रत्नेचौरको तोरीबारीमा मौरी चराइरहेका कृषक केसीका अनुसार मौरीपालनबाट सोचेजस्तै आम्दानी हुने गरेको छ । उनले मौरीको आनीबानीसँग खेल्न सक्नेलाई अन्य व्यवसाय गर्न नपर्ने बताए । हरेक मौसममा फरक फरक ठाउँमा पुर्याएर चराउनुपर्ने वाध्यता रहेको उनको भनाइ छ । बिहान चरन क्षेत्र पुगेका मौरी घाम अस्ताउन लागेपछि आफ्नै बासस्थानमा फर्किने अवस्थामा अरिङ्गाल लगायतका किराको आक्रमणले क्षति हुने गरेको कृषकले बताएका छन् । विगतमा मौरीले तोरीबारी नष्ट गर्ने भ्रम रहेको अवस्थामा अहिले भने तोरीखेतीमा सक्रिय कृषकले नै मौरीपालकलाई बोलाउने गरेको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताए । म्याग्दीमा अगुवा कृषकले मौरी पालनबाटै वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । एकै ठाउँमा चरन क्षेत्रले नपुग्ने भएपछि घुम्ती चरनका लागि ठाउँठाउँमा घार राख्ने गरिएको छ ।
बाख्रापालनबाट ४ लाख आम्दानी गर्दै किसान
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएका छन् । उनले बाख्रापालनबाट वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का फार्ममा अहिले २८ वटा बाख्रा छन् । खड्कालाई बाख्रापालनका लागि श्रीमती, छोरा र बुबाले सघाउँदै आएका छन् । ‘जहाँ गए पनि केही न केही गर्नुपर्दछ, त्यो भन्दा आफ्नै गाउँमा नै बाख्रा र कृषि गर्छु भन्ने सोचसहित व्यवसाय सुरु गरेको हुँ’, उनले भने । लगातारको निरन्तर प्रयासले बाख्रापालनबाटै घरखर्च चलेको उनको भनाइ छ । ‘घरमा खाली बस्नुपरेको छैन । आम्दानीको स्रोत पनि बनेको छ’, उनले भने, ‘काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानुपर्दैन ।’ खड्काले बाख्राका लागि आवश्यकपर्ने घाँसखेती गरेका छन् । आफ्नै जग्गामा घाँसखेती गरिरहेको उनले बताए । ‘स्थानीय जातका बाख्राको मूल्य राम्रो हुने र जोखिम पनि कम हुँदा व्यवसायले सन्तुष्टि दिएको छ’, उनले भने । कृषक खड्काले बाख्रापालनबाट खर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । ‘बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, खर्च कटाएर बचेको पैसाले घरखर्च चल्दै आएको छ’, उनले भने । उनले बाख्रापालका अलवा तरकारी खेती पनि गर्दै आएका छन् । पाँच रोपनी क्षेत्रफलमा काउली खेती गरेका खड्काले तरकारी बिक्रीबाट पनि राम्रो आम्दानी भएको बताए । ‘बजार नजिक भएका कारण तरकारी बिक्रीमा समस्या छैन’, उनले भने । पशुपालनमा लागे पनि कतैबाट केही अनुदान नलिएको उनको भनाइ छ । गाउँपालिकाले व्यावसायिकरुपमा पशुपालन तथा कृषि गररहेका कृषकलाई प्रोत्साहनका लागि अनुदान दिने व्यवस्था मिलाएको छ । त्यसका लागि गाउँपालिकाले अनुगमन सुरु गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । ‘कृषकलाई प्रोत्साहन गर्नका लागि अनुदानको व्यवस्था मिलाएका छौँ, त्यसका लागि विभिन्न ठाउँ पुगेर अनुगमन गरिरहेका छौँ’, उनले भने । गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालू आर्थिक वर्षमा बोका वितरणका लागि तीन लाख ५० हजार रुपैयाँ, च्यापकटर वितरणका लागि रु एक लाख, गोठ खोर निर्माणका लागि चार लाख रुपैयाँ, लोकल कुखुरा वितरणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘व्यावसायिकरुपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ’, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौँ ।’ उनका अनुसार कृषकले गाउँपालिकामा निवेदन दिएका कृषकको फार्म अनुगमन सुरु गरिएको छ । रासस