मेगाटेक ग्रुपले गर्यो लेनोभोका नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । नेपालमा लेनाेभाेको नयाँ उत्पादन सार्वजनिक भएकाे छ । सन् २०११ देखि आईटी वितरण क्षेत्रमा सक्रिय मेगाटेक ग्रुपले मंगलबार पहिलो काेपाइलट प्लस एआईपीसी याेगा स्लिम ७ एक्स, नयाँ याेगा र लिजिनको श्रृंखला सार्वजनिक गरेकाे हाे । कार्यक्रमको मुख्य आकर्षण याेगा स्लिम ७ एक्स थियो जसले उत्कृष्ट ब्याट्री दक्षता र प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएकाे छ । मेगाटेक ग्रुपका सुरेश लोहानीले मेगाटेक ग्रुप आइटी वितरण क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि विश्वासिलो नाम रहेकाे बताए । उक्त कार्यक्रममा लेनाेभाेका लागि नेपालमा उत्कृष्ट व्यापार विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने शीर्ष १० साझेदारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिएकाे थियो । लेनाेभाेले एआई समर्थित, एआई-तयार र एआई-अप्टिमाइज्ड उपकरणहरू, इन्फ्रास्ट्रक्चर (सर्भर, स्टोरेज, एज कम्प्युटिङ), सफ्टवेयर र विभिन्न सेवामार्फत १८० देशका बजारमा सेवा दिँदै आएकाे छ ।

दशैंमा बसको टिकट काट्न लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ । बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल भइरहेको छ । निर्णय भएपछि यसै सातादेखि अन्य गन्तव्यका लागि पनि बससेवाबाट बुकिङ खुल्ने जनाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले आइतबार मन्त्रालयमा टिकट बुकिङका सम्बन्धमा छलफल भए पनि निष्कर्समा नपुगेका कारण यातायात व्यवस्था विभागसँगको आगामी बैठकले गर्ने निर्णयअनुसार बुकिङ सुरु हुने बताए । दशैं आउन धेरै दिन बाँकी नभएकाले केही दिनमा नै टिकट बुकिङ सुरु हुने उनको भनाइ छ । विगतका वर्षमा पनि दशैंको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको बताएका खनालले यस वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको जानकारी दिए । ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउनेछैन ।’ बससेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको र यस सम्बन्धमा छिट्टै औपचारिक घोषणा गरिने बससेवाले जनाएको छ । बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौं संख्याका बसका लाखौं टिकट अनलाइनमार्फत खरिद गर्न सकिने बससेवाले जनाएको छ ।

काठमाडौंमा आइपुग्छ गुल्मीको निहुरो, राम्रो आम्दानी

गुल्मी । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ । वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जंगल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जंगल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् । गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जंगलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ । जंगलबाट टिपेर ल्याएका चिजको गाउँमा खासै महत्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जंगलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् । उनीहरूले जंगलबाट टिपेर ल्याएको निहुरोलाई स–साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्याउँछन् । एउटा डोकामा एक सय ५० मुठासम्म अटाउँछन् । यसरी एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म ल्याइपुर्याउँदा साना मुठाको ३० रुपैयाँ देखि ठूला मुठाको ५० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका–५ की चन्द्रकली कुमाल बताउँछिन् । ‘दिनभर जंगलमा जानुपर्यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नु पर्छ, जंगलमा जुका लागेर हैरान हुन्छ, जंगलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति’, उनले भनिन् । चन्द्रकलीमात्र होइन, उनी जस्तै जंगलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुगेकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने बताउँछिन् । उनले भनिन्, ‘घर खर्च चलाउन ठूलो राहत पुगेको छ ।’ बर्खाको समयमा जंगलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्याउन त्यति सहज भने छैन । तर पनि उनीहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जंगलबाट टिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन् । गुल्मीको निहुरो सदरमुकाम तम्घासमात्र होइन, अर्घाखाँचीदेखि बुटवलका बजारका तरकारी पसलसम्म पुग्ने गर्दछ । यहाँको निहुरोको बजारमा राम्रो माग छ । विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका उपभोक्ताका लागि पहाडको लेकबाट टिपेर ल्याएको अग्र्यानिक निहुरो खोजीखोजी लैजाने गर्दछन् । यसबाट अचार, तरकारी र चुकौनीलगायत परिकार बनाउन सकिने र निकै स्वादिलो हुने भएका कारण बजारमा यस्ता तरकारीको माग हुने गरेको छ । निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानी परेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन । आजभोलि कोसेलीका रुपमा समेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौंसम्म पठाउने गरिन्छ । रासस