६ लायन्स क्लबको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न

काठमाडौं । लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लबको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न भएको छ । लायन्स क्लब ३२५ आई अन्तर्गतका ६ क्लब लायन्स क्लब अफ काठमाडौं इनोभेसन, लायन्स क्लब अफ काठमाडौं गौरीशंकर, लायन्स क्लब अफ काठमाडौं हेल्पिङ हेण्डस्, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, लायन्स क्लब अफ काठमाडौं गणेश हिमाल, र लायन्स क्लब अफ काठमाडौं विष्णुमतीको संयुक्त इन्स्टलेसन, इन्डक्सन तथा चार्टर हेन्डओभर सम्पन्न भएको हो। कार्यक्रममा ३२५ आईका डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले क्लबका नयाँ पदाधिकारीहरूको शपथ ग्रहण गराएका थिए । आफ्नो सम्बोधनमा ढुंगानाले क्लबका गतिविधिहरूले स्थानीय समुदायलाई सकारात्मक रूपमा प्रभावित गर्दै आएको बताए । त्यस्तै आगामी दिनमा अझ सशक्त रूपमा सेवा कार्यमा जुट्न नयाँ नेतृत्वलाई प्रेरित गरे । साथै, उनले सामाजिक सेवामा लायन्स क्लबको योगदानको चर्चा गर्दै भविष्यका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सुझाव दिए । सो कार्यक्रममा सबै क्लबका प्रेसिडेन्टहरुले गत आर्थिक वर्षमा गरेका कार्यक्रमहरुको वारेमा जानकारी दिनुका साथै आगामी वर्षमा गर्ने कार्यक्रमका बारेमा पनि बताएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएका लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनका एरिया लिडर राजन लम्साल र विशेष अतिथि इमिडियट पास्ट डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले पनि क्लबहरूलाई सुदृढ नेतृत्व र सामाजिक सेवाको मार्गमा निरन्तर लाग्न प्रेरणा दिएका थिए । कार्यक्रमको क्रममा नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराउनुका साथै, विभिन्न क्लबहरूका चार्टरहरूको हस्तान्तरण गरिएको थियो ।

ऋषिङ गाउँपालिकाले सहकारीसँग मिलेर गर्न थाल्यो स्ट्रबेरीखेती

दमौली । ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५०स्ट्रबेरीका बिरुवा रोपिएका छन् । परीक्षणका रूपमा खेती गरिएको हो । तीन प्रजातिका बिरुवा रोपिएको छ । केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उनले भने, ‘कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसैअनुरुप खेती विस्तार गर्नेछौँ ।’ ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ । अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गरिने उनले बताए ।

बाँदरबाट हैरान पाएपछि किसानले गरे ओखरखेती

पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि ओखरखेती थालिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गण्डकी प्रदेश सरकारबाट १० हजार बिरुवा प्राप्त भएका थिएभने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत एक हजार पाँच सय बिरुवा थप गरी ११ हजार पाँच सय बिरुवा रोपिएको छ । पालिकाका दुई सय जना किसानले व्यावसायिक रूपमा ओखर रोपेका छन् । ओखर रोपेको तीन वर्षदेखि पाँच वर्षभित्रमा फल लाग्छ । दश वर्षमा पूर्ण रूपमा फल लाग्ने अध्यक्ष भुसालले बताए । एउटा बोटले दश वर्ष पुगेपछि चार हजार दुई सयभन्दा बढी दाना उत्पादन दिने अनुमान छ । गाउँपालिकाले प्रतिबिरुवा चार सय ४५ रुपैयाँका दरले खरिद गरेर किसानलाई वितरण गरेको हो । बिरुवामात्र नभई खाडल खन्न र रोप्नका लागि पनि पालिकाले अनुदान पनि उपलब्ध गराएको थियो । रोपेका सबै बोट हुर्किएर फल लागेमा अबको केही वर्षमा किसानले प्रतिफल पाउने छन् । जनशक्ति अभाव र बाँदर आतंकले बर्सेनि बाँझो जमिनमा ओखरका बिरुवा रोपिएका पालिकाले जनाएको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारसँग बाँझो जमिन सदुपयोग कार्यक्रमअन्तर्गत एक करोड रुपैयाँको सम्झौता गरी ओखरखेती सुरु गरेको हो । बाँदर नियन्त्रणका लागि ३० लाख रुपैयाँ खर्चेर बाँदर निकुञ्जमा लगेर छाड्ने अभियान थाले पनि नियन्त्रण हुन नसकेपछि पालिकाका किसानलाई कम क्षति हुने बाली लगाउनतर्फ उत्प्रेरित गर्न थालिएको छ । यसअघि गत वर्षदेखि व्यावसायिक तरुलखेती सुरु गरेको पालिकाले यस वर्षदेखि व्यावसायिक कागती र सुन्तलाखेती विस्तार गरेको छ । कागतीका १० हजार र सुन्तलाका १० हजार बिरुवा किसानलाई वितरण गरिएको थियो । त्यसैगरी यस वर्षदेखि मेडाडेमियानट खेती समेत थालिएको छ । जापानिज कटुसको नामले चिनिने मेकाडेमिया नटखेती यस वर्षदेखि परीक्षणका रूपमा लगाइएको छ । झण्डै सात हजार बिरुवा लगाइएको महाशिला गाउँपालिकाका अध्यक्ष भुसालले बताए । यसअघि धान, मकै, कोदोलगायत बाली लगाउन छाडेर बाँझिएको अधिंकाश जमिन फलफूलखेती विस्तार अभियानले सदुपयोग भएको उनले बताए । रासस