माग बढेसँगै बजारमा बढ्न थाल्यो अण्डाको मूल्य
चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को तीन सय ६० रुपैयाँ तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको छ । यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुँदैआएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट चार सय ३५ रुपैयाँ पर्न आउँछ । उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रुपैयाँ हुँदा अण्डा प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो ६५ रुपैयाँ पर्दा अण्डाको मूल्य उस्तै छ ।’ औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा १६ रुपैयाँ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोख्रेलले बताए । हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका छन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताए । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदैआएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ । रासस
नेपाली उत्पादनले बजारको माग धान्न सकेन, वार्षिक १२ अर्बका हस्तकलाका सामग्री निर्यात हुने
काठमाडौं । नेपाल हस्तकला महासङ्का अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीले बजारको माग धान्न नसकेको बताएका छन् । उनका अनुसार विश्व बजारमा नेपाली हस्तकलाको राम्रो माग रहेकाले यहाँ उत्पादित वार्षिक १२ अर्ब रुपैयाँका हस्तकलाका सामग्री निर्यात हुनाका साथै नेपाली बजारमासमेत यस्ता सामग्रीको माग बढ्दो छ । अध्यक्ष शाक्यले भने, ‘हातले बनाएका सामग्रीमध्ये फेल्कबाट उत्पादित सामग्री मात्र वार्षिक पाँच अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुने गरेको छ । त्यसैगरी पश्मिना, हातेकागज, काष्ठकलालगायत सामग्रीको व्यापार पनि बढी हुने गरेको छ ।’ हस्तकलाको सामान उत्पादनमा महिलाको सहभागिता ८० प्रतिशतभन्दा बढी छ । यस्ता समान बनाएरै परिवार चलाउँदै आएकी दाङकी राजकुमारी चौधरीले भनिन्, ‘टोकरी, गमला, पूजादानी, चकटीलगायत सामान बनाउने गरेको छु । सुरुवाती चरणको व्यवसाय भए पनि व्यापार सन्तोषजनक हुनाका साथै घर खर्च पनि चलेको छ ।’ त्यस्तै कटनबाट उत्पादित सामग्रीको व्यापार गर्नुुहुने ललितपुरकी हसना महर्जनले भनिन्, ‘नेपाली उत्पादन बलियो राम्रो र सस्तो पनि हुन्छ ।’ हस्तकलाका लागि आवश्यक कच्चापदार्थ भारत, चीन, स्वीडजरल्याण्ड, दुबईलगायत देशबाट आयात हुने गरेको छ । उत्पादित यस्ता सामानको माग स्वदेशभन्दा विदेशमा राम्रो रहेको अध्यक्ष शाक्यले बताए । विदेशी पर्यटक घुम्न आउँदा हस्तकलाको सामान बढी खरिद गर्ने गरेको पाइन्छ । हालै सम्पन्न एक हस्तकला व्यापार मेलामा सहभागी हुनुभएकी फिनल्यान्डकी पर्यटक रुट भाराले नेपालको सामान राम्रो र गुणस्तरीय भएका कारण आफूलाई धेरै मनपर्ने बताए । सोही मेलमा पश्मिनाको सामान खरिद गरेकी फिनल्याण्डकी टेरी तेरिस्कोनटीले भनिन्, ‘हातबाट बनाइएका सामग्री भरपर्दो, सुन्दर र मूल्य पनि सन्तोषजनक हुने भएकाले स्वदेश फर्किदा पनि नेपाली सामान नै खरिद गरेर लैजान्छु ।’ हस्तकलाका सामान नेपालमै कम उत्पादन हुने भएकाले मागअनुसार निर्यात गर्न नसकिएको अध्यक्ष शाक्यको भनाइ थियो । देशमा दक्षजनशक्ति कम हुँदा स्थानीयस्तरमा उत्पादित सामग्रीसमेत खेर गइरहेको बताउँदै उनले सरकाले तालिमको व्यवस्था गरे रोजगारका लागि विदेश धाउन नपर्ने र स्वदेशी उत्पादनले नै विदेशी मुद्रा भित्रिने उल्लेख गरिन् । रासस
सोनाम विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट
काठमाडौं । सोनाम गियरले आफ्नो उत्पादनमा वार्षिक विन्टर छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले मंसिर २४ गतेदेखि पुस १६ गतेसम्म लागु हुनेगरी उक्त छुट अफर सार्वजनिक गरेको हो । कम्पनीले अफर अन्तर्गत छानिएका निश्चित वस्तुहरुमा ७० प्रतिशत सम्म छुट पाइने जनाएको छ । साथै नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा र बुटवलमा पनि सोनमका सोरुम रहेका छन् ।