परिश्रम गर्ने युवालाई दैशमै अवसर, केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लागेका उनले वार्षिक १३–१४ लाख रुपैयाँ बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् । केराखेतीबाट राम्रो आम्दानी लिँदै आएका किसान चौधरी भन्छन्, ‘अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।’ रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी बताउँछन् । उनी अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेको बताउँछन् । किसान चौधरीले भने, ‘उत्पादन भएको केरा बिक्रीमा समस्या छैन, अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका छन् ।’ भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उनी बताउँछन् । उनीजस्तै सोही ठाउँका रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आएका छन् । अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिएका हुन् । केराखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धानखेती हुने जमिन मासेर केराखेतीमा लागेको बताए । थोरै लगानीमा एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केराखेतीमा लागेको बताउँछन् । उत्पादन भएको केरा अहिले बिक्रीको समस्या नभएको भन्दै सुवेदीले भने, ‘केराको बिक्रीमा पनि समस्या छैन । उत्पादन भएको केरा राम्रै मूल्यमा बिक्री हुने गर्छ ।’ कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा छ सय ७० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ । त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ । यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि अर्थविज्ञ लामिछाने बताउँछन् । जिल्लामा देउखुरीको राप्ती, गढवा गाउँपालिकासँगै घोराही उपमहानगरपालिका, शान्ति नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ । रासस

सुनको भाउ हालसम्मकै महँगो, कति पुग्यो ?

काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । आइतबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस दिन तेजावी सुनको मूल्य पनि ८ सयले नै बढेर तोलाको एक लाख ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

दही बिक्री गरेर मनग्य आम्दानी

देउखुरी । टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन । ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए । गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो । राजपुर गाउँपालिका–३ खर्दरियाका लक्ष्मण यादव ६० वर्षको भए । उनी व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका छन् । उनीसँग रहेका २५ भैँसीले दूध दिन्छन । बाबुबाजेले भैँसीपालन गर्दै आएका थिए । त्यही रेखदेख गर्दागर्दै लक्ष्मण पनि भैँसीपालनलाई निरन्तरता दिँदै आएका छन् । पच्चीस भैँसीले दिएको दूध बिक्री गर्न समस्या हुने गरेको उनले बताए । खर्दरियामा यादव समुदायको झण्डै तीन सय घर छन् । हरेकको घरमा १० देखि २० वटासम्म भैँसी छन् । उत्पादन भएको सबै दूध गाउँमा बिक्री गर्न सम्भव छैन । उनीहरुले बेलुकाको दूध जम्मा गरेर दही बनाउने र बजारमा बिक्री गर्ने गरेका छन् । ‘घोराही पुग्नलाई रु एक सय भाडा लाग्छ । दैनिक रु दुई हजारदेखि रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ’, यादवले भने । दैनिक २५ लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक रु ३० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । यस्तै राजपुर गाउँपालिका–३ खर्दरियाका झाबु यादव ५० वर्षका हुनुभयो । उहाँसँग एक सयवटा दूध दिने भैँसी छन् । राजपुरबाट घोराही, तुलसीपुर, लमहीमा दही बिक्री हुने गरेको छ । भैँसीको दूध–दही बिक्री गरेर उहाँले छोराछोरी पढाउँदै आएका छन् । ‘गाउँमा सबैको घरमा भैँसी छन् । भैँसी नभएकाले पनि सस्तो मूल्यमा किन्न खोज्छन्, त्यसैले गाउँमा दही बिक्री गर्न मन लाग्दैन’, यादव भन्छन्, ‘राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेका छौँ ।’ गाउँभरिका भैँसीपालक किसान दही बोकेर बिक्री गर्न बजार जाने गरेका छन् । गाउँघरमा प्रतिलिटर रु २०–२५ मा बिक्री हुने दही बजारमा पुर्यायो भने रु एक सयमा बिक्री हुन्छ । यसरी कमाएको पैसाले छोराछोरीको पढाइ खर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउँछन् । बिहानको दूध डेरीले लैजान्छन्, बेलुकाको दूध बिक्री गर्ने ठाउँ नहुँदा दही बनाएर बिक्री गर्ने गरेको उनले बताए । दूध राख्नलाई सरकारले डिपफ्रिजको सहयोग गरेमा दूध, दहीबाट आम्दानी गरेर जीविका चलाउन सकिने यादवले बताए । दूध ट्रयाक्टरको व्यवस्थापन गरेमा आफूहरूलाई राहत मिल्ने उनको धारणा छ । व्यावसायिक भैँसीपालनका लागि खरदरिया उपयुक्त स्थान मानिन्छ । यहाँका अधिकांश बासिन्दाले १० देखि एक सयवटासम्म भैँसीपालन गरेका छन् । भैँसीको दूध बिक्रीबाट आएको आम्दानीले छोराछोरी पढाउने र घरखर्च चलाउन सहज भएको छ । सोही ठाउँका भैँसीपालक किसानले गोठ सुधार, घाँस काट्नलाई चारामेसिन, बीउका लागि उन्नत जातको रागा र दूध सङ्कलनका लागि डेरीको माग गरेका छन् । परापूर्वकालदेखि भैँसीपालनबाट जीविका चलाउँदै आएका यादव समुदायले सरकारको सहयोग भएमा व्यवस्थित तरिकाले भैँसीपालन गर्ने सोच बनाएका छन् । रासस