ड्रागन फ्रुट बेचेर वार्षिक १५ लाख आर्जन, स्वदेशमा नै श्रम गर्दा राम्रो आम्दानी हुने

चौतारा । साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । छ रोपनीमा ३० रुपैयाँ लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउँछन् । विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुटका लागि गरेमा वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाएका हुन् । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो पाँच सय रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि चार लाख रुपैयाँसहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उनी बताउँछन् । रासस

गाउँकै अगुवा किसान : पहिले एफएम सुनाउथे, अहिले तरकारी खुवाउँछन्

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच-छ लाख रूपैयाँसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन् । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन् । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीत ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ जस्तै भएको छ, खड्कालाई । उनले हाँस्दै भने, ‘ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?’ गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन् । संकलन केन्द्र नहुँदा समस्या पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचर्या नै बनेको छ । बजारमा पाइला टेक्नेबित्तिकै उनी ‘गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है…’ भन्दै बजार–बजार डुल्दै चिच्याउँछन् ठट्यौली शैलीमा । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्‍याउँछन् । ‘एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो,’ उनी भन्छन्, ‘बुुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौं गइसके । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !’ श्रीमती (खजुरा)ले दुई भैंसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन् । चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्ष पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । ‘छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,’ उनले भने । ‘गाउँले एफएम दाइ’ वि.सं. २०५८ तिर, डौंसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उनको दैनिकजस्तै थियो । त्यतिबेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । समाचारप्रति स्थानीयको चासो बढी थियो । रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उनका छिमेकीहरु बताउँछन् । आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थे । त्यहीबेला माओवादीकै ‘रिवल’ले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए । त्यतिबेलादेखि उनी ‘एफएम दाइ’ नामले परिचित छन् । लोकगीत र देउडामा रुचि उत्तिकै छ उनमा । ‘वि.सं. २०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, त्यहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलसमेत ठाडीभाका गाउँथे । त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–संगीततर्फ लगाव रह्यो,’ उनी भन्छन् । केही वर्षअघिसम्म दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्थे । गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उनी स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित छन् । अझै पनि उनको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्छन् । कुनै बेला रेडियोप्रेमी खड्का हिजोआज टिकटकतिर मोडिएका छन् । कृषिबारे जानकारीमूलक भिडियोे बनाएर टिकटकमा सेयर गर्छन् । उम्मेदवारलाई सिमी र टमाटरको माला बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ । नत्र त्यत्तिकै तरकारी खेर जाने उनको भनाइ छ । विगत सम्झँदै खड्काले भने, ‘वि.सं. २०७९ वैशाखमा मंसिरमा आमचुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन् भनेर बारीमा तरकारी लगाएँ । मंसिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । निर्वाचनको अवधिमा छ क्विन्टल त बन्दा बेचेँ ।’ उम्मेदवारलाई आफूले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उनले जानकारी दिए । सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफैं उत्पादन गर्छन् । ‘हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु । वि.सं. २०८० फागुन–चैतमा मात्र रु २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरें’, उनले भने, ‘म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ ।’ ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेंडा तयार छन् । एउटा बोटमा तीन–चार केजीसम्म गोलभेंडा फलेको खड्काले जानकारी दिए । उनले भने, ‘भर्खरै मात्र दुई हजार पाँच रुपैयाँमा टमाटर बेचेर आएँ । अग्र्यानिक टमाटर हो यो, ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।’ कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउँछन् । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । उनले भने, ‘अग्र्यानिक मल नै फालाफाल छ । बजारिया मल किन किन्नु, माटो बिगार्छ ।’ परम्परागत रूपमा खेती गर्दै आएका खड्काले अहिलेसम्म गैरसरकारी संघसंस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान नपाएको बताए । तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ । एकपटक सेवक नामक संस्थाले उनलाई पाल दिएको थियो । पालको छानो राखी उनले बारीनजिकै पोखरी बताएका छन् । वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ । कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्छन् । खड्का चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट पुरस्कृत पनि भएका छन् । रासस

सुकुटी बेचेर मासिक २ लाख आर्जन, परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि

बेलबारी । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले बताए । रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलो सुकुटी बनाउने गरेका छन् । उनको अनुसार ‘स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन’, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पुर्याउन नसकिरहेको श्रेष्ठ बताउँछन् । प्रतिकिलो दुई हजार रुपैयाँमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक दुई लाख रुपैयाँसम्म आम्दानी भइरहेको उनी बताउँछिन् । वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन् । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनी बताउँछन् । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनले बताए । विशेष गरी खाडी मुलुकमा रहेका उनी बताउँछन् । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उनले बताए । पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउँछन् । लक्ष्मीमार्गको नयाँ परिचय यहाँको सुकुटी बनेको उनले बताए । रासस