सुनको आपूर्ति दुई गुणा बढाउँदै सरकार, दैनिक ३० किलो आयात खुलाउन व्यवसायीकाे माग

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइले सुनको आपूर्ति वृद्धि गरिने बताएका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले बजारमा कच्चा सुनको अभाव देखिको भन्दै तत्काल आपूर्ति वृद्धि गर्न सरकारसँग माग गरेपछि सचिव भट्टराईले सो कुरा बताएका हुन् । गत वर्षको लकडाउनपछि सरकारले सुन आयातमा दैनिक १० किलो सुन आयात गर्न पाउने गरी सरकारले सीमा निर्धारण गरेको छ । विगतका वर्षमा सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको बताउँदै व्यवसायीहरुले माग अनुसार आपूर्ति गर्न मिल्ने व्यवस्था मिलाईदिन आग्रह गरेका छन् । सचिव भट्टराइले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाएको महासंघले जनाएको छ । उनल आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवश्यक परामर्शगरी शीघ्र समस्याको समाधान गरिने बताएका छन् । सचिव भट्टराइले आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तचर्फपनि सरकार सचेत रहेको बताएका छन् । सचिव भट्टराइले सुनचाँदी ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीतिगत ब्यवस्थाकालागि यसअघि नै मस्यौदा तयार भैसकेकोे उल्लेख गर्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याइने बताएका छन् । त्यस क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समासधानगर्न सचिव भट्टराईसँग आग्रह गरेका छन् । उनले सरकारले कोभिडका कारण भएको लकडाउनकाक्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको बताए । उनका अनुसार अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने हुन्छ । आवश्यकता अनुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले बताए ।

यस्तो छ दुर्गा प्रसाईँले ल्याउने मार्सी वियर, मूल्य कति ?

झापा । एक समय निकै चर्चा पाएको शब्द हो ‘मार्सी’ । तत्कालिन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएपछि धेरैले त्यो शब्दकाे चर्चा मात्र गरेनन् खाना खुबाउने दुर्गा प्रसाईँको उपनाम मार्सी नै राख्न समेत भ्याए । त्यतिबेला निकै विवादमा आएको मार्सी शब्द अहिले भने एक ब्राण्डका रुपमा स्थापित हुने अनुमान गरिएकाे ।  त्यो शब्दलाई ब्राण्डका रुपमा स्थापित गर्न खोजिरहेका छन् तिनै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ । उनले आज मात्रै मार्सी वियर ल्याउने उद्घोष गरेका छन् । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन समारोहमा प्रसाईँले आफुले मार्सी वियर नेपाली बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको बताएका छन् । केही समय अगाडि भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री चार अर्बमा किनेका उनले अब मार्सी वियर नेपाली बजारमा उपलब्ध हने बताएका हुन् । ‘मेरो कम्पनीले दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ ल्याउँदैछ, हामी यसको अन्तिम तयारीमा छौं,’ उनले कार्यक्रममा भने । ‘हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर हुनेछन्, धेरैले मार्सी शब्दलाई विवादमा ल्याए, मैले त्यही विवादित शब्दलाई ब्राण्ड बनाएँ,’ उनले भने । उनले मार्सी वियर नेपाली बजारमा एक ब्राण्डका रुपमा स्थापित भई बढी गुणस्तरीय र लोकप्रिय हुने पनि दावी गरे । उनका अनुसार फ्याक्ट्री प्रतिघन्टा २२ हजार बोत्तल बियर उत्पादन क्षमताको हुनेछ । उनका अनुसार मार्सी चामलमा सुगर कम हुने भएकाले मार्सी चामलबाट बियर बनाउँदा  यसले बजार लिनेछ । वियरमा जौको प्रयोग गरिँदै आएकोमा अब कच्चा पदार्थको रुपमा मार्सी चामल पनि प्रयोग गर्न लागिएको हो । झापामा बीएण्डसी मेडिकल कलेज, क्यान्सर अस्पताल, होटल र जग्गा कारोबार गर्दै आएका प्रसाइँले नयाँ क्षेत्रमा हात हालेका हुन् । मूल्य कति ? उनका अनुसार मार्सी वियर नेपाली बजारले मन पराउने छ । अन्य वियरभन्दा मार्सी वियर सस्तो हुने उनकाे भनाई छ । मार्सी वियरको मूल्य न्युनतम २ सय ८० रुपैयाँदेखि सुरु हुनेछ । ३५० एमएल र ७०० एमएलको गरी दुईवटा बोतल र क्यानमा मार्सी वियर उत्पादन हुने उनले बताए ।

प्रतितोला १७ सय रुपैयाँ घट्यो सुनको भाउँ

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य धेरै घटेको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा ८७ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोवार भएको थियो । यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ । सोमबार एक हजार ३३० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २९० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।