नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो । कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिए । कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कानुसार १३ करोड चार लाख रुपैयाँबराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको चार सय ५० टन कफी आयात भएको थियो । आव २०८०/८१ मा १४ करोड ९२ लाख रुपैयाँबराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँबराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ । आव २०८०/८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छभने जम्मा छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ । चार हजार तीन सय नौ हेक्टर जग्गामा कफीखेती विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । बोर्डका अधिकृत चन्द्र पुरीका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त गर्दै आएको छ ।
तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीकाअनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक बजारमा ल्याइएको उद्योगले जनाएको छ । योसँगै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा उद्योगको छ । गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’, जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ । यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ । गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको जनाएको छ । ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मूल्यमा कम्तीमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको उद्योगले जनाएको छ ।