नेपालमा केटिएम २५० एड्भेन्चर बाइक लन्च, मूल्य ७ लाख ४९ हजार ९ सय रूपैयाँ पर्ने

काठमाडौं । केटिएमले बहु प्रतिक्षित केटिएम २५० एड्भेन्चर बाइक लन्च गरेको छ । देशभरका केटिएमका डिलरमा यसको बुकिङ्ग खुला गरिएको छ । कम्पनीले केटिएम विश्वको एक नम्बर मोटरसाइकल दावी गरेको छ । यसको मूल्य ७ लाख ४९ हजार ९ सय रूपैयाँ तोकिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक लन्च गरेको हो । कम्पनीले यस अघि केटिएम ३९० एड्भेन्चर लन्च गरेको थियो । एड्भेन्चर बाइकिङ्गका लागि नयाँ मोडलको मोटरसाइकल लन्च गरिएको हो । उत्कृष्ट ह्यान्डलिङ र ईञ्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटिएमको नवीनतम एडिसन हो । यसको वृहत डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर निर्मित गरिएको छ । केटिएम २५० एड्भेन्चरमा २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन छ । यसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डेलिभरी प्रदान गर्दछ । इलेक्ट्रोनिक फ्यूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कमा प्रदर्शन संख्या बढाउन मद्दत गर्छ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (पास्क) ले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्छ । यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिङ र डाकार र्‍याली हेरिटेज अपनाउछ । उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटिएम २५० एड्भेन्चर, डब्ल्युपि एपेक्स सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने WP APEX अपसाइड–डाउन ४३ mm अगाडिको फोर्कमा १७७ mm ट्राभल रेन्ज हुन्छ । ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक BYBRE ब्रेक्समा ४–पिस्टन र्‍याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० mm रियर ब्रेक डिस्क र लार्ज ३२० mm फ्रन्ट ब्रेक डिस्क हुन्छ । बोशको अत्याधुनिक ABS प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साघुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ । १४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने BS6 ईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ । ‘भर्खरैका वर्षहरूले हामीले एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएका छन् । बाह्य अन्वेषणमा रुचि बढ्दो छ ।’ हन्सराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडका ए.जी.एम बिजय मोक्तानले भने, ‘हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको छ ।’ यसमा नवीनतम प्रविधिको साथ टप–स्पेक कम्पोनेन्टहरूको संयोजन गरेर निर्मित केटिएम एड्भेन्चर २५० ले द्रुत गतिले बढ्दै गरेको एड्भेन्चर क्षेत्रमा आफ्नो छुट्टै मापदण्ड तय गर्दछ ।  

‘उखु किसानको भुक्तानी समस्याको दिर्घकालिन समाधान भएकाे छ’

काठमाडाैं । नेपाल सरकारले उखु किसानहरुको उखु विक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ । उखु किसानको समस्या सरकारको काम, कारबाही र प्रतिष्ठाको विषय बनिरहेकाे बेला सरकारले यस्ताे भनेकाे हाे । सरकारले भुक्तानीको लागि व्यवसायीहरुलाई दबाब दिए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । यसै बिचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा आर्यलले उखु किसानको भुक्तानी समस्याको दिर्घकालिन समाधान फेरी नदोहोरिने गरी निकालेको बताएकी छिन् । मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा/सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको बताइन् । उनले भुक्तानी बक्यौता ८५ प्रतिशत भइसकेको र कृषि मन्त्रालय आफैले भुक्तानी गर्न बाँकी रहेको करिब २ करोड रुपैँया समेत किसानको खातामा गएको उनले बताइन् । किसानहरुले फेरि यस प्रकारको समस्या झेल्न नपरोस् भनेर अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिने र किसानले पाउने अनुदानमा बिचौलिया घुस्ने र दुरुपयोग गर्ने अवस्था उखु किसान दर्ता हुनासाथ हट्ने उनी बताउँछिन् उनकाे अनुसार किसान दर्ता प्रक्रियामा आएपछि सरकारले दिने अनुदान किसानको बैंक खातामा जानेछ । यससँगै किसानलाई उखुको उन्नत जातको बिउ उपलब्ध गराउन मित्र राष्ट्र भारतबाट ल्याउने गरी परराष्ट्र मन्त्रालय मार्फत कृषि मन्त्रालयले काम अगाडी बढाइ सकेको पनि मन्त्री अर्यालले बताइन् । यसैगरि कृषि मन्त्रालयले नार्क मार्फत उखु उत्पादन हुने १२ वटा जिल्लामा उखुको ब्रिडिङ गर्ने कामको थालनी भइसकेको उनले जानकारी दिइन् । सरकारले थालनी गरेको कामले उखुको उत्पादन तथा बजार व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेल्ने मन्त्री अर्यालले बताइन् ।

दूग्ध उत्पादनबाट शहरबाट गाउँतर्फ वार्षिक १२ अर्ब नगद प्रवाह

कास्की । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो । दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सोअनुसार उपलब्ध नभएको र वार्षिक अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्नु नेपालका लागि ठूलो अवसर पनि हो । नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ । कूल दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब चार प्रतिशतको रहेको अध्यक्ष दाहालले जानकारी दिए । सङ्घका अनुसार नेपालको निजी क्षेत्रको डेरी उद्योगमा रु ३० अर्बको हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सिर्जना भएको छ । देशभर दुग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आबद्ध रहेका छन् । दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक पाँच करोड तथा वार्षिक १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको बताइन्छ । नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब रु दुई अर्बभन्दा बढीको दूध र दुग्धजन्य पदार्थ आयात भइरहेको छ । नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी रहेको सङ्घका निर्वतमान अध्यक्ष इञ्जिनीयर अरनिको राजभण्डारीले जानकारी दिए । सङ्घले ससाना डेरी उद्योगले खाद्यको अनुज्ञापत्र र लेवल बिना सञ्चालन भएका कारण उपभोक्ताले पूर्णरुपमा गुणस्तरको प्रत्याभूति गर्न नसकेको तथा अस्वस्थ प्रतिस्पर्धा हुन गएकाले नियमनकारी निकायको ध्यान जानुपर्नेमा जोड दिएको छ । त्यस्ता उद्योगमा अनुगमन गरी खाद्य अनुज्ञापत्र, लेबल, भ्याट र प्यानको दायराभित्र ल्याई हालै जारी भएको दूधसम्बन्धी खाद्य स्वच्छता निर्देशिका २०७५ को मूल भावअनुसार दुग्ध क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न माग गरिएको छ । मौसमअनुसारको दूध उत्पादनको कारण जाडो महिनामा (असोजदेखि फागुनसम्म) उत्पादन बढी भई किसानको दूधले बजार नपाउने अवस्था र गर्मी महिना (चैतदेखि भदौ) सम्म दूधको अभाव भई निर्यातित दुग्धजन्य पदार्थमा निर्भर हुनुपरेको बताइन्छ । उत्पादन बढी हुने मौसममा दूधलाई व्यवस्थापन गर्न सङ्घले ‘मिल्क होलिडे’ समस्या न्यूनीकरण गर्न चितवन मिल्क लिमिटेड र पोखरास्थित सुजल डेरीमा लगेर सम्पूर्ण निजी डेरी उद्योगमा बढी दूधलाई धुलो दूधमा रुपान्तरण भइरहेको अध्यक्ष दाहालले बताए । चालु आर्थिक वर्षमा दुवै उद्योगमा गरी ९० लाख लिटर दूध धुलो दूधमा परिणत गरिसकिएको बताइन्छ । भारतको बहुर्राष्ट्रिय कम्पनी अमूलले नेपालको पूर्वी क्षेत्रबाट दूध किनेर सीमाभन्दा सात किमी टाढा सिक्किममा रहेको आफ्नो प्रशोधनशालामा लाने योजना सार्वजनिक गरेको भन्दै सङ्घले सो कार्य नेपाली अर्थतन्त्रको लागि चिन्ताजनक रहेको जनाएको छ । यसबाट कच्चा दूध निर्यात गरी प्रशोधित दुग्ध पदार्थ आयात गर्नुपर्ने अवस्था आउने र नेपाली डेरी उद्योग आफ्नो क्षमताभन्दा कममा सञ्चालन हुने बताइन्छ । साधारणसभामा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सामूहिक प्रयासबाट दुग्ध उत्पादन र प्रशोधनलाई व्यवस्थित गर्नुपर्ने बताए । कृषक र उद्योगीलाई सहुलियत ऋण सुविधा उपलब्ध गराएर प्रोत्साहित गर्नका लागि प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदानको कार्यक्रम शुरु गरेको उनले जानकारी दिए । रासस